Skip to content

लेखापालको मन


हजुरबा लेखापाल र उसको बाबु पनि लेखापाल । लोक सेवा आयोगको परीक्षा पास गरेर पैतृक पेशामा प्रवेश गरेको ऊ पनि तेस्रो पुस्ताको आधुनिक लेखापाल । खोजी गरेन र हेरेन पनि उसले । काकाले खोजेकी र उनैले हेरेकी (रोजेकी) केटीसित विवाह गर्यो लेखापालले । अर्कैले छापिदिएको विवाहको निमन्त्रणा–कार्ड पनि हेर्न नभ्याउँदा नवविवाहित पत्नीको नामसम्म थाहा भएन उसलाई ।

गोश्वारा भौचर, बैङ्क नगदी किताब, बजेट खाता, वासलात, ……..का डेविट र क्रेडिटमै उसका क्षण र दिनहरू बित्छन् । न बाबु–आमाको बिरामले पोल्छ । न त पत्नीको चाहनाले नै घोच्छ । एकोहोरो कविजस्तै यन्त्रवत्, एउटा संवेदनाहीन मान्छे हो ऊ । मात्र अङ्क, हिसाब र लेखाको सपना र विपना । आफ्नै घरको कुरा त अज्ञात रहने उसलाई समाज र वाह्य संसारका अन्य कुरा के थाहा ? विचरो ! उसको आफ्नो छुट्टै–लेखाको संसार ।

विवाह गरेको तीन वर्षपछि लेखापालको छोरो जन्म्यो । छोराको राम्रो र सार्थक नामको खोजीमा एकोहोरिएर भगीरथ सोच्न थाल्यो ऊ । घोत्लिएर अनेक सोच्दा पनि उचित नाम जुराउँनै सकेन उसले । चिन्ताग्रस्त मनस्थितिमा भौँतारियो ऊ । पहिलो छोराको नाम सोच्दासोच्दै दिव्य दुईवर्ष बिते र अर्को छोरो जन्म्यो । अब भने अर्को छोराको पनि नाम जुराउँने भारी थपियो उसलाई । बोझमाथि झन् अर्को थप बोझ–पाल्ने होइन, नाम जुराउँने बोझ । अब चाहिँ कति सोच्नु भन्दै दुवै छोराको नाम उसले फ्याट्टै तोक्यो ‍- जेठाको ‘डेविट ’ र कान्छाको ‘ क्रेडिट ’ ।

रामविक्रम थापा
कृष्णगर्त, खोटाङ
मो.नं.९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *