अहिलेको यो बेला नेपालमा धेरै थरीका खेतीको मौका छ । मौकै मौका छ, यस्तै छ । मैले यहाँ यस बेला भन्ने शब्द प्रयोग गरें । यस बेला भनेर निबन्धको सुरुमै समयको सीमालाई तोक्न खोजें । अहिले भनेको जहिले पनि हुन सक्छ । यस बेलाभित्र भनिएको यस बेला शब्दमा आजको अहिलेको बेला भन्ने बुझिन्छ । उहिले भानुभक्तका पालामा पनि अहिले वा यस बेला थियो, उनीहरू पनि आफ्ना अघिल्तिरको समयलाई अहिले भन्ने गर्थे, वाल्मीकिका पालामा पनि अहिले थियो । कालिदास पनि आफ्नो बेलामा अहिले भन्थे, सुकरात पनि त्यसै भन्थे उनको समयमा पनि अहिले थियो । जो जहिले अस्तित्वमा हुन्छ उसका लागि उसले भोग्दै गरेको समय अहिले नै हो । म यस बेलामा छु । विक्रमको २०७० सालतिर । यो पनि मेरा लागि अहिले नै हो, अनि यो मेरो निबन्ध सय वर्षपछिका पाठकले पढिहाल्यो भने (निबन्ध नै रहला नरहला जान्दिन) त्यस पाठकले यो निबन्ध पढिहालेछ भने उसले यो निबन्ध पढेको समय पनि अहिले नै हुनेछ । लेखिएको समय भने पहिले हुन्छ, तर पाठकले जतिखेर पढ्छ त्यतिखेर त्यो समय अहिलेकै रूपमा रहिरहेको हुन्छ । यो अहिले भनेको वर्तमान हो । यो सबैसँग सधैं रहिरहन्छ र फुत्त फुत्किएर पहिले हुँदै जान्छ भूत हुँदै जान्छ, उहिले हुँदै जान्छ र अज्ञातको भासमा हराउँछ । भरेहरू छिनछिन गरेर अहिलेतिर सर्दै जान्छन् । अहिलेमा आइपुग्छन् र अघि भएर हिजो, अस्ति हुँदै उहिले हुन्छन् । अहिले भनेको वर्तमान हो, पहिले भनेको भूत हो र भरे भनेको भविष्य हो । कलिल्यै पनि यो अहिलेको बेला हिजो, अस्ति हुँदै पोहोर, पराहारको गतितिर जाँदै उहिलेको बेलामा परिणत हुन सक्छ, उहिले हुन सक्छ । आखिर बितेको समय उहिले न हो । इतिहास लेख्नु भनेको उहिलेका कुरा खोतलिएको हो । अहिले यो जब म केही लेख्तै छु, त्यो लेखिरहेको बेला मेरा लागि अहिले नै छ । यो अहिले यति छिटो छ, जसलाई समाइराख्न सकिन्न । यसको कुनै सीमा छैन । यो घडीको सुई हो । अत्यन्तै सानो सीमामा यसको अस्तित्व रहेको छ तापनि म यता १०, १५ वर्षदेखिको समयलाई अहिले भनेर तोक्न खोज्दैछु । यही अहिले भनिएको समयमा नेपालमा देखिएको कुराको यो अलिकति वर्णन हो भनिराखौं, अलिकति कुराको कथुर्याइँ हो भनिराखौं । पछिकाहरूले जान्न चाहेदेखि अहिलेको इतिहासको झलक हो भनिराखौं ।
अँ, अहिलेका नेपालमा सारै धेरै कुरामा अनुकरणको रोग लागेको छ । कसैले तर्कारी खेती गर्यो र फाइदा लिन खोज्यो भने त्यसमा अनुकरण हुन्छ । कसैले खसी बेपारतिर हात हाल्यो भने त्यसमा अर्कोलेसँगै बेपारमा हात हाल्छ र पहिलेकोलाई उछिट्याउने जुक्तितिर लाग्छ । कसैले च्याउ खेती गरेछ अरे, अर्कोले स्याउ खेती गरे पो अर्थ हुन्छ । च्याउ खेती गरेको दृश्य देखियो भने अर्को पनि त्यही खेती गर्ने ? कसैले कुखुरा पालन गरेछ अरे अनि कसैले धर्मका लागि पूजापाठ गरेछ अरे अनि कसैले सानोतिनो उद्योग गरेर जीविकोपार्जन गरिरहेको रहेछ अरे यी सबैमा अरुबाट त्यसमा नक्कल हुन थाल्छन् । नक्कल हुनु पनि पर्छ । सही नक्कल भएमा त्यसमा कुनै आपत्तिको विषय हुनु पनि हुन्न । बरु त्यसमा सघाउपघाउ नै हुने थियो होला । तर कसैको उन्नति देखेर