प्रिय रेसुङ्गा !
आज अचानक तिम्रो याद आयो । मैले तिमीलाई छोडेर हिडेको पनि ३ महिना भैसकेछ । हिजो दिनभरि यताको आकाशमा बादल थियो । सायद तिमी पनि बादलुको घुम्टोले ढाकिएर विवाह मण्डपकी दुलही जस्तै भएकी हौली । म त्यहाँ छँदा तिमी रोइरहन्थ्यौ जस्तो लाग्थ्यो । अलिकति बादल पनि तिमीलाई मन पर्दैनथ्यो । यहाँ तिमी जस्तै काभ्रे छिन् तर तिमीभन्दा धेरै सानी छिन्, तिमी जस्ती जवान पनि छैनन् । तिमी जस्ती रसिली पनि छैनन् । काफल लालीगुराँस ऐसेलुका गहना त छन् काभ्रेसँग तर तिमीले लगाएका जस्ता ताजा उज्याला र रसिला छैनन् । जनतन बाँचेकी छन् यिनी ।
आज बिहानको झुल्के घाममा यिनैलाई देख्दा तिम्रो संझना आयो । सायद तिमीले मलाई चिन्दिनौ होला । चिन्नु पनि कसरी ? म त एउटा मुसाफिर थिएँ । तिम्रो समिपमा केही दिनको लागि बास बस्न पुगेको थिएँ । म तिम्रै सामुन्नेको ठिक पश्चिममा मानव निर्मित एउटा खण्डहरमा बसेँ करिव १५ महिना । म हरेक दिन उठ्ने बित्तिकै तिमीलाई नै हेर्थेँ । पहिलो दर्शन तिम्रै हुन्थ्यो । किनभने तिमी ठिक पूर्वमा मेरो सामुन्ने नै थियौ । तिम्रै कानको छेउबाट हरेक दिन सूर्य दर्शन गर्थेँ मैले ।
पौराणिक कालमा ऋश्यशृङ्ग नामका शृषिले तपस्या गरेका थिए रे तिम्रै काखमा बसेर । तिम्रो पवित्र काखमा अवस्थित तमघास आफैमा अति नै भाग्यमानिरहेछ । तिम्रो काखमा रहन बस्न पाउनु भाग्य कै त कुरा हो नि हैन र ? म पनि त करिव १५ महिना तिम्रै काखमा लडिबुडि गरेर फर्के नि !
प्रिय रेसुङ्गा ! जब म हरेक बिहान बिछ्यौनाबाट उठ्थेँ, झ्यालको पल्ला उघारेर तिम्रै दर्शन गर्थेँ । तिमी रोएकी छ्यौ कि हाँसेकी छ्यौ कि वा निदाइरहेकी छ्यौ त्यो सबै म झ्यालबाट चिहाएरै थाहा पाउथेँ । मलाई लाग्थ्यो जब म तिमीलाई चिहाउथेँ तिमीले मलाई इसारा गरेर बोलाउथ्यौ । आफूसँग आउन निमन्त्रणा गर्थ्यौ, अनूनय बिनय गर्थ्यौ । तिमीले मलाई धेरै बोलायौ रेसुङ्गा ! अहिले मलाई पछुतो लागेको छ । म तिमीलाई भेट्न एक पटक मात्र गएको थिएँ । हाम्रो राम्ररी चिनजान पनि हुन पाएन । तिमीलाई मैले एक पटक मात्र नजिकबाट देखेको छु । शिर भरी लालीगुराँस कटुस बाँझ रयँझ ऐसेलु काफलले सजिएकिरहिछौ तिमी । तिम्रो बक्षस्थल पनि अति नै सुन्दर लाग्थ्यो मलाई । बकाइनो उतिस र सल्लो त देखेको थिएँ अरु के के लगाएकी थियौ मलाई हेक्का भएन । मेरो अल्छीपनाले मलाई तिम्रो माया बटुल्न दिएन । तिमीले मलाई दिन खोजेको माया मैले लिनै सकिन । मेरा साथीहरू कृष्ण बिनोद र शंकर दिन दिनै तिम्रो काखमा लडिबुडी गरेर फर्कन्थे । कहिले वरिपरि हरिया रुखहरूले घेरिएको चौरमा हा हा हो हो गरेर फर्कन्थे त कहिले तिम्रै गोड्जुरामा पुगेर बिसाई मार्थे । तर म अभागी तिम्रो सौन्दर्यको स्वाद चाख्न कहिल्यै गइन । केवल तिम्रो सुन्दर मुहार हेरेर मात्र बसिरहेँ । अहिले मलाईपश्चाताप भैरहेछ ।
प्रिय रेसुङ्गा ! तिम्रो सौन्दर्यको वयान गरेर साध्यै छैन । तिमी सारै हिस्सी परेकी थियौ । हरेक बिहानीमा सोह्र सृङ्गार गरेर अँध्यारो गुफाबाट बाहिर निस्कन्थ्यौ । तिम्रा गहना र पोसाक पनि यति रंगी बिरंगी थिए कि, हरेक महिना जसो तिम्रो स्वरुप र सौन्दर्य फेरिन्थ्यो । कहिले तिमी रातै हुन्थ्यौ, कहिले पहेलै हुन्थ्यौ । कहिले छिर्केमिर्के हुन्थ्यौ । तिमीलाई मैले अरु जस्ती उजाड कहिल्यै पनि देखिन । सधै एकनासकी रसिली र भरिली थियौ तिमी । तिम्रै वरिपरि झुम्मिएर कोइली परेवा जुरेला बट्टाई लामपुछ्रे कौवाहरू रमाई रमाई छ वटै ऋतुका गीतहरू गाइरहेका हुन्थे । त्यो सुन्दा मनमा अत्यन्त आनन्द लाग्थ्यो मलाई । तिम्रो प्राकृतिक सुन्दरता र सुरम्यतामा डुबिरहन पाउने यहाँका मानिसहरू कति भाग्यवान ! उनीहरू देखि मलाई ईर्श्या लागिरहेछ ।
तिम्रो शिरोभागमा मन्दिर नजिकै नवनिर्मित भ्यूटावरमा चढेर मैले सम्पूण गुल्मीको अवलोकन गरेको थिएँ । गुल्मी मात्र हैन प्रिय ! त्यहाँबाट त वरिपरिका जिल्लाहरू अर्घाखाँची, प्युठान,बागलुङ्,पर्वत,स्याङ्जा,पाल्पा सबै देखिन्थे । भन्नेहरू भन्थे यस टावरबाट भारतको गोरखपुर पनि देखिन्छ रे । तर प्रिय ! वायुमण्डलीय प्रदुषणको कारण मैले गोरखपुर देख्न पाइन ।
प्यारी रेसुङ्गा ! तिमीले मलाई नचिने पनि म तिमीलाई धेरै माया गर्छु । तिमी सधै हराभरा रहिरहनु । जनयुद्धकालमा जस्तै बन्दुक बोक्नेहरू लुक्ने ठाउँ नबनोस तिम्रो काख । क्रुर्र अपराधीहरूले एक पटक तिमीलाई बेस्सरी डढाएछन् हगी ! त्यो डढेलोले जलेको तिम्रा घाउका टाटाहरू देख्दा मेरो मन छियाछिया भएको थियो । तिमीलाई कुरुप बनाउने ती अपराधीहरूको कहिल्यै कल्याण नहोस् ।
त्यहाँ बस्ने सबैले तिमीलाई माया गरुन् । तिमी अवला छ्यौ, तिम्रो संरक्षण गर्नु आवश्यक छ । सबैले तिम्रो संरक्षण गरुन् । कुनै कालखण्डमा अनुकुल परे तिमीलाई भेट्न आउँला नत्र त्यहाँ भएका साथीहरूसँग तिम्रो हालखबर सोधिरहने छु । सधै तिमी सुखी खुसीरहेको मात्र सुन्न पाउँ । सधै तिमी हरा भरा भएकी छ्यौ भन्ने मात्र सुन्न पाउँ । तिमीलाई चिथोरेको कोपरेको तिम्रो सौन्दर्यता बिखण्डन भएको लछारिएको पछारिएको सुन्न नपरोस् । मैले जस्तै अरुहरूले पनि तिमीलाई सधै माया गरिरहुन । प्यारी रेसुङ्गा ! तिमीसँग छुट्नु पर्दाको पीडा आजलाई यही बिसाउँछु । बाकी पछि ।
उही तिमीलाई माया गर्ने
गोपी
