Skip to content

५० लाखको सुकुम्बासी


धिपधिपे बत्तीको उज्यालोमा दुई जोर आँखा मौन वार्तामा बसेका छन् । पैसंट्ठी हिँउदका सिरेटो झेलेका आँखाहरू धुमिल देखिन्छन्, क्षयरोगले गाँजेजस्ता । आँखामा पानी रसाएको छ । कतै भित्र पातालमा हराउन खोजेका आँखा, कुनै पनि बेला निभ्न सक्ने । ठिक सामुन्ने विवशताका पहाडहरू छिचोल्दै जीवन धान्दै गरेको जनाना ज्यान छ । उसका आँखा रसहीन छन्,ठूलो भेल बगेर एकाएक सुख्खा लागेको खहरे खोलाजस्तै । त्यहाँ जीवनको कुनै उत्साह शेष देखिन्न ।

सानो झुप्रो, बाहिर सिमसिमे पानी परेको छ । आधा रात भइसक्यो होला, निद्रा मानौं उनीहरूको मनोदशादेखि त्रसित छ होला, ढोकाभित्र पस्नै मान्दैन् ।

“तैंले भनेको किन मान्दिनस् । त्यसै पनि कति दिन हो र ?’ पुरुष स्वर निस्कियो ।

कुनै जवाफ सुनेन् झुप्रोको भित्ताले ।

“यै झुप्रो पनि कैले हो कैले, देखिहाल्यौं उपाध्येले थर्काको हिजो ।”

फेरि कुनै शब्द आएनन, बरु सुँक्क सुँक्कको आवाज सुनियो ।

“त्यस्तो हुन्छ नै भन्ने होइन, भई हाल्यो भने तैंले पीर नगरेस् भन्ने मात्रै हो ।” उसले फेरि भन्यो ।

यो त्यो दिनको घटना थियो, जुन दिन उसको भाग्यको फैसला गर्न राजधानी काठमाडौंमा दुईवटा समूहले विशेष निर्णय गरेका थिए । एउटाले उनीहरूको समृद्धिको दावी गर्दै कित्ताकाट गरेको घोषणा गरेको थियो भने अर्कोले ऊ जस्ताहरूको कित्ताकाट बिग्रेको भन्दै मृत्यवरण गर्न पुरस्कारको च्याँखे दाउ थापेको थियो ।

र, अहिले उनीहरू त्यही च्याँखे दाउको पासोभित्र आफ्नो भविष्यको सुन्दरता खोजिरहेका छन् ।

जीवनभरी दुखजिलो गरेर एउटा झुप्रोसम्म जोगाउन नसकेको अवस्थामा पुरस्कारको राशीका लागि प्रतियोगितामा भाग लिनु बुढो पुरुषका लागि बुद्धिमानी थियो । त्यसै पनि बहिखातामा नाम लेख्ने बेला भइसकेकोले पुरस्कार जितेरै किन छिटो नलेखाउने भन्ने उसको तर्क थियो ।

उसकी जहानका लागि भने गरिबीको त्रासदी, साहुहरूको थर्काई र दुखका छालहरूमा पनि उसको साथ प्रिय थियो । पुरस्कारका बिटोहरूले माया, स्नेह र दुखसुखको वर्षौंको साथ मात गर्न कदापि सक्दैन भन्ने उसको ठम्याई थियो । “जस्तोसुकै आइपरोस्, बेहारेका छौं, फेरि बेहोरौंला । भीखै मागेपनिसँगै मागौंला ।” जहानको उत्तर थियो ।

तर बुढोले धेरै कुरा सोंचेको थियो,पुरस्कारको सूचना स्थानीय रेडियोबाट सुनेपछि ।

चारवर्ष अघि उसकी जहान थला पर्दा लिएको ५ हजार ऋण भयावह राक्षसी मुद्रा बनाएर प्रतिदिन साहुको रुपमा आउँथ्यो उसको आँगनमा । राति त्यही राक्षस फेरि तर्साउन आउँथ्यो सपनामा । यौवनका चिन्हरू स्पष्टैसँग विकास भएकी एउटी छोरी छ । उसको यौवनलाई अक्षत राख्नु अर्को चिन्ता छ उसका लागि । एकातिर ऋण, अर्कोतर्फ छोरीको अस्मिता । दुवै एक अर्काका पूरक । कतै केही भइदियो भने ….। अन्माएर पठाउन पनि धनै चाहिने । उसले दुई तीन वर्ष अघि नै प्रयास नगरेको होइन तर दाइजो नभई कसले लग्छ र ? यस्तोमा ऋण नतिरेको झोंकमा….। अहँ, कल्पना गर्दा पनि उसको आङ जिरिङ्ग हुन्छ ।

बुढेसकालको सहारा छोरा जीतराम दुई वर्ष अघिदेखि नै दिनपुरियाका जमिन्दार प्रताप पाध्येकोमा घरमा छ । उसको जीवन पनि फरक छैन । आफ्नै आङ ढाक्न समस्या परेको बेला चाहेर पनि बुवालाई सहयोग गर्न सक्ने उसको ल्याकत छैन्।

“अलिकति पैसा हुन्थ्यो भने, साहुको मुखमा बुजो लगाएर थात छोडी कुनै खोलाबगर झुप्रो हालेर बस्न हुन्थ्यो,गिट्टी बालुवा गरेर बसिन्थ्यो बुढाु हाडले साथ दिँदासम्म । छोरा बुहारी नि त्यतै बोलाएर सुकुम्बासी भएर बस्दा याँ जस्तो दुख त नहुन्थ्यो” उसले आफ्नी जहानलाई सुनाउँथ्यो आफ्नो सपना ।

तर यो ‘अलिकति पैसा’ नै उनीहरूको गलपासो बनेको थियो । यही चक्करमा बिहानै उठेर मालिककोमा जानु, उसका गाइभैंसीसँगै दिन काट्नु, साँझ मालिकको दयामायामा एक छाक जोर्नु र फेरि अर्कोदिन उही नियति । उसँग अर्को कुनै विकल्प थिएन ।

उनीहरूको यो दरिद्रताबीच देशमा तीनवटा प्रमुख राजनीतिक परिवर्तन भए । एउटा, देशमा पाध्येहरू ‘पञ्च’ भनिन छोडिएका थिए । उनीहरूको बढुवा ‘अध्यक्ष’मा भएको थियो । अर्को पाध्येहरूका खेतहरू कब्जा गरिएर राता झण्डा गाडिए । उनीहरूलाई झण्डा गाडिएको जमिनको भोगचलनको आश देखाएर एकदुई छाक खाना मागिएको थियो । पछि ती कब्जा गरिएका खेतमा नयाँ पाध्येहरू आएर बसे। शहर भागेका पुराना पाध्येहरू पनि बेलाबखत आउँथे नयाँ पाध्येहरूकोमा । तेश्रो, उनीहरूको मुक्ति र समृद्धिका लागि भनेर लिखत लेखिँदैथियो । यसमा उनीहरूले सन्तोषपूर्वक श्वास लिन पाउने कुराको ग्यारेण्टी हुन्छ भनेर भोट मागिएको थियो । दुवै बुढाबुढीले ‘सुन्दर भविष्यको लागि’ नयाँ पाध्येहरूलाई दुईवटा भोट दिए । पुराना पाध्ये पनि भविष्य निर्माण गर्ने सभामा विराजमान भएको उनीहरूले सुनेका थिए ।

यी तीन महत्वपूर्ण परिवर्तनको बीचमा उनीहरूका लागि हिउँद उस्तै सिरेटो लिएर आयो । बर्खाले उसैगरी डुबायो । भोकले त्यसैगरी सतायो र रोगले पहिलेझैm थला पार्यो । ऋणको तमसुखमा पहिलाजस्तै ल्याप्चे लगाए र पाध्येहरूको हप्कीदप्की पनि उस्तै गरी खाए ।

यी तीनवटा परिवर्तनको चक्रमा जडवत चलिरहेको जीवनमा आज भने उसले आशाको एउटा नयाँ जुनकिरी देख्यो । त्यो थियो, पाध्ये खलककै केही पाध्येहरूले गरेको एउटा प्रतियोगिताको घोषणा । पाध्येहरूले प्रतियोगितामा भाग लिएर सद्गति प्राप्त गर्नेका परिवारलाई ५० लाखको पुरस्कार दिने घोषणा गरेका थिए ।

“पचास लाख ?” यो रकम उसले विपनामा त के सपनाम समेत कहिल्यै कल्पना गरेको थिएन । त्यसै पनि मर्नैपर्ने, किन पुरस्कार टिपेर नमर्ने ? कम से कम आफ्नो जस्तो पीडा सन्ततिले त बेहोर्न नपर्ला, छोरीको अस्मिता लुट्निबाट जोगिएला । छोराबुहारीले कतै सानोतिनो घर बनाउन सक्लान, रोगी बुढीले नाति नातिनासँग खेल्न पाउली…. उसले यस्तै यस्तै सोंच्यो ।

यही कुरा उसले आफ्नी जहानसँगभन्दा भने भदौको रात झनै चूक पोखिएजस्तो भएको छ। प्रकृतिको अँध्यारामो उनीहरूको मनभित्र पोखिएको चूक मिसिएको छ । बुढीको अवस्था वर्णनै गर्न नसकिने दयनीय छ । उसको मुखबाट एक शब्द पनि निस्किरहेको छैन । बुढीको मनोदशा बुझेको बुढोले सम्झाउने कोशिस गर्दैछ ।

लौ अहिले सुत, भोलि बिहान कुरा गरम्ला, बुढीको प्रत्युतर नसुनेपनि उसले भन्यो । झुप्रोको कुनामा बिछ्याइएको ओछ्यानमा कोल्टे पल्टियो बुढो ।

बुढी त्यसै टोल्हाएर बसिरही ।

एकछिनपछि उसले बुढीलाई तानेर ओछ्यानमा सुतायो । बुढीका आँखा समुद्र भइसकेका थिए ।

‘यसरी रुने ?’ न रो उसले बुढीको टाउको काखमा लिँदै भन्यो । अहिले भने उसको पनि गला अवरुद्ध थियो ।

बुढीको धैर्यले ठाउँ छोड्यो । ऊ हिक्का नै छोड्न थाली ।

सम्हाल्न सकेन, बुढो ज्यानले, उसको पनि आँखाबाट बलिन्द्र धारा बग्न थाले ।

बाहिर सिमसिमे पानी परिरहेकै,समतुल्य ओछ्यानमा पनि पानी बग्दैछ । बुढोले बलियोसँग कस्यो जहानलाई । मानौं कि ऊ भयभित भएको छ । दुवैको रुवाईले झुप्रो पनि रुन थाल्यो शायद ।

उनीहरू कतिबेलासम्म रोए, दुवैलाई हेक्का थिएन । यही रुवाईमा कतिखेर आँखा झिमिक्क भए, त्यो पनि दुवैले थाहा पाएनन् । निद्रा त के लाग्यो र उनीहरूलाई, आँखा थाके ।

ढोकामा ढकढकको आवाजले दुवैको तन्द्रा खुल्यो ।

बुढीले आँखा खोली, बुढो आँखा मिच्दै थियो । दुवैले एकअर्काको मुहारमा हेरे । त्यहाँ एउटा प्रश्न थियो । प्रश्न रातीको प्रसंङ्गको थियो या ढकढकको, त्यो उनीहरूले नै बुझुन् ।

बुढीले गएर ढोका खोली । एउटा अधवैंशे मानिस ढोकामा थियो । सेतो मैलो कमिज र धोती लगाएको । पातलो जुङ्गा पालेको । दायाँ हातमा एक मुठा नीलो पहेलो कपडा थियो उसको ।

बुढीले प्रश्नसूचक आँखाले हेरी ऊ तर्फ ।

बुधन दाइ खोई ? उसले सोझो प्रश्न गर्यो ।

भित्र हुनुहुन्छ । कौतहुलतापूर्वक बुढीले जवाफ फर्काई ।

“९ बजेतिर बुधई चोकमा जमा हुन भन्दिनु ।” मानौं यो उर्दी थियो । आगुन्तक फनक्क फर्कियो ।

के, किन ? आदि इत्यादि प्रश्नहरू बुढीको मष्तिष्कमा सल्बलाए, तर उसले प्रश्न सोध्नु अगावै अधवैंशे मानिस ओझेल परिसकेको थियो ।

‘बुधई चोक, ९ बजे’ बुढी फत्फताई ।

अकस्मात बुढी लल्याकलुलुक भई । उसको मुटुमा काँडाले च्वास्स घोच्यो । चिटचिट पसिना आयो । शरीरका हरेक भागमा सियोले झैं घोच्न थाले । गोडा लगलग काँपे । बुढी फर्किई । बुढो आइरहेको थिई । बुढोलाई अङ्गालो हाल्दै ऊ रुन थाली । यो रुवाईमा उसको अस्तित्व बगिरहेको थियो ।

बुढोले अघिको उर्दी सुनिसकेको थियो । यसपाली भने ऊ केही बोलेन । उसले बुढीको पिठ्यूँ मात्रै थप्थपायो ।

समय उनीहरूका लागि त्रास बोकेर आएको थियो । एक एक पल बुढी र बुढाका लागि रगतको स्पन्दन क्रमशः बढाउँदै लैजाने गरी बित्दै थियो ।

बुढी कति रोई, कति रोई, उसले चेत नै पाइन । लल्याकलुलुक भएर ढली । बुढाले जसोतसो सम्हालेर ओछ्यानमा पल्टायो । मुहारमा पानीका छिंटा परेको एकछिन पछि बल्ल उसको होस खुल्यो ।

“त्यसै किन रुन्छेस्, बुधई चोकसम्म मात्रै हो जाने, म एकछिन मुख देखाएर फर्किन्छु । सबैभन्दा अगाडि जान्नँ, अब त रुन छोड ।” उसले बुढीको कपाल मुसार्दै भन्यो ।

बुढाको यी शब्दले भने रामवाणकै काम गरे ।

बुढी केही नबोली बाहिर निस्की । झुप्राको दायाँतर्फ बंगुर पाल्ने जस्तो सानो खोर थियो । उनीहरूको ‘भात’ भान्सा गर्ने थलो ।

नौ बज्न थाल्यो । बुढाबुढीले केही नबोली भात खाए । हरेक गाँस मानौं ढुंगा भइरहेको थियो ।

“ल, म छिट्टै फर्किन्छु, चिन्ता नलिएर बस्नु । केही पनि हुँदैन ।” दैलोमा उभिएकी श्रीमतीतर्फ हेर्र्दै बुधनले भन्यो ।

बुढी केही बोलिन । गम्छा काँधमा राखेर बुढो चोकतिर लम्कियो ।

“अगाडि नजानु है, एकछिन यस्सो उभिएर फर्किनु मेरो मुहार सम्झेर ।” बुढीले ऊ घरको चौघेरा नाप्दा यत्ति भन्न भ्याई ।

बुढाले पुलुक्क फर्केर हेर्यो । उसका ओंठ अलिकति च्यातिए । यो मुस्कान थियो प्रेमको । आश्वस्त पार्ने दृश्य ।

…………

बुधई चोक, कुनै बेला बुधनहरूको गाँसबासको सपना देख्दा छाती रंगिएको एकजना अभागी व्यक्ति उभिएको छ चोकमा । उसको शरीर ढुंगाको भइसकेको छ । त्यहाँ प्राण छैन । त्यहाँ बोली छैन् । यदि ८ वर्ष अगाडि ऊ यहाँ हुन्थ्यो भने उसको बोलीले टाउकोमा कफन बाँध्न नचाहने को हुन्थ्यो होला र ? तर यदि आज ऊ साँिच्चकै यहाँ फर्किन्थ्यो भने उसले के भन्थ्यो होला ? उसकै नाम जपेर राजधानीका मदिरालयमा मस्त हुनेहरूप्रतिको वितृष्णा पोख्थ्यो या उमाथि चढेर जीवनको विलासितामा रम्नेहरू विरुद्ध उसले फेरि छाती थाप्थ्यो । तर ८ वर्षदेखिको साक्षी उसले पुरस्कारको च्याँखेमा नफस्न भने पक्कै पनि भन्थ्यो होला नै ।

र, यही चोकमा मानिसहरू भेला भएका छन् । काला, च्यातिएका धुलाम्मे पाइतालाहरूलाई हवाईचप्पलले जसोतसो ढाक्दै उभिएका चिम्सा आँखाहरू बढ्दै थिए । गन्जी, धोती र गम्छा भिरेका बुधनहरू थपिँदै छन् भीडमा ।

करिब ४, ५ सय जना जम्मा भए होलान् चोकमा । बिस्तारै घाम चर्किँदै छ । बुधन अहिलेसम्म मिसिएको छैन भीडमा । उसको आँखा अगाडि बुधनी नाचिरहेकी छे । बुधनीका बिहानका निश्चेष्ट आँखाहरू । “अहँ, म जान्नँ” उसको मनले अठोट गर्यो ।

“ओई बुधने, के ह्याँबाट ट्वाल्ल हेरिरा” यो आवाजले उसको तन्द्रा भंग भयो । सामुन्ने उही मानिस थियो, जो उसलाई बोलाउन एका विहानै घरमा पुगेको थियो ।

यो मानिस मानौं सडकमा काम गर्ने कामदारको ‘मेट’ थियो, जसको काम कामदारले काम गरे नगरेको रेखदेख गर्नुहुन्छ ।

“बुधने केही नबोली भीडतर्फ लाग्यो । तर ऊ भीडको अगाडि गएन ।’

एकैछिनमा चोकमा उभिएको मानिसको मुनिरहेको पेटीमा तीन चारजना मानिस उभिए । सेतो माईक अगाडि सोझियो ।

“आदरणीय भाइ बहिनी, आमा बुवाहरू, काठमान्डुमा कित्ताकाट भएको तपाईहरूले थाहा पाउनु भयो होला । यो कित्ताकाट हामीलाई बेघर गर्दिएको छ । हाम्रो थातथलोबाट हामीलाई धपाउन खोजेको छ । कित्ता नै नभए हाम्रो घर नै कहाँ रहन्छ । ….त्यसैले हामीले आफ्नो छोराछोरीका लागि, भावी सन्ततिका लागि नलडि हुन्न ।…।” बुधनेको कानमा यी शब्दहरू ठोक्किए ।

एकछिन होहल्ला भयो । यसैबीच नयाँ स्वर सुनियो ।

“हामीले कित्ताकाटमा हाम्रो पनि भाग खोज्यौं । तर उनीहरूले दिएनन् । ती साला….हरूले हामीलाई मान्छे ठानेनन् ।” यो आवाज भने बुधनेका लागि परिचित जस्तै थियो । होचो कदको उसले को बोलिरहेको छ भन्ने देख्न सकेन । बोलीकै प्रभावमा ऊ भीडबाट बिस्तारै अघि बढ्न खोज्यो ।

भीडको अगाडि जान्नँ भन्ने बुधने सबैभन्दा अगाडि पुगेको पत्तै पाएन ।

“आम्मै, पुरानो पाध्ये” उसको मुखबाट निस्कियो ।

पुरानो र नयाँ पाध्येहरू चोकको त्यो जड मानिसको मुनि थिए । पुरानो पाध्येले माइकमा बोलिरहेको थियो । उसका शब्द चर्का हुँदै थिए, उसको स्वर उत्तेजनामा काँपिरहेको थियो ।

“हाम्रो कित्ता नदिने ? हामीलाई उठिवास गर्न खोज्ने ? यस्तै भए हाम्रा सन्तति कहाँ जान्छन्, कहाँ पढ्छन्, के खान्छन् ? के लाउँछन्….?” उसका शब्दहरू सूइराजस्तै बुधनेहरूको कानमा परिरहेका थिए । बुधनेहरूले जीवनपर्यन्त खान लाउन किन पाएनन् र यसमा पाध्येहरूको हात कति छ भन्ने कुरा चोकको जड मानवलाई राम्रैसँग थाहा छ तर ऊ बोल्न सक्दैन । ऊ, अब सम्मानित व्यक्ति भइसकेको छ सबैले नाम जप्ने ।

“अब एकएकलाई नकाटी हुन्न, तिनीहरूका घर नउडाई हुन्न । सबैले हातमा हँसिया, कोदालो, बन्चरो, बन्दूक नबोकी हुन्न ।” यो स्वर नयाँ पाध्येको थियो । कुनै बेला यस्तै स्वर सुन्थ्यो बुधनेले यो पाध्येको मुखबाट, रातो झण्डा गाड्ने बेला । तर झण्डाको जमिनमा घर बनाएपछि यै पाध्येको ५ हजार तिर्न नसकि हिजो राति उसले केसम्म निर्णय गरेन..” बुधनेका लागि जीवनको वास्तविकता र पाध्येहरूका शब्दमा कता कता सामञ्जस्ता थिएन । तर माइकको चर्को आवाजले उसको सोचाइको क्रमबद्धता भङ्ग गर्दै थियो ।

“तपाईहरू यहाँ आफ्नो कित्ता माग्न आउनुभएको, कित्ता भनेको इज्जत हो । इज्जतका लागि ज्यान पनि ठूलो हुँदैन । तपाईहरूको ज्यान हाम्रो जिम्मा भो, तपाईहरूको परिवार हाम्रो जिम्मा भो । हिजो मात्रै हामीले ५० लाख….” माईकमा पाध्ये कुर्लिरहेको थियो ।

अचानक कतै पुलिसको साइरन सुनियो ।

भीडमा कोलाहल मच्चियो । भीड आवाज आएतिर फर्कियो ।

यता माइकमा पनि चिच्याहट जारी थियो । साथीहरू अब हामी भाग्ने हैन, डट्ने हो, यी कु… पुलिसहरू पनि तिनै कित्ताकाटवालाका नोकर हुन…।

बुधनेले केही चाल पाएन, उसले छिटो छिटो भीडबाट बाहिर जान खोज्यो ।

यसैबीच कसैले पुलिसको गाडीतर्फ ढुंगा फाल्यो ।

मौरीको गोलो नै निस्कियो मानौं । हातमा लामो बार बोकेका एक हुल प्रहरी बुधनेहरूलाई कुट्न अघि सरे । मानौं उनीहरू कुट्नै भनेर पूर्व नियोजित आएका हुन ।

उता माईकमा चिच्याहट जारी थियो– तिम्रो कित्ताकाट मूर्दावाद, हाम्रो कित्ता हाम्लाई दे ।

तर मौरीको गोलोले लाठी बर्साउन थालिसकेको थियो । यताबाट ढुंगाको वर्षा ।

यसैबीच गोलीको आवाज सुनियो । यो आवाजसँगै माइकको आवाज पनि रोकियो । भीडमा भागाभाग भयो ।

बुधने पनि भाग्न थाल्यो, कहाँ गइरहेको छु र कहाँ जाने हो भन्ने उसलाई हेक्का थिएन ।

उसको भाग्यले धोका दियो मानौं, उसको हिजोमात्रै कपडा बाँधेर जेनतेन बनाएको चप्पलको फिता टु्टयो ।

दौंडिदै गरेको बुधने रोकियो र पछाडि फर्कियो चप्पल टिप्न ।

तर ढिला भइसकेको थियो ।

चप्पल टिप्न के झुकेको थियो । अचानक उसलाई उसको छातीमा केही कुराले खोजेजस्तो लाग्यो । ऊ पछारियो । हात छातीमा पुर्याउँदा केही तात्तातो उसको हातमा लाग्यो । उसका आँखा विष्फारित भए । योभन्दा बढी उसले केही अनुभूति गर्न पाएन । ऊ पछारियो भूईंमा । उसले आफ्नी बुधनीलाई पनि सम्झिनँ पाएन ।

बुधनेको शरीर धुलोमा पल्टियो । रगतको आहाल नै भनौं । उसको एक हातमा अँझै पनि टुटेको चप्पल थियो । ऊ चोकको बीचोबीच ठडिएको जड मानवको कित्तामा पुगिसकेको थियो । जड मानवको आँखाबाट कसैले नदेख्ने गरी केही थोपा आँसु खसे ।

यसपछिको घटना बुधनेले देख्न पाएन । न त बुधनेकी जहानले नै ।

साँझपख उही बिहान आएको मान्छेले बुधने चोकको जड मानिसको पंक्तिमा सम्मानित भएको समाचार सुनायो । दुईचार हात्तीछाप नोटहरू समेत दिँदै बुधने ठूलो मानिस भएको, कित्ताकाटको आन्दोलनमा महान भएको र यो आन्दोलन सफल भएपछि उनीहरूको परिवारले ५० लाख पाउने र सुखका दिनहरू आउने लामो वृतान्त सुनायो । तर जहानका लागि उसको प्रिय बुधने बिहान फर्केर मुस्कुराएको दृश्य मात्रै आँखा अगाडि थियो । सुकेका आँखाहरूमा निस्केको त्यही सान्त्वनाको चमक, त्यही अनुहार, हो मात्र त्यही । त्यही मुस्कानयुक्त अनुहार सम्झिँदा सम्झिँदै ऊ पनि बुधने भएको ठाउँमा पुगिसकेकी थिई । उसको स्थान महान व्यक्तिकी महान श्रीमतीकारुपमा खातामा लेखिएको थियो ।

पाध्येहरूलाई प्रहरीले पक्रेछन् । तर भोलिपल्टै पाध्येहरू गाउँमा देखा परिसकेका थिए । पाध्येहरूका लागि मानौं यो एउटा व्यवसाय हो, उनीहरू आज सामान किन्न जान्छन् र भोलिपल्ट फर्किन्छन् ।
बुधनेको छोराले बा आमाको बारेमा थाहा पाएपछि गाउँ आयो र पाध्येको आदेशानुसार उसलाई भेट्यो ।

‘रामचरण, हामीलाई सार्है दुख लागेको छ । तर वहाँले यो कित्ताका लागि महान बलिदानी गर्नुभयो । यस्ता बलिदान गर्ने मान्छे कमै हुन्छन् । तिमी केही चिन्ता नगर ।’ पाध्येको सान्त्वना उसले पायो ।

‘मालिक…” रामचरण रुन थाल्यो ।

“मनलाई दरो बनाउ रामचरण, दुईचार जनाको सहादत नभई तिम्रा हाम्रा छोराछोरीले बाँच्न पाउने दिन आउँदैन ।” पाध्येले भन्यो । “हामी कित्ता लिई छोड्छौं, त्यसपछि तिम्रा नि दिन आउँछन्, तिम्ले नि ५० लाख पाउँछौं । तिम्रा छोराछोरीले नि मीठो खान पाउँछन् ।” पाध्येका गुलिया शब्दले निर्मिमेष बनेको रामचरण त्यहाँबाट फर्कियो ।

सम्भवतः पाध्येको घरमा रामचरणलाई सन्ततिहरूको सुखको कुरा गरिरहँदा पाध्येको जेठो छोरो भने ठमेलमा रहेको गार्डेन अफ ड्रिम्समा कफीको चुस्की लिँदै थियो होला । तर यो कुरा रामचरणले सोच्ने ‘औकात’ राख्दैनथ्यो ।

रामचरण त्यहाँबाट फर्कियो । घरको गेटमा बुधनेलाई बोलाउने “मेट” थियो ।

“भोलि तिमीहरूको गाउँमा कार्यक्रम छ, यसो मान्छे बोलाउँदै गर्नु, बाटो खर्च हाम्ले व्यवस्था गर्छौं ।” रामचरणको मनोदशामा उसले उर्दीको स्वरमा भन्यो ।

रामचरण केही बोलेन ।

…….

कित्ताधारीहरूको यो युद्धमा दर्जनौं रामचरणहरू चोकमा सजिनलायक “महान जड मानव” बने । कैयौं रामचरणहरूले गुलिया सपना पाएर घर फर्किए ।

……

टुहुरा रामचरणहरू बढ्दै जाने क्रममा एउटा अर्को महत्वपूर्ण परिवर्तनको समाचार सार्वजनिक भयो । राजधानीमा एउटा तमसुखमा हस्ताक्षर भएछ । तमसुखमा बुधने, आइते, रामचरण, धुलिया, रामदास, जैती, अन्ते, सुखिया, कल्सी आदि इत्यादि राजनीतिक कारखानाका कच्चा पदार्थहरूको ‘सुखद भविष्य र समृद्धि’का लागि, उनीहरूको सन्ततिको ‘उन्नत भविष्य’का लागि पाध्येहरूको समूह र ‘दुश्मन’ कित्ता मालिकाहरूले एउटा निर्णय गरेछन् । निर्णय अनुसार, कच्चा पदार्थहरूको प्रतिनीधित्व गर्दै पाध्येहरूले कित्ता निर्माणको व्यवस्थापन गर्ने बाघेदरबारमा हिस्सा पाउने भए । पाध्येको समूहका २ जनाले झण्डावाल गाडी पाउने शर्तमा पुरस्कार प्रकरणको अन्त्य गर्ने घोषणा गर्ने कुरामा सहमति जनाए । यो पाध्येहरूको नजरमा ‘दर्जनौं बुधनेहरूको शहादतको पुरस्कार’ थियो ।

उता, बाआमाको मृत्यु र आफ्नै जीवनका चौतर्फी कष्टहरूको पीडामा पिल्सिएको रामचरणको मनस्थिति सन्तुलनमा आउन सकिरहेको छैन । उसलाई राति डरलाग्दा सपनाहरूले झस्काउँछन् । कतिखेर झर्किन्छ, कतिखेर टोल्हाएर बस्छ । यता सम्झौतामा हस्ताक्षर भएको साँझपख कामबाट फर्किँदै गर्दा चोकमा एउटा नयाँ सेतो ढुंगा ठड्याएको देख्यो रामचरणले । नजिक गएर हेर्यो । एउटा शीलामा केही अक्षरहरू कुँदिएका थिए । सामान्य अक्षर चिन्ने रामचरणले पढ्ने कोशिस गर्यो– कित्ता आन्दोलनमा आहुती दिने महान….. ठूलो अक्षरमा लेखिएको थियो ।

एक, दुई गर्दै १३ जनाको नाम थियो त्यसमा । रामचरणले झनै उत्सुक हुँदै नाम हेर्न थाल्यो । पाँचौं नम्बरमा आँखा पर्ने बित्तिकै उसको मनमा औडाहा भयो, छटपटी भयो । बुधन दास, वर्ष ५७ । हेर्दा हेर्दै उसको मुख सुक्यो । एकछिन त्यहीँ थचक्क बस्यो रामचरण ।

मा… के पाए बुवाले पाध्येहरूको पछि लागेर ? यो ढुंगामा नाम लेखाउन ज्यानै दिनुपर्ने… ? च्यापच्याप हुँदै उसको घाँटी सुक्यो । एकछिनपछि लामो श्वास फेर्दै ऊ पसलमा मलुवा सूर्ति किन्न पस्यो। तर यहाँ उसको मनस्थिति खल्बलाउने अर्को कुरा तयार भएर बसेको थियो ।

पसलेको ध्यान टेलिभिजनमा थियो । एनिमल फार्मका चरित्रहरूलाई प्रहसन गर्दै आएको एउटा कार्यक्रममा पाध्ये सेतो इष्टकोट र सेतो सुरुवाल कमिज लगाएर विजित मुद्रामा खोक्दै थियो । रामचरणका आँखा पनि त्यहीँ टिके । स्वाभाविकै थियो, आफ्नो दैनन्दिन जीवनमा अल्झिँदा पनि वरिपरिका यावत घटनाहरूबाट उसको ध्यान हटेको थिएन । झन मानसिक पीडामा उसका अगाडि यै पाध्ये घुम्थ्यो झलझली र उसका शब्दहरू । घरी पाध्ये, घरी त्यो शीलामा लेखिएको बुवाको नाम, घरी बुवाको पातलो शरीर, घरी बुवाले बाल्यकालमा उसँग खेल्दाका क्षणहरू । झण्डै चिच्याएन रामचरण ।

– तपाईहरूले पुरस्कार दिन्छु भन्नेहरूलाई के जवाफ दिनुहुन्छ– पाध्येलाई प्रश्न सोधियो ।

– हिजो तिनै कित्ताकाटवालाहरू दुश्मन थिए, आज झण्डावाल गाडी पाउनेबित्तिकै उनीहरू कसरी दूधले धुलिए ?– दर्शकदीर्घामा बसेका अर्कोले प्रश्न गर्यो ।

– तपाईका पछि लाग्नेहरूलाई के दिनुहुन्छ ? अर्को प्रश्न रामचरणलाई लाग्यो, मानौं यी सबै प्रश्नहरू उसको आफ्नै अन्तःस्करणबाट निस्किरहेका छन् । मानौं कसैले उसको आफ्नै वेदना त्यहाँ पोखिरहेछ । पाध्येको मुहार प्रश्नपिच्छै निभ्दा रामचरणको आँखामा चमक देखा पर्थ्यो ।

“ल, वहाँहरूको प्रश्नको तपाईंसँग कुनै जवाफ छ” यसपल्ट प्रस्तोताले प्रश्न गर्यो ।

रामचरणलाई लाग्यो, बल्छीमा माछो फस्यो, अब कसरी उम्किन्छ ।

तर यो के, पाध्येले बोली अलि स्पष्ट पार्दै जवाफ पो दिन थाल्यो, “म यहाँ हुनु नै यो सर्वहितका लागि आहुती दिनेहरूको बलिदानका कारण हो । म सबैलाई नमन गर्न चाहन्छु । साँच्चिकै उसका आँखा बन्द भए । म भनेकै वहाँहरू हो, म वहाँहरूकै प्रतिनीधि हो । हाम्रो लडाइँ अँझै सकिएको छैन् । हामी निरन्तर संघर्षमा छौं ।”

“तपाईंहरूको लडाइँ त सकिएला न सकिएला, तर जसको जीवन तपाईहरूका लागि गयो, तपाईहरूको पुरस्कारको च्याँखेमा गयो, त्यसको के नि ?” दर्शकदीर्घाबाट अर्को कडा स्वर सुनियो ।

तपाईहरू पैसामा मान्छेको समृद्धि र भावना तौल्नुहुन्छ ? के पैसाका लागि बलिदान गरेका थिए र उनीहरूले ? यो सोचाइ नै कित्तावादी सोचाइ हो । एकदुईजनालाई पैसा दिएर हुन्छ ?

‘हामीले आमूल परिवर्तन खोजेका हौं । अहिले दुईजनाले झण्डा पाएका छौं, हाम्रो कित्तामा हाम्रो झण्डा गाड्ने बेला सबैका लागि योजना छ हामीसँग ।” पाध्येले जवाफ दियो ।

कार्यक्रमको समय सकिइसकेको थियो । प्रश्नकर्ताप्रति क्रोधपूर्ण नयनले दृष्टिपात गर्दै पाध्ये बिदा भयो ।

रामचरणले सूर्ति माग्ने साहस गरेन् । उसको मन आक्रोशले उम्लिँदै थियो । “मा..द पाध्ये, मार्नु मारिस्, आज झण्डा पाइस, सबै बिर्सिस्….।” रामचरणलाई भाउन्न भएर आयो । रिसले मुर्मुरिएको रामचरण कतिखेर आफ्नो छाप्रोमा पुग्यो थाहा नै भएन । उसको मनले एउटा दृढ निश्चय गरेजस्तो लाग्थ्यो ।

– एई सुतिया, कहाँ छेस्, रामचरणले चर्को स्वरमा बोल्यो ।

– के भो ? किन यति जोडले बोल्दै तपाईं, पहेँलो सारीको घुम्टो टाउको हालेकी महिलाले ढोकामा आएर भनी ।

– ल, शिवेलाई समात्, त्यो बाक्सामा के के छन्, कपडा सपडा हाल र हिँड ।

रामचरणको यो व्यवहार सुतियाका लागि नौलो थिएन, यसैगरी मन बिग्रिएको बेला जथाभावी बोल्दै आइरहेको थियो ऊ ।

– कहाँ जाने यति बेला ? हाम्रो जे हो यैई हो, कहाँ छ र जाने ठाउँ ?

– तँलाई भनेको लाग्दैन ? जे जे राख्नुपर्ने त्यो बाक्सामा राखेर हिँड । भित्र पस्दै भन्यो रामचरणले ।

सुतिया अक्क न मक्क परी ।

रामचरणले सुतिरहेको शिवेलाई समात्यो र सुतियालाई भन्यो । “ल, हिँड छिटो गर ।”

अब भने सुतियालाई लाग्यो, पक्कै केही कुरा छ, रामचरणको मुद्राले उसले प्रतिप्रश्न गर्न सकिनँ । कुनामा राखेको पुरानो बाकसमा सामान थुपार्न थाली ।

सामान राखिसकेपछि उसले डराउँदै भनि, तर यतिबेला कहाँ जाने ? किन जाने ? के भो तपाईलाई, फेरि बिरामी…?

उसको वाक्य पुरा हुन पाएन । रामचरणले सामान्य स्वरमा भन्यो– याँ बसेर के गर्ने ? बा आमा मरे, अब म मरुँला, यो शिवे मर्ला, तँ मर्छेस् । यी पाध्येहरूको पासोमा बसी साध्य छैन । हिँड ।

“तर कहाँ…?”

“जाउँ कतै, यहाँबाट टाढा । आज राति तेरो माइती बसौं । भोलि बिहानै कुनै खोला किनारमा प्लाष्टिकको ओत बनाउँला । कतै गिट्टी बालुवा कुट्ने काम त पाइएला यो जिन्दगीभन्दा । शिवेलाई सुतियाको काखमा राखेर रामचरणले बाक्सा समात्यो र हिँड्यो अघिअघि ।”

…..

र, उनीहरू रातको अँध्यारोसँगै निस्किए आफ्नो छाप्रोबाट । सुतियाले एकचोटी पछाडि फर्केर हेरी । आफ्नो थातथलो । आफ्नो कित्ता । पाध्येको कित्ताको राजनीतिमा बन्धकी बनेको आफ्नो कित्ता । पाध्येहरूको कित्ता पुरस्कारमा डुबेको कित्ता । अगाडि अगाडि रामचरण, पछाडि दुई वर्षे शिवे बोक्दै सुतियाले थात छोडे सुकुम्बासी बन्न । पाध्येहरूको समृद्ध भविष्यको योजना र पुरस्कारबाट टाढा, खोलामा गिट्टी बालुवा कुट्न ।

हिँड्दै जाँदा ५० लाखको सुकुम्बासी बनेर घर छोडेको रामचरण त्यही चोकमा पुग्यो । जहाँ, उही जड मानव उही मुद्रामा उभिएको थियो ।

“महान जड मानव”का आँखाले रामचरणका आँखाको क्षोभ, आक्रोश स्पष्ट देखिरहेको थियो । उसलाई लागिरहेको थियो, मैले पनि त्यतिखेर पाध्येहरूको पछि नलागि रामचरणकै विकल्प खोजेको भए…। तर रामचरण.. पाध्येहरू त त्यहाँ पनि त होलान् …” सक्छस् भने पाध्येहरूलाई नै…..” तर उसले भन्न सक्ने अवस्था थिएन, किनभने उसले मात्र हेर्ने हो पाध्येहरूको उन्नती र बुधन रामचरणहरूको नियति…।

रामचरण शीला राखेको ठाउँमा गयो । बाकस भूईंमा राख्यो अनि बुवाको नाममा औंलाले मुसार्यो । त्यही औंलामा आशीर्वादको मुद्रामा टाउको लग्यो । उसका आँखाहरू रसाएका थिए । श्वास घाँटीसम्म आएको थियो । त्यसपछि भूईको धुलो टिपेर त्यही नाममा लगायो उसले र त्यही धुलो औंलाले टिपेर नजिकै उभिएका सुतिया र शिवेको निधारमा लगायो ।

सुतिया अचम्भित थिई, के गर्न खोजेको हो रामचरणले ? उसलाई डर लाग्यो ।

ल हिँड्यौ है बुवा हामी… अवरुद्ध कण्ठले अन्तिम शब्द बोलेर त्यो चोकलाई बिदा गरे उनीहरूले ।

…….

यसपछि देशमा पुनः शान्ति छायो । पाध्येहरू र कित्ताधारीहरूबीचको तमसुखले शान्ति ल्यायो । दुवै पक्षको परिवारमा भोज भए, भतेर भए । उनीहरूका सन्ततिहरूले हिजोजस्तै गाडेन अफ ड्रिम्समा लण्डन अमेरिकाका सपना बुन्दै गए ।

देशको शान्तिमा रामचरणहरूको जीवनमा पनि मुर्दा शान्ति छायो । शिवे अब ठूलो भइसकेको थियो । बाआमासँग बस्दा उसले पनि ठूलो ढुंगा थोरै बलमा घनले फोड्ने जुक्ति सोचिसकेको थियो । सुतिया दोजिया भएकी थिई । यहाँ कष्ट थियो तर पुरस्कारको च्याँखे थिएन । दिनभरि जमा गरेको गिट्टी बालुवावापत उनीहरूले साँझ ७०, ८० रुपैयाँ नगद पाउँथे ठेकेदारबाट.. । वर्षामा पानीसँगै सुत्थे, हिउँदमा शित ओढ्थे ।

देश अब एशियाली मापदण्डमा पुर्याउने योजना बन्दै थियो । यसैबीच भदौको पहिलो साता हुनुपर्छ, सम्भवतः बुधनेले महानता पाएको दिन नै होला, आधीरातमा रामचरणको चिच्याहटले खोलाको सुसाहटलाई रोक्न खोज्यो, “ एक घन, दुई घन, तीन घन्… फोडे, फोडे..लौ खा… एक, दुई .. फोडे.. पाध्येको टाउको फोडे…पाध्येको टाउको फोडे…”

सुतिया र शिवे डराएर उठे । सम्भवतः रामचरणले ढुंगा फोडिरहेको सपना देखेको थियो । ढुंगाको ठाउँमा उसको स्मरणमा पाध्ये आएको हुनुपर्छ । पाध्ये किन उसको सपनामा त्यसरी आयो, त्यो रामचरणले नै बुझेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *