विकट पहाडी जिल्ला खोटाङको पनि एउटा दुर्गम गाउँ इन्द्राणीपोखरी । अर्थात् मोफसलको पनि मोफसलमा बसेर सिर्जनारत उत्साही युवा सर्जक–कृष्णश्री राई । यिनै कृष्णगर्तका कृष्णश्री राईको नवीनतम कथासंग्रह (तेस्रो कृति सायद) बौलाही आमा र सुनौला मुस्कानहरू । विद्यालय र क्याम्पसमा अंग्रेजी पढाउँने एउटा शिक्षक–यो भन्दापर अन्य कुरा अज्ञात (पर्दाभित्रै) रहेको साहित्यिक प्रतिभा । चिच्याई, चिच्याई विज्ञापन गर्ने जमानामा आफ्नो जीवनवृत्तसमेत लुकाउँने–एउटा अतिरिक्त मान्छे । ३८० पृष्ठको ओजिलो कृतिमा आफ्नो नामबाहेक अरु सबै विवरण ओझेलमा राख्ने निस्वार्थी कथाकार कृष्णश्री राई । नामभन्दा काममा विश्वास गर्ने कर्मयोगी हस्ताक्षर ।
यो मुलुकले नचिनेको मात्र होइन चिन्ने प्रयास नै नगरेको एउटा सीमान्तकृत कलम, हिलोको कमल र पहराको सुनाखरीको आकर्षक सुवासलाई भावकहरूका नाकसम्म पुर्याउने अठोटले यो कलम यहाँ दुस्साहस गरिरहेछ । एउटा सीमान्तकृत कलममाथि अर्को एउटा सीमान्तकृत कलम ।
यस कथासंग्रहभित्रकै एउटा कथाबाट पुस्तकको नाम जुराइएको बौलाही आमा र सुनौला मुस्कानहरू भित्र जम्मा १९ कथाहरू संगृहित छन् । ८ पृष्ठदेखि ३८ पृष्ठसम्मको आयाममा विस्तारित यी कथाहरूलाई लामा कथा भनेर मात्र पुग्दैन, केही कथाहरू त औपन्यासिक आयाममै फैलिएका छन् । पहिल्यै पाना गन्दा पट्यार लागेपनि कथाको मेलो पसेपछि पाठक एकोहोरिन्छ र कथा पढ्दा समय बितेको पत्तै हुदैन । पाठकसँग अन्तरङ्ग संवाद गर्न सफल छन् कथाहरू अनि पाठकीय मनभित्र स्वाट्टै छिर्छन कथाका यी बान्कीहरू । पहिलो एक टुक्रा इतिहासबाट शुभारम्भ भएर १९औं अर्थात् अन्तिम डा.आत्रेयको अन्तिम डायरीबाट कथान्त हुने यी कथाहरूको सरसर्ति अध्ययनको संक्षिप्त टिपोट गर्ने अनुमति चाहन्छु । हाम्रा हजुरबाहरूको प्रत्यक्ष भोगाइ (राणाकालीन) हो एक टुक्रा इतिहास । १०४ वर्षे जहाँनिया शासनको कालो कर्तुत र बर्बर दमनपूर्ण असह्य हर्कतको शव्दचित्र हो यो कथा । नेपालबाट श्री३ले खटाई पठाएको दौडाहा टोलीका बडाहाकिम कर्साहेब र गाउँकै ठूलाकाजी श्रीकान्तको माझ किराँत गौँडाको एकराते चर्तिकला हृदयबिदारक र निकै कारुणिक लाग्छ । गाउँलेद्धारा जुटाइएका खसी– बोका, कुखुरा–परेवा, दाल–चामल, घिउ–मह, फलफूल–सागसब्जी, निगार र तीनपानेले मदोन्मत्त दौडाहा टोलीलाई संगिनी, मारुनी, स्यामुना र तीज भाकाले नपुगेर दौडाहा डोरको नाइके कर्नेललाई श्रीकान्तले आफ्नै मीतछोरी खुशुमालाई कोसेलीस्वरुप जवरजस्ती टक्राउँछ । कर्नेलको पाशविक आतंकबाट फुत्किएर रुँदै र चिच्याउँदै क्षत–विक्षेत अवस्थामा खुशुमा आफ्नो घर मध्यरातमा पुग्छे र आफ्नो बाबुलाई इतिबृतान्त बताउँछे । विभिन्न युद्धमा डु एण्ड डाईको खेल खेलिसकेको भू.पू. लाहुरे खुशुमाको बाबु, दौडाहा बास बसेको मीतको घर पुगेर मित श्रीकान्त र त्यो नरपिशाच कर्नेललाई सिरुपाते खुकुरीले छप्काउँछ । त्यही रात आफ्नो जन्मस्थल खोटाङ छाडेर खुशुमा र बाबु मुग्लान (भारत) भासिन्छन् ।
तत्कालीन राणाशासनको जीवन्त झलक दिने यो कथा ऐतिहासिक र यथार्थ कथा मात्र होइन जनपीडक राणाशासनको ज्यादति र अत्याचारको पराकाष्ठा पनि भएकाले त्यो हिटलरी प्रवृत्तिको आजको पुस्तालाई एउटा ऐतिहासिक शिक्षा पनि हो । खोटाङ जस्ता सबै थुम र गौँडाहरूमा घटित यस्ता दुर्घटनाहरू साक्षात् र यथार्थ भएको स्वीकार गर्न सकिन्छ । त्यसरी पीडकप्रति पीडितले प्रत्यक्ष प्रहार गरेर बदला लिएका घटनाचाहिँ बिरलै थिए होलान् भन्ने आकलनसम्म अहिले गर्न सकिन्छ ।
कथासंग्रहको दोस्रो कथा स्याङ्डोल्मा, बारबेटम र कट्वाल सर । हिमाली भेगको मनोरम प्रकृतिमा गुराँसभन्दा राम्री तामाङ्नी युवतीसित कट्वाल सर प्रेमानुरागमा पर्छन् । तामाङ्नी र क्षेत्रीबीचको अकाट्य र गहिरो प्रेममा जातीय पर्खाल बाधक बन्छ र स्याङ्डोल्मा अर्थात् च्छ्योमोको अर्कै तामाङ केटोसँग विवाह हुन्छ । शैलुङ्गे लेकको एकान्तस्थलमा कट्वाल सर र स्याङ्डोल्माबीचको प्रेमील वार्तालाप :
– च्छ्योमो ! तिमी यहाँ किन आुकी ? अरुले देखे भने नराम्रो हुन्छ ।
– मो चेङ्ग्रा हेर्ना आुको । नाडरा मास्टर ! मो तोँलाई धेरै मोन पार्छा । मो तोँलाई आघोरै मोया गार्छा । मोसाँग बे गार । मेरो आफ्नु धेराइ प्यावा साम्पत्ति छा………, तोइँले मास्टरी पानी गार्नु पार्दैना…….।
दश वर्ष त्यही गाउँमा मास्टरी गरेर अन्तै गएका कट्वाल सर ३६ वर्षपछिको करिब छदशके उमेरमा पुन : त्यो गाउँ घुम्न जाँदा बुढेसकालकी उही च्छ्योमोको“होटल स्याङ्डोल्मा सेतोगुराँस पाहुना घर”मा बास बस्न पुग्छन् । पुरातन संस्कारको जातीय विभेदले पवित्र प्रेमलाई चकनाचुर पारेको यो यथार्थवादी सामाजिक कथा हो । ३९ वटा तामाङ शव्द प्रयोग भएको र भौगोलिक परिवेसको वातावरण समेत भएको विकट गाउँको विशुद्ध आञ्चलिक कथा पनि हो यो ।
तेस्रो कथा कैदी प्रेम अमर प्रेममा पनि ब्राम्हण युवा र किरात युवतीबीचको अमर प्रेम छताछुल्ल भएको पाइन्छ । यता आप्पाले नायीम्मालाई घरभित्रै बन्दी (कैदी) बनाउँछन् भने उता पुरेतबाले ऋतुराजलाई अर्कै ब्राम्हणकन्यासित विवाह गर्न बाध्य बनाउँछन् । अन्त्यमा दुवै प्रेमी (युवक र युवती)ले प्राणोत्सर्ग गर्दै अर्को लोकमा भेट हुन्छन् । जातीय विभेदग्रस्त आजको सामाजिक परिवेशको उत्खनन् गर्ने यो कथा संस्कृतका श्लोक र ३५ वटा किरात शब्दहरू प्रयोग गरिएकाले यसलाई पनि आञ्चलिक क्षेत्रको सामाजिक कथा मान्न सकिन्छ । प्रेमको सच्चा पूजारी नायीम्मा र ऋतुराजको कागजको सानो टुक्रा लेखोट : चोखो निश्चल प्रेम गर्नु यदि महापाप हो भने हे धरती माता…….. हामी हजार चोटी मर्न चाहन्छौं तिम्रै काखमा………..।
एउटी फूलप्रेमी बिधवाको अर्को युवकप्रतिको प्रेमाकर्षण कथा हो प्रकरण फूल । बिधवा महिला प्राकृतिक फूल मन पराउँछे भने पुरुष पात्र प्लास्टिकको कृतिम फूलमा सजीवता देख्छ र बोटबाट फूल टिप्नु पाप ठान्दै यस्तो फूललाई निर्जीव फूल मान्छ । यो प्रतीकात्मक कथामा फूललाई प्रेमको प्रतिक मानिएको र बिधवा महिलाले प्रत्यक्ष र साश्वत प्रेमान्त्रण गरेको आभास हुन्छ । यो कथामा नेपाली गजल र अंग्रेजी गीतका अतिरिक्त एकटुक्रा हाइकु समेत घुसाउन कथाकार सफल देखिन्छन् ।
हेनपेक्ट : एक तिक्त अनुभूति पाँचौं कथा हो । नेपाली समाजमा पहिले सासू पीडक र बुहारी पीडित हुने अवस्था रहेकोमा अहिले ठिक विपरित अवस्था छ । अहिले बुहार्तन होइन सासूर्तन छ । आधुनिक बुहारीको पोइ जोइटिङ्ग्रे, आफ्नै पत्नीको मन्दिर विवाह अर्कै पुरुषसित भएको देख्न विवश हुनु आजको तितो यथार्थ हो । डल्फीन छलाङ बाटोमा बास बस्ने एउटा बटुवाले विधवा मात्र होइन गर्भवती स्त्रीलाई फकाएर आफ्नो स्वार्थ (नीच) पूरा गरेको एउटा उमेर ढल्किसकेको भलाद्मीको कथा हो । कोमल हृदयका महिलाहरू छिट्टै पग्लिन्छन् र पग्लाउनमा पुरुषहरू माहीर हुन्छन् भन्ने सन्देश पनि हो । मेरी स्वास्नी र उसको यार पारिवारिक विकृति र विसंगतिको कथा हो । रविलाई छाडेर पत्नी जेनी उसको अर्कै यारसित टाप कस्छे । रहस्यको गर्त र अनुत्तरित प्रश्न हो नारी र बदला एव म प्रेममा अधिक निर्दयी हुने कुरालाई कथाले प्रस्ट पारेको पाइन्छ । आठौं, अस्पष्ट लक्ष्मण रेखाहरू प्रेममा रुमलिएको संयोग र वियोगको प्रेमवादी कथा हो र प्रभावका हिसावले यसलाई मध्यमस्तरको कथा मान्न सकिन्छ ।
कोखमै बसेर काखमै हुर्केकी भिन्तुना, नीलिमाकी आफ्नै छोरी हो र फेरि नीलिमा अपरिणीता अर्थात् अविवाहित कुमारी हो । अनैतिक यौनसम्बन्धको पापको फल पनि होइन भिन्तुना । पाठकलाइरहस्यको कुरा यही छ । कृतिम गर्भाधानमा वीर्यदान गर्दैमा प्रियदर्शनलाई आफ्नो पति र छोरी भिन्तुनाको पिता मान्न तयार छैन नीलिमा । निलीमालाई त्यही मनाउन नसकेर अन्त्यमा निलीमाकै नाममा आत्महत्या गर्छ प्रियदर्शन । आफ्नो प्रिय कवि यायावरको समिपमा आएर नीलिमाले कविलाई सुनाएको ब्यथा हो, कथा अपरिणीता नीलिमा । संग्रहको अत्यधिक लामो यो कथा आजको उत्तराधुनिक साइबर युगको अब्बल कथा हो । काम र मामको खोजीमा अमेरिका पुगेको बिष्णुकी पत्नी पूजा घरदेशमा कसरी पार्वती भएर परपुरुष शिवसित मदोन्मत्त अवस्थामा फर्कँदा बिष्णुले क्याफेमा फेला पार्यो भन्ने कुरा बताउँछ कथा आस्थाको भगवानले । परदेशका पुरुषहरूका पत्नी घरदेशमा बिग्रिएर सत्यनाश भएका यस्ता दूर्घटनाहरू नेपाली समाजका सामूहिक पीडा हुन् । विदेशमा श्रम–पसिना बगाएर स्वास्नी र धन दुवै बेपत्ता भएका घटनाहरू नेपाली समाजमा नौला र अस्वाभाविक हुँदै होइनन् । बाल मनोवैज्ञानिक कथा उत्तमसर र कञ्चन मिसको चिठ्ठीमा उत्तमसरले विचलित विद्यार्थी उज्वलको कसरी मनोवैज्ञानकि उपचार गरे भन्ने सीपमूलक कुरा छ । एउटा असल विद्यार्थीको एउटा असल शिक्षकप्रतिको आस्था, श्रद्धा र अनुराग कति उच्च हुन्छ भन्ने कुरा पुष्टि गर्न यो कथामा कथाकार सफल देखिन्छन् ।
जनयुद्धकालीन एउटा जनयोद्धाकी पत्नीको व्यथा र आवाज हो हृदयभित्रका आवाजहरू अनि बुलन्द आवाज । जनयोद्धा सूर्याकी विधवा पत्नी चन्द्राले छोरो वर्तमानु जन्माउँछे र जनयुद्धका सहिद, घाइते र अपाङ्गहरूको सपना पूरा हुने कामनासहित सहिदपत्नी चन्द्रा समय र नेतृत्वलाई खवरदारी गर्दै आफ्नो छोरो वर्तमानप्रति आशावादी बन्छे । वर्तमानसित जोडिएको दशवर्षे जनयुद्धकालीन पीडा र सामाजिक यथार्थ बोल्छ यो कथाले । पुस्तककै नाम बोकेको तेह्रौँ कथा हो बौलाही आमा र सुनौला मुस्कानहरू । दशवर्षे जनयुद्ध कुनै लहडको रहर थिएन, एउटा अकाट्य बाध्यता थियो भन्ने कुरा यो कथाले बोलेको छ । तत्कालीन सरकारी सेनाको ज्यादति र बर्बर आतंकले शोषित, पीडित जनताको जनयुद्धलाई मलजल र गोडमेल गरेर चरमोत्कर्षमा पुर्याएको कथानकले पुष्टि गरेको छ । सामूहिक बलात्कारको शिकार भएर चैतन्य गुमाउँदै बौलाही भएकी आमालाई गाडीले हान्नु र उपचारपछि दूर्घटनाको घाउ मात्र निको हुँदैन गुमेको चैतन्यसमेत फर्केर आमा निको र सद्दे हुन्छिन् । उज्यालो आगतको अपेक्षा गर्दै सुनौला मुस्कानहरू छाड्ने यी आमा महिला कमरेड शीतलकी मात्र आमा होइनन् यी त नेपालआमा हुन् । आरोह–अवरोह वातावरण र प्रेमवादी कथा हो । यहाँ प्राकृतिक वातावरणमा कथाकारको चासो र चिन्ता छ भने अतृप्त प्रेमीकाको प्रेम, घृणामा रुपान्तरण भएको छ । यसमा कथाकारले प्रेमको परिभाषा र विश्लेषणलाई छताछुल्ल पारेका छन् । चुहिने छाप्राकी बाटुलीको छाप्रामा लोकतन्त्र र गणतन्त्र कहिल्यै आउँदैन, खालि बेपत्ता पोइ सोमेको याद र अभाव मात्र आउँछ कथा नि:स्वप्न आँखाँहरूमा । जूनकेशरी याड जिमेइल डोट कम पहाडको अनकन्टार जङ्गलमा घाँस काट्ने जूनकेशरीले विदेश हिँडेको बालसखा पूर्नेलाई दिएको इमेल ठेगाना हो । सूचना र आधुनिक प्रविधिले स्पर्श नगरेको कुनै गाउँ र कुना बाँकी नरहेको सन्देशमूलक कथा हो यो । पर्यटक, कवि, गणतन्त्र, नयाँनेपाल, संविधान, जनता, नेता सुरक्षाकर्मी र लठैत जस्ता १४ जना पात्रहरू भएको कथा मैले हेरेको अन्तिम नाटक वर्तमान नेपालको सत्य घटना बोल्ने यथार्थवादी कथा हो । नाटकीय संवादमा विस्तारित यो कथामा नयाँनेपाल (आमा) को गर्भमा भु्रण संविधान र काखमा बालगणतन्त्र चिच्याई, चिच्याई रोइरहेका छन् भने नेताचाहिँ निरीह जनतालाई गोलभेडाझैं पिस्दै कुर्सीको खिचातानी गरिरहेको यो दृश्य काल्पनिक लाग्दैन । शहरका फुर्सदिला र सम्भ्रान्त नारीहरूको खुल्ला र उन्मुक्त यौनजीवन देखाउँने कथा हो जीवनका रङहरू ।
संग्रहको अन्तिम कथा डा.आत्रेयको अन्तिम डायरीबाट आधुनिक विज्ञान कथा हो । विज्ञान र प्रविधिको छब्बिसौं शताब्दी (वि.सं.२५६२) चरमोत्कर्ष काल हुने परिकल्पना गर्दै कथाकारले अकल्पनीय कथा बुनेका छन् । ध्रुवीय क्षेत्र र अन्य ग्रहहरूका शहरीया मानव बस्तीहरूमा मानवमाथि नै शासन गर्ने अत्याधुनिक रोबोटहरू हुनेछन् । मानवीय संवेदना पूरै मरेर समाज पूर्णतया यान्त्रिक हुनेछ । वातावरण विनाश भएर शून्य हुनेछ । डा.आत्रेयीकी हराएकी प्रेमिका नीरमाकै स्वरुपमा आत्रेयका मित्र डा.साम्बले यन्त्र मानव बनाउँछन् तर आत्रेयलाई प्रदान नगरी आफैँ उपभोग गर्छन् । यो कथा मङ्गलग्रह जानुपूर्व डा.आत्रेयले भूलबस छाडिएको डायरीमा उल्लिखित घटनाका आधारमा तयार गरिएको भन्दै कथाकार कृष्णश्री राईले कथामा अँझ रोचकता थपेका छन् ।
यसरी कृष्णश्री राईका यी १९ कथाहरू, संस्कार, संस्कृति, प्रेम, क्रान्तिचेत, वातावरण, पर्यावरण, विज्ञान तथा प्रविधि जस्ता विविधार्थी भावभूमिमा केन्द्रित छन् । तामाङ, किरात, अङ्ग्रेजी र संस्कृत शब्दहरूको भरमार प्रयोगले कथाहरूलाई जीवन्त वनाए पनि बौद्धिक पाठकहरूले समेत आमूखको शब्दार्थसूची (२२६ ओटा) हेरिरहनु पर्छ भने सामान्य पाठकहरूलाई अर्थबोधमा निकै सकस पर्ने देखिन्छ । विषयवस्तु र प्रस्तुतिकलाले गर्दा मात्रै पाठकमा कथा पढ्ने धैर्यता रहन्छ । आयामका हिसावले अधिक कथाहरू निकै लामा लाग्दछन् । गीत, गजल र हाइकुको मिश्रणले कथाका बान्कीहरू अँझ खुलेका छन् । पात्रहरूका स्थानीय बोली र लवजले कथामा प्राण भरेका छन् भने कथाकारका बौद्धिक दर्शन र ब्याख्यान अलिक बोझिला लाग्छन् । मनोविज्ञानको अन्तस्थलमै पुगेर कथाहरू बुनिएकाले सागरको मोती टिप्न सफल गोताखोर लाग्छन् कथाकार । कृष्णश्री राईको कथाकारिता पृथक, नवीन र लोभलाग्दो लाग्छ अन्य लेखकलाई पनि । सोचाइको दृष्टिकोण र लेखाइको शैली दुवै पृथक भएकाले गाउँले कथाकार राईको निजत्व टड्कारो देखिनु लेखकीय अस्तित्वको पहिचान हो ।
भूत, वर्तमान र भविष्य तीनै काललाई सम्यक्दृष्टिले देखेर बेजोड कथाशिल्पमा लेख्ने त्रिकालदर्शी कथाकार कृष्णश्री राईका संगृहीत् यी कथाहरूलाई राष्ट्रियस्तरका साहित्यिक सम्पादकहरूले किन न्यायोचित मूल्याङ्कन गरेर आफ्ना पत्रिकामा स्थान दिन सकेनन् ? के लेखक बन्न राजधानीबासी नै हुनुपर्ने ? के राजधानी छिरेर सम्पादकसित चोचोमोचो नबढाए राम्रो लेखक पनि ओझेलमा परिरहने ? राष्ट्रिय पगरी गुथेका भावक र मसिहा समालोचकहरूले गाउँले लेखकका कृति पढेर उनीहरूका बारेमा लेख्ने कि नलेख्ने ? खोटाङ र डोल्पा पनि नेपाल नै हुन् भन्ने कुरा कहिले बुझ्छ काठमाडौं ? राजधानीको भूगोललाई देश भन्दै कहिलेसम्म सिङ्गो नेपाल बोकिरहन्छ काठमाडौं ?
बिना मलजलको वनमारा स्याहारिएको गमलाको फूलभन्दा सुन्दर हुनु उल्लेख्य पक्ष हो । उता शहरमा पिठोलाई चामल र सुँगुरको बोसोलाई घिउ भन्दै चिच्याइ, चिच्याइ बेचिरहेछन् र क्रेताहरू पनि मख्ख पर्दै किनिरहेछन् । प्राकृतिक फूललाई प्लाष्टिकका कृतिम फूलहरूले विस्थापित गरिरहेछन् । यता गाउँमा कमलहरू हिलोमा फुलिरहेछन् ।सुनाखरीहरू अकर पहरामा लुकिरहेछन् र लालीगुराँसहरू कुहिरोभित्र हराइरहेछन् । यता गाउँमा देवकोटाहरू हलो जोतिरहेछन्, लेखनाथहरू भेडा चराइरहेछन् र पारिजातहरू भाँडा माझिरहेछन् । उता शहरमा कृतिविमोचन, अन्तरक्रिया, दौडधूप, लेनदेन र सम्पर्कवादमा फलामहरू रातारात सुनमा रुपान्तरण भइरहेछन् । राजधानी र मोफसलबीचको यो गहिरो खाडल र लामो दूरीलाई कुनचाहिँ लोकतन्त्र र गणतन्त्रले पुरेर नजिक ल्याउँने हो ? सबैलाई समान ताप र प्रकाश दिने त्यो न्यायमूर्ति सूर्य कहिले उदाउँने हो ? स्वयम्भूका ती आँखाले कहिले देख्ने हुन् काठमाडौं खाल्डोबाहिर ?
यी र यस्तै अनगिन्ती प्रश्नहरूका अगाडि एउटा बलियो सम्भावना बोकेर सार्थक र सम्प्रेष्य कथाहरू लेखिरहेका उदीयमान कथाकार कृष्णश्री राई उपस्थित भएका छन् नेपाली कथाको वाटिकामा एउटा सुन्दर फूल बनेर । यो फूललाई पाठकरुपि भमरा र समालोचकरुपि पुतलीले चुमेर रसास्वादन गर्दै स्वादको पारख गरिदिए फुलेको फूलको सार्थकता हुने थियो, ओचित्यपूर्ण हुनेथियो । चाखेर गुलियो, अमिलो, तितो, टर्रो जे छ त्यही भनिदिए हुन्थ्यो भन्ने लेखक (कथाकार) र यो टिप्पणीकर्ता (भावक) को विशेष : आग्रह रहनु कुनै अस्वाभाविक होइन ।
कृष्णश्री राईका यी कथाहरू सन्देशमूलक, शिक्षाप्रद, चेतनामूलक, रोचक, विचारोत्तेजक, जीवनवादी, नवीनशिल्पी र सम्प्रेष्य भएकाले सबै पाठक, भावक र समालोचकले एकपटक पढ्नैपर्ने पुस्तक हो–बौलाही आमा र सुनौला मुस्कानहरू ।
रामविक्रम थापा
कृष्णगर्त, खोटाङ
मो.नं ९७५३००४३६०
