१, यथार्थ
जिन्दगी मेरो कागजको फूल वासना बिनाको
तड्पिदै बित्छन् हरेक रात सपना बिनाको
क्या मज्जा तेरो जीवन भन्छन् देख्नेले मलाई
कस्ले पो देख्छ रोएको एक्लै सान्त्वना बिनाको?
२, बेथिति
कानून कुण्डलेको हातमा हुन्छ
दर भाउ पसलेको हातमा हुन्छ
नीतिको शासन हराउँछ जब
सत्ता चैं मंगलेको हातमा हुन्छ ।
३, किन?
काट्छौं आफै खुकुरीको धारलाई दोष दिन्छौं
गरेनौं राम्रो सुन्दर यो संसारलाई दोष दिन्छौं
बुझ्दैनौ केही या बुझ पचाउँछौ हामी मान्छे?
जीवन बर्वाद भयो, एकै हारलाई दोष दिन्छौं ।
४, खबरदार
थन्किएका बन्दुकको कुरा नगर
बाह्र बुँदे तमसुकको कुरा नगर
धेरै भए तिम्रा नौटंकीहरू यहाँ
सधैँभरि धुकचुकको कुरा नगर ।
५, नियति
देश हाँक्नेहरू यहीं कानो हुन्छन्
मौरी हुलमा अरिंगल रानो हुन्छन्
त्यो देशको के कुरा गर्नु हजुर?
जहाँ जनता सधैँ अचानो हुन्छन् ।
गुप्तेश्वर-३, रामेछाप
हाल : अलऐन, युएई
©घायल
