Skip to content

रित्तिएको गाउँको संक्षिप्त विवेचना


परिचय

आकाँक्षाको चिता नाटक (२०६९)का नाटककार माधव फोख्रेलजी आज हाम्रो अघि कवि भएर देखा परेका छन् । उनको यो दोस्रो कृति समीक्षाको लागि मेरो हातमा परेको छ । माधवजीसँग मेरो दोस्रो पटकको साक्षात्कार हो । तनमुना ६ जिल्ला सुनसरीमा स्थायी बसोबास गर्ने माधवजी, हाल हेटौडा–४, मकवानपुरमा बस्दै आउनु भएको छ । उहाँ एक सरल तथा साधरण व्यक्तित्वका धनी हुनुहुन्छ । समयलाई पहिचान गर्दै, सरल र सहज भाषामा लेख्न सक्ने उनको कला हो । माधवजीको कविता लेखन शैली समाजको गतिलाई र परिवर्तनको मार्ग पहिल्याएर सत्यतथ्यको आधारमा सजीव चित्रण गर्न सिपालु छन् भन्ने प्रमाण, उहाँको यो रित्तिएको गाउँ कवितासङ्ग्रहले सुचना प्रवाह गरेको छ । उहाँले नाटक प्रेमको आँधी, बाँच्न चाहनेहरू, भावीको लेखा, म पनि देउता मान्छु, तथा सडक नाटकहरूको अभिनय र निर्देशन गर्नु उहाँको नाटक प्रतिको गहिरो अभिरुचिको साथै महत्वपूर्ण उपलब्धी पनि हो । उहाँ एउटा गजलकार पनि हो । उहाँको साहित्यिक र सामाजिक सम्लग्नतालाई यसरी अध्ययन गर्न सकिन्छ ।

संलग्नता

माधवजीले, यात्री समूह बिराटनगर संस्थापक सचिव, मातृभूमि साहित्य समाज मकवानपुर, विशिष्ट आजीवन उपासक हाल उपादक्ष, जनमत वाङ्मय प्रतिष्ठान बनेपा आजीवन सदस्य, नेपाल स्रष्टा समाज काठमाण्डौ आजीवन सदस्य, नेपाल लायन्स फाउण्डेशनको आजीवन सदस्य, हेटौडा बजार लायन्स क्लव संस्थापक मैम्बरसिप चेयरपर्सन हाल सल्लाहाकार, नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य, एम्नेष्टि इन्टरनेशनल (ग्रुप ६७) सदस्य आदि संस्थाहरूमा सम्लग्न रहेर साहित्यिक तथा समाजिक सेवामा आफूलाई समर्पित गर्दै तथा सेवा पुर्याउदै आउनु भएको छ ।

कृतिको संरचना–
कविता सङ्ग्रहको सम्रचनालाई केलाउँदा आवरणपृष्ठ सहित यो कृति (२१+७२) =९३ पृष्ठमा सजिएको छ । यस कृतिमा ३७ वटा कविताहरू समावेश गरिएका छन् । यस कृतिको मूल्य १५०/– रुपियाँ राखिएको छ । यो कृति माधवजीकी हजुरआमा स्व उत्तिम। कुमारी पोख्रेलमा हार्दिक समर्पण गरिएको छ । यस कृति सम्बन्धमा धेरै जना साहित्यकारहरूले शुभकामना तथा भूमिका लेखन गर्नुभएको छ । हेरौ उहाँहरूका धारणामा माधवजीका कविताले के बोल्दछन्–

साहित्यकारहरूले राखेका धारणाहरू

शैलेन्द्र साकारको धारणा
शैलेन्द्र साकारले ‘समसामयिक पीडा बोधका कविता’ शीर्पकमा लेख्नुहुन्छ – ‘माधवका कविताहरूमा पाइने मूलतत्व नै सम्प्रेषणीयता रहेछ र मेरो विचारमा आजको कविताको यो नै मूल स्वर पनि हो । दोस्रो कुरा समसामयिक पीडालाई व्यक्त गर्ने साधारणीकरण पनि उहाँको अर्को उल्लेखनीय पक्ष हो एउटा साधारण पाठकले कविताभित्र आफूलाई सिङ्गो पाउन सक्छ र कवितालाई आत्मसात गर्न सक्छ ।’

परशु प्रधानको धारणा
परशु प्रधानले ‘कविताको पहिलो घामको झुल्को’ शीर्षकमा यस कृतिको बारेमा आफ्ना धारणा राख्दै लेख्नुहुन्छ –‘रित्तिएका गाउँका सबै कविताहरू हाम्रा आजका जीवानुभूति हुन्,पीडा र आक्रोसको अनन्त गीतहरू हुन् । अत्यान्त सरल र सुवोध शैली र शब्दसंयोजनका कारण आम नेपाली पाठकहरूले बुझ्ने र पढ्ने छन् ।’

पवन आलोकको दृष्टिकोण–
पवन आलोक भन्नुहुन्छ –‘कवि पोख्रेलको यो कृति वर्तमान नेपालको पोट्रेट हो वर्तमान समयको दर्पण हो ।’

पुष्प अधिकारी अञ्जलको दृष्टिकोण–
पुष्प अधिकारी अञ्जलीले ‘कवि माधव पोख्रेलका कवितामा हृदयको संवेग भेटेको छु‘ भन्दै लेख्नुहुन्छ – ‘माधवजी आफ्नो कविता कृति “रित्तिएको गाउँ”मा जिन्दगी, समाज, देश र प्रकृतिलाई चित्रण गर्न सफल देखिन्छन् । ’

हयग्रीव आचार्यको दृष्टिकोणमा
हयग्रीव आचार्यले यस कृतिको बारेमा,‘ समाजमा, भए गरेका विविध परिघटनाहरूलाई कत्थ्य, विम्ब, र प्रतिकहरूको प्रयोगसँगै सुललित शब्दहरूको संयोजनबाट सिर्जित साहित्यकार माधव पोर्खेलको “रित्तिएको गाउँ” एक उत्कृष्ट कृति बन्न सफल भएको छ ।

विवेश पोख्रेलको दृष्टिकोण
यस कृतिको बारेमा विवेश पोख्रेलले लेख्नुहुन्छ –‘ समय प्रकृति र जीवनका अनुभूतिलाई सरल रूपमा अभिव्यक्त गरिएको छ य्स कृतिमा । जहाँ हाम्रा भोगाइका घामछाया छन् खुसी पीडा छन् । विषय विविधता प्रति सजग रहेर लेखिएका माधवजीका कविताहरू हाम्रा सामूहिक, आवाज हुन् । काव्यको सुन्दर उद्यानमा यिनको उपस्थितिलाई हार्दिक स्वागत छ’ ।

प्रकाशकीयमा आएको धारणा
प्रकाशकीयमा मातृभूमि साहित्य समाजका अध्यक्ष राजबाबु पहाडीले आफ्नो धारणा यसरी राख्नुभएको छ –“रित्तिएको गाउँ ” शीर्षकले नै हाम्रो पीडाजन्य ग्रन्थीलाई उद्वेलित पार्न खोजिरहेको छ । किनकि यो कविको कल्पना मात्र नभएर वर्तमान पुस्ताले भोगिरहेको यथार्थ पनि हो ।’

माधवजीका आफ्नै अभिव्यक्ति
नाटकार तथा नाटकहरूको अभिनय र निर्देशन कर्ता माधवजी २०४६ सालदेखि “मपार्इँ” कविताबाट कविता लेखनमा अग्रसर भएको र ‘स्पन्दन’ पत्रिकाले कविता लेखनमा सरिक गराएको “मातृभूमि साहित्य समाजमा प्रवेश सँगसँगै कविता लेखनले तीब्रता पाएको, निता (माधवजीकी श्रीमती) र गजलकार अमला अधिकारीले कविता सङ्ग्रह प्रकाशन गर्न उत्साहित बनाएको र परशु प्रधानले कविता एकल बाचन गर्ने खालका छन् भनी प्रकाशनको लागि प्रोत्साहित गरेपछि यो कृति प्रकाशनमा आएको धारणा स्वय म माधवजीले प्रष्ट्याउनु भएको छ ।

माधवजीका कविताहरूको सङ्क्षेपीकरण

माधवजीद्वारा सिर्जना गरेका ३७वटा कविताको सार सङ्क्षेप यहाँ प्रस्तुत गर्न मनासिब देखी प्रस्तुत गरेको छु –

मेरी आमा– प्रथम कविता हो । असल आमा, नैराश्यता हीन, द्वेषहीन, सधैं शान्त, रिसहीन, सधैं हँसिली, दुखमा विचलित नहुने अतिथि सत्कारमा रमाउने, सधै फुर्तिली, कसैसँग कुनै कुराको आशा नगर्ने, महादानी, कसैलाई काखा र पाखा नगर्ने, विशाल हृदयकी खानी, यस्ती असल आमबाट सधैं जन्म लिन पाउँ भनी कविजीले आमासँग आराधना गर्नुहुन्छ । बास्तवमा आमा महान हुन् । आमाको सन्तानप्रतिको त्याग अतुलनीय हुन्छ ।

गाउँ रित्तिदै छ– यो कविताबाट कृतिको नामाकरण गरिएको छ । गाउँ आज पातलिदो छ, गाउँका मानिसहरू सहरतिर पस्दैछन् । गाउँ रित्तिदै छन् र सहर बाक्लिदै छन् भन्ने आजको यथार्थपरक घटनाक्रमलाई यसमा समावेश गरिएको छ । आजका युवा रोजगारीको लागि विदेशीनेक्रम र गाउँका युवाहरू सहरमा लाग्नेक्रमले गाउँ रित्तिदै छ र बृद्धबृद्धाले पिँढीकुर्न बाध्यता देखिएको छ । आजको युवायुवतीको सहरतिरको मोह र रोजगारीको लागि विदेश जानको वाध्यता र पीडालाई यस कविताले समेटेको छ ।

अनुभूति तेस्रो कविता जसमा फूलसँग आत्मीयता र सामीपत्यता भएकोले स्वर्णिम आनन्दको कल्पना भएको जिन्दगीको अनुभूति सोच्दासोच्दै त्यस अवस्थामा फूल हराउन जाँदा विगत फूलसँग भएको मिठा अनुभवहरूको सम्झना आउँछ र त्यस समयमा आँखा रसाउन थाल्छ । यस्तो अवस्थामा भावीको खेल सम्झदै आफैले आफैलाई सान्त्वना दिदै जीवनको अनुभूतिलाई आत्मसात गरेर गन्तव्यतिर लाग्नु पर्दछ भन्ने धारणा पोखिएको छ ।य स कविताले जीवनले भोगेका प्रेममय कष्टदायी भोगाईलाई समेटेको छ ।

दिउँसो कुखुरा बास्दा कविता मार्फत कविले सहरको कोलाहाल र गाउँको शान्त अवस्थालाई तुलनात्मक रूपमा भावनात्मक धारणा राख्नुभएको छ । दिउसो काममा तल्लिन हुँदा कुखुरी काँ को आवाजले कविलाई आकृष्ट गराउँछ । कविले गाउँको अतितको स्वच्छ पवित्र वातावरणले भरिएको गाउँको स्मरण गर्दै साथै आजको युवारहित भाइचारा रहित गाउँको स्मरण गर्न पुग्नुहुन्छ । पूर्व र बर्तमान कविले नितान्त भिन्नता पाउँछन् र कल्पना बाहेक केहिरहदैनन् । बेला न कुवेला बास्ने कुखुरालाई दोषारोपण गर्दै पुन अतितलाई छाड्दै बास्तविकतामा फर्कनु कविको आव्हान छ र आफ्नो काममा तल्लिन भएको धारणा पोख्नुभएको छ । समयानुकुलको वातावरणमा चल्नु पर्छ भन्ने धारण आएको देखिन्छ । मपाईँ यस कवितामा राजाको मपाइँप्रति व्यङ्ग कस्दै आन्दोलन सफल भएर राजाले कुतत्त्व भन्ने वालाले गणतन्त्र ल्याएर सुतत्व बने मर्नेहरू सहिद बने तर राजा आफू स्वय म ठूलो कुतत्त्व बन्न पुगेका धारण आएको छ ।

भोगाइ– संसारिक कर्म गर्नु पर्दाका पीडा जस्तै टुहुरो हुँदा, पैसा नहुँदा, घर चुहेर छाउन नसक्दा, झुल फाटेर टालेर पनि मच्छडबाट टोकाई हुँदा, सिरकमा भएका कपास डल्लो परेर सिरक ओढेर छलेका जाडाका रातहरू, नून खुर्सानीसँग कोदाको रोटी चोपेर भोक मेटाएको क्षण पैसा नभएर झरेका आँसु र पैसा नभएर भोक लागेर झरेका आँसु, भोक मार्न पिएको पानी, फाटेका लुगा टालेर जोगाइएको इ्ज्जत, पैसा नभएर काठमाण्डौमा महिनौ भौंतारिएका दिनहरू र आफन्तहरू बीच निर्धो भै एक्लो भएको महसुस आदि जीवनका भोगाइ जो पुस्तककाज्ञानभन्दा कैर्यो गुना गहिरो र नमेटिने भएका र यसैबाट कवि परिपक्क बन्नपुगेको र मान्छे हुन सिकाएको छ भन्ने धारणा पोखिएको छ कवितामा । गरिबले भोग्न परेका दैनिक यथार्थतालाई प्रष्टरूपमा प्रस्तुत गरिएको कविता हो यो ।

आजको मान्छे् – यस कवितामा मानव प्रवृतिप्रति कटाक्ष गरिएको छ । आजको मान्छेले गर्न पनि नसक्ने, सहन पनि नसक्ने, खुट्टा तान्ने प्रवृति,अरूको शरीरको जुम्रा देख्ने तथा आफ्नो शरीरको भैंसी नदेख्ने, अरू नाङ्गिएको देख्ने तर आफू नाङ्गिएको थाहै नपाउने, दासत्वमा हुर्केको मानिसले सधै स्वतन्त्रताको नारा लगाउँछ तर आफू सत्तामा पुगेपछि स्वय म निरङ्कुस बन्न पुग्छ । यसरी नै हल्लाको खेतीगर्ने पुरस्कृत हुने तर सोझा तथा चुपचाप रहने व्याक्ति बबुराको बबुरै रहन्छ भन्ने धारणा राखिएको छ । आजको समाजले गरेका र भोगेका यथार्थता उतारेको छ कविताले ।

नारी तिमीलाई के भनु –यस कवितामा नारीले शिशुलाई जन्म दिने पालन गर्ने, मायाकी खानी, गृहलक्ष्मी जीवन साथी सिर्जनाकी स्रोत, तिमी धरती, तिमी वीरङ्गना तिमीलाई के उपमा दिऊँ सगर्व साथ नारी तिमी जननी हौ, जन्मभूमि हौ, भन्न सक्छु र त्यसैले भनिन्छ –‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’ जस्ता नारीमा अगाध श्रद्धा पोखिएको छ ।
घर भनेको जीवनको पर्यावाची, जीवन निर्वाहको उचित स्थल, नहुनेको सपना, हुनेको सान, निश्चित आकार र परिधिरहित, घामपानीबाट ओत दिने मन मस्तिष्कलाई आनन्दको अनुभूति दिने झोपडी या महल जे भए पनि घर सबैको प्यारो हुन्छ भन्ने धारणा घरसँग जीवनलाई तुलना गरिएको छ ।

नयाँ नेपाल कवितामा नेता नयाँ जन्माएको, जस्ले जे गरे पनि हुने लोकतन्त्रको नाममा लुटतन्त्र भएको जनताको लागि जीउनको मुख्य आधार गास बास कपासप्रति कुनै चिन्तन नगर्ने महगी भोकमरी आदिले गरिबीलाई थिचेको र गरिब जनतालाई के नयाँ के पुरानो भन्दै आजको नयाँ नेपाल शब्दप्रति व्यङ्ग कसिएको छ ।

गाह्रो कवितामा टिप्नै गाह्रो हुने ठाउँमा फुलेकोले टिप्न गाह्रो भो, नटिपुँ त ओइली जान्छ, छोड्नै गाह्रो भो भन्दै प्रेम सुधाले भरिएका यो कवितामा सुन्दर र मिठो बस्तुलाई अप्ठ्यारोमा पाइने र यो ईश्वरको खेल हुन सक्ने धारणा ‘ सहित ‘अप्ठ्यारोमै जो कोही अघि बढ्न सक्छ, सफलताको पाउ पनि सधैं उस्ले चुम्छ’ भन्दै सफलता प्राप्त गर्न कठिनभन्दा कठिन काम गर्नु पर्छ भन्ने धारणा आएको छ । यो कविता शृङ्गार रसमा मिठो तरिकाले प्रस्तुत गरिएको भए पनि उपदेशमूलक छ ।

किसानको जीवन कवितामा कुटो कोदालो बोकेर मौसम अनुकुलको बाली लगाएर मेहनतको पसिना बगाएर, बालिकाटेर भित्र्याउने किसानको जीवन भन्ने धारणा बोकेको कविताको एक दार्शनिक अभिव्यक्तिलाई पढ्यौं–

माटाको साह्रै माया छ मलाई
माटो नै हाम्रो जीवन हो भाइ
छोडेर कहाँ जानु छ र यसलाई
आखिर यही नै अन्तिम गन्तव्य हो भाइ
(पृष्ठ २२)

नेपालका सभासद् कवितामा स।भासद्ले गरेका कुकृत्यलाई केलाउँदै आज मान सम्मान रहीतका पार्टीको नीतिमा चल्ने संविधान दिन नसक्ने नैतिक मूल्य र मान्यताको अस्तित्व नराख्ने, आफ्नो् दायित्वलाई आत्मसात गर्न नसक्ने, रातो पासपोर्ट बेच्ने पार्टीका स्ट्यामप्याड भएको धारणा पोखिएको छ ।ओहोदामा बस्नेले आफ्नो दायित्व निभाउनु पर्छ भन्ने धारणा पस्केको छ कविताले ।

शान्तिको खोजीमा शान्ति खोजेर नपाइने, शान्ति पाउन त ‘म मेरोबाट बाहिर निस्कि अरूको सेवामा जो रमाउँछ शान्तिमात्र पाउँदैन उसले मरेपछि पनि बाँच्दछ’ भनिएको छ ।
सहर र मान्छे कवितामा आजको बढ्दो सहरी करण सहरतिर मानिसको भीडको बढ्दोक्रम, घर घरको बीचमा सहरले आफ्नो अस्तित्वको खोजी, मान्छेको भीडमा मानिसले आफ्नो अस्त्विको खोजी, आफ्नो प्रकृतिक रूप र उमेर छोप्दै कृतिम रूपमा टेवा दिंदै फोहोरको थुप्रोमा भुस्यहा कुकर लडेभन्दा बढी पहुँचवाला मानिसहरू लडेको देख्दा भुस्यहा कुकुर र मानिस, सहर र मानिस उस्तै उस्तै लाग्छ भन्दै व्यङ्ग कसिएको छ ।

थाहा छैन हाँसो, खुसी, दुध मोही, जुस, मदिरा सुरा सुन्दरी, गन्तव्य कहाँ हो, मार्ग कुन हो, सफलता सुख सुविधाके हो थाहा त छैन तर पर क्षितिजमा उज्याले देखिन्छ क्षितिजमा पुगुन्जेल त्यो निभ्ने हो कि भन्ने आशंका छ तर दुःख, आँसु, भोको पेट कसरी भर्ने, भन्ने थाह छ भन्ने धारणा पोखिएको छ । विलाशिताको जीवन कस्तो हुन्छ थाहा नभएको तर परिश्रम गरेर दुःख दर्दबाट बाहिर निस्कने भन्ने धारणा राख्दै आजको परिश्रम विनाको आडम्वरमा व्यङ्ग गरिएको छ ।

मानेछको स्वभाव कवितामा कविले मलामी जाँदा शोकमग्न हुने, चितामा आगो जल्दा ऊ भावुक बन्ने, र जीवनको अर्थ खोतल्ने र आउने जाने ल्याउने र लाने केही छैन, केही गर्नु पर्छ, रागद्वेष, सबै त्याग्नु पर्छ, केही देश र मानवताको हितको लागि गर्नु पर्छ,जब चिता खरानी बन्छ र खरानी बगाइन्छ उसका सबै भावना बगेर जान्छन् साँझमा भट्टीमा पस्छ संसार उसको मुठीमा हुन्छ मृत्युशैयामा पुग्दा उसलेपश्चाताप गर्छ, समय वितिसकेपछि पछुतो गर्ने मानिसको कस्तो स्वभाव, पुर्खा आखिर बाँदर भएर होला यस्तो प्रभाव परेको भन्दै बाँदरमुखी प्रभावलाई त्याग्दै सही मार्गमा लाग्न आग्रह गरिएको छ ।

सहिद रोइरहेछन् भन्ने कवितामा सहिदले आफ्ने बलिंदान खेर गएको र देशको कन्तबिजोग देखेर रोइरहेछन् । टाठा बाठा र टाउकेले मोज गर्छन् तर देश र जनता बारे सोच्ने कोही छैनन् र सहिद रोएको देख्ने कोही छैन भन्ने धारणा बोकेको छ कविताले ।

नारी प्रधान देशमा कविले पुरुष प्रधान देश भनिने चलनमा यो देश पुरुष प्रधान नभएर नारी प्रधान देश भनी सप्रमाण पुष्टि गर्न खोजिएको छ । पुरुषबाट पीडित नारीको चर्चा जहाँ सुकै हुने तर नारीबाट पीडित पुरुषको पीडा कसले सुन्ने।

किन भन्ने कवितामा शून्यबाट सुरु भई शून्यमा नै हराउने सुरुपछि अन्त्य हुने यो संसारको खेल हो,अमरत्व विहीन यो ईश्वरको खेल सबैले बुझे पनि भागबण्डा, अरुलाई फसाउने, विश्यासघात गर्ने, लडाउने, उचनीचको मधेशी पहाडीको विभेद, देश टुक्रयाउने खेल, जन्मदिने आमा भुल्ने जुनमाटोमा जन्म लिए त्यही माटोसँग वेइमानी किन, देशप्रति माया भए आपसमा द्वन्द्व किन भन्ने प्रश्न राख्दै, मातृभूमिलाई खुसी पार्न अब पनि ढिलाई किन भन्ने प्रश्न गरिएको छ ।

सुकर्म कवितामा धेरै हैन थोरै गर तर जीवन सार्थक हुने, अमर हुने, अरुको भलो हुने, भोकोलाई खाना दिने, आएर गए पनि अमरत्व पाउने सुकर्म गर भन्ने मार्गदर्शन दिएका छन् ।
भगवानबिनाको मन्दिर कवितामा मानव संवेदनहीन बन्दै गएको, मानव दानव बन्दै गएको, बृद्धाहरूको सहारा खोसिदै गएको बृद्धआश्रमको आवश्यक्ता बढ्दै गएको सन्तानप्रति सर्वस्व त्याग गर्ने आमा बुबा आज त्यगिदै छन्, छोराछोरीले बुझ्न आवश्यक छ कि बुबाआमा भगवान हुन्, घर भनेको मन्दिर हो । मन्दिरमा बाबुआमारूपी भगवान बस्छन् त्यसो हुँदा घरलाई भगवान विनाको मन्दिर नबनाऊँ भन्ने धारणा पोखिएको छ ।

बोली कवितामा कविले बोलीको आश्यक्ता महत्व, बोलीबाट दर्शिने व्यक्तित्व, व्यक्तिमा पर्ने प्रभाव असर आदिमा प्रकाश पार्दै सहीसत्य बोल्न जान्ने कहिल्यै भोको मर्दैन भन्दै सत्यमा लाग्नु पर्छ भन्ने धारणा पोखेका छन् ।

कवि कवितामा कविले आत्मासंतुष्टिको लागि लेख्छ बाचुन्जेल केही पाउँदैन । मातृभूमिप्रति कर्तव्य पूरा गर्छ र कविले राष्ट्रवाद जान्दछ र यसमा उसले कहिल्यै सम्झौता गर्दैन भन्ने धारणा आएको छ ।

नेपालकी चेली भृकुटी कवितामा कविले भृकुटीको तिब्बतका राजासँग विवाह गरी जाँदा उनले भोग्न परेको भाषागत समस्या विरानो देशमा बिताउँदाको कष्टकर जीवनप्रति कसैको नजर नपरेको र भृकुटीको कष्टकर जीवनलाई सम्झदा माइती भनेर गर्व नगरे पनि हुन्छ भन्ने धारणापोखिएको छ कवितामा ।

नागरिक सर्वोच्चता कवितामा आजको नयाँ नेपाल आए पछि गास बास, कपास औषधी उपचार, रोजगारी सबै पाइन्छ भन्ने सुनिन्छ तर नयाँ नेपाल कहिले आउने, कसले ल्याउने, स्वार्थमा डुबेकाहरूले, कुर्सीका भोकाहरूले, विरामी चढेको एमबुलेन्स रोकेर विरामी उपचारविना मारिने, तथा गाडी मोटर साइकलमा आगजनी गर्ने वालाले के नयाँ नेपाल बनाउनन् के नागरिक सर्वोच्चता कायम गर्लान् ? नागरिक सर्वोच्चता कायम गर्न त दलगत स्वार्थभन्दा माथि उठी, नेपाली र नेपालको हित सोची, एकअर्कामा हातेमालो गर्दै होस्टेमा हैंसे गरी अघि बढेमा मात्र सम्भव छ भन्ने धारणा आएको छ ।

ढुङ्गे युगमा पुग्न बाँकी भन्ने कवितामा फाटेको ठाउँमा टालेर लगाएमा इज्जत रहन्छ भन्ने पुर्खाको अभिव्यक्तिरहेकोमा आजकल त शरीर नै नाङ्गिने क्रमको थालनिले आधुनिकताको चरम उत्कर्षबाट मानिस फेरि ढुङ्गेयुगमा पुग्नमात्र बाँकी छ भन्ने अवधारणा आएको छ ।आजको अङ्ग प्रदर्शन प्रति व्यङ्ग कसिएको छ कवितामा ।

सहिद कवितामा सहिद शब्द खुम्चयाउँदै सहिदलाई पैसासँग दाँजिदै, सहिदलाई पार्टी विशेषको बनाइदै, पैसाको आधारमा श्रेणी विभाजन गरिदै कमिसन खाइदै राजनीति स्वार्थपूर्ति गरिदै सहिद भनिदै छ तर सहिद त ती हुन् ‘जो नेपाल र नेपालीका लागि लडे, परिवर्तनको लागि हाँसीहाँसी आफ्नो जीवन आहुति दिए ’ सहिदको कुनै जात हुँदैन, सहिदको कुनै पार्टी हुँदैन, सहिदलाई पैसासँग दाजिन्न सहिद सहिद हुन् जसको बलिदानको कुनै मूल्य छैन’ भन्ने धारणा आएको छ कवितामा ।

विष पनि पिइदिन्छु भन्ने कवितामा भरिया बनेर तिम्रा दुःखहरू बोकी दिने, सात जाँगर तरिदिने, माथि उक्लन खोज्दा भर्याङ् बनिदिने, नदी तर्न खोजे डुङ्गा बनी तारिदिने, जलाउन खोजे मैन बनी पग्लि दिने, तिम्रो मुस्कानमा आफूलाई भुलिदिने, तिमीले एक जुनीमात्र दिए सातै जुनी सुम्पिदिने, उनले पिउन सके मदिरा बनिदिने र फेरि पिऊँ पिऊँ लाग्ने मधुर नशा भई दिने र तिमीले भन्छ्यौ भने विष पनि पिइदिन्छु भन्दै उनीप्रति सर्बस्व त्याग्नसक्ने धारणा छ कवितामा ।

तिमी पुरुष कवितामा पुरुष र महिला बीचमा भावनात्मक बार्तालापबाट महिलाको यथार्थ परक त्यागको सट्टा पुरुषको स्वार्थपरक व्यवहारलाई तुलनात्मक विभेद देखाउन खोजिएको छ हेरौं तलका अभिव्यक्ति –‘म नारी र पुरुष बराबर भन्छु, तिमी नारीलाई एउटा खेलौना भन्छौ, म दुवैको अस्तित्व स्वीकारौं भन्छु, तिमी आफ्नो प्रभुत्व जमाउन खोज्छौ’ । बास्तवमा कविले नारी र पुरुष बीचको विभेद त्यागी समतामूलक संसार बनाउन खोजेका छन् ।

कुर्सी कवितामा कविले आजको परिपेक्षमा कुर्सीमोह जसको प्राप्तिको लागि मानिसले जे गर्न पनि पछि पर्दैनन् प्राप्त गरेपछि सधैं नै सबै नै आफ्नो ठान्छन् तर कोठीवालीको कोठीमा ग्राहक फेरिए झै मन्त्रालयको कुर्सीमा बस्नेहरू पनि फेरिन्छन् । कुर्सी कसैको पेवा हैन कुर्सीलाई पेवा बनाउन खोज्नेको कमी नभए पनि देश बनाउनतिर भने कोही लागेनन् भन्ने धारणा आएको छ । कुर्सी उपलब्धीमूलक, जनसेवी राष्ट्र राष्ट्रियतामुखी हुनु पर्छ भन्ने धारणा आएको छ ।

चिता जल्दा कवितामा सबैले जानेको कुरा मृत्यु नै अन्तिम सत्य हो । यो सबैले जान्दा जान्दै पनि मानिसले त्यो सत्य भुलेर मानवीयताबाट तल झरेर पशु झैं व्यवहार गर्दछ तर मानवले मानवीय व्यवहार गर्नु पर्ने धारणा राखिएको छ ।

जीवन एउटा यात्रा कवितामा जीवनलाई अनमोल ठानिएको छ । माया सागर हो प्राप्तिको लागि डुबुल्की मार, गहिराइमा पुगेपछि मोती पाइन्छ । जीवनलाई रङ्गमञ्चको रूपमा पनि लिइएको छ । ‘जीवन एउटा यात्राहो गन्तव्यमा झरिन्छ, निश्चित गन्तव्यमा सबैको यात्रा टुङ्गिन्छ तर जीवनमा स्वर्णिम आनन्द लिनु पर्छ, यहाँ खोजे सब थोक मिल्छ भन्दै सबैले रम्दै आनन्ददायी जीवनयात्रामा जिउनु पर्छ भन्ने धारणा पस्किएको छ ।

फूल र पुजारी कवितामा ‘सुन्दरताको पुजारी को पो यहाँ छैन र ? पुजारीविनाको मन्दिर मन्दिर पो कहाँ हुन्छ र ?’ भन्दै प्रकृतिले फूललाई कोमल बनाएको भँमरा त्यसमा रमाएको, भगवानले पनि सुन्दरतालाई अस्त्र नै बनाएका छन् तर आजका फूल उत्ताउला भएका र सुन्दरता देखाउन आतर भएको भन्दै सुन्दरताको तुलनात्मक बर्णन गरिएको छ ।
पछुतो कवितामा क्षणिक सफलतामा मात्तीन खोज्दा आफन्तलाई र समयलाई नचिन्दा साथै चोखो मायामा खोट देख्दा आज रुन परेको र पछुतो भएको छ भन्ने धारणा आएको छ ।
नूनुवां कवितामा कविले नूनुवां हलुवाईका सौहार्दपूर्ण व्यवहारले उसले भनेका कथाहरूले गाउँ र कविको बाल मस्तिष्कमा गहिरो छाप परेको आज पनि नहटेको र जीवन पर्यान्त पनि नहट्ने भन्दै उसको आत्माको शान्तिको लागि ईश्वरसँग प्रार्थना गर्छु भनी भावनात्मक अभिव्यक्ति पस्किएको छ ।

नेपाल मेरो घर कविता यस कवितासङ्ग्रहको अन्तिम कविता हो । यस कवितामा तराई पहाड मधेष जे भए पनि नेपाली थर र नेपाल घर हो । तराई र हिमालको संयुक्त संयोजनबाट शरीरले पूर्णता पाउने भएकोले भाषा र धर्मको नाममा देश नटुक्रयाउँ जहाँ रहे पनि नेपाली हाम्रो थर हो र नेपालीको छोरो भएकोले नेपाल मेरो घर हो भन्ने धारणा राखौं भन्ने भावना र आग्रहले सजिएको छ कविता ।

भाषा शैली

यस कवितासङ्ग्रहमा कविले अति सरल भाषामा कविता रचना गर्नुभएको छ । कविता सबै तहका पाठकले सहजरूपमा अध्ययन गर्न सक्छन् र आत्मसात गर्न सक्छन् । उखानटुक्राहरू ठाउँ ठाउँमा प्रयोगमा ल्याइएकोले गर्दा कवितामा थप प्रभावकारी तुल्याएको छ । कविताहरूमा विम्ब र प्रतिकको राम्रो प्रयोग भएको छ । प्राय धेरैजसो कविता गद्यलयमा लेखिएका छन् । कविको भाषागत शब्द संयोजन अनुकरणीय देखिन्छ ।

शीष्र्।कीकरणको सार्र्थकता

आजका युवाहरू गाउँबाट सहर पस्नेमात्र न भै देशबाट नै रोजगारीको लागि बाहिरिएर गाउँ युवा युवतिरहित अवस्थामा छ र गाउँमा बृद्धबृद्धा नानाबालाले घर कुरिरहेका रहेका छन् । यस्तो अवस्थाम आएको यो कवितासङ्ग्रहले यथार्थपरक, सत्यतथ्य घटनालाई अँगालेको देखिन्छ । त्यति मात्र नभएर कविता पढ्दै जाँदा मानवीय मूल्य र मान्यता, अनुशासन, स्वबलम्बन, नैतिकता, आचरण, राष्ट्र राष्ट्रियताप्रतिको चिन्तनमा पनि ह्रास देखिन्छ । अत आफ्नो कृति ‘रित्तिएको गाउँ’ शीर्षक दिएर कविले आजको सन्दर्भमा यथार्थपरक नामाकरण गरेको देखिन्छ ।

कविताले ओगटेको क्षेत्र

कवि माधवजीका कविताले के बोलिरहेका छन् भन्ने यथार्थतालाई कविताको सारशङ्क्षेपबाट पनि जानकारी पाउँछौं । यसमा पनि सङ्क्षेपीकरण गर्दा हामीले मातृभूमि प्रतिको प्रेम, नारीप्रतिको आदर्शवादी चिन्तन, जीवानुभूति, नयाँ नेपाल शब्दप्रति तथा भाषणप्रति गरिएको व्यङ्ग्य, दैहिक प्रेम र ऐतिहासिक पक्षलाई समेटेर समसामयितालाई केलाएर तथा विश्लेषण गरेर लेखिएका कविता हुन् भन्न हिचकिचाउन हुँदैन । उनी कविता क्षेत्रमा जनताको सुख दुःखसँग, माया, राष्ट्र राषिट्रयता पीडा रोजगार आदि विविधतासँग लपक्कै टाँसिन पुगेका छन् र त्यसभित्र भएको यथार्थतालाई हामीसामु पस्केका छन् । आजको समाजमा जे उनले देखेका छन् ती सबैलाई सवलरूपमा सजीव चित्रण गरेका छन् । कविता पढ्दा कस्तो लाग्छ भने मन बचन कर्मले कविले आफ्नो मन मस्तिष्क कोमल मुटुलाई ओछ्याएर समयको आवाजलाई टिपेर, जीवन जगतलाई चिनेर, कविले प्रकृतिको निर्माणमा आफ्नो हृदयलाई समर्पण गर्दै विम्ब प्रतिक र शब्द अलङ्कारबाट सुसज्जित पार्दै आजको पीडादायिक जीवन समाजमा भएको विकृति विसङ्गति, विभिन्न कालखण्डमा समाजले भोग्न परेका उत्पीडनहरू, मानवको अस्तित्वको र नैतिकताको खोजी, राजनीतिक भ्रष्टतामा र राजनेताको अकर्मण्यतामा व्यङ्ग, नयाँ नेपाल निमार्ण गर्न अवलम्वन गर्नपर्ने मार्गदर्शन आदिलाई, समेटेर गरिएको यो सिर्जना अनुकरणीय छ । कुनै कुनै कवितामा शीर्षकीकरणभन्दा फरक धारणा राखेको पनि पाइन्छ । यसलाई विविधताले सजिएका कविता पनि भन्न सकिन्छ अनि शीर्षकले बोलेको मार्गमा नै कविले आफ्नो धारणालाई सीमित र गाढारूपमा जान राम्रो हुने प्रश्न आउन सक्छ । बास्तवमा प्रस्तुति पनि एउटा कला हो । आफ्नो कलालाई नाटकीयरूपमा प्रदर्शन गर्न सिपालु छन् माधवजी ।

अन्त्यमा कवि माधवजीको कविताप्रतिको मोहले गर्दा नेपाली साहित्यमा एउटा सुन्दर कृतिच थपिएको छ । यस्ता गहन कार्यमा माधवजीको मन सधैं लागिरहोस् र पुन अर्को कृतिले जन्म लियोस् भन्दै, सफल प्रयासको लगि माधवजीलाई धन्यवाद दिंदै बिदा चाहन्छु ।

धन्यवाद,
सदानन्द अभागी
मिति २०७२ साल वैशाख महिना १८ गते,
शान्तिचोक नवलपरासी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *