अछाम बसाइँको क्रममै थिएँ । शिक्षण पेशामा लागेको पनि धेरै भएको थिएन । त्यस्तै तीन चार वर्षजति पुग्दै थियो । शिक्षक संगठनको कार्यक्रमको सिलसिलामा अछाम सदरमुकाम मंगलसैन जाने मौका जुरेको थियो । शिक्षक संगठनको नयाँ कार्यसमितिको चयन गर्नुपर्ने थियो । पुरानो कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भइसकेको थियो । कार्यक्रम बन्दसत्र गरेर जम्मा दुई दिनसम्म चल्ने थियो । म पनि दुई दिनसम्म कार्यक्रममा सहभागी भएँ । हुन त म कुनै नामी र जिल्लामा कहलिएको शिक्षक थिइन तैपनि आफ्नो पेशागत हित संरक्षणको लागि संगठनमा आबद्ध भएको हुनुपर्छ भन्ने विचारधाराको भने पक्कै थिएँ । मलाई संगठनमा लागेर न त राजनीति गर्नु थियो न त कुनै पार्टी संगठनको सदस्यतानै लिनु थियो । जे होस् कार्यक्रम ऐतिहासिक र उपलब्धीपूर्ण रह्यो भनेर अन्य शिक्षक साथीहरू बडो सान र गौरव गरिरहेका थिए । मलाई पनि अलिअलि त्यस्तै लागिरहेको थियो । हुन त स्थानीय मान्छेहरू फलानो शिक्षक फलानो पार्टीमा लागेर राजनीति गरिरहेको छ भन्ने थुप्रै गुनासाहरू र आरोपहरू पोखिरहन्थे । तथापि म एउटा गाउँको फुच्चे शिक्षक विज्ञान विषय पढाउछु, राजनीति भन्ने कुरामा मलाई त्यति रुची पनि छ्रैन, र मैले फाट्टफुट्ट लेखेर फोहोर राजनीतिको किराले शरीर आधाजति खाइसकेर पक्षघातको रोगीजस्तै भएको यो जिल्लामा केही लेखकीय छाप थोरै छोडेको थिएँ । त्यै भएर स्थानीय मान्छेहरूको आरोपबाट अहिलेसम्म केही मुक्त भने पक्कै थिएँ । मलाई यो पनि राम्रैसँग थाहा छ यहाँ शिक्षक, शिक्षक कम र पार्टी कार्यकर्ता बढी थिए र छन् ।
बडो तामझाम र लोकतान्त्रिक भन्ने हिसाबले कार्यक्रम सकिएपछि सबै शिक्षक साथीहरू घरतिर जाने सुरसार गर्दै थिए । मसँगै कार्यक्रमकै लागि भनेर गाउँबाट आएका शिक्षक साथीहरू पनि जाने तयारी गर्दै थिए । म भने कार्यक्रम सम्पन्न भएको जि.वि.स. भवनबाट भर्खरै निस्कने सुरसार गर्दै थिएँ । अन्य मेरै उमेरका तन्नेरी शिक्षक साथीहरू मूलबजारतिर आइसकेका थिए । म भने बिस्तारै बजारतिर निस्कदै थिए । एकदमै अविश्वशनीय र आकास्मिक किसिमले एकजना बृद्ध बा झण्डै अनुमानमा साठी वर्षका बाले हात समातेर नानी कुईकाको शिक्षक होइन भने र शीर्घ नमस्कार पनि गरे । मैले पनि आश्चर्यमिश्रित आँखा लाएर टाउको हल्लाउँदै स्वीकारोत्ति जनाएँ र साथै नमस्कार फर्काएँ । एकछिन त म त्यतिकै टोलाएकै रहें र अनुमान लगाए उहाँसँग मेरो भेट सायद एक वर्षअघि भएको हुनुपर्छ । उहाँलेनै भन्नुभयो नानीसँग मेरो भेट मेरी छोरीको बिहेको दिन भएको थियो । नानीले बिर्सनु भएको कि के हो ? उहाँले भन्नुभयो । बल्ल मलाई याद भयो मेरा एकजना यहीका उच्च माविमा पढाउने अग्रज शिक्षक एव म मेरा साहित्यिक मित्रले मलाई त्यस बिहेमा लानुभएको थियो । बा कि छोरी त उहाँकै विधार्थी पो रहिछन् । उहाँसँग मेरो छोटो समयमै राम्रो साहित्यिक चिनाजान भइसकेको थियो ।
बाले मलाई आफ्नो घरमा जान आग्रह गर्नुभयो । मेरा सहकर्मी साथीहरू बाटो लागिसकेका थिए । मैले पनि उनीहरूलाई रुक्न भनिन । मैले कर गरिन र म बासँगै आज उहाँकै घरतिर लागें । उहाँ त्यो दिन पनि मसँग धेरै कुरा भन्ने सोचमा हुनुहुन्थ्यो सायद । बिहेको दिनको पछिल्लो दिन पनि मसँग एकान्त खोज्दै हुनुहुन्थ्यो पछि म आफलै पछि आउँछु भनी टारेथें । आज टार्न सकिन । आज जम्मै कुरा बाँकी नराखी सुनाउने भए मैले मनमनै सोचें । राती खान खाइसकेपछि उहाँले मैले कहिल्यै सुन्दै नसुनेको, मैले कल्पना नगरेको बिल्कुलै नयाँ कुरा पो सुनाउनु भयो । भन्दै हुनुहुन्थ्यो मेरो भोगाइ हो नानी, मेरो जीवनमा कहिल्यै नमेटिने गरी बसेको अमिट छाप हो । मलाई पनि बिस्तारै कौतुहलता जगायो उहाँको कुराले । अनि बिस्तारै सजग र सचेत भए कलम, कापी लिएर ।
बाले यसरी सुरु गर्नुभयो आफ्नो निजी भोगाइ :
म प्रत्येक दिन मसान रुँगेर बस्ने गर्दथें । त्यो अपरिचत ठाउँमा अपरिचित मान्छेका लासहरू आफै एक्लै चिता बनाएर जलाउने गर्दथें । अपरिचित लासहरूका अपरिचित जस्तै लाग्ने आफन्तहरूबाट पाउने सानो बक्सिसले छोराछारीको पेट पाल्ने गर्दथें । जेठी छोरी बाहेक अरु छोराछोरीले अक्षर चिन्न जान्दैनन् । जवान छोरो यसै ठाउँमा मेरो जस्तै काम गर्थ्यो । मलाई थाह छैन लासहरूले मलाई कुन अपनत्वले हेर्छन् । म लासहरूबाट आशिष पाउन लायक छु वा छुइँन त्यो म जान्दिन । म यो पनि जान्दिन मैले आफै निर्बस्त्र पारी चिता बनाएर जलाएका लासहरूका आत्मा को–कति स्वर्ग पुगे वा नर्क पुगे । म यो जान्दथें कि यसै ठाउँमा एकदिन मेरै छोराले एक्लै चिता बनाएर मेरो लास जलाउनेछ र म त्यो अभागी बाबु, जो म जस्तै काम गर्ने अवोध छोराको हातबाट यस अपरिचित ठाउँको मसानमा जलाइनेछु र सोचेको थिएँ मेरो प्राण हावालाई, आत्मा तेजलाई, शरीर आगोलाई, रस पानीलाई र खरानी धरतीलाई सुम्पेर म विलिन हुनेछु । तर त्यसो मैले अहिले सोच्नु हुँदैनथ्यो र सायद सोच्नु पनि त्यति शुभ हुन्नथ्यो । त्यो मलाई लागिरहन्थ्यो र मनमनै सोच्ने गर्थें भर्खर तन्नेरी अवस्था पो गएको छ थोरै बुढ्यौली आयु पनि त देको छ भगवानले सुकर्म, कुमर्क गर्न भनेर, अँझैं केही वर्ष त कसो नबाँचिएला कुकर्मै गरेतापनि । मलाई राम्रैसँग थाहा छ यो संसारमा भनौं यो कलियुगमा कुकर्म गरेकाहरूनै धेरै बाँचेको इतिहास र वर्तमान । सदाकोझैं देखें दुईचार जना मानिसहरूको एक हुललाई मसानतिर आउँदै गरेको एउटा अपरिचित लास सहित । उनीहरूले लास त्यहीं राखेर गए केही पैसा दिएर । यो कसको लास हो भनेर मैले प्रश्न गरिन र मलाई त्यस उत्तरको आशा गर्नु पनि खासै लाभकर र शुभ पनि हुँदैनथ्यो होला । हतारहतार लासतिर नहेरिकनै म लास निर्बस्त्र पार्न लागें । अचेल मैले लासहरूलाई त्यति गम्भीर संवेदनाको आँखाले हेर्न छोडिसकेको थिएँ र यस लासलाई पनि त्यसै गर्नुपर्छ भन्ने मनमा लागेको थियो । यतिका अपरिचित लासहरू जलाइसक्दा पनि, निर्वस्त्र पारी चिता बनाए पनि मैले लासहरूलाई कहिल्यै घृणा गरिन, कहिल्यै पनि मुर्दाहरू भनेर अपमान गरिन । लासहरू कहिले रगताम्मे भएर आउथें, कहिले टाउको फुटेका आउथें । कहिले अनुहारै चिन्न नसकिने क्षतविक्षत् भएका आउथे । कहिले कसैका खाली अस्थिपञ्जर मात्र आउथे । हेर्दा पनि भनभन्ती रिङ्गटा लागेर आउथ्यो, वाकवाकी लाग्ने भएर आउथ्यो । जति आउथे लासहरू प्रायजसो गरिबहरूकानै आउथे । त्यसमा पनि प्राय गरीव, बेवारिसे नेपालीहरूको बढी आउने गर्थे । कुनै कुनै लासहरू त मरेको धेरैदिनपछि पोष्टमाटन गरिएका र यहाँ मसानमा आइपुग्दासम्म मानौं कुनै रहस्यमयी जंगलमा बेवारिसे तरिकाले मरेका र महिनौंसम्म पनि गन्ध आइरहने कुनै विषाक्त ढुसीयुक्त पशुवत शरीर भएर आउने गर्थे । अस्थिपञ्जर पनि नभएको र मांशपेशी पनि नभएको जस्तो, केवल पट्यारलाग्दो गन्धयुक्त लासहरू । अरुको नजरमा लास भन्न समेत नसुहाउने किसिमका । आखिर लासशरु जेजस्ता, जति सडेगलेका र जुनसुकै प्रकृतिको भएपनि ती लासहरू मेरो दैनिक जीविकाको एउटा भरपर्दो माध्यमजस्तै भइसकेका थिए । काम गरेको यतिका वर्ष भइसक्दा पनि मैले कुनै दिन पनि खाली बस्नु परेन । औसतमा दैनिक तीनचार लासहरूको नित्यकर्म गर्नुपर्थ्यौ । मलाई पनि दुखद किसिमको हर्ष हुन्थ्यो आखिर गरीवहरूको लास गरिब हातलेनै जलाउन पाइने भयो भनेर । कहिलेपनि ठुलाबडाको लासको चिता बनाएर जलाउन पाइन, सायद नपाइने पनि थियो । प्राय ठुलाबडाका लासहरू नदीको पारिपट्टी बडेमाको चिता बनाएर बाजागाजा सहित विशेष सम्मानका साथ जलाइने गरिन्थ्यो र अस्तुहरू अर्कै ठाउँमा लगेर विर्सजन गर्ने गरिन्थ्यो । मान्छेहरूको उपस्थिति पनि बाक्लै देख्न पाइन्थ्यो । रुन सघाउने पनि थुप्रै हुन्थे ।
वारीतिर कहिले–कहिले लासहरूसँग दुईचार जना मान्छे आउथे कहिले कोही पनि हुदैनथे केवल लास मात्र एक्लो आउथ्यो । कसैले लास जलाउन दाउरा किन्ने पनि पैसा छैन, मुख छोप्ने कात्रोको लागि पनि पैसा छैन भन्दै मेरै अगाडि रोएका कैयौं स्वदेशी आलाप विलापहरू देखेको थिएँ, सुनेको थिएँ । यस अपरिचित ठाउँको मसान, अपरिचितले बनाएको चिता, अपरिचित हातको दागबत्ती, यस अपरिचित ठाउँको पानीसँग साइनो नभएका अस्तुहरूको स्पर्श म देख्दै आइरहेको थिएँ, भोग्दै आइरहेको थिएँ यस नियतिलाई वर्षौंदेखि । तर कहिल्यै लासलाई वेश्या नजरले हेरिन पनि । सधैं लासहरूलाई अपनत्व भावले अलबिदा गरें, गर्दै पनि थिएँ । कति लासहरूसँग मेरो आत्मीयता थियो त्यो कुरा म मात्र जान्दथें । हुन त लासहरू मान्छे होइनन् मरिसकेपछि त्यो पनि मलाई थाहा थियो तैपनि किन हो किन आफैले चितामा राखेर जलाउन ठिक्क पारेका लासहरूले मैतिर फर्केर प्रश्न गरिहेझैं भान हुन्थ्यो – आत्मियताको, मानवताको । कहिलेकाहीँ चिताबाट स्वय म उठेर च्याप्प समातेर अङ्कमाल गरुलाझैं लाग्थे लासहरू । अब त मलाई लासहरूको दुनियाँमा आफूपनि कुनै एउटा लास भएको जस्तो लाग्न थालिसकेको थियो । मानौं अब संवेदनाको नाममा मसँग यही एउटा भोग्दै आइरहेको तीतो यथार्थ बाहेक अरु केही पनि थिएन । मलाई लाग्थ्यो लासहरू कुनै मेरो बा हुन्, कुनै काका हुन्, कुनै मेरो भतिजाहरू हुन्, दाजुभाइहरू हुन् । यस ठाउँमा लासहरूनै मेरा सहकर्मी थिए, लासहरूनै मेरा आफ्ना थिए । आज मलाई यो लासले यति गम्भीर रुपमा जीवन, जगत र वर्गीयताको राम्रो ज्ञान दिए जस्तो लागेको थियो । यतिका लासहरू जलाइसक्दा लाग्थ्यो म पनि कुनै जीवनदार्शनकिभन्दा कमको छैन । त्यो भ्रम एकाएक तव गायब हुन्थ्यो जब मैले लासलाई लास भनेर मान्छेको सम्बोधन दिने गरेको हुन्थें । लास घोप्टो परेको थियो, आकासतिर अनुहार फर्काएँ, एकचोटि उदास आँखाले हेरें निर्जन मसानलाई र अभागी नदीको पानीलाई जसले आजसम्म कुनैपनि ठुलो मान्छेको अस्तुको स्पर्श गर्न पाएको थिएन । मैले आफ्नो सामुन्नेमा केही पनि देखिन । गाढाँ अन्धकारको सम्राज्य छायो आँखामा । म चेतनाशुन्य भएँ । अधरामृत भएँ, मैले एकैक्षणमा आफ्नो उपस्थिति गुमाएँ त्यहाँ । यस अपरिचित ठाउँमा अपरिचित लासहरू मात्र देखेको यो आँखाले आज आफ्नै परिचित आँखाले जस्तै गरेर परिचित लास देख्नु पर्यो, सायद देखिनु पर्ने पूर्वनिर्धारित गरिएको रहेछ नियतिबाट । आफ्नै छोरोको लास । मेरो आफ्नै डि.एन.ए. । मेरो आफ्नै मासुको एक चोक्टो, मेरो आफ्नै रगत मेरै अगाडि पञ्चतत्वतर्फको कहिल्यै नफर्किने यात्रामा थियो । मैले बडो उदास मनले त्यो अप्रत्याशित किसिमको नियति भोगें, त्यो नियतिको कर्मकाण्ड गरें । त्यो दिनदेखि म मसानबाट एकाएक सडकमा आएँ । म मुक्त भएँ त्यस कामबाट यानिकी मैले आफूलाई त्यो संकल्प र दिनचर्याबाट अघोषित रुपमा मुक्त गरिदिएँ । मेरो मसान चरोलाई निर्बन्ध जिउँदा मान्छेहरूको भीडमा उड्न दिएँ । अब घरका भुरालाई पठाउन, श्रीमतीलाई पठाउन मसँग केही पनि थिएन । छोराको लास थियो त्यो पनि मसँग बोल्दै नवोल्ने भएर आयो र कता गयो गयो । अब बाँकी मै थिए जे जति बाँचेको, थोरै बाँच्नुपर्ने र धेरै बचाउनुपर्ने । म अब मान्छेहरूसँग पनि आफै एउटा लास जस्तो थिएँ । म सडकमा पनि मसान जस्तै अर्धचेतना बाँकी थिएँ । बाले यति सुनाइसक्दासम्म उहाँकी श्रीमती सारीको सप्कोले मुख छोप्दै पल्लो कोठामा गएर रुन थाल्नुभयो । एकछिन हामी दुवै स्तब्ध भएर घण्टौं अगाडिको उहाँको सुँकसुँक अहिले एकाग्र सुनिरह्यौं ।
नानी, छोरो यसरी बितेको दिनदेखि यसको रवाइले मलाई छोराको मृत अनुहार र उसको बाचाल झनझन् प्रष्टिएर आउँछ सपनामा, कुनै रातपनि सुकुनले निदाउन पाएको छैन । त्यसपछि कुराको विषय परिवर्तन गर्दै भन्नुभयो नानीका बुवाको खबर के छ ? घरमा हुनुहुन्छ कि इन्डियामा अँझैं त्यही पूरानै काम गर्दैहुनुहुन्छ ? उहाँको त अब कम्पनीले पेल्सिङ्(पेन्सन) दिने समय पनि भैसक्यो होला ? उहाँसँग भेट नभएको पनि १६, १७ वर्ष जति भइसक्यो । मेरो छोरोको अन्तिम बिदाइमा उहाँ र म मात्र दुई जना थियौ । उहाँको साह्रै याद आउँछ । अब घर जाँदा उहाँलाई मेरो सम्झना सुनाइदेऊ ल नानी । उहाँको लामोलामो जुँगाको मलाई अँझैंपनि सम्झना ताजै छ । उहाँको त्यो शौख मलाई एकदमै आत्मीय र प्रिय लाग्छ भन्दै थोरै हाँस्नुभयो । मलाई पनि याद थियो र एकपटक उहाँतिर पुलुक्क हेरेर मुस्कुराएँ र भने – बा उहाँ अब हुनुहुन्न । एकछिन मौन हुनुभयो र नदेखिने गरेर आँखाको कापमा बुढी औंला लिदै आँसु पुछ्नुभयो । त्यसपछि उहाँले केही सोध्नुभएन र मेरो काँध थपथपाउँदै पल्लो कोढामा जानुभयो । म भने त्यो रातभरि निदाउनै सकिन । कोठाको भित्तामा झुण्डिएको माला अर्पित उहाँको छोराको तस्वीर र बुवा बितेको रातको अनुहार मानसपटलमा खेलाइरहें । अर्को दिन कोही नउठेको मौका छोपी मैले पर्सबाट एकहजार रुपियाका पाँच वटा नोट झिकेर उहाँको सिरानीमा घुसारे र एउटा सानो कागजको टुक्रामा लेखें बा मलाई माफ गर्नुहोला मैले तपाईको चित्त दुखाएँ । बुवा बितेको सोह्रवर्षपछि आज तपाईको पाँचसय रुपियाको गुन चुकाएजस्तो मात्र गर्न सकेको छु त्यो पनि भूमिगत किसिमले । त्यसपछि घरबाट निस्केर सोझै मूलबजारको बाटो हुँदै कसैसँग केही नबोली म सरासर कार्यक्षेत्रतिर हान्नीय । बाटोभरी मानसपटलमा एककिसिमको छटपटी भइरह्यो, मनभरि अनेक तर्कनाहरू आइरहे । के गरे, कस्तो गरे भन्ने, ठिक गरे या बेठिक खै कस्तो गरे भन्ने सन्तोष र आत्मग्लानिले च्यापिरह्यो । एकमनले आफ्ना साहित्यिक मित्रलाई धन्यवाद दिए जसले मलाई उहाँसँग परिचय गराइदिनुभएको थियो अगाडिनै । बाले दिएको त्यही पाँचसय रुपियाले ठिक सोह्र वर्षअगाडि हामीले बुवाको काजक्रिया गरेका थियौं । बुवाले मलाई याद दिलाएका थिए यो पाँच सय रुपिया कहिल्यैपनि नबिर्सनु । मलाई राम्रैसँग थाहा छ जुन रुपिया बुवाले आफू मर्नुभन्दा एक साता अगाडि आमालाई दिनुभएको थियो चामल किन्न भनेर ।
मीन थापा
ठेगाना : पथरैया ४ पहाडीपूर कैलाली नेपाल
