Skip to content

आन्दोलन-२ (लघुकथा)


आन्दोलनकारीका हातमा ढुङ्गा र बाँसका भाटा थिए । कालाम्मे सडकमा छिर्केमिर्के गाडीको ताँती गनी नसक्नु थिए ।

एस्कटिङमा गाडी गुड्न थालेपछि ढुङ्गामुढा बर्सन थाले । शिशा चर्कन र फुट्न थाले । प्रहरीको रोकावटले केही मत्थर भयो । तापनि चालकका हात काँपिरहेका थिए । भयले कतिपय यात्रुहरू अर्ध बेहोस थिए ।

जसोतसो गाडी पास भए । प्रहरी फर्किए । सरकार विरोधी नारा संशोधन गरियो । प्रहरी विरुद्ध नारा लाग्यो ।

“यिनीहरूकै सेवामा हाजिर छौँ । र; पनि नानाभाँती सुन्न र सहन वाध्य छौँ। हामीलाई हान्ने आदेश छैन । यिनीहरूलाई भने जे गर्ने पनि छुट छ । आखिरी तारो हामी नै भएका छौँ । हैन; यो लोकतन्त्रकोअ जात यस्तै हुन्छ कि क्या हो ?” प्रहरी अफिसरले मनमा कुरा खेलाए ।

एक्कासि हुलबाटै कसैले प्रहरीमाथि जाइलाग्न उकास्यो- ” पुलिस ने आन्दोलनके असफल बनाया है । इसको मारो । नही छोडो ।”

एकाएक पत्थर वर्षन थाले । प्रहरी संयमता हरायो । दुवैतर्फ रक्तमुच्छेल भए। भीड तितरवितर भयो । क्षणभरमै मुर्दाशान्ति छायो ।

-नन्दलाल आचार्य
विसं २०७२-०५-०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *