प्रवचन :– चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व
वुद्धले स्त्रीहरूलाई दीक्षा नदिने घोषणा गरेका थिए । किनकि वुद्धको पथ पुरुषको पथ थियो । यदि स्त्रीलाई बुद्धको पथमा लग्यो भने उनीहरूले दीक्षा लिने त परै जाओस् बुद्धको पथलाई नै परिवर्तन गरिदिनेछन् । त्यसैले वुद्धले स्त्रीहरूलाई दीक्षा दिनबाट इन्कार गरेर एकएक् स्त्रीलाई “क्षमा गर्नुहोस्” भनिरहे । एकदम मजबुरीमा, ठूलो दबाबमा, र ठूलो तार्किकताका कारण वुद्धले स्त्रीहरूलाई दीक्षा दिन राजी हुनुपर्यो ।
बुद्धका एकजना वृद्धा नातेदार थिए गौतमी । बुद्धको उमेरभन्दा उनको उमेर बढी थियो । नाताले काकी पर्थिन् । गौतमी बुद्धकहाँ आइन् । सयौँ स्त्रीहरूलाई दीक्षा दिन इन्कार गरेका बुद्धले गौतमीका अगाडि हात धुनुपर्ने भयो ।
गौतमी :– स्त्रीहरूले सत्यलाई पाउन सक्दिनन् ?
बुद्ध :– जरुर प्राप्त गर्न सक्छन् ।
गौतमी :– के स्त्रीहरूका लागि सत्यको द्वार बन्द छ ?
बुद्ध :– हैन, द्वार बन्द छैन ।
गौतमी :– के स्त्रीहरू यत्ति अपवित्र छन् कि सत्यको नजिक पुग्न सक्दैनन् ?
बुद्ध :– होइन, होइन, स्त्रीहरू त्यत्तिक्कै पवित्र छन्, जति पुरुषहरू छन् ।
गौतमी :– त फेरि हे बुद्ध ! हामीहरूलाई किन दीक्षा दिनुहुन्न ? के हामी बुद्धको उपस्थितिमा पनि दीक्षाबाट बञ्चित छौँ ? फेरि हामीलाई कहिले अर्को बुद्ध प्राप्त हुन्छ ? त्यसको कुनै वचन छ ? त्यसको कुनै आस्वासन छ ? र यदि हामी बुद्धसम्म पुग्न पाएनौँ भने जिम्मेवारको भागी हजुर पनि हुनुहहुनेछ ।
( बुद्ध कठिनाइम पर्नुभयो )
बुद्ध :– म दीक्षा दिन्छु । तर साथै यो पनि घोषणा गर्छु कि मेरो जुन यो धर्म ५,००० वर्षसम्म काममा आउन सक्थ्यो तर अब ५०० वर्षसम्म मात्रै काममा आउन सक्छ ।
( फेरि एकजना भीक्षुले सोधे )
भीक्षु :– यस्तो किन भन्नुभएको ?
बुद्ध :– ५ वर्ष पनि उनीहरूलाई धेरै हुनेछ कि मेरो पद्धति शुद्ध होस् । स्त्रीहरूले यसलाई बदलिदिनेछन् । परिवर्तन गरिदिनेछन् ।
आखिरमा तुरुन्तै चित्तका कारण बुद्धको पद्धति नै बदलियो ।
यहाँनिर महत्त्वपु्र्ण कुरो चित्तको छ । चित्त दुई प्रकारको हुन्छ । यदि जसले पनि चित्तको पारि जाने हो भने इन्द्रियभन्दा पारि जानु जरुरी हुन्छ तर जाने विधिमा थोरै फरक हुनेछ । स्त्रीचित्त समर्पणबाट जानेछ । समर्पण गरिदिन्छन् कि सम्पूर्ण इन्द्रीय तथा स्वयम्लाई पनि । खुल्ला आकाश, विराट आकाश पनि । पुरुष समर्पणबाट होइन, सङ्कल्पबाट जान्छ । पुरुष सङ्कल्पपूर्वक एकएक इन्द्रियभन्दा माथि उठ्नेछ ।
भेद यस्तो छ :—
एकजना ऋषिकहाँ एकजना व्यक्ति आयो । उसले एकहजार सुनको सिक्का ऋषिको पाउमा बजारिदियो ता कि वरिपरिका मानिसहरूले पैसाको खन्खन् आवाज सुनोस् कि कसैले आएर ऋषिलाई सुनका असर्फीहरू दान गरेको छ भनेर । दान जब गर्छ त घोषणा गरेर गर्छ । यद्यपी दान यस्तै कारणले बेकार हुन्छ र दान दान हुँदैन । त्यो प्रतिष्ठाको भोक मात्रै हुन्छ । लोभ प्रतिष्ठाको हुन्छ ।
तत्कालै ऋषिले भने :– हे आगन्तुक ! यत्ति जोडसँग किन भारी बिसायौ ? दान चुपचाप पनि त गर्न सक्थ्यौ ?
त्यो व्यक्तिलाई होस् आयो र उसले भन्यो :– क्षमा गर्नुहोस् मुनि ! भूल भयो । अञ्जानमा भयो । स्वीकार गरेर मलाई कृतार्थ गर्नुहोस् हजुर ।
ऋषि :– स्वीकार गर्दछु तर यदि मलाई गाली दिन आएमा म त्यसलाई पनि स्वीकार्छु । तिमीले धेरै असर्फी ल्यायौ । त्यो मैले स्वीकारेँ । अब मेरो तर्फबाट सुन । यसलाई तिमी नदीमा फ्याँकेर आऊ ।
उसलाई एकदम गाह्रो भयो । एक हजार असर्फी ! गयो नदी किनारमा । धेरैबेर लाग्यो । ऋषिकहाँ आगन्तुक फर्केर नआएकोले ऋषिले आफ्नो अनुयायीलाई भने ः– हेरेर आऊ । नवआगन्तुक कहाँ छ ? अहिलेसम्म किन आएन ? धेरैबेर लगायो । फ्याँकेर आउन भनेको थिएँ । एक सेकेन्डको काम थियो । फ्याँकेर तुरुन्तै आएको भए हुन्थ्यो ।
( फेरि त्यहाँ अनुयायीहरू हेर्न गए । उसले त त्यहाँ ठूलो भीड जम्मा गरेर असर्फी बजाउँदै हेर्दै नदीमा एकएक गर्दै गन्दै ८१०–८११–८१२ गर्दै फ्याँकिरहेको थियो । ठूलो भीडले यो तमासा हेरिरहेको थियो । जब सबै फ्याँक्न सकायो पसिना पसिना गरेर ऋषिका अगाडि धेरैबेर लगाएर आइपुग्यो । )
ऋषि :– तिमी पागल भयौ । जुन काम एकैपटकमा गर्न सक्थ्यौ । यो तिमीले हजार पटकमा मात्र गर्यौ । फ्याँक्नलाई भनेको थिएँ । जोड्नलाई त भनेको थिइन मैले । हेर ! यसमा गिन्तीसँग कुनै सार्थकता छैन । न कि पुरुषार्थको तमासा देखाउनमा पनि छैन । मानिसहरूले सेपमा पैसा राख्दा पाइपाइ जोडेर राख्छन् । जोड्ने बेला त गिन्तीको सार्थकता हुन्छ । किनकि जोड्ने चित्तले कति जोड्यो भनेर यसरी गनेपछि मात्र थाहा हुन्छ । तर छोड्ने बेला यसरी गिन्तीको आवश्यकता हुँदैन । एकैपटकमा छोडे हुनेमा किन गनिरह्यौ ?
एकएक गरेर उसले फ्याँक्यो । सङ्कल्प एकएक गरेर फ्याँक्ने काममा नै हुन्छ । समर्पण गरेको भए एकैचोटीमा काम फत्ते हुन्छ ।
समर्पणको अर्थ हुन्छ — सबै तिमीमा राखिदिएँ । सबै इन्द्रियहरू पनि तिमीमै राखिदिएँ । यी सबै बाँकी कुनै कुरा मलाई थाहा छैन । सबै कुरा तिमीलाई नै भयो ।
सङ्कल्प एकएक इन्द्रियसँग जुध्दछ । एकएक इन्द्रीय छोड्दछ । परिणाम उही हुन्छ ।
पुरुषको बाटो अलि लामो हुन्छ । स्त्रीको बाटो सट्कट्को हुन्छ । तर पुरुषले स्त्रीको सट्कट्को नक्कलै गरे पनि त्यो लामो हुन्छ र सङ्कल्प बन्न पुग्छ ।
स्त्रीको बाटो एकदम निकटतम हुन्छ । छलाङ्गको । त्यसैले हाफ्नो चित्तलाई खोज्नु जरुरी छ । जरुरी छैन कि तपाईंसँग पुरुष चित्त छ । यस्तो भ्रममा नपर्नुस् कि पुरुष भएकोले पुरुष चित्त हुन्छ । यो भ्रममा पनि नपर्नुस् । यस्तो खोजी गर्नुहोस् कि तपाईंको चित्तको आकार, ढङ्ग के हो ? समर्पण जस्तो छ कि सङ्कल्प जस्तो छ ? तपाईंको सामर्थ्य कसैको हातमा पुरै छोडिदिने किसिमको छ वा नदीबाट यदि सागरसम्म पुग्नु छ भने पौडेर पुग्ने हो कि बगेर पुग्ने हो ? यसलाई रेसारेसा केलाई मनन गरौँ । यदि बहेर जाने विचारको हो भने समर्पणको मार्ग भयो । फेरि नदीमै समर्पण भयो कि त मलाई सागरमा लैजाऊ जसरी । नदी त सागरमा हरदम गइ नै रहेको हुन्छ । लैजान्छ ।
यदि तपाईं पौडने व्यक्ति हुनुहुन्छ भने सागरसम्मै तैरेर जाने निधो गर्नुहुन्छ । नदीले मेहनत गरिरहेको हुन्छ भने तपाईंले पनि मेहेनत गरेको हुन्छ । जरुी र्छैन कि पौडेर तपाईं चाँडै पुग्नुहुनेछ । हुनसक्छ अलि अबेर नै पुग्नुहुनेछ । तैरनमा तपाईंको शक्ति खर्च भइरहेको हुन्छ । तर नदी सागरतर्फ गइनै रहेको हुन्छ । यदि तपाईं नपौडिकन बहिरहनुभएको छ भने तैपनि पुग्नुहुनेछ तर तपाईंको चित्तमा निर्भर छ ।
पुरुष चित्तलाई बहनुमा रस आउँदैन र भन्छ यो के भइरहेको छ ? तैरने कुनै मौका नै छैन । त्यसैले पुरुषचित्त नदीको उल्टो पौडन्छ र यसमा सङ्कल्प धेरै देखिन्छ । क्रिस्टलाइजेसन ! हो टलकपन । पुरुषको मार्ग हो क्रिस्टलाइजेसन । एकदम टल्किने हीराजस्तो । मजबुतीसँग चलिरहेको हुन्छ । त्यसैले पुरुषको सबै मार्गले आत्मालाई घोषणा गर्दछ ।
स्त्रीको मार्ग हो विसर्जन । कुनै पनि कुरामा पानीजस्तो तरल रुपमा बहनु । त्यसैले स्त्रीको मार्गले परमात्मालाई घोषणा गर्दछ ।
एकमा सबैलाई हेर्ने वा सबैमा एकलाई हेर्ने । अलिअलि विधिमा भेद हुन्छ । तर इन्द्रियभन्दा पारि जानुपर्ने हुन्छ । या त एकएक इन्द्रीय साक्षी राखेर पारि जाऊ या त समस्त इन्द्रियलाई एकै पटक सुम्पेर दीक्षित बन ।
तपाईंले सोच्नुहोला एकैपटक सबै सुम्पेर दीक्षित बनौँ न त झन्झट नै साफ । यदि तपाईंको मनमा यस्तो आउँछ भने एकै पटक सबै सुम्पनुहोस्, झन्झट नै साफ तर तपाईंले सुम्पन सक्नुहुन्न किनकि तपाईंले कुनै कारणका लागि झन्झटबाट मुक्त हुन सुम्पिरहनुभएको छ । झन्झट तपाईं नै हो । तर यदि तपाईंलाई यस्तो विचार आयो कि यो कुरा विलकुलै ठिक हो त्यसैले छोडियो । यसरी छोड्न् नै पुरुष चित्तको लक्षण हो । जानेछु, गर्नेछु्, छोड्नेछु कुनै कारणमा । छोड्नेमा पनि गरेको, मैले यसो गरेँ । मैले यसो गरिदिएँ भनेर मान्दछ । त्यसैले समर्पण पनि उसको लागि सङ्कल्प नै हुन्छ । गर्दछ यसरी कि समर्पणको सङ्कल्प गर्दछ । समर्पण आउँदछ त सङ्कल्पको द्वारबाट आउँछ । यदि दीक्षित गरेर झुकेकोमा पनि झुकावटको कसरतको फल देख्दछ ।
यहाँ स्त्री चित्त र पुरुष चित्त भनेर एउटा उदाहरणार्थ मात्र दर्शाइएको हो । यहाँ यी सबै आध्यात्मिक चिन्तननीय मार्गका लागि हो । जुन दुवै लिङ्गमा यी दुइटै कुराका उदाहरणमा चित्त प्रयोग गरी मनन गर्नुहुन अनुरोध छ । अनि जो समर्पणमा आउँछ उ, स्त्री भए पनि पुरुष भए पनि दीक्षित बन्दछ ।
यदि तपाईं म म गरेर वाणको प्रत्याञ्चा सङ्कल्पको माध्यमबाट पछाडि खिँच्दै जाँदा जब सङ्कल्पको सीमामा पुग्छ अर्थात प्रत्याञ्चाको सबभन्दा बढी तनाईमा हुने सीमामा पुग्नुहुन्छ अनि सङ्कल्प हातबाट टुट्दछ । अनि प्रत्याञ्चा छुट्दछ । अनि समर्पण सुरु हुन्छ । एकदम रफ्तारमा र तीर हामीको निशानीमा लागेर तपाईं दीक्षित भएर बुद्धत्त्वमा प्रवेश गर्नुहुन्छ ।
ॐ बुद्ध म शरण म गच्छामी ।। अस्तु ।।
२०७१ मङ्सिर १९
कुलेश्वर, काठमाण्र्डौँ
bijusubedi@gmail.com
