आज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतीलाई देखें । गएको जाडो-याममा उसलाई देखेको थिएँ । ट्रेनको सिटमा घुँडामाथि अर्को खुट्टाको तिघ्रा राखेर ऊ जतन साथ बसेकी थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रातिर सरेको थियो । ऊ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडाभन्दा मुनि पुग्दैन । यसैले उसका आकर्षक र लोभलाग्द गोडाहरू म नियालिरहन्छु ।
ऊ मलाई देख्दिन । या मतलब गर्दिन । किनकि उसका सुडौल गोडा नियाल्ने म यो सहरमा एक्लो होइन । उसका कपाल सेतै छन् तर ती फुलेका होइनन् । अनुहार चाँदीको थालको घेरा जस्तो टल्किएको छ । ओठमा लिपस्टिक सरोबर लागोस् भन्न ऊ एक माथि अर्को ओठ रगड्छे । त्यसो हुँदा उसका गालामा स-साना र चिटिक्क परेका खोपाहरू बन्छन् । म त्यो नियालेर मुग्ध हुन्छु ।
केही हिप्पी लाग्ने केटाहरू भित्र छिर्छन् । कोलाहाल गर्छन् । तिनीहरू केही मातेका होलान् । तर तिनीहरूले मलाई र ती सुन्दर गोडा भएकी केटीलाई हेर्दैनन् । यी हु्ल्यहा केटाहरू संभवत अर्को स्टेसनमा झर्छन् होला, म अनुमान लगाउँछु ।
केटी निकै थाकेकी होली । अब दुवै खुट्टालाई सिधा पारेर परारेकी छ । उसका तिघ्राहरू सिटमा थेप्चिएका छन् र ती भएकाभन्दा ठुला देखिएका छन् । यसो गर्दा ऊ आफ्नो जिउलाई तन्काउँछे र टाउको पछाडि पार्छे । म उसका रहरलाग्दा आोठमा आफ्नो ओठ राख्न ऊ नजिकै सर्छु ।
मेरो कल्पना भंग गर्दै एउटी अधबैंसे महिला भित्र पस्छे । मेरो बगलमा आएर च्यापिन्छे । हतार हतार आफ्नो ब्याग खोतल्छे र चस्मा निकाल्छे । चस्माको कानमा अडाउने एउटा डाँठी हुँदैन । ऊ त्यसैलाई नाकको डाँडिमाथि राख्छे । नजिकै अरुले फालेको खबर-पत्र उठाएर पढ्न थाल्छे । त्यसको कपाल भर्खरै गाग्रोबाट निकालेर घाममा सुकाएको गुन्दुक जस्तो घिनलाग्दो देखिएको छ । हलुका पुल-ओभर लगाएकी त्यस आईमाईको पुल-ओभरको काँध कतै धस्सिएर फोहोर परेको जस्तो देखिन्छ । बाहुलाको फेरोमा फाट्ट आँटेकोले धुजा धुजा परेका छन् । ट्रेन अर्को स्टेसनमा रोकिन थाल्दा ऊ हतार हतार ट्रेनका सिटमा बेबारिसे फ्याँकिएका अरु तीन चार अखबार पत्रहरू छिटो छिटो बटुल्छे ।
त्यो आईमाई, म र सुन्दर गोडा भएका केटी, हामी सबै ओर्लिन्छौं । अब गन्तव्य फरक फरक हुन्छ । सुन्दर गोडा भएकी त्यस केटी म बिपरित लाग्छे । म सदस झै भावुक बन्छु । एउटा सुन्दर अपरिचित युवतीसँग नबोली छुट्टिनु परेकोमा म बिस्मात गर्छु । मुल बाटो दाँया घुमेर त्यो केटी ओझेल नहुनजेलसम्म म उसलाई पछाडिबाट उसका सुन्दर गोडाहरू नियालिरहन्छु ।
त्यो केटी ओझेल परी । सँगै त्यही छरिएका खबरकागज ऊठाउने आईमाई मलाई हेरिरहेकी हुन्छे । भन्छे – ‘मध्यरात भइसक्यो । तपाई कसरी जानुहुन्छ अब ? मेरो छोरी लिन आऊँछे । हामी तपाईलाई छोडिदिन्छौ ।’
त्यस आईमाई मप्रति उदार र इमानदार देखिन खोज्छे । म केही बेर मनमनै हिसाब लगाउँछु । मध्यराति गाडी पाउन मुस्किल छ । म हतारिदै निर्णयमा पुगिहाल्छु । आईमाईतिर हेरेर सहयोग को लागि आभारी भएँ भनेर देखिन खोज्छु तर केही पनि शब्द निकाल्दिन । म ‘हुन्छ’ भन्न टाउको हल्लाउँछु ।
केही बेरपछि एउटा सस्तो खालको कार आएर हामीअगाडि रोकिन्छ । म त्यसभित्र आँखा लाउँछु । तीन जना अरु केटीहरू पनि छन् । त्यसभित्रका सबै केटीहरू असाध्य राम्रा थिए । म आजको दिन मेरो लागि फापेकोमा मख्क पर्छु र बिहान राशिफल पढ्न छुटाएकोमा चुकचुकाउँछु । म उसको छोरी चाहिँ कुन हो छुट्टाउनतिर लाग्दा एउटा केटीले मतिर हात हल्लाउँदै गरेकी याद गर्छु । मेरो अगाडि त्यही अधबैंसे आईमाई छे । हातमा हिजो उसले बटुलेको बेबारिसे पत्रिकाको सानो खात छ । म बिछ्यौनामा पल्टिएको छु । म वरिपरि टाउको घुमाउँछु । ऊ त्यस पत्रिकालाई त्यहाँ मध्यको एउटा तखतामा घुसाउँदै गर्दा भन्छे ।
’म तपाईलाई केही वर्षदेखि पछ्याउँदै आइरहेको छु ।’
त्यहाँ त्यस्तै स-साना तखताहरू हजारैं थिए । र सबै तखतामा एकै मितिका धेरै खबरकागजका चाङ छन् ।
त्यस आईमाई फेरि त्यही धस्सिएको पुल-ओभर भिरेर निस्किई ।
उसले ढोका बन्द गर्नुभन्दा अगाडि भनेकी थिई ।
‘तपाई यहाँ सुरक्षित हुनुहुन्छ ।’