अहिलेका नेपालका हामीहरूको मस्तिष्कमा यस्तो तत्व घुसेको छ जसले अर्कोको उन्नति र प्रगति पटक्कै सहन्न । बरु त्यसका खुट्टा तान्ने काम मात्र गर्न प्रेरित गरेको हुन्छ । कसैले गाडी कुदायो भने घरको धुरी चढ्ने बानी हामीमा छ । अनुकरणको यति धेरै चल्ती छ जसको लेखो लगाउन पनि सकिन्न । अहिले अर्को एक कडो र विचित्रको विषयको अनुकरण हुन थालेको छ जसलाई तपार्इंहरू गुठी स्थापनाको उद्योग भन्न पनि सक्नुहुन्छ अथवा नाम राख्ने उद्योगको स्थापना भने पनि हुन्छ । कुनै धार्मिक वा आध्यात्मिक साधनाका लागि हामीले उहिल्यैदेखि गुठीको स्थापना गरेको इतिहास छ । पितापुर्खाको यश कीर्तिका लागि हामीले उहिल्यैदेखि केही न केही गर्दै आएका हौं । कसैले चौतारो बनाउँथ्यौं, कसैले पूराण लगाउँथ्यौं, कसैले धारो, पुल, पाटीहरू पनि बनाउँदै आएको हाम्रो इतिहास छँदैछ । यो राम्रो कामका लागि नै हुने गरेको थियो । यसमा कुनै करकाप थिएन, स्वेच्छाको कुरा थियो । सक्नेले गरे राम्रो नसक्नेले नगर्दा कुनै निन्दाको विषय थिएन । तर अहिले यही र यस्तै कुराको प्रतियोगितामाथि प्रतियोगिता सुरु भएको देखिन्छ । आज स्थापित हुने गरेका गुठीहरूको स्थापना गर्ने कार्यलाई नराम्रो भन्न नसकिए पनि आजको गुठीको स्थापनाको परिपाटीलाई राम्रो भन्न सकिन्न । प्रतियोगिताको रूपमा स्थापित गुठीहरूले नसक्नेहरूका लागि हीनताबोध पैदा गरिरहेका छन् । यसै गरी आज हामीमा लागेको अर्को हो पुरस्कार र स्मृतिग्रन्थ प्रकाशनको रोग । यसको स्थापना गर्नु, पुरस्कार दिनु, पुरस्कृत गर्नु, योग्य व्यक्तिलाई छानेर उसको योग्यताको कदर गर्नु नै यसरी स्थापित पुरस्कारहरूको लक्ष हुनु पर्ने हो । तर यसबारे हामीलाई बडो सर्म लाग्ने कुरा अहिलेका नेपालमा भएका छन् । यस सन्दर्भमा सुन्न पनि लाज लाग्ने कुराहरू आजका नेपालमा चलेका छन् ।
पुरस्कार भनेको पारस्परिक लेनदेनका रूपमा क्रयवित्रयका रूपमा आएको छ । यस पालि तपाईंलाई अर्को पालि मलाई भन्ने बाँडीचुडी सिद्धान्तको प्रयोग स्थापित पुरस्कारहरूका मालिकहरूले गरिरहेका छन् । यो ता सट्टापट्टाको लेनदेन मात्र भयो । सट्टा बजारको कारोबार हो । लेनदेन ता सट्टाबजारमा हुन्छ दलालहरूले लेनदेन गर्दछन् । लेनदेन ता हटियामा हुन्छ, जहाँ हटारुहरूले यो काम गर्दछन् । आफ्नो माल बेच्यो अनि अर्कोकोबाट किन्यो । आफूले आफूलाई नचाहिएको माल दियो अनि अरुबाट आफूलाई चाहिएको लियो । उसको लियो आफूले दियो । यो ता ऐंचोपैंचो मात्र भयो । यसलाई कसले पुरस्कार भन्ने ? यो पनि कुनै पुरस्कार हो ? भन्न सकिएला यसलाई पुरस्कार ? पुरस्कारको महिमा, गरिमा, त्यसको महत्व, त्यसको मूल्य, त्यसको महत्तालाई यस्ता लघुताभाषीहरूले आज सखाप पारिरहेका छन् भन्ने लागिरहेको छ । अहिलेको नेपालमा यस्तै छ । उहिलेको नेपालमा यस्तो थिएन । मदन पुरस्कार थियो । पाउने मान्छेको महत्व नै अर्कै हुन्थ्यो । सरकारले पुरस्कार पाउनेलाई बढुवा हुनमा समेत अंक थपिदिन्थ्यो, के आजका पुरस्कारहरूको यही गरिमा छ ? अनुकरणको यो फोहोरी खेलले पुरस्कार, स्मृतिप्रतिष्ठान र स्मृतिग्रन्थ प्रकाशनको मूल आशयलाई बगाएर खौलामा हालिसकेको छ । समाजलाई गहन योगदान दिने, समाजको परिवर्तनलाई योगदान पुर्याउने, मानविकी, विज्ञान, ज्ञान, दर्शन, धर्म, ज्योतिष, व्यापारवाणिज्य, भौतिकी आदि गरिमायुक्त विषयहरूमा गहन योगदान दिनेहरूको अभिनन्दन हुनुपर्छ । यसमा कुनै दुविधा छैन । यस्ताको कदर हुनुको साटो हग्ने पाध्ने सबैको अभिनन्दन भएको देख्न पाइन्छ अहिले, सबैको स्मृतिग्रन्थ प्रकाशन गर्नै पर्ने पो हो कि भन्ने मनोदशाको विकास भइरहको देखिन्छ अहिले, सबैको नाममा सकिनसकी ऋणको भारी बोकेर भए पनि स्मृतिप्रतिष्ठान खडा गर्नु पर्ने अघोषित उर्दी भइरहेको जस्तो लाग्छ अहिले । अन्त नसकिए पनि आफ्नै बारी खेतमा भए पनि पिता पुर्खाको शालिक उभ्याउनै पर्ने प्रतियोगिताको विकास हुन लागेको जस्तो देखिन्छ अहिले । कालो धन हुनेलाई यसमा कुनै समस्या नहोला तर अरुलाई पर्ने समस्यातिर कसैको ध्यान गएको देखिन्न अहिले । समाजमा नाना कुरामा प्रतियोगिताको लहर चलेको छ अस्वस्थ प्रतियोगिताको । यस्ता कुरामा स्वस्थ प्रतिश्पर्धा हुँदो हो त यसका लागि कसैले टाउको दुखाउने विषय नै थिएन । एकातिर आफ्नाहरूको शालिक र आफ्नाहरूका नाममा स्मृतिप्रतिष्ठान खोल्न तामझाम छ अर्कातिर तिनैका आफन्तहरूले अमरसिंह, पृथ्वीनारायण शाह, महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ, स्वर्गीय राजा महेन्द्र आदिका स्थापित शालिकहरू भकाभकी भत्काइरहेका छन् । अनि सुनिदैछ तिनका ठाउमा आफ्ना आफ्ना क्षेत्रका आफूआफूले रुचाएकाहरूको शालिक राख्ने योजना पनि हुन लाग्दैछ । अनि तिनैका आसपास पारेर आफूले रुचाएका आफन्तहरूका नाममा प्रतिष्ठानहरू पनि खोलिंदैछन् । साथै गलत रूपममा उपार्जन गरिएको धन लगाएर स्मृतिप्रतिष्ठान, पुरस्कारहरू स्थापना गर्ने होड चलेको छ । अर्कातिर तिनैले त्यसरी थापेका सम्मान, पुरस्कार आदिको लेनदेनका लागि लुछाचुँडी पनि भइरहेको कुरा देखिन्छ । मनोदशा नै विकृतिले भरिएपछि यस्तै हुन्छ ।
आजको सोच, कार्य र प्रतिकार्यहरूलाई हेरेर छक्क परिएको छ । भोलिको दिनमा यस्ता कुराहरूको महत्वले पुनस्थापित हुने अवसर पाउने हो वा यही रूपले अँझै वृद्धि प्राप्त गर्दै जाने हो कमसे कम अरु कसैलाई नभए पनि मलाई भने अलिकति चिन्ता छ ।
अब भन्नुहोस् ती प्रतिष्ठान, पुरस्कार, सम्मानहरूको मूल्य र अर्थ के रह्यो ? कहाँ ती गुरुगम्भीर विषयहरूका ज्ञाताहरूको स्मृतिमा स्थापित पुरस्कार, कहाँ आजका अल्पविद्या भयङ्करीहरूको नाममा तिनका छोरानातिहरूले व्यक्तिगत प्रयोजनका लागि बनाएका कोरा ढिकुरा जस्ता स्मृति प्रतिष्ठानहरूले दिने पिण्डपानी जस्तो पुरस्कार ! कहाँ महान् विभूतिहरूका शालिक, कहाँ गने भँडारीका मूर्तिहरू । गम्भीरता, गुरुगरिमायम र राष्ट्रले नै श्रद्धा गर्ने विषयहरूलाई हामीले देखासेखीमा रित्तो पारिसकेका छौं । नाम राखिदिने बहानामा हामी अहिलेलाई मात्र हेरिरहेका छौं । भरे तिनको इतिहास कति सार्थक र महत्वको हुने हो त्यसतिर ध्यान रहेको देखिन्न । भोलि कसैले आजकाले झैं यी शालिकहरू भत्काउलान् भन्ने चेतना किन नभएको ? चेतना आजै भए राम्रो हुने थियो कि ? अहिले यत्ति भने । अरु भरे भनौंला ।
