Skip to content


हाकिम गोष्ठीमा गएकाले कर्मचारीहरू काममा व्यस्त हुनुको सट्टा बाहिर घाम ताप्न मस्त छन् । हुन पनि पुस महिनाको जाडोको घाम ताप्न छाडेर कसले काम गरोस् ? काम त भोलि गर्दा पनि हुन्छ, यस्तो पारिलो घामको आगमन भोलि नहुन पनि सक्छ ।

“हाम्रो हिम्मतलाल सुब्बासाबले कसरी त्यत्रो घर किन्नु भो ? जागिर खाएको पाँचैवर्षमा राजधानीको मुटुमा पाँच करोडको घर ! पाँच वर्षपूर्व किनेको घडेरीमा हाकिमसाबले त अँझै घर बनाउन सक्नुभएको छैन। मान्नु पर्छ, हाम्रो हिम्मतलाल सब्बासाबलाई ।”

“पैतृक सम्पति होला नि सुब्बासाबको !” एउटा कर्मचारीको बोली भुइँमा खस्न नपाउँदै अर्को सहकर्मी बोल्यो— “ऋणै ऋणमा चुर्लुम्म टुप्पी डुबेका पाँच वर्षपूर्वका हाम्रा सुब्बासाब, हामीले नचिनेका बिष्ट हुन् र !?”

चउरमा न्यानो घाम ताप्दै यस्तै घरायसी गफमा मस्त भए कर्मचारीहरू । गफ पनि यस्तै घर, गाडी, सुन, ब्याङ्कब्यालेन्सादि धनकै सेरोफेरोमा केन्द्रित भयो ।त्यो पनि आज अनुपस्थित हिम्मतलाल सुब्बासाबकै कुरा मात्र । कार्यालयको काम र सेवाग्राहीको पीरमर्कातिर कसैको ध्यान गएन ।

हिम्मतलालकै सहकर्मी अर्को सुब्बासाबलाई असह्य भयो । कार्यालयबाट कोठामा पुग्नासाथ ल्यापटप खोल्यो र हिम्मतलालको अथाह रअकूत सम्पतिको छानबिन गरी न्यायोति कारबाही गरिपाउँ भन्ने ब्यहोराको उजुरीट टाइप गरेर केन्द्रीय तहको तालुक निकायमा इमेल गरिदियो ।

केन्द्रको तालुक निकायबाट छानबिन टोली जिल्लामा आयो । हिम्मतलालमाथि टोलीले एकहप्ता छानबिन गर्यो । आफ्नो बैङ्कखातामा भएको तीनकरोड मध्येबाट एककरोड रकम निकालेर खामबन्दी गरी हिम्मतलालले छानबिन टोलीको संयोजकलाई सुटुक्क थमाइदियो ।

“कहिले कारबाही होला यो हिम्मतलाललाई ?” उजुरीकर्ता, अर्को सुब्बासाब वर्षौसम्म प्रतीक्षारत थियो र अँझै छ ।

रामविक्रम थापा
फाक्टाङ— २, कृष्णगर्त, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *