कोहलपुर १५ पौष, २०७१
आख्यानकार नयनराज पाण्डेले आफ्ना प्रकाशित कृतिबारे पाठकहरूले राखेका जिज्ञासामाथि प्रष्ट पार्ने प्रयास छन् । मंगलबार कोहलपुरमा पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रममा आफ्ना प्रकाशित कृतिहरूका बारेमा पाठक तथा साहित्यिक सर्जकहरूले राखेका विभिन्न जिज्ञासामाथि प्रकाश पार्दै भने – कुनै एउटा पात्र र परिवेशका लागि लक्षित गरी सरल र सहज ढंगबाट विषयवस्तु पस्किन सकेमा आख्यान विधामा सफलता पाउन सकिन्छ ।
पाण्डेका प्रकाशित पुस्तकहरू उलार, लू, घामकिरी, खोर भित्रको जोकर, चकलेट लगाएतका कृतिहरूमा केन्द्रित रहि कृतिभित्रका पात्र तथा विषयवस्तुमाथि उठेका जिज्ञासा तथा सवालहरू कृतिभित्रका पात्र एव म जीवन तथा जगतलाई पाठकहरूले बुझेका र बुझ्न नसकेका दृष्टिकोणका बारेमा बोलेका थिए ।
कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने तुल्सीराम स्मृति पुरस्कार २०७० समालोचक टीकाराम उदासीलाई प्रदान गरिएको छ । नगद रु. २१ सय राशी, प्रमाण पत्र र दोसल्ला सहित उदासीलाई प्रदान गरिएको हो । उदासीले मध्यपश्चिममा रही साहित्य सृजना, समालोचना र साहित्यिक पत्रकारीका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । उदासीका आधा दर्जन जति कविता, गजल, मुक्तक र समालोचनाका कृतिहरू प्रकाशित छन् भने दर्जनौ पत्रिकाका सम्पादन समेत गरिसकेका छन् ।
यस्तै कार्यक्रममा स्थानीय कवि भुपेन्द्र सुवेदीको कविता संग्रह छरिएका मोतीहरू विमोचन गरिएको छ । संग्रहमा १ सय १७ कविता संग्रहित गरिएका छन् । जसमा अक्षर अ देखि अक्षर ज्ञबाट शुरु भएका विभिन्न शिर्षकहरूमा कविता लेखिएका छन् । विमोचित कृति र सम्मानित स्रष्टाका बारेमा प्रतिष्ठानका उपाध्यक्ष पुष्कर रिजाल पुष्पले प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका विशिष्ट तथा आजीवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य हरी तिमील्सिना, युवराज क्षेत्री, वसन्त विवश आचार्य, महानन्द ढकाल, जित बहादुर त्यागी, मधु साश्रु, कपिल अञ्जान, सागर गैरे, शंकर अशान्त लागएत दर्जनौ स्रष्टा तथा सय बढी साहित्य अनुरागी एव म पाठकहरूको सहभागिता रहेको बताइएको छ ।


