नझुल्किदैमा संघियताको नौलो विहान
थपिंदै गए नेपालीका थुप्रै नयाँ चिहान
दलीय स्वार्थवीच नवीन लेख्दा विधान
खर्चेर ढुकुटीमात्र कहाँ नव सम्विधान ।
यतिवेला देश एकात्मक राज्य प्रणालीबाट संघीय वा प्रादेशिक राज्य प्रणाली तर्फ उन्मुख छ र निकट भविष्यमा यो देश भित्र थुप्रै प्रान्त बन्दैछन् । यस परिप्रेक्ष्यमा पहिला दुईवटा उदाहरण पेश गर्न चाहन्छु ।
उदाहरण नं १ अंग्रेजहरूले भारतबाट आफ्नो शक्ति छाडेर जब वेलायत जाँदैथिए र अहिंशात्मक आन्दोलन गरेर राज्य स्वतन्त्र बन्दै थियो त्यतिवेला संविधानसभाले कानून निर्माण गर्दै थियो र विशाल भारत संविधान निर्माण र प्रदेश विभाजनको संघारमा पुगेपछि शुरुमा पूर्वी र पश्चिमी पाकिस्तान अनि पुन पूर्वी पाकिस्तान पछि स्वतन्त्र भै वंगलादेश भन्ने तीनवटा राज्यमा परिणत भयो । शुरुमा दुई पाकिस्तान वीच लडाइँं र शुरुदेखी पटक पटक पश्चिमी पाकिस्तान वा हालको पाकिस्तान र उसको मातृराष्ट्र भारतका वीच साना ठूला लडाइँं चलिरहेको छ जुन हालसम्म रोकिएको छैन र दिनहुँ थुप्रै सैनिक र गैरसैनिक नागरिक सीममा मारिन्छन् । यो झगडाको सबैभन्दा नजिकको प्रत्यक्षदर्शी नजिकको छिमेकीका नाताले हामी यानेकि नेपाली नै हौं ।
तर यी सब घटनाको प्रत्यक्षदर्शी भएर पनि हामीले यति ठूलो गल्ती गरेका छौं कि हामी छिमेकी राष्ट्र भारतको धेरै प्रान्तमध्ये मझौला प्रकारको एक प्रान्तको हाराहारीको यो देशलाई प्रदेश विभाजनमा लाँदैछौं । यो ईतिहासको सबैभन्दा ठूलो गल्ती बन्न दिनुहुन्न । हामीले संयमता अपनाएर विवेकपूर्ण रुपले यो राष्ट्रको प्रादेशिक खाका कोरौं पार्टी र व्यक्तिभन्दा माथि उठेर नत्र यो देशको विभाजनको हामी कलंकित साक्षीमात्र बन्नेछौं र ईतिहासले यो पुस्तालाई केवल धिक्कार्नेछ ।
उदाहरण नं २ जब १९९० को जुलाई महिनामा म भारतको यात्रामा यात्रा गर्दैथिएँ । यात्रा रोडवेजको बसबाट दिल्ली देखी गाजियावादसम्म थियो । बशमा चढ्ने वित्तिकै वशका कन्डक्टरले गेटमै वसेर पैसा उठाउने प्रचलन त्यतिवेलै देखि थियो । वशका यात्रीहरू गेटमा गएरै कन्डक्टरलाई वशभाडा वुझाउँथे । सबै यात्रुले पैसा तिरेपछि पुन कन्डक्टर कराए क्या कोही वाँकी है । भाडा देनेके लिए आद्मी वाँकी है तो फिर कडा जुर्माना हो जायगा । उनले यी वाक्य स्वर ठूलो पारेर करीव तीनचार पटक सुनाए तर कोही बोलेन । त्यसको करीव दुई मिनट पछि उनी बसेको सीटबाट उठे र एकजना त्यतिवेलाको नौजवानको कँठालो समातेर ल्याए वसको वीचभागतिर उभिएको पातलो शरीरको १८ २० वर्षको अपरिचित केटालाई सिधै आक्षेप लगाईयो साला विहारी टिकट दिखाओ विन टिकट यात्रा कर्ते हो तुमको जेल भेज्देंगे । उसँग साँच्चिकै टिकट थिएन र ऊ वास्तवमै विहार मैले अहिले ठाउँको नाम विर्सिसकें कै नागरिक रहेछ र सबै यात्रु हामी दुई नेपाली वाहेक उसलाई आमा चकारी गाली गर्दैथिए । सबैले भुलेका थिए कि ऊ एक भारतीय नै थियो र सायद उसभित्र या त यस्तो प्रवृति कायम थियो वा उसँग पैसा थिएन । आखिर उसलाई वसबाट निकालियो र तल झारेर वश अघि बढ्यो र पनि करीव दश मिनट विहारी प्रवृतिमाथि कटाक्ष गरियो सबै वसमा रहेका यात्रु र चालक सहचालकबाट हामी भने ट्वाल्ल परिरह्यौं । एक भारतीय नागरिक प्रति अन्य भारतीय नागरिककै प्रतिशोधपूर्ण हेराईबाट । ठिक यतिवेला म मेरो देशको नियति करीव २५ वर्ष पहिलाको घटनामा जोडिन पुग्दैछु ।
यी माथिका दुई उदाहरणमा पहिलो उदाहरणले हामीले कहिल्यै सिक्दैनौ बरु वारम्वार गल्ती दोहोर्याउँछौ अनि फुर्सदमा पछुताउँछौं । हाम्रो जस्तो सानो र सबै नेपाली एउटै फुलवारीमा रमाउने राष्ट्रियता भएका नागरिकलाई समूह विभाजन गरी जातीय क्षेत्रीय र प्रान्तीय हैसियत तर्फ धकेलेका छौं ऽ यो नै गलत छ । ठिक छ अँझै विग्रिएको छैन यदि सबै पार्टी सबै नेता र जनताका निश्चित प्रतिनीधित्व गर्नसक्ने व्यक्तिहरू एकै ठाऊँ बसुन् र गम्भीर भएर राष्ट्र हित सोच्दै विवेकपूर्ण रुपमा प्रदेश निर्माण गरुन् चाहे छ सात दश पन्ध्र जतिसुकै तर त्यसको मापदण्ड सबै नेपालीका सामु राष्ट्र सन्देश मार्फत जनतालाई खुलस्त गरुन । कुनै समस्या रहँदैन कसैले जीवन गुमाउनु पर्दैन र कुनै विदेशीका स्वार्थपूर्ण नक्शा आवश्यक पर्दैनन् ।
दोश्रो उदाहरणले के देखाउँछ भने नेपालीहरू भोलि नेपाली हुन्छन् कि मधेसी किराँती मगराँती थारु धिमाली तमुवानी नेवारी शेर्पाली लिम्वुवानी वा अन्य केही । यदि यसरी नै हामी वाँडियौं भने जसरी एक भारतीले अर्को भारतीयलाई हेप्छ उसरी नै हामी नेपालीले प्रदेश वा प्रान्तमा वाँडिएर नेपाली राष्ट्रियता भुल्न सक्छौं । नभुलौं नविर्सौं । जुन प्रान्तमा वसेपनि हामी नेपाली हौं हुनेछौं र रहिरहनेछौं भनी सोचौं । यसरी सोच्दा प्रान्त उत्तर दक्षिण पूर्व पश्चिम जति काटेपनि जहाँजहाँ जजस्लाई भाग लाए पनि कुनै फरक पर्दैन । अन्यथा हामी पनि हिजोका तिनै भारतीय जस्तै टुक्रे प्रान्तमा विभाजित हुनेछौं र विर्सने छौँ हाम्रो राष्ट्रिय एकता सार्वभौमिकता र राष्ट्रियता जुन विना देशको नागरिक बन्नुको कुनै अर्थ रहन्न ।
यी त भए केही उदाहरण र यसमा हाम्रो संलग्नताको प्रश्न । यहाँ स्पष्ट पार्न खोजिएको कुरा के हो भने हामी ईतिहासको त्यो घडीमा उभिईराखेका छौं जहाँबाट हामी न पछाडि फर्केर सुरक्षित अवतरण गर्न सक्नेछौं न त अगाडि बढेर विवेक कायम गर्न नसक्दा नेपालीरहिरहन सक्नेछौं । यतिवेला मुलुक संघीय राज्य व्यवस्था जन्माउन तम्तयार छ । गर्भभित्र रहेको यो भ्रुण परिपक्व हुनु अगाडि नै यहाँ विभिन्न प्रवृति र मागहरू यसरी राखिएका छन् कि जसलाई समाधान गर्नु पक्कै पनि सजिलो छैन । जेठी माग्छे पानी कान्छी माग्छे घाम म एक्लो बुढो कतातिर जाम भन्ने नेपाली चल्तीको उखान अहिले ज्यादै चरितार्थ हुँदैछ । उही जिल्लाका मानिसलाई समेत कसैलाई मगरात त कसैलाई थरुहट कसैलाई अखण्ड त कसैलाई खण्डहर बनाउन इच्छा भैरहेछ । कैलाली अखण्ड सुदुर पश्चिम र थरुहटको झगडाबाट आक्रान्त छ भने नवलपरासीका आधा मान्छे जिल्ला टुक्रयाएकामा अविरल बन्द र हडतालमा उत्रिएका छन् भने आधा जिल्ला टुक्रिएर अर्को प्रान्त बन्न पुगेकोमा दीपावली मनाई खुशी वाँड्दैछन् । कोही मधेशसँग म मिसिन्न भनी झगडा गर्दैछन् त कोही मधेसमा पहाड मिसाऊ भनी माग राख्दैछन् । यस्तो पनि कहीँ हुन्छ र । हामी कतातिर जाँदैछौं एकपठक पुन समिक्षा गरी सबै दल तिनका नेताहरू जनताका प्रतिनीधि संविधानसभाका सदस्यहरू एकजुट भएर समुद्रमन्थन गरेजस्तो गरी निचोड निकाल्नै पर्ने देखिन्छ । यहाँ म त संविधान बाहिरको दलको मान्छे भनेर पनि पन्छिन मिल्दैन किनकि भोलि देश नै नरहेपछि उहाँहरू कसरीरहनुहुन्छ र राजनीति गर्ने । त्यस्तै सम्पूर्ण आन्दोलनरत दलहरू पनि आन्दोलन संथगित गरेर लाग्नुपर्छ किनकि आन्दोलनका लागि पनि त निश्चित भुभाग सुरक्षित रहनुपर्यो र अर्को कुरा चार दल वा सत्तासीन वा सहभागी दलका कमजोरीका कारण थुप्रै नागरिक मर्ने वा भोलि सच्याउनै नसकिने भूगोल प्रदेशका नाममा टुक्रिन त भएन नि । यो देशको संघीय राज्य व्यवस्थाको प्रसवकाल हो यसमा मेरो संलग्नता थिएन वा छैन भनेर कोही उम्कन पाउँदैन । प्रसवका समयमा प्रवेशद्वारमा चोट लाग्यो भने वच्चा लुलो लंगडो कानो खोरण्डो जस्तो पनि हुन सक्छ अँझ त्यही अड्किरहेमा मृत्यु समेत हुन सक्छ । अहिले प्रसवको पीडा सहिनसक्नु बन्दैछ जनताहरू मर्न लामवद्ध हुँदैछन् र राज्यको शक्ति हातमा लिएर बसेकाहरूले समाधानको गलत बाटो पुलिस प्रशासन लगाएर अश्रुग्याँस गोली र तोपलाई सम्झेका छन् यस्तो किमार्थ हुन सक्दैन । सबैले ठण्डा दिमागले सोचौं दुनियाँमा हरेक कुराको समाधान हुन्छ र अँझ समस्याले नै समाधान ल्याएको हुन्छ मात्र चिन्नुपेछ वा पहिल्याउनु पर्छ । पहिचान र स्लग्नताको लडाइँंमा होमिएको मानिसले आफ्नो जीवनलाई उत्सर्ग गर्न खोजेको हुन्छ तर हामीले सोच्नुपर्छ कि एक सवल राष्ट्रलाई कमजोर प्रान्तमा रुपान्तरण गर्ने हाम्रो महत्वाकांक्षा हो यो कुनै संसार जित्ने र हार्ने लडाइँं होइन । न हामी मर्ने वेलाको पखेटा उम्रिएका कमिला हौं बरु हामी त विवेकशील प्राणीका रुपमा रहेका मानिस हौं र हामीलाई थाह छ हामी एकपटक जन्मिन्छौं र एकपटक मात्रै मर्छौं मरेर गएपछि नेपालमै पुनर्जन्म हुन्छ भन्ने बारे हामी सबै अनभिज्ञ छौं । यतिसम्म कि हामी सदाका लागि न्च महाभूतमा विलिन हुन्छौं कि पुन मानव या अन्य चोलामा परिवर्तन हुन्छौं भन्ने पनि जान्दैनौं भने हामीलाई मरेपछि कुन र कस्तो प्रान्तले आत्मिक शान्ति देला र ।
तसर्थ आउनोस् नेपाली वन्धुवान्धव हामी सबै नेपाली भ्रुण संघीयता सफलतापूर्वक जन्मऔं र यसलाई हुर्काएर बढाएर सम्पन्न पारौं यसमै सबै नेपालीको कल्याण छ । नत्र एउटा रोगी मरन्च्याँसे अंगभंग भएको नयाँ सन्तान जन्मिनेछ जुन पाल्नका लागि हामीलाई केवल कष्टमात्र हुनेछ उसले भोलि केही गर्नेछैन मात्र देशको अभिशाप भैरहनेछ । यो प्रसवबाट पक्कै संघीयता कायम हुनेछ देशमा भने अब हामी किन संघीयता विरोधी आन्दोलनकारी वा सत्ता ईतर र सत्तासीन बनी कित्तकाटमा बस्ने । बरु सबै पुन एकपटक गोलवद्ध भै जुटौं नव शिशुलाई स्वस्थसँग जन्माऊं र यसको लालनपालनमा सहभागी होऊँ । भनौं ईतिहासले भोलि हामीलाई सराप्ने हैन आशीर्वाद देवोस् नौलो नेपालको नयाँ सम्विधान अन्तर्गत हिँडेर विकासको उच्चतम विन्दु हासील होवोस् । अस्तु ।
