Skip to content

युग ब्यूँझेको सन्देश


प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरूको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्लीडाँडा आज झरी पछिको मनमोहक गोधुलि साँझ बनेको छ । लभ्लीडाँडा पोखरा नजिकैको थुम्को डाँडो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाउँमा छुट्टै छ । थुम्कोबाट देखिने पोखराको रमणिय दृश्य अवलोकनको मजा छुट्टै । भ्रमण प्रेमीहरू कोही थुम्को र फेदीको म्याराथन दौड गरिरहेकाछन त कोही मन माफीकको व्यायाममा । युगल जोडीहरू भने एकान्तमा गफिरहेका छन् । ती युगल जोडीहरूमा अनुपम बिक र अनुपमा परियारको जोडी पनि छ । तिनीहरू चिलाउने रुखको फेदीमा वार्तालापमा मग्न छन् ।

“तिम्रो कोईली स्वरले मलाई दास तुल्यायो ! आहा SSS क्या गजबको स्वर पाईछ्यौ तिमीले । तिम्रो रुप र स्वरको सङ्गम मिलाउने क्रममा प्रकृतिले ठुलो मेहनत गरेको छ । प्रकृतिले होइन भगवानले । जुन भगवानले मलाई दलित पीडित बनायो, म त्यसको नाम पनि उच्चारण गर्न चाहन्न । तपाईलाई मात्र होइन हामीलाई पनि दलित पीडित बनाएको भगवानले होइन । भगवानको शृष्टि गर्ने स्वार्थी मान्छेले नै हामीलाई दलित पीडित बनायो, होइन र अनुपम ?”

“फेरि तिमीले मलाई तपाईं भन्यौ ? मलाई तिमीले, तपाई भनेको सुन्दा कता कता कुवाबाट डर लाग्दो आवाज घन्के जस्तो लाग्छ । मलाई बाघ भालुदेखि डर लाग्दैन तर तिमीले मलाई तपाईभन्दा डर लाग्छ । तिमी पराई त होइनौ नि ! तिमी त मेरो आत्मा ।”

“ल ल फुर्क्याउनु पर्दैन । अबदेखि म तिमी नै भनुँला लौ भएन । अनि गायकज्यू मलाई त कोइलीको उपमा दियौ तिमीलाई केको उपमा दिऊँ ? साँच्ची कति मीठो स्वर हो । कहाँ सिक्यौ अनुपम ?”

“गीत गाउने कला अरुले सिकाएर सिकिन्न । कलालाई निखार्ने अरुबाट हो अर्थात् गुरुबाट सिक्ने हो । मैले औपचारिक रुपमा गुरु थापेर सङ्गित कला सिक्न पाएको छैन । मैले आठ कक्षामा प्रवेश गरेपछि गीत गाउन स्वअभ्यास गरें र स्कुलमा हुने कार्यक्रमहरूमा गीत गाउने मौका पाएँ, सबैले मन पराए त्यसैले मेरो हौसला बढ्यो । क्याम्पसमा पनि बिबिध कार्यक्रम हुँदा गीत गाउने अफर पाएको हुनाले तिमीसँग मायाको नाता गाँस्ने एउटा अपूर्व अवसर मिल्यो । क्याम्पसका ती आयोजकहरूलाई धन्यवाद दिनु पर्छ, होइन त अनुपमा ! उनीहरूको पनि जोडी सलामत रहोस् । अनि तिम्रो सांगीतिक क्यारिएर कहिलेदेखि सुरु भएको हो नि ।”

“तिम्रो र मेरो कथामा खासै भिन्नता छैन, अनुपमा । तिमीले जस्तै म पनि ती आयोजकहरूलाई आशिस दिन्छु जसले हामीलाई एकापसमा नजिक तुल्यायो । अब त घर जाँऊ, अनुपामा ! साँझ छिप्पिएर रात परि सक्यो ।”

“हुन्छ जाँऊ ।”

“अनुपमा ! यो ठाउँ जति सुन्दर छ उति नै डरलाग्दो पनि छ । भोलि यही ठाउँमा भेटौं न है ।”

यसरी अनुपम र अनुपमा उनीहरूले कसम पनि खाए । उनीहरूको प्रेम प्रसंग चर्चाको विषय बन्यो । एक कान दुई कान मैदान भने झैं यो चर्चा उनीहरूको घरसम्म पनि पुग्यो । परिवारमा बाबु-आमा, दाइ-भाउजू, नाता-गोत्र र इस्ट- मित्रहरूलाई कामी र दमैबिचको प्रेम सम्बन्ध अपाच्य बन्यो ।

एक दिन अनुपमलाई भेटेर साँझ ढलेपछि घर पसेकी थिइन, अनुपमा । बाबु घर थिएनन, लोडसेडिङ्गको कारणले काम नहुँदा साथीको घरमा गएका थिए । एसएलसीमा पाँच विषय लागेको भाइ पढाई छोडेर कटिङ्ग सिक्न गएको घर आइपुगिसकेको थिएन ।

आमाले झम्टी हालिन्, “थुइया नकटी ! अरु कोही भेटिनस तैंले र त्यो कामीलाई नाठो बनाइस् ! ए डंकिनी तैंले आजसम्म हामीले कमाएको ईज्जत धूलोमा मिलाउन थालिछेस् । हाम्रो नाक काट्न थालिछेस”

आमाले अनुपमालाई कुएँलिन, पिटिन । तर अनुपमाले सियो र धागोसँग पौंठे जोरी खेल्नदेखि बाहेक अरु केही नजानेकी आमासँग कुनै प्रतिवाद गरिनन् । एक शब्द पनि नबोली आफ्नो कोठामा गइन र डङ्गग्रङ्ग पल्टिन् । उनलाई थाहा थियो एक दिन यस्तो अवस्था आउँछ भनेर तर चाँडै आयो । अब संघर्षका दिन शुरु भएछ भन्ने सोंचेर उनले त्यो घटनालाई नजर अन्दाज गरी दिइन् । बिबिए प्रथम वर्षको अन्तिम पेपरको परीक्षाका लागि तयारीमा जुटिन् ।

पढ्दा पढ्दै कति खेर निदाइछन् पत्तै पाइनन् । कल्याङ्ग बल्याङ्गले उनको निद्रा खुल्यो घडी हेरिन रातको दश बजेको थियो । केको कल्याङ्ग बल्याङ्ग हो यो भनेर कान थापेर सुनिन् । उनको बाबु -आमाको वीचमा छलफल चलिरहेको रहेछ ।

बाबुले भनिरहेका थिए, “हाम्रो सन्तानमा यही एउटी छोरीले बिए पढ्दै छे । दलित समाजमा यति धेरै पढ्नेहरूको संख्या औंलामा गन्न सकिन्छ । यही औंलामा गनिनेहरूमा हाम्रो अनुपमा पनि पर्छे । हाम्रा पाँच ओटी छोरी र एउटा छोरा मध्ये यही एउटी छोरीलाई त पढ्न देऊ, भर्खर त एक्काइस् लागि अहिले नै बिहेको चटारो किन गर्नु पर्यो र ?”

आमाले वीचैमा कुरा काटिन्, “हाम्रो नाक काट्न थाली सकी त्यो छौंडीले, तिमी भन्छौ केको चटारो पर्यो !”

“किन, के गरी र त्यसले ?”

“गर्नुसम्म गरी । पानी नचल्ने कामीको छोरोसँग लगन गाँठो जोड्न थालेकी छे, त्योभन्दा अरु के गर्नु पर्यो ?” आमा च्याँठिइन् ।

“आमै नि हो र ?” एकै क्षणको स्तब्धता पछि बाबुको आवाज आयो । “हुन त आजभोलि जातभातको कुरो छैन भन्ने सुनिन्छ । सरकारले दलित गैर दलितबिचको अन्तर जातीय विवाहलाई प्रोत्शाहन भत्ता पनि दिने गरेको छ । फेरि पनि हाम्रा पुर्खाले नमानेको कुरो हामीले कसरी मान्ने ? कुलदेवता रिसाउँछन् कि भन्ने डर । ठिकै छ म छोरीलाई सम्झाउँछु, तैंले केही नभन् ।”

त्यो रात अनुपमाको लागि कालो रात भयो । तर कालो रातमा पनि बाबुको कुराले कता कता टा…s s ढा ताराको उज्यालो देखेको अनुभूति गरिन् र भोकै निदाइन् ।

**** **** *****

उही लभ्लीडाँडाको चिलाउनेको फेद ।

“अनुपमा ! तिम्रो एक्जाम त सकियो क्यारे आज । मेरो भने अँझै दुई पेपर बाँकी छ । कस्तो भयो त एक्जाम ?”

“आजको एक्जाम त सकियो तर दुर्दशाको दिन शुरु भयो जस्तो छ अनुपम अब ।”

“किन के भयो र ? क्रान्ति !”

“घरमा आमाले मेरो बिहेको चाँजो पाँजो मिलाउन खोज्दै छिन् । मलाई त डर लागिरहेछ, अनुपम ।”

“धत् ! डर छेरुवाई । नाम भने अनुपमा रे ।”

“हामी आइमाई जातले के नै गर्न सक्छौं र ?”

“झाँसीकी रानीलाई याद गर र हाम्रो रुढीग्रस्त अन्ध समाजमा चेतनाको राँको बाल । मेरो पनि बिबिए अन्तिम वर्षको एक्जाम सकिन अब दुई पेपर बाँकी छ । त्यो सकिएपछि तिम्रो क्रान्तिमा काँधमा काँध मिलाउन तिम्रो घरैमा आउँला, धन्दा नमान ।”

“हुन्छ, अनुपम ! उसै पनि हाम्रो संस्कारमा यो महिना मागी विवाह हुँदैन त्यसैले म ढुक्क छु ।”

मेरो घरमा पनि भुसको आगो जस्तै मेरो विवाहको चर्चा चलेको छ अनुपमा । तर म तिमीलाई बाजा ठोकेरै विवाह गर्छु भन्ने मेरो आत्मविश्वास छ । तिमीलाई थाहा छ, अनुपमा ! हामी दलित पीडित किन भयौं ? किनभने आदिम युगमा मानिसहरू कविला वा गणमा विभक्त थिए साथै युद्धप्रेमी पनि थिए । बेलाबखत युद्ध गरिरहन्थे । युद्ध जित्नेहरूले हार्नेहरूलाई युद्ध बन्दी बनाउँथे र कथित् भगवानलाई खुशी तुल्याउन मानव बलि दिने संस्कृति बनाए । तर पछि सभ्यतासँगै युद्ध बन्दीहरूलाई दास बनाएर खेतीपाती तथा खनिजको जटिल र जोखिम पूर्ण कार्यमा लगाउन थाले । दासहरूको क्रय बिक्रय पनि हुन थाल्यो । समय बित्दै जाँदा सभ्यता पनि बढ्दै गयो राजा महाराजाहरू बने, कार्यबिभाजन हुन थाले । यही कार्य बिभाजनमा दासहरूलाई शुद्र वा अछुत भनियो र शुध्रहरूले छोएको नखाने मात्र होइन झुक्किएर छोइहालेछ भने पनि चोखिनको लागि पतिका गर्ने चलन चलाए । दासहरूमा पनि चेतना वृद्धि हुँदै गएको देखेर सामन्तहरूले कथित् भगवानको सृष्टि गर्दै भने भगवान ब्रह्माको मुखबाट ब्राह्मण, छातीबाट क्षेत्री, जाङ्घबाट वैश्य र पैतलाबाट शुध्र सृष्टि भएका हुन भनेर भगवानको डर र पाप धर्मको नियम बनाउने मनुस्मृति, वेद, उपनिषद्, कथा, पूराण आदिको निर्माण गरेर शुद्रहरूको मस्तिष्क कुण्ठित बनाउन शिक्षादेखि बन्चित गरे । यो सब झुठको खेती हो अनुपमा । व्राह्मण, क्षेत्री र बैश्यसँग समानता गर्न दलितभित्र एकता हुनु पर्छ । दलित समुदायभित्र पनि ब्राह्मणवादको पर्खाल खडा गरेर सामन्तहरूले हाम्रो मुक्ति क्रान्तिलाई कम्जोर तुल्याउने कुचेष्टालाई हामीले विफल पार्नु पर्छ । हामीले युद्ध हारेका हौँ, शक्तिशालीहरूले दमन गरेर राखेको हुनाले हामी दलित पनि हौँ तर अछुत होइनौं । दलित भित्रैको पानी बाराबारले हामीलाई कम्जोर बनाउँछ र दलित मुक्ति क्रान्ति शिथिल हुनजान्छ । युद्ध जित्नको लागि हामी दुई जना नमुना बनेर झ्याई झ्याईं बाजा ठोकेर बिहे गर्न आवश्यक छ । एक्जाम सकिने बितिक्कै म तिम्रो घरमा आउँछु, क्रान्ति ! चार पाँच दिन धैर्य गर ।”

“मेरो वा-आमाले तिम्रो अपमान गर्नुभयो भने ?”

“कालकुट बिष झैं पिई दिउँला, नडराऊ केही हुँदैन । अब छुट्टिऊँ, साँझ छिप्पियो ।”

सेकेन्ड बित्यो मिनेट र घण्टा बित्यो, र बित्दै गयो रात र दिन । चार-पाँच दिन मात्र होइन हप्ता बित्यो । तर अनुपमसँग भेट्न आएकी अनुपमा चिलाउनेको रुखसँग रुँदै घर फर्कन्थिन । मोबाइलमा पनि सम्पर्क हुन नसक्दा उनी थर्र काम्थिन । उता अनुपमलाई फुर्सद थिएन दलित युवा संघ कास्कीका अध्यक्ष भएको हुनाले आफ्नो समस्यासँगै दलित मुक्ति अभियानको राँको बाल्न रातदिन खटिरहेका थिए । पोखरामै सुनको गहना गृह संचालन गरिरहेका धनीको एक्लो छोरो थियो, ऊ । नरिसाउने, मिलनसार र प्रखर वक्ता भएकोले उसलाई सबैले मन पराउँथे त्यसमा पनि सुरिलो स्वरका धनी भएको हुनाले सबैको प्यारो थियो । अकस्मात संस्थाको कामले आफ्नो जन्म थलो पर्वतको चुवा गाऊँ गएका थिए । जाने बेला फोन गर्ने अनुकुल पनि भएन र गाऊँमा पुगेर फोन गर्न टेलिकमको टावरले काम गरेन । जे होस् सबै कुराको परिपन्च मिलाएर ऊ घर फर्क्यो र फोन गरेरअनुपमालाई लभ्लीडाँडा बोलायो ।

भेट हुने बितिक्कै अनुपमाले अनुपमलाई अँगालो हालेर रुँदै भनिन्, “पापी ! माया लाग्दैन मेरो ?”

“माया नलाग्ने भए तिमीलाई भेट्न म यसरी आकुल भएर किन आउँथें र ?”

“कमसे कम फोन त गर्नु पर्थ्यो ? कहाँ गएका थियौ ?”

“सरी अनुपमा । मलाई फोन गर्ने अवसर मिलेन किनभने म गाउँमा गएको थिएँ । गाउँका मेरा दौंतरीहरूलाई गुहार्न गएको थिएँ । उनीहरूलाई पनि आवश्यक पर्दा बोलाएको छु । साथीभाइहरूलाई मैले हरेक कुरामा मनाइसकें अब वा-आमालाई मनाउन बाँकी छ त्यो पनि अब दुई चार भित्र मनाएरै छोड्छु । त्यसपछि म तिम्रो घरमा तिम्रो बा-आमालाई मनाउन दलबल सहित आउने छु ।”

|किन र, एक्लै आउन डर लाग्यो ?”

“डरले होइन अनुपमा ! कुनै अप्रिय घटना हुन नपाओस भनेर हो । तिम्रो पनि गाऊँ पुम्दी होइन ? हो ….पुम्दी र चुवा मात्र नभएर अरु पनि पोखरा वरिपरिका गाऊँहरूबाट दलित मुक्ति पहरेदार युवाहरू जसमा कामी, दमै, सार्की लगायत सबै हुने छन् ।”

“अनुपम ! तिम्रो कुरा मलाई सबै मन पर्यो । तर यो दलबल सहित आउने कुरामा म असहमत छु । अर्थको अनर्थ लाग्न सक्छ, । बरु तिमीले तिम्रो बा-आमालाई मनाइ छोड्छु भनेका होइनौ ? यदि त्यसो हो भने तिम्रा बा-आमा र मामाहरूलाई लिएर आए बेस होला । म पनि मेरो बा-आमालाई मनाउने प्रयास गर्छु । यदि मैले मनाउन सकिनभने तिमी एक्लै आएर मनाउने प्रयास गर्दा राम्रो होला, होइन र ?”

“तिम्रो कुरा पनि बेमनासिब म भन्दिन । लौ अहिलेलाई त्यसै गरौँ अब छुट्टिऊँ, मलाई हतार छ ।”

**** **** *****

“तँलाई कामीको छोरो भनेर कसैले भन्न सक्दैन । लक्का जवान र सुन्दर छस्, पढेलेखेको छस्, गीत गाउने गला पनि पाएको छस् भने यौटी पानी चल्ने जातकी अथवा भनौं बाहुनी, क्षेत्रिनी, नेवार्नी, जुनसुकै जातको केटी ल्याए पनि म भित्र्याई दिन्थें, खुशीले । कहाँको त्यो पानी नचल्ने जातको दमिनी भित्र्याउन खोजिस् तनि तैंले, हाँ बुधे ? तँसँग के कुराको कमी छ, लौ भन् त ?”

“बा ! सबैभन्दा पहिला तपाईंले सच्याउनु पर्ने कुरा के हो भने तपाईंको यो छोरा सानो छैन त्यसैले अब मलाई बुधे नभन्नुस, मेरो नामअनुपम हो । मलाई सबैले अनुपम भनेर चिन्छन । रह्यो पानी चल्ने जात र नचल्ने जात, तपाईं आफूलाई दलित भित्रको ठुलो जात भन्नुहुन्छ भने दमैहरूले पनि आफूलाई दलित भित्रको ठुलो जात भनेर घमण्ड गर्छन । हामी दलित भित्रै छुवाछुतको पर्खाल खडा गर्छौं भने बाहुन,क्षेत्री,नेवार आदि कथित् उपल्लो जातले हामीले छोएको पानी किन खाने ? के यस्तै चालले हामीले समानताको नारा दिएर सफल हौंला । कुरा यति मात्र होइन बा ! यो युगमा नारी र पुरुष बाहेक अरु कुनै जात रहन दिनु हुँदैन र मानवता बाहेक अरु धर्म सबै आत्मरति र सम्प्रदायको सांस्कृतिक कागजको पुलिन्दा बाहेक अरु केही होइन ।”

अनुपमको अकाट्य दलिलले बाबु चाहिं बोल्नै सकेंन र भन्यो, “तेरो कुरा ठिक हो । तर यो घरमा म मात्र होइन अरु पनि छन् । आमा मामाहरूलाई पनि मना ।”

“हो ..इ ..न ! हाम्रो छोरालाई यति बिघ्न मोहनी लगाएर लट्ठ पार्ने कुन चाहिं दमिनी अप्सरा परिछे ? हामी पनि हेरौंन त्यसको मोहिनी रुप, गीत पनि मीठो गाउँछे रे भन्ने सुनेकी छु । भोलि लिएर आइज त अनुपम !”

आमाबाट पनि हरियो बत्तीको सिग्नल पाएर अनुपमले दङ्ग पर्दै भन्यो –“हुन्छ, आमा ! म भोलि लिएर आउँछु ।”

आफ्नो कोठामा गएर उसले फोनमा अनुपमालाई खुशीको खबर सुनायो । अनुपमाले पनि अनुपमको गुरु मन्त्र फ़लाक्दा बाबु -आमा खुशी भएको खबर सुनाइन् । दिदीहरू र भाइ त झनै औधि खुशी भएको कुरा पनि बिर्सिनन् ।

अक्षय तृतीयाको दिन अनुपमको जन्ती डोली सहित झ्याईं झ्याईं बाजा ठोकेर अनुपमाको आँगनमा नाचिरहेको दृश्य मनमोहक थियो ।

अल्पबिराम पोखरेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *