समाज बन्छ, बिग्रिन्छ वा बनेको समाज नाश हुन्छ, समाजमै भएका मान्छेले बनाएको आगोले। तर, आगोको अस्तित्व तातो दिनुमात्र हो अन्यथा यसले अन्धकार निम्त्याउनु हुन्न। तर, आगोले निम्त्याएको अन्धकार असह्य नै हुन्छ।
आगो बन्ने प्रक्रियामाथि
भर्खर भर्खर
अधुरो पाठ पढाएर
कक्षाकोठाबाट बाहिर आएकी छन्
साइन्स् टिचर
कसैलाई जानु नै पर्ने हुन्छ,
ती उँघिरहेका बच्चाहरूलाई
यति बताउनका लागि
कि आगो बन्दैन
अक्सिजन फ्युल र हिट
यत्तिकै मिल्दैमा
वास्तवमा
कति किसिमले बन्छ आगो। …
-बाबुषा कोहली।
आगो ओकल्ने यो कविता पढ्दा मैले कति नजिकबाट देखेको थिएँ, सडकमा बलेका आगोहरू ? आगो भरभर्ती बल्दै गर्दा सँगै हिँड्ने तमासे हामी नै थियौं।
काठमाडौंको असनमा सामान्य कुरामा आगो बल्यो र त्यहाँको अमूल्य टेलिफोनको केबल बुथ एक घन्टामै सखान बनाइदिए। हप्तौंसम्म काठमाडौंवासी टेलिफोन सेवाबाट विचलित हुन पर्यो, त्यो एकादेशको कथा होइन २० वर्षअघिको हाम्रो लाइफ प्रोफाइल नै हो।
काठमाडौंको पुरानो र प्रिय सिनेमा हल जनसेवामा सामान्य कुरामा आगो लगाइयो र इतिहासै मेटिने गरी हरायो जनसेवाले गरेका सेवा र मनोरञ्जनका कुराकन्थो। आज २०१८ साल असोज १८ गतेको त्यो घटनाको आगो सम्झिने कति तरंगित हुन्छन्।
आगोले हाम्रो देशलाई, हाम्रो छिमेकलाई बारम्बार लखेटिरहेका छन्।
आगो बाल्न सिकाउनेले निभाउन सिकाउन समय लाग्छ वा निभाउन सिकाउन नै सक्दैन।
भारत, पाकिस्तान, अफ्रिका, इरान, इराक, अफगानिस्तानमा लागेका आगो कहाँ निभाउन सकेका छन् र?
यो विडम्बना हो। हामीकहाँ पनि ससानो आगोबाट ठूलो आगो लागेका छन्, बलिउड अभिनेता ऋत्विक रोशनले भनेको भनेर नभनिएको कुरा सञ्चारमाध्यममा आउँदा कस्तो आगो लाग्यो। त्यो आगोले पहाडिया र मधेसीको अग्निरेखा कोरिदियो।
सुन्दा अचम्म लाग्छ, एउटा नेता होइन अभिनेताले भनेको कुराले ल्याएको यो आगोमा कसको हात छ, कसैले पत्ता लगाउन सकेन।
त्यो आगो तराईसम्म नगएको भए वा त्यो आगोले पहाडियाको उग्रअहम्लाई प्रदर्शन नगरेको भए, आज यो भेद र विभाजनको कुरा आउँदैनथ्यो।
हुन त पछि यसलाई इतिहाससित र शदीयौंदेखिको भ्रमसित पनि जोडेर हेरिन थालेको छ आज। यस्तो अलिअलि धमिलो कुरामा अर्को विमतिको इतिहास अलग्गै बन्न सक्छ, यसका निम्ति कुनै नीतिनिर्माता वा सोच, दर्शन केही चाहिँदैन।
गाडी सधैं चालकले गरेरमात्र खस्दैन, कहिलेकाहीँ खलाँसीको गलत निर्देशनले पनि खस्छ।
अहिले समय त्यस्तै छ, खलाँसीको खलनायकत्वमा देश चलिरहेको छ। खस्नबाट रोक्नका लागि सबैको पहल जरुरी छ।
नव वर्षको पहिलो दिन यही अनुभूत भयो गीतकार कालीप्रसाद रिजालको गीत र गीतबारेका अन्तर्कथा सुनेर।
उनी २०७२ सालको पहिलो दिन झुल्किएका थिए आफ्ना नयाँपुराना रचनासहित ललितपुरको होटल सामुराईमा।
उनलाई सुन्न कीर्तिपुरदेखि भक्तपुर, जाउलाखेलदेखि चाबहिलसम्मका गीतसंगीत अनुरागी उपस्थित थिए, हलमा।
कुराकानीको सुरुआत गत वर्षभरि विवादको भुँवरीमा फँसाइएको उनको एउटा गीतबाट भयो, जुन गीतको बोल थियो,
बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैं नेपाल लेख्न पाइयोस्।
यो गीतका बारे फैलिएको आगो र अज्ञानताबारे उनले स्पष्ट मत राखे, गीत समयको एउटा दर्पण हो।
यसमा स्रष्टाले एउटा पिक्चर लेखेको हुन्छ तर गाउनेले, संगीत गर्नेले मन परेको अंशमात्र लिइदिन्छन्, छुटेको अंशमा केही आपत्ति हुन्न तर गाइएको अंशमा अनावश्यक टीकाटिप्पणी उठाइन्छ।
यसमा मेरो केही भन्नु छैन, यसमा हिमालको कुरा आएर मधेसको कुरा छुट्यो भन्नेले यो गीत पढून्। यसमा मैले स्पष्ट रूपमा गुराँसको प्रदेशदेखि मधेससम्मका कुरा लेखेको छु।
सोही भनाइसँगै उनले वर्षौंअघि प्रकाशित आफ्नो पुस्तक ‘आँखा छोपी नरोऊ’ नामक संग्रहबाट छुटेको अंश पनि वाचन गरे।
कालीप्रसाद रिजाल गीतिआकाशमा कम गीतले धेरै ख्याति कमाएका एक स्रष्टा हुन्, उनका गीत नारायणगोपालबाट सुरु भएर फत्तेमान राजभण्डारी, अम्बर गुरुङ, तारादेवी हुँदै शैलेश सिंह, रामकृष्ण ढकाल, यम बराल, संगीता रानासम्मले गाएका छन्। र, उनी गायकगायिकाको जस्तै श्रोता भावकका पनि सदैव प्रिय गीतकार रहे।
२०७२ को पहिलो मंगलबार उनले मंगलमय शुभकामना दिँदै भने, ‘मलाई आफ्नो प्रशंसा भयो भनेँ सबभन्दा बढी असहज हुन्छ। मलाई गाह्रो लाग्छ।’
आफ्ना गीतका प्रशंसकमाझ आफ्नो विचार राख्दै गर्दा उनले बालकृष्ण सम, देवकोटा, लेखनाथ, नारायणगोपाललगायत भीमदर्शन रोका, भूपि, वासु शशी सबैलाई सम्झे र भने, म त भाग्यमानी छु। त्यस्ता त्यस्ता हस्तीसित भेटेको छु, तिनको रचना सुनेको छु, साथसंगत पाएको छु। तिनैबाट प्रेरित भएर मैले लेख्न सुरु गरेको हुँ।
स्वरसम्राट् नारायणगोपालसितको पहिलो भेट र उनले गीत मागेको प्रसंग सुनाउँदै कवि, गीतकार कालीप्रसाद रिजाल अतिरेक रूपमा भावुक भए। सँगै बसेका गीतकार सुवासचन्द्र ढुंगेल त सजल नेत्रले हेरिमात्र रहे।
कालीप्रसाद रिजालसित बिताइएको डेढ घन्टा समयका बारेमा दर्शकदीर्घामा उपस्थित प्राडा सनतकुमार वस्तीले आफ्नो विचार यसरी राखे, स्रष्टालाई यति निर्विघ्न भएर बिनाढाकछोप सुन्न पाउनु जीवनकै ठूलो आनन्द हो। आज उहाँ यति खुलेर बोल्नुभयो र सुन्न पाउनु हाम्रो भाग्य हो।
कालीप्रसाद रिजालको रचनाको पहिलो गीत नारायणगोपालले स्वरबद्ध गरेका थिए, आफ्नै संगीतमा, ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ’ र ‘झरेको पातझैं भयो उजाड मेरो जिन्दगी।’
यी दुई लेख्दाको प्रसव पीडा र पञ्चायतकालमा यही गीतका कारण कालीप्रसादलाई फाँसी दिइनुपर्छ भनेर दरबारमा चढाइएको बिन्तीपत्रले आफ्नो जीवन झन्डैझन्डै सखाप बनाएको उनले बताए।
तर, उनी यही दुई गीतका कारण श्रोतासित नजिक बनाउने नारायणगोपाललाई जीवनभर बिर्सन सक्दैनन्। तर, नारायणगोपालले नै गाएको ‘झर्यो जिन्दगी फुट्यो जिन्दगी’ गीत तयार पार्दा र रेकर्ड गर्दा भएका एक्सिडेन्टल घटनाले आफूलाई सदैव चकित र विस्मित बनाएको उनले सुनाए।
कालीप्रसादको ‘सिर्जना शनिबार’मा गीतसंगीतलाई बढी माया गर्ने दर्शकको उपस्थिति देखेर उनले विशेषकीय रूपमा गीत नै सुनाए।
पञ्चायतकालमा गीतले दु:ख पाएका कालीप्रसादलाई शाही शासन ढल्ने बेला अम्बर गुरुङले गाएको गीत ‘कहीँ आफ्नै भुँवरीमा आफैं पर्यौ कि’ गीतले गर्दा दरबारबाट अनि दरबारसमर्थका थरीथरीका फोन र धम्की आएको पनि सुनाए।
यो गीतको एक पंक्तिले ६२/६३ को आन्दोलनलाई उचालेको थियो, ज्ञानेन्द्र शाहका विरुद्ध,
कहीँ आफ्नै भुँवरीमा आफैं पर्यौ कि राजै !
जसलाई तिमीले हीरा सम्झ्यौ काँच पो थियो कि राजै !
‘जीवनरेखा’ फिल्ममा शान्ति मास्केमाथि छायांकन गरिएको यो गीतले आन्दोलनको उलारमा रङ थपेको थियो। तर, त्यसको ठीक वैपरीत्य स्थितिमा गीतकार रिजालको घरमा तनाव पैदा गरेको थियो, यो गीत रोक्नुपर्यो भनेर।
तीस सालमा दुइटा गीत लेखेर चर्चामा आएका गीतकार रिजाल बेलाबेलामा परिने गीतको विवादबारे आफैं आश्चर्यचकित हुन्छन्, ‘यो के भएको हो?’ भनेर।
क्षितिज बान्तवा राई, कथाकार अतृप्त पाण्डेय, हिक्मत खड्का, दत्तात्रय राय, चलचित्रकर्मी श्याम राईका जिज्ञासाको जवाफ दिने क्रममा गीतकार रिजालले भने, ‘एउटा गीत लेख्न गाह्रो हुन्न तर बलबुत्ताले भ्याएसम्म समय लगाएर लेखेको गीतमा फेरि एउटा अन्तरा थपिदिनु भनेर आउँदा गाह्रो लाग्छ।’
विवाद र असमझदारीको घेरामा परिरहने गीतकार रिजाल सबभन्दा बढी दु:खी त्यति बेला भए जब नौ वर्षको उमेरको बच्चीले उनको कविता नक्कल गरेर प्रतियोगितामा पठाएर कोर्सबुकमा छापिएपछि उनले न्यायका निम्ति सर्वत्र धाए तर न्यायको बदला उनले असहज परिस्थिति नै पाए।
अन्तत: वैवाहिक जीवनको सँघारमा आइपुगेकी ती युवतीलाई माफ गर्दै उनले त्यो गीतको चोरीको लडाइँलाई त्यहीँ रोकिदिए।
एउटा सर्जकले देखाउने महानता उनले त्यहाँसम्म देखाए जहाँ आफ्नो सम्पत्ति चोरी हुँदा पनि उनले मौन हुनुपर्यो।
गीतकार रिजालको जीवनका अनेक प्रसंगमध्ये उनले उर्दुका कवि साहिर लुधियानवी, गजलकार फिराक गोरखपुरीलाई भेटेका प्रसंग गर्वले सुनाए भने बालकृष्ण समको ध्रुव नाटक पढ्दा धुरुधुरु रोएको अतीत पनि सम्झे।
उज्यालो नाइन्टी नेटवर्कको सांगीतिक कार्यक्रम अजर अमर गीतहरूको १००औं शृंखला प्रवेशको पूर्वसन्ध्यामा आयोजित यो पहिलो कार्यक्रम गीतकार कालीप्रसाद रिजालबाट सुरु भएको थियो भने हरेक महिनाको पहिलो शनिबार आयोजना गरिने यो कार्यक्रममा नेपाली गीतसंगीत र त्यसको निर्माणका बारेमा चर्चा हुने आयोजकमध्ये एक गायक शैलेश सिंहले बताए।
नेपाली गीतसंगीतबारे रुचि राख्ने र त्यसको संरक्षणमा रुचि राख्ने युवापुस्ताद्वारा सञ्चालित यस कार्यक्रममा गीतकार रिजालले राखेका भावअभिव्यक्तिबाट आफू अति भावुक भएको कवि नवराज पराजुलीले बताए।
सगरमाथाको गहिराइ लेखेर चर्चामा आएका कवि पराजुली सो सभामा कविता पनि सुनाएका थिए। गीत, संगीत र स्रष्टामा केन्द्रित सो कार्यक्रममा गत महिनामात्र ७५ वर्ष पुगेका गीतकार रिजालले युवा जोशमा आफ्नो रचना सुनाउँदा युवादर्शक आश्चर्यचकित देखिएका थिए।
उनको गीतमा आगो लगाउन चाहनेका निम्ति यो एउटा ठूलो दनक नै थियो यस समयमा।
नेपाली आधुनिक संगीतको स्वर्णिम युगको चर्चा गर्दै गीतकार रिजालले भने, त्यो समय अब दोहोरिन गाह्रो छ। नातिकाजी, हरिप्रसाद रिमाल, जनार्दन सम, अम्बर गुरुङ नारायणगोपाल, तारादेवी आदि सर्जकले निर्माण गरेको त्यो युग अब आउन सक्दैन।
बुढ्यौली एउटा रस्ट हाउस भन्छन् तर ७५ वर्षको वयमा पनि उत्साह र उमंगमा कमी नभएका कवि रिजालले अहिले पनि लेखन जीवनमा सक्रिय छन्।
उनी युवापुस्तासित गीत, कविता र संगीतको सहकार्यमा जुटेका छन्। उनको सिर्जनशीलता निरन्तर रहोस्, सुस्वास्थ्य र समृद्धिको कामना।
http://www.annapurnapost.com/News.aspx/story/10573
