एकाबिहानै पूर्वको क्षितिज स्वर्णिम भएर
मेरो झ्यालको कुना काप्चाबाट मलाई चिहाउछ
अनि, सुस्तरी सुम्सुम्याएर एउटा आभास दिलाउछ
मन फुरुंग भएर मुस्काउछु
बन्द नयनमा एउटा सुन्दर प्रतिविम्ब आउछ
औंसीको रात जून पोखिए जसरी
अन्धकार कोठाभित्र छिद्रा प्वालको सहारा प्रकाश प्रवेश गरे सरी
उनको मन्द मिठो मुस्कानले मादक नसा नसामा भरेर मातिन्छु
साना साना आँखाको नानीले प्रणिल तीर हानेको प्रतित हुन्छ
जब उसको निशाना मुटुको माझमा लाग्दछ
म अचेत हुन्छु
भए जति चेतना सबै सबै गुमाएर
बगरको माछा सरी छटपटीन्छु
सम्झनामा जब
उसको निकट उभिएर उस्कै मुहार नियाल्थे
उच्च हिमशिखरको विम्ब देखे जस्तो लाग्थ्यो
मानौ, पोथ्राहरूले अग्लो रुखलाई हेर्ने साहस गर्दैछ
मनको तृष्णा र चाहनाले अंकुश खोल्दै जाँदा
मेरा यी लहरा रूपी हातहरूले स्पर्श गर्ने दुस्साहस गर्न खोज्दा
भित्र भित्रै लाजले भुतुक्क भएको स्मरण ताजै छ
तथापी जिन्दगीले मृत्युको पराकाष्ठा नाघे जस्तै
अन्तत उसको हत्केलामा मेरो हात
अहो!
सारै सानो मेरो हात,
कर्कलाको पातमा न झर्न न जम्न सकेको एक थोपा शित
मनको तलाउमा संकाको अनेकानेक ढुंगा खस्दा खास्दै
सानो मुसालाई घोर्ले बिरालोले झम्टे जस्तो
आफ्नो आलिंगनमा मलाई कस्न गरेको यो ब्यवहार सहर्ष स्वीकार भो
सायद यो मनले त्यही न्यानो अंकमालको प्रतीक्षा गरेको थियो
यात वर्षौ पछिको प्यास मेटिएको थियो
उनको स्पर्सले
उनको हेराइले
उनको अंकमालले
अनि साच्चै उनको कोमल चुम्बनले
आज,
हो, आज तृप्त छ आँत
तर, हरेक बिहान यसरी नै छट्पटिनुको बिकल्प छैन
प्रकृतिको हरेक भावसँग
समय चक्रको हरेक पलमा
तिम्रो माया अल्झेको छ
तिम्रो सम्झना बाँचेको छ
तिम्रो स्पर्श ताजै छ
तिम्रो यादहरू मौलाएको छ
र त,
म अचेत हुन्छु
भए जति चेतना सबै सबै गुमाएर
बगरको माछा सरी छटपटिन्छु !
कल्पना राई”ख़ुशी”
दक्षिण कोरिया
दोलखा नेपाल
