Skip to content

एक चिकित्सक

  • by

हरायो पूर्णिमा
औँसी छाएको छ छातीमा
बिलायो वसन्त
आएको छ शिशिर छातीमा
कहाँ गयो हरियाली ?

भेटिएको छ मरुभूमि छातीमा
कहाँ गए परेवा ?
छाएको छ अशान्ति छातीमा
हो, आमा ! छौ तिमी,
जीवन र मरणको दोसाँधमा

छियाछिया बन्दछौ कहिले
भूकम्प गएर छातीमा
हुरहुरी जल्दछौ कहिले
ज्वालामुखी गएर छातीमा
बिरुप देखिन्छौ कहिले
बाढी आएर छातीमा
कुरुप भेटिन्छौ कहिले
भूक्षय भएर छातीमा
हो, आमा! छौ तिमी,
स्वर्ग र नर्कको दोसाँधमा

होइन आमा त्यतिमात्रै,
भएको छ भ्रष्टाचार तिम्रो छातीमा
छातीमा बढेको छ घुसखोरी
लाइएको छ डढेलो तिम्रो छातीमा
छातीमा छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरू
तिम्रो छाती-छातीमा छाएको छ अशान्ति
हो, आमा! भएको छ
तिम्रै छाती बलात्कृत

पुछ्न तिम्रो बलात्कृत आँसु
माटोमा रोपेर उन्नतिको बिज
बालेर माटोमा शान्तिको दीप
फुलाउनु छ विकासको फूल
मगमग बास्ना चलाएर फूलको
अनि मात्रा बढाएर अक्सिजनको
छातीभित्र पुर्‍याएर, बनाउनु छ
तिम्रो फोक्सो स्वस्थ

रुप धारण गरी भाइरसको
आएको छ भ्रष्टाचार
बढेको छ घुसखोरी
लागेको छ डढेलो
छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरू
छाएको छ अशान्ति
अनि भएको छ बलात्कार
हो, आमा! गरेको छ आक्रमण
तिम्रो फोक्सोमा कोरोनाले

जिम्मेवारी छ मेरो काँधमा
भाइरसमुक्त तिम्रो फोक्सो निर्माण गर्ने
त्यसैले, आएको छु
शिरमा ढाकाटोपी
हातमा चन्द्रसूर्य झन्डा बोकी
हो, धरतीमाता !
आएको छु, तिम्रो सन्तान
बनेर एक चिकित्सक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *