Skip to content

मनको व्यथा नियाल्दा


परिचय

युसुफदिन मियाँ ‘पाल्पाली’सँगको मेरो परिचय साहित्यिक कार्यकर्ममा भएको हो । उहाँ व्यक्तित्वमा सरल, भावनामा उच्च, बोलीमा दृढ, व्यवहारमा समनताको रूपमा देखिनुहुन्छ । उहाँ एक सामाजिक साहित्यिक व्यक्ति पनि हो । उहाँसँग पल्लव साहित्य प्रतिष्ठान र चितवनमा आयोजना गरेका हरेक कार्यकर्ममा भेट हुन्छ । यो कृति पनि २०६८ सालमा पल्लव साहित्य प्रतिष्ठानले सञ्चालन गरेको कार्यक्रममा विमोचन भएको र सोही अवसरमा प्राप्त भएको हो । यो कृतिलाई पढ्न त पढें तर यसबारे आफ्नो धारणा राख्ने प्रयास भने गरेको थिइन । आज उहाँको कृति र उहाँप्रति सङक्षिप्तरूपमा केही लेख्ने प्रयास गरेको छु ।

युसुफदिन मियाँ पाल्पालीको जन्म पाल्पा, तानसेन वडानं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते भएको हो । उहाँ मरहूम अब्दुल गफूर मियाँ र माता मरहूम बिबीरन मियाँको सुपुत्र हुनुहुन्छ । उहाँ पाल्पामा जन्मे पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ । उहाँको पहिलो कृति २०६६मा पाल्पालीका गजल (गजलसङ्ग्रह) बजारमा आइसकेको छ । मनको व्यथा शास्त्रीय बहरबद्ध गजलसङ्ग्रह हो । यस सङ्गहले गजल सागरमा बहरबद्ध प्रवाह छाड्न सफल देखिन्छ । बहरमा गजल लेख्ने काममा यसले महत्वपूर्ण स्थान ओगटेको छ।

गजलको संरचना

आवरणा पृष्ठमा मुटुको चित्र अङ्कित गरी सजाइएको छ भनेपछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १११ गजल्हरू समावेश गरिएका छन् । कृतिको आकार १२३ पृष्ठको छ । प्रकाशकीय, शब्द शुभेच्छा, सुभकामना र मनभित्र रहेका शब्दहरू शीर्षकमा लेखिएका सारगर्भित शब्द समायोजनले कृतिको गरिमा बढाएको छ ।

प्रकाशकीय, शब्द शुभेच्छा, सुभकामना र मनभित्र रहेका शब्दहरूमा आएका धारणाहरू–

हुसैन खाँले प्रकाशकीयमा लेख्नुहुन्छ –‘ युसुफदिन मियाँ ‘पाल्पाली’आफ्नै पुरानो परमपरामा प्रचलित शब्द–शैली एव म बहरबद्ध गजलको शिल्पशैलीमा गजलपुष्पलाई अति सरल–तरल सलल बग्ने र गायन गर्नको लागि सजिलो हुने हिसावले रचना गर्न खप्पिस देखिनु भएको छ (पृष्ठ च) ।

गोविन्दराज विनोदीले यस सङ्ग्रहको शब्द शुभेच्छाको शीर्षकमा छोटो तर मीठो भूमिका लेख्नेक्रममा लेख्नुहुन्छ –‘यस कृतिमा गजलकारको मन ज्यादै सरल र सहज रूपमा पोखिएको छ’ ।

‘पाल्पालीले गीत गजल बालक अवस्थाबाटै लेखे कति पय साथीहरूलाई पढ्न र गाउन पनि दिए तर सिर्जनालाई आफ्नो सर्वाधिकारमा सङ्कलन गरेनन् । यस सम्बन्धमा प्रा.डा. नारायणप्रसाद खनालले शुभकामनाका शब्दहरूमा लेख्नुहुन्छ – जीवनका अत्यन्त उर्जाशील समयमा उनले भावनाहरूलाई गीतका माध्यमबाट, अभिव्यक्त गरे पनि यदाकदा लेखेर सङ्ग्रह गरे तापनि व्यवसायका उकाली ओराली र दौडधुपहरूमा ती कता हराए, कसकसले आफ्ना बनाएर गाए, त्यसको कुनै लेखाजोखा रहेन । परन्तु सही प्रेरणापात्र भइसकेपछि नै पाल्पालीका गजल (२०६६), जुन अत्यान्त लामो प्रसव पीडा पछि प्राप्त भयो । बस्तुतः यो एक पाल्पालीका जीवनको कोसेढुङ्गा बन्न सफल भएको छ । …… सुन्दर बस्तुको कदर जुनसुकै अवस्थामा पनि हुने गर्दछ । आफू यस्तै सुन्दर गजलबाट अर्को एक कृति पस्किनु सफल भएकोमा मित्र पाल्पालीप्रति हार्दिक बधाई दिंदै यो निरन्तरता कायमै रहोस् भन्ने पनि प्रकट गर्दछु (पृष्ठ झ र ट)’ ।

मनभित्र रहेका शब्दहरू शीर्षक दिएर स्वयम कृतिकारले आफ्ना धारणा प्रष्ट्याउने प्रयास गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ –

गाउँ घटे पनि सहर कम भएन
बुढो भए पनिरहर कम भएन

माथि डा.प्रा. नारायणप्रसाद खनालले लेखे जस्तै पाल्पालीजीले आज आएर आफ्नो लेखनलाई तिब्रता दिन थाल्नुभएको छ । बास्तवमा तन बुढो हुन सक्छ तर सिर्जना कहिल्यै बुढो हुँदैन । सिर्जना र भावनाको हिसाबले पाल्पालीजी अँझै तन्नेरी नै हुनुहुन्छ । आज आएर उहाँ आफै भन्नुहुन्छ – ‘मौका मिलेसम्मको समयलाई गजलमा नै खर्च गर्ने गरेको छु ’(पृष्ठ ठ)

सम्लग्नता

– अध्यक्ष फेन्सी व्यवशायी सङ्घ नारायणगढ
– अध्यक्ष बरकाती मदरसा सञ्चालक समिति
– पूर्व अध्यक्ष लायन्स क्लव चितवन (हाल सदस्य)
– पूर्व उपादक्ष नारायणी कलामन्दिर चितवन (हाल आजीवन सदस्य)
– आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी, नारमायणगढ चितवन
– आजीवन सदस्य नेपाल परिवार नियोजनसङ्घ, भरतपुर चितवन
– आजीवन सदस्य नेत्रज्योति सङ्घ चितवन
– आजीवन सदस्य क्षयरोग निवारण सङ्घ, नारायणगढ चितवन
– आजीवन सदस्य हृदयरोग निवारण सङ्घ भरतपुर चितवन
– आजीवन सदस्य बालमन्दिर, भरतपुर चितवन
– आजीवन सदस्य पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन

माथिका आवद्धताले उहाँको साहित्यिक तथा सामाजिक व्यक्तित्वलाई दर्शाउँछ । पाल्पालीले मानव कल्याणकारी संस्थाहरूमा रहेर सेवा पुर्याउँदै आउनु भएको छ ।

कृतिभित्र पस्दा

१११ गजलले सुसज्जित यो गजलसङ्ग्रह सबै पूर्ण बहरमा लेखिएको छ । मनको व्यथा जटिलताले भरिएको छ । मनमा उनको छटपटी चल्छ यादमा तन जल्छ घरबार नजुट्दा हार खानु पर्छ,, जगभित्र मिल्ने मनुवा नमिल्दा डर पनि लाग्छ । मनको व्यथालाई बिसाउनको लागि मुटुमा मिल्ने मुटुको खोजीमा प्रियासङ्ग धाउन पुग्दछन् गजलकार । बास्तवमा मन अति चञ्चल हुन्छ । यसले मानवलाई बन्धक बनाएको हुन्छ । गोविन्दराज विनोदी भन्नुहुन्छ–‘यस कृतिमा गजलकारको मन ज्यादै सरल र सहज रूपमा पोखिएको छ’ (पृष्ठ ज) । हेरौं गजलको शेर –

मुटुसङ्ग मिल्ने मुटु खोज गर्दै
प्रियासङग धाएँ मनको व्यथाले

मानव जीवनमा मुटुसँग मुटुको मिलन भन्नु प्रेमको मिलन हो । प्रेममा मिलन हुनु भनेको महत्वपूर्ण उपलब्धी हो । यो उपलब्धी प्राप्त गर्न गजलकार प्रियासँग धाउँछन् । मनको व्यथा पोख्छन् । गजलकार भन्छन् मन पापी रैछ, यसले धेरै बलले नभेट्ने कुराहरू माग्दछ, कल पार्छ, इरादा गरिराख्छ, लत पाल्छ, यसैको कारणले खत लाग्छ, हजारौं गम जाग्छ आदि, मधुमासको बरसातमा, रसरङ्गको रातमा, दिनरातको हरहालतमा, दिल माझको दुःखदर्दमा दिलदारको दरकारमा घरबारको सब बातमा, मनको कुरा नसुनेको तनको व्यथा नबुझेको आदिमा भनिदेउः मनको व्यथा भन्दै प्यारको माझधारमा रहेर हरेक साँझमा तिमीलाई कुरेको छु । आइदेऊ मधुमातमा भनी प्रेमीकालाई बोलाइएको छ । गजलकारले प्रेमिकालाई भन्छन् दिलमा अग्नि दन्काएर आऊ, प्रेम रोग सल्काएर दुःखलाई खल्काएर, जिन्दगीको दाग टल्काएर, आऊ । फूल देख्दा मात लागेको र सो मातले होस गुम्ने डर भएकोले सम्झाऊ र माया उम्लिएर खेर जान नदेऊ चोखो प्रेम अल्झाएर जाऊँ भन्ने धारण राखेका छन् । गजलकारले कतै प्रेमलाई जानेरमहत्त्व दिएका छन् । कतै कतै प्रेमको चोट खाएका पनि छन्, दिलभित्र नै मायालाई पालिरहेका छन्, दिलभित्रै मायालाई बसालिरहेका छन् ।

एकोहोरो प्रेमले मानव जीवनमा धेरै कथा व्यथाहरू भोग्न पर्छ जब प्रेमीकाले आफूबाट पराईृ हुन्छिन् अग्नि जस्तै सलाईले पनि पोल्छ –प्रेममा प्रेमीकाको विछोडको कारणमा सानो आगोको जलन तथा डहन हुनु अस्वभाविक होइन । हेरौं गजलकारको धारणा उनकै गजलको शेरमा –

अग्नि जस्तो पोल्ने सलाई भएछौ
मेरोभन्दा भन्दै पराई भएछौ

कतै दिवाना भएर हराउने, कतै आफू आफैमा हराउने, कतै प्रेमिकाले सलाई लगाएर खरानी बनाउने, कतै बुटोझै बढेको जवानीलाई ढलाई दिएको, कतै दिलको तानलाई तोड्न गाह्रो भएको त कतै मीठो शत्रुलाई छोड्न गाह्रो भएको, कतै दयाको खजाना लुटाएको त कतै टुटेको भरोसा जुटाएको गजलकारलाई आभास हुछ,।, देशलाई भुलेर पराई हुँदा चिठी पठाएर बोलाएको याद आउँछ । कतै चारदिनको जिन्दगी झेलमा अल्झेको त कतै खेलमा अल्झेको, कतै प्रेमको भिखारी भएर आसमा बसेको, कतै मायालुले प्रीत नै तोडेर गएकी त कतै दिलको माया फोडेर गएको, धारणाहरूबाट सजिएका छन् गजलका शेरहरू ।

हर काममा हरबातमा दिलदारको आवश्यक्ता हुन्छ प्रेमको घरबारमा पनि दिलदारको आवश्यक्ता हुन्छ । दिलदारको आवश्यक्ता यतिमामात्र सीमित रहदैन । हरवारमा हर हालतमा प्रीतको अभिसारमा, दिलका सबै सुरतालमा दिलदारको आवश्यक्ता पर्दछ । नपरोस पनि किन ? दिलदारले नै दिलको धड्कन सुन्दछ ।

एकातिर मानिस नामको लोभी हुन्छ । नामको लागि मरिमेटी लाग्दछ । अर्कोतिर लोभमा जिन्दगी अट्किएको छ । जिन्दगीको रहरमा जवानी लुटिएको हुन्छ । शुद्धताप्रेमको आवश्यक्ता पर्दछ । बास्तवमा मुटुभित्र माया न सरेर नै जान्छ न मरेर नै जान्छ दिलमा बसेर जान्छ यसैले आनन्द लिाउँछ त कतै मनलाई रोगी बनाउँछ, र कहिल्यै नपुरिने घाऊ बनेर जान्छ । गजलकारले निशा चाँहादैनन् । उनले उज्यालोको खोजी गरेका छन् । उनी भन्दछन् –

अँधेरो निशा भो बिहानी बनाऊ
सधैं लड्नसक्ने जवानी बनाऊ

भनिन्छ कहिले कतै नखाएको नशा पनि लाग्छ । दशा पनि पछि लाग्छ । लागेको छ त कतै न आएको दशालाई बोलाइएको छ । बाटो चिप्लो नभए पनि कतै लर्किएको छ त कतै मायाको यौवनहार प्राप्त हुँदा पनि तर्केर गएको पाइन्छ ।

चिप्लो थिएन बाटो लर्केर गैरहेंछु
मन यो विगारी आफैं चर्केर गै रहेंछु
(गजल ४२ पृष्ठ ४२)

रूप र रङ्गमा को लोभिदैन र यहाँ गजलकारले बात गर्ने सार भेटेका छन्, जिन्दगकिो चाल भेटेका छन्, गजलकारले भन्छन् –

दाँत हेर्दा चूनजस्ता रूप देखे जून जस्ता
हंसजस्तो चाल देखें प्रीत छोप्ने खाल भेटें
(गजल ४४ पृष्ठ ४४)

मायालुले दिलमा घडेरी खन्याउँदै त्यतै बसाइ सराइ गरेको, तेजलाई छोपेर छोपीदैन, कर्म उदाएर आए कसेले रोकेर रोकिदैन,सँगै बाच्न पर्नेसँगै मर्न पर्ने तर त्यसो नभएर जिन्दगी भर रूवाइरहेको, वेमौसमी झरिले दिएको पीडा, तीतो पीरो खाए पनि हरेस नखाएका कुरा, जवानीलाई लुकाएर जान पर्ने तर सजाउनु पर्ने, विविध प्रेमले भरिएका गजलहरूको कमी छैन सबै गजलहरू प्रेममा रङ्गिएका छन् । प्रेममा मिलन छ विछोड छ, नम्रता छ फकाई छ याद छ रुवाई छ दुःख छ हाँसो छ, आदि आदि प्रेमरसलाई सुललितरूपमा बगाइएको छ ।

माटो प्रतिको माया

माटोभन्दा धर्तीमाता र जन्म दिने आमा प्रतिको माया भन्ने सम्झिन्छ । गजलकारले माटोमा जन्मेर फक्रेको फूलको रूपमा आफूलाई लिएका छन् । माटोमा जन्मे पनि आमाको मायाले दूधको धाराले सवलता छाएका कुरा अनि देशको मायाका कुरामा गजलकारको केवल एक गजल पस्केका छन् । एक गजल भए पनि माटोप्रति आमाप्रति र देशप्रति गजलकारको धारणा प्रष्ट छ ।

भाषा शैली

भाषा सरल र सुवोध भए पनि हिन्दी र उर्दू साहित्यका शब्दहरूले पनि स्थान पाएका छन् । यी शब्दहरूको प्रयोग भाषा सुद्धताको हिसावले हेर्दा प्रयोगमा ल्याउन भाषागत सुद्धता ठानिदैन तर शब्द भण्डारको हिसाबले हेर्दा नेपाली जनजीव्रोमा चलनमा आएका यस्ता शब्दहरूको प्रयोगलाई पाठकले सहजै स्वीकार्दछन् । गजलका शेरहरूको निर्माण १२, १३, १४, १६, २०, अक्षरमा गरिएको पाइए तापनि १२ अक्षरी शेरहरूको बाहुल्यता बढी भएको देखिन्छ । यस गजल कृतिमा बहरको साथै संस्कृत काव्यपरम्परका पिङगल, भुजङ्गप्रयातजस्ता छन्दको प्रयोग भएको देखिन्छ । सबै गजलका शेरहरू सरल भाषामा गायत्मक रूपमा लेखिएका छन् । गजल सिधान्तको अवलम्वन भएको पाइन्छ ।

अन्त्यमा प्रेममा आधारित यस गजल सङ्ग्रहमा पाल्पालीजीले गजललाई सबै जाति सबै सम्प्रदाय, सबै धर्मलाई मानवीय प्रेमसूत्रमा बाँध्न खोजेका छन् । प्रेमको सुथरी बलियो हुन्छ । यो सुथरीले सवलता छा ओस् र प्रेममय संसारलाई अँझै बलियो बनाओस् । अँझै परिपक्ताको अर्को कृति चाँडै पढ्न पाइओस् भन्दै बिदा चाहन्छु ।

धन्यवाद,

सदानन्द अभागी
मिति २०७२ साल बैसाख ४गते,
कावासोती वडा नं ७, शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *