मेरो कोठाको भित्तामा
झुन्ड्याएको छु एउटा क्यालेण्डर
क्यालेन्डर अर्थात् समयको प्रतिक ।
सेकेन्ड, मिनेट र घण्टाहरूसँगै
दिन, हप्ता र महिनाहरूसँगै
पल्टाउने छु क्यालेण्डरका पानाहरू
र एक दिन आउनेछ
नयाँ वर्षको नयाँ दिन
अनि म झिक्ने छु
पुरानो क्यालेन्डर
र झुन्ड्याउने छु
नयाँ वर्षको नयाँ क्यालेन्डर
नयाँहरूको आगमन
पुरानाहरूको विस्थापन
शायद दार्शनिकहरू
यसैलाई भन्ने गर्छन
जन्म र मृत्यु
प्रकृतिको यो साधारण नियमलाई
किन यति बिघ्न महत्व दिन्छन हँ ! मान्छेहरू
मेरो कोठाको भित्तामा
झुन्ड्याएको छु एउटा क्यालेण्डर
क्यालेन्डर अर्थात् समयको प्रतिक ।
