विमान किन्दा होस कि
सामान किन्दा होस
मह काट्नेले हात चाट्ने भन्या जस्तै
कसैले
अलिअलि हात चाटे होलान
दुईचार पैसो यसो बाटे होलान
हुन त म गोठाला गाको छैन
तर ढुक्क हुनुस, मेरो पालामा
कुनै घोटला भाको छैन ।
ठेक्का पट्टा बोल्दा होस कि
टेन्डर खोल्दा होस
सरकारी सामान किन्दा होस कि
ठुल ठुला मुद्दा छिन्दा होस
कसैले
भोज भतेरमा ठोके होलान
दुई-चार दाम बोके होलान
हुन त म कसैको गोठाला लाको छैन
तर ढुक्क हुनुस जनता जनार्दन
मेरो पालामा कुनै घोटला भाको छैन ।
अध्यागमनमा होस भन्सारमा होस
मन्त्रालयमा होस कि धन्सारमा होस
कुनै गडबडी भाको छैन
समाचारमा आको जस्तो
कतै कसैले खाको छैन
हुन त म त्यति गोठाला गाको छैन
तर ढुक्क हुनुस
पत्रिकाले भन्या जस्तो
मेरो पालामा
कुनै घोटला भाको छैन ।
रासनको नाम कसैले
अलिअलि खाए होलान
तस्करको काममा कसैले
धेरथोर पाए होलान
बलत्कारीलाई छुटाउन कसैले
अलिकति गाँठ समाए होलान
भ्रष्टचारीलाई जोगाउन कसैले
थोरथार दाम कमाए होलान
तर टिभीमा देखाको जस्तो
खास केही भाको छैन
मेरा पनि सुलसुले छन
उनीहरूबाट केही त्यस्तो आको छैन
हुन त म खासै गोटाला गाको छैन
तर ढुक्क हुनस, सुशासन छ
मेरो पालामा
कुनै घोटला भाको छैन ।
प्रेम ओली
