मैले २०५० सालदेखि नै निजी विद्यालयमा शिक्षण सुरुआत गरेको थिएँ । शिक्षण क्षेत्रमै रमाउने मनले अरु विभागमा जागिर खान खोजिएन । बी.एड र एम.एड.जस्ता शैक्षिक योग्यता हासिल गरी मावि तहको शिक्षण अध्यापन–पत्र हातमा लिएर पनि म सरकारी जागिर खाने मनोकाङ्क्षालाई साकार रूप दिन सकिरहेको थिइनँ । विज्ञापन खुलेको थिएन । २०५२ सालको शिक्षक विज्ञापनमा प्राथमिक र निम्न माध्यमिक तहमा परीक्षा दिन पाएको थिएँ । दुवैमा अन्तरवार्ता दिने मौका पाए पनि छनोटको सौभाग्य मिलेन । राहत र अस्थायी शिक्षकका विज्ञापन जिल्ला–जिल्लामा खुल्ने गरेका भए पनि ती सबै वस्तुतः अस्थायी प्रकृतिका हुने र गैह्रकानूनी चहलपहल हुने कारण मन गएन । कतिपय स्थानमा शिक्षक नियुक्तिपश्चात् मात्र विज्ञापन खुलेको रहेछ भन्ने जानकारी पाइन्थ्यो । भित्रभित्रै सबै काम हुने र अन्तिम परिणाम मात्र बाहिर ल्याउने काम जताततै भए । मैले त्यस्ता धन्धामा फँस्न विल्कुलै रुचाइनँ ।
स्कुलका अतिरिक्त सप्तरीका विभिन्न निजी क्याम्पसमा पनि शिक्षण प्रारम्भ गरियो । शिक्षा आयोगले विज्ञापन खुलाएछ भने परीक्षा दिउँला नत्र यस जीवनमा सरकारी जागिर त्यत्तिकै भयो भन्दै थिएँ । नभन्दै विज्ञापन खुल्यो । सप्तरी जिल्लाबाट नै सहभागी भएँ । प्रतिस्पर्धीको घना भीडका बाबजुत निमावि तहमा छनौट भई निजीवाट सरकारी शिक्षक कहलाउन सफल भइयो । हाल श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा निमाशि तृतीय पदमा रही शिक्षणरत् छु । कक्षा ६ देखि १०सम्म नेपाली भाषा शिक्षण गरिरहेको छु ।
शिक्षा सेवा आयोगको परीक्षा सम्बन्धी अहिले नै कडा टिप्पणी गर्नु वा अन्धाधुन्द समर्थन गर्नु उचित नहोला । आयोगले जानेर गल्ती गरेको थाहा छैन । अबुझता र अनुभवहिनताले कमजोरी प्रशस्त भएका छन् । अनुकरणीय र साहसिक काम पनि पर्याप्त भएको महसुस हुन्छ । आयोग स्वय म शक्तिशाली निकाय रहन सकेन । राजनैतिक हस्तक्षेपको बन्दी समेत भयो । तर, राजनैतिक सङ्केतका आधारमा नाच्ने कठपुतली हुनबाट भने जोगियो । राजनैतिक दलका भातृसंस्थाले चाहिँदानचाहिँदा बखेडा छिकेर निकै समय अकर्मण्यताको शिकार बनाए । अख्तियार दुरुपयोग निवारण आयोगले समेत परिणामको शुद्धीकरणका लागि खबरदारी गर्यो । अन्यौलता र अविश्वासका बीचमा पनि आयोगले निष्पक्ष परिणाम ल्याउन हर कोसिस गरेको प्रतित हुन्छ ।
अरू जिल्लाको परीक्षा प्रकृयाका बारे अनविज्ञ भए पनि सप्तरी जिल्लाको भने औसत रह्यो । माशि तहको नेपाली विषयको परीक्षा सौहाद्र्रपूर्णरूपमा सम्पन्न भयो । सीमित परीक्षा केन्द्र भएको र रेखदेखमा जनशक्ति पर्याप्त भएको अनि उच्च तहका उम्मेद्वार परीक्षा दिने भएकाले पनि हुनसक्छ परीक्षाको तीन घण्टा मर्यादितरूपमा वित्यो । निमाशि तहका गाउँकेन्द्रित केन्द्रहरूमा भने छिटफुट अमर्यादित काम भए । प्रावि तहमा जनसङ्ख्या पनि बढी भएका र शहरबाट १५÷२० किलोमीटर टाढा पनि परीक्षाकेन्द्र थिए । त्यहाँ तोकिएको समयभन्दा एक घण्टापछि परीक्षा सुरुआत भएको संचारमाध्यमहरूले बताएका थिए । त्यहाँको अमर्यादित कार्यको यहाँ उल्लेख गर्नु उचित नहोला । सदरमुकाममा रहने माथिल्लो निकाय बेखबर रहेको त्यस्तो ग्रामीण इलाकामा परीक्षा कस्तो भयो होला ? सञ्चार माध्यमहरूले मनग्यै शब्द खर्चेका थिए ।
अब भने म सरकारी शिक्षकको रूपमा दिनचर्या कसरी बिताउँदै छु, केकस्तो अग्निपरीक्षा दिँदै छु र कुन स्थानमा उभिँदै छु, त्यस बारे एकाध कुराहरू प्रस्तुत गर्दै छु–
म आफ्ना दुई छोरीका साथमा ठिक समयमा सरकारी विद्यालय परिसरमा प्रवेश गर्छु । आफ्नो हाजिरी बनाउँछु । खेलिरहेका विद्यार्थीसामु पुगी अभिवादन साटासाट गर्छु । अनि कार्यालय सहयोगीले घण्टी बजाई दिएको सङ्केतअनुसार दैनिक शिक्षणीय कर्ममा जुट्छु । सर्वप्रथम कक्षाकोठामा विद्यार्थीहरूलाई पल्टाउँछु । उनीहरूका तत्कालीन मनोविज्ञानका एकएक पत्र पढ्ने कोशिस गर्छु । तीमध्ये कतिपय पारिवारिक झमेलामा अल्झिरहेको पाउँछु । कतिपय सही सल्लाह र सुझावको अभावमा बेहोसी जीवनशैली अपनाई गरिरहेका भेट्छु । तिनीहरूलाई उचित मार्गनिर्देशन दिँदै अध्ययनमननमा उत्साहित गर्छु । उनीहरूको हाजिरी लिइरहँदा भेटिएको अनुपस्थितिको स्पष्ट कारण बुझी हाजिरीखातामा सङ्केत भर्छु । जवाफ दिन झर्कोफर्को गरेमा विद्यार्थीलाई नपढी शिक्षकले सही ढङ्गले पढाउन नसक्ने विचार प्रेषण गरी आफू उनीहरूकै सहयोगी भएको वोध गराउँछु । लज्जावोधका कारण आफ्नो पीडा सार्वजनिक गर्न नरुचाएको खण्डमा लिखितरूपमा यथार्थ कुरा अभिव्यक्त गर्न लगाई उनीहरूका कुरा गोप्य राखिदिन्छु । र, आवश्यक पृष्ठपोषण गर्छु ।
फुर्सदको क्षण विद्यालयमा प्राप्त शैक्षिक पत्रिका र पाठ्यपुस्तक अध्ययनमा बिताउँछु । शैक्षिक खुराक मिल्ने कुराचाहिँ एकएक पढ्छु । प्राप्त सकारात्मक खुराकलाई आफ्नै चिन्तन ठानी शिक्षणीय कार्यकलापमा उपयोग गर्छु । सकारात्मक पक्षका उत्प्रेरक कुरा शिक्षक मित्रहरूसँग साटासाट गर्छु । नकारात्मक कुरामा आफूसमेत मुछिएको अनुभव गर्दै हरेक शिक्षक सचेत रहनुपर्छ भन्ठान्छु । पत्रिकाका थरिथरिका कुरामध्ये आफ्नो शिक्षणीय पाठसँग मिल्दा कुराहरू प्रसङ्गअनुसार सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्छुु । आधुनिक सोचका विद्यार्थीलाई युगसुहाउँदो शैक्षिक खुराक पस्कन सधैं होसियार रहनुपर्छ भन्ठान्छु । कुनै शिक्षकको शिक्षणकर्मको रफ्तार अवरुद्ध हुने काम कहिल्यै र्गिर्दन । विद्यार्थीहरूलाई आफूले नै जन्म दिएका नानीबाबुभन्दा बाहिरको देख्दिनँ । अरूको बदख्वाइँ गर्न समय दिन्नँ, आफूलाई खार्नमा पर्याप्त समय बिताउँछु ।
विद्यालय समय सकिए पछि अरू विद्यार्थीहरूलाई घर पठाई आफ्ना छोरीहरूलाई साथमा लिएर निवासस्थलतर्फ फर्कन्छु । बाटामा भेटिएका अभिभावकहरूसँग अभिवादन साटासाट गर्दै शैक्षिक सुदृढीकरणका सवालका उनीहरूका कुराहरू सुन्छु र आवश्यक कुरासमेत सुनाउँछु । अन्यत्र कतै अलमल नगरी घर पुगी घरायसी कर्ममा केही बेर जुट्छु । साँझमा कक्षामा भएका शिक्षण कार्यकलाप, कक्षाकार्य, गृहकार्य आदिका बारेमा नानीहरूबाट एकएक विवरण लिन्छु । उनीहरूले गृहकार्यका रूपमा गर्नुपर्ने सम्पूर्ण कार्य गरे नगरेको हेक्का पुर्याउँछु । अलमलिएका बखत उनीहरूलाई सिकाउने र बुझाउने कुरामा आफ्नो विवेकको भरमग्धुर उपयोग गर्छु । विद्यालयमा नानीहरूको बालमनोविज्ञान प्रतिकूल कुनै कार्य भएको रहेछ भने यथार्थ बुझी भोलिपल्ट सम्बन्धित शिक्षकसँग त्यसबारे छलफल गर्छु । अन्य विद्यार्थीहरूलाई आफ्नो तर्फबाट कुनै किसिमको पीडा र अविश्वास नहोस् भन्ने कुरामा हर्दम सचेत रहन्छु । बोली र व्यवहारमा एकरूपता ल्याउन सदैव चनाखो रहन्छु ।
कक्षाकोठामा समेत सबै बच्चाका निम्ति मायालु वातावरण तयार पार्छु । तिनैलाई भविष्यका ज्योति र राष्ट्रका कुशल सारथि ठान्छु । गर्नुपर्ने काममा बच्चाहरूले आलटाल गरे भन्छु– ‘अल्छी मान्छेको ठूलो शत्रु हो । यसलाई पराजीत नगरी कोही ठूलो र राम्रो मान्छे हुँदैन । समयमा आफ्नो कार्य सम्पन्न गर्ने व्यक्तिले सधैँ सफलता कमाउँछ । हरघडी थरिथरिका काममा मान्छे अल्झिरहेको हुन्छ । समयानुसार महत्व बोक्ने कार्यहरूलाई प्राथमिकता क्रममा राख्नुपर्छ र एकएक गर्दै सम्पन्न गर्नुपर्छ । यसो गर्दा असफलताको तीतो स्वाद लिनुपर्दैन । लिनै परे पनि त्यो सफलता चुम्ने सोपान सावित हुन्छ । आफ्नो परिश्रमबाट प्राप्त प्रतिफलले दिनेजस्तो आनन्द अरू केहीमा पनि छैन ।’ त्यत्ति मात्र कहाँ हो र ! राम, कृष्ण, गौतम बुद्ध, विवेकानन्द, ओशो, महात्मा गान्धीजस्ता व्यक्तिहरूको उदाहरण दिँदै नानीहरूलाई वर्तमान सपार्न उत्प्रेरित गर्छु । वर्तमान सपार्ने मान्छेको भविष्य आफ्नै हातमा भएका अनेकन् उदाहरण पेश गर्छु ।
कहिलेकाहीं विद्यालयको अनौपचारिक छलफलमा प्रधानाध्यापक भन्दछन्– ‘हामी शिक्षक यी कलिला विद्यार्थीका अनुकरणीय पात्र हौँ । उनीहरू हाम्रो आनीबानी र क्रियाकलापको दुरुस्त अनुकरण गर्छन् । यहाँका अभिभावक हामी नै हौँ । जसरी हामी हाम्रा नानीलाई घरमा हेक्का राख्छौँ, त्यसरी नै हामीले यहाँ हेरविचार पुर्याउनु जरुरी छ । हाम्रा नानीले उचित शिक्षादीक्षा नपाउँदा हाम्रो कन्पारो तात्छ, त्यस्तै अरूको पनि हुन्छ । घरमा हामी जति होसियार हुन्छौँ, त्यत्ति नै यहाँ हुनु जरुरी छ । जुनसुकै कुरालाई पनि सकारात्मक नजरले हेर्ने काम हामीबाट हुनुपर्छ । आदर्शका कुरा व्यवहारमा लागू गर्न नचाहनु कृतघ्न हुनु हो । हाम्रो वेहोसी कर्मले आफूलाई मात्र निस्क्रियतातर्फ धकेलिरहेका छैनौँ, पूरै राष्ट्रलाई अन्धकारतर्फ डोहोर्याइरहेका हुने छौँ । अतः जाडोमा घाम प्यारो भए, घाममै राखेर पढाऔँ । विद्यार्थीको उपस्थिति कम भयो भन्दैमा उपस्थित भएकाहरूको ज्ञान सिक्ने अधिकार नकुल्चौँ ।’
मैले यस कुरालाई मार्गनिर्देशनका रूपमा लिएको छु । आफूमा भएको पूरातन शिक्षणीय अहङ्कार चूर्णचूर्ण भएको अनुभव गर्ने गरेको छु । हुन त मसँग दुई दशक शिक्षण गरेको अनुभव छ । मैले नै अध्ययनसागरमा हेलिन सिकाएका कतिपय राष्ट्रका उच्च ओहोदामा पुगेका छन् । ती सबै प्रतिफल मेरै कारणले सम्भव भएको हो भन्ने दम्भ राख्दिनँ । म त्यस्तो उच्चस्तरको जनशक्ति उत्पादन हुने तहमा शिक्षण पनि गर्दिनँ । र, शिक्षक त मार्गनिर्देशक र सहयोगी मात्र हो, विद्यार्थीको लगनशीलता अनि सरकार÷अभिभावकको लगानीको प्रतिफल नै उक्त सफलता हो भन्ठान्छु । विद्यार्थीको सफलतामा खुशी नहुने कुरा त हैन । तर, हाम्रै प्रयत्नका बाबजुत कतिपय विद्यार्थी पछि गएर ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी, लुच्चा, लफङ्गा, निर्घिणी, कामचोर, दलाल, भ्रष्टाचारी, द्रव्यपिपासुसमेत बनेका छन् । सफल शिक्षक बन्न सकेको भए कुनै कालमा आफ्नो संगतमा आएका ती व्यक्तिहरूले जीवनलाई त्यसरी नकारात्मक दिशातर्फ मोड्ने थिएनन् भन्ने सम्झन्छु । दोषको भागिदार आफूसमेत भएको वोधले कहिलेकाहीं पिरोलिन्छु ।
अहिलेको जमानामा आफूले पढेजस्तो शिक्षकको खरो पञ्चायती शासन चलाउनुहुन्न । शिक्षककै बाटोमा सबै जना हिँड्नुपर्छ भन्ने छैन । विद्यालय भनेको आदरभाव राख्ने ज्ञान र विवेकले भरिएको पवित्र थलो हो भन्ने कुरा विद्यार्थीको मस्तिष्कमा प्रवेश गराउने जिम्मा हामी शिक्षकको नै हो । अग्रजको सम्मान गर्ने संस्कार हरायो भन्दै अग्रजले नै अचाक्ली गर्न पनि सुहाउन्न । शिक्षकले विद्यार्थी अनुशासित हुनुपर्छ भन्ने ध्याउन्नमा लागेर फाइदा छैन । हामीले नै शिक्षादीक्षाप्रति अभिभावकमा रुची पैदा गर्न सक्नुपर्छ । अहिलेको समय पहिलेभन्दा बेग्लै र पारदर्शी किसिमको हुनुपर्छ । अभिभावकले आफ्ना नानीहरूलाई एेंच्याउन हैन जवाफदेही तुल्याउन कोसिस गर्नुपर्छ । हामी पनि उनीहरूको यथोचित सोच र समझ अनुरूप हिँडिदिनुपर्छ । सानोतिनो बिगार वा कमजोरीलाई तीलको पहाड बनाई उनीहरूको मनोविज्ञान चिमोट्ने भूल गर्नुहुन्न । कतिपय कामकुराको निर्णायक र नेतृत्व वर्गमा उनीहरूलाई पुर्याई जिम्मेवारी सुम्पन सके जवाफदेहिता बढ्दै जान्छ ।
विद्यार्थी र अभिभावकलाई दोष थुपार्दै आफ्नो शिक्षण–धर्मप्रति वितृष्णा भाव राख्नु शिक्षकीय मर्यादाभित्र पर्दैन । जनताको तिरोबाट तलव–भत्ता खाएपछि जनतालाई नै शिक्षादीक्षा दिनमा कन्जुस्याइँ गर्न नैतिकताले समेत मिल्दैन । जजमानले पुरोहितलाई भौतिक वस्तुदान दिएझैं शिक्षकले विद्यार्थीलाई शिक्षादान दिन्छन् भन्ने सम्झनु सोह्रै आना गलत हो । मर्यादाका नाममा नानाभाँतीका पौराणिक कथन अघि सारी आजका कलिला बाबुनानीको कलिलो मनस्थितिमा विष घोलिदिनु किमार्थ उचित छैन । पूरातनवादको पूजारी तुल्याई अग्रगामी बाटो अवरुद्ध गर्दै जाने हो भने सिर्जनशील समाजको निर्माण सम्भव छैन । विद्यालयले हरतरहले शैक्षिक वातावरण दिनुपर्छ । विद्यार्थीहरूले आफ्नो अन्तस्करण खोल्ने मौका पाएमा एकले अर्कासँग गरेको व्यवहार र क्रियाकलापबाट समेत पर्याप्त ज्ञान सिकिरहेका हुन्छन् । समयानुरुप चौरीमा दगुरेर होस् कि उफ्रेर होस् थरीथरीका ज्ञान पाएकै हुन्छन् । मानसिक मात्र नभई शारीरिक श्रम गर्दा पनि सिकाइ सम्भव हुन्छ भन्ने वोध विद्यार्थीमा हुनुपर्छ । कडा अनुशासनको कैदखाना नभई विद्यालय खुल्ला सिकाइको मन्दिर हुनुपर्छ ।
अन्तमा, विद्यार्थीको मस्तिष्कमा अग्रजको बोलीमा खारिएको अनुभव हुनसक्छ, उनीहरूको सल्लाहलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने संस्कृति हराउनुहुन्न । समयसापेक्ष चाहिँदा कुरा जसबाट प्राप्त भए पनि त्यसलाई आफ्नै सोच–समझका रूपमा व्यवहारमा उतार्ने काममा विद्यार्थी पछि सर्नु हुन्न । हामी शिक्षक विद्यार्थीलाई ज्ञानगुनका कुरा सिक्न उत्प्रेरित गर्ने उत्प्रेरक मात्र हौँ, जवरजस्त लाद्ने निरङ्कुश शासक होइनौँ । मुलुकको वर्तमान र भविष्य हाम्रै हातमा कैद छ । हामी बेइमान भए समाजले चोर–डकैत, लुच्चा–लठैत जनशक्ति पाउँछ । शिक्षकको निस्क्रीयता र पेशाप्रति अनुदार चरित्रका कारण समग्र सरकारी शिक्षामा प्रश्न चिन्ह ठडिनुहुन्न । रुपैयाँपैसा हिनामिना मात्र भ्रष्टाचार होइन, नैतिक आचरणमा प्रश्नचिन्ह ठडिनु पनि भ्रष्टाचार गर्नु हो । हामी शिक्षक राष्ट्रका जोस भएका होसी प्राणी हौँ । अतः शैक्षिक सरोकारवाला पक्षले होस्सहित जोसका साथ मन, वचन र कर्मले समर्पित बन्ने प्रण गर्नु अत्यावश्यक छ । सरकारी शिक्षाको जस–अपजसमा प्रधानाध्यापकको भूमिका दुई हातमा अघिरहन्छ । कारण, उसकै नेतृत्वमा विद्यालयको उन्नति–अवनति भइरहेको हुन्छ । अँझ, शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यालय निरीक्षक, स्रोतव्यक्ति, जिल्ला शिक्षा कार्यालयको हातमा शैक्षिक अकर्मण्यता र अराजकता निर्मूल पार्ने अचूक अश्त्र हुन्छ् । सकारात्मक सोचले यी निकायले हिम्मतका साथ काम गर्ने हो भने विद्यालय शिक्षाको गुणस्तर वृद्धि महसुस गर्न महिना दिन पनि पर्खनु पर्दैन ।
नन्दलाल आचार्य
श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी ।
