Skip to content


‘मलाई सबैले राधा भन्छन्। तपाईंलाई के भन्छन्?’

‘मलाई कृष्ण भन्छन्, अर्थात् मेरो नाम नै कृष्ण हो।’

यसरी सुरु भएको थियो– हाम्रो सम्बन्धको प्रारम्भ। सहर नजिकैको राधाकृष्ण मन्दिरमा म बिहान झिसमिसेमा नै दर्शन गर्न जान्थेँ। रिटायर्ड भएपछि बिहानको मर्निङ वाक पनि हुने, भगवान्को दर्शन पनि हुने– यही मेरो उद्देश्य थियो। तर यस घुमाइले मेरो यस्तो दुर्दशा होला भन्ने मेरो मनको कुनै कुनामा थिएन, न सपनाको कुनै लहरमा।

यसो त प्राय: सबै नेपालीको दिनचर्या बिहानै मन्दिर जानु, हिँड्ने अभ्यास गर्नु र शरीर स्वस्थ बनाउनु नै हुन्छ। त्यसमा पनि अधबैंसे महिला र पुरुषहरूको आधिक्यता हुनु स्वभाविक नै हो। त्यसको सिकार म भएँ। अर्थात् परमपुज्य भगवान्ले मलाई यस्तै वरदान दिएका रहेछन्। मेरो के लाग्छ?

हरेक बिहान ५:३० देखि ६ बजेसम्ममा ऊ पनि मन्दिर पुग्थी। म पनि। म खालि दुई हात जोडेर भगवान्को पाउमा एक छिन दर्शन गरेर फर्कन्थेँ। तर ऊ सधैं फूल र अक्षताले भगवान्लाई खुसी पार्थी। क्रमश: मन्दिरमा भेट्ता र देख्दा ऊ मुस्कुराउँथी, सायद म पनि मुस्कुराउँथे होला। त्यस परिचयपछि उसले ‘नमस्कार मेरो कृष्ण’ भनी। मेरो कृष्णलाई मैले सहज रूपमा लिएँ। किनभने म ६० नाघेको बूढो र ऊ ४५/५० कि अधबैंसे भनौं।

दुई–चार दिनपछि ‘जाडो भयो, चिया खाऊँ’ भनी। मन्दिर नजिकैको चिया पसलमा हामी दुवै सधंैजसो चिया खान लाग्यौं। चियासँगै बिस्कुट, बाम, पाउरोटी पनि डिमान्ड हुन लाग्यो। अलिपछि उसिनेको अन्डा थपियो। एक किसिमले मेरो मर्निङ वाक खर्च बढ्दै गयो अर्थात् दिनको घटीमा सय रुपैयाँ। मलाई पनि यस उमेरमा एक किसिमको बुढ्यौली रोमान्सले जरो फैलाउँदै गएछ। एक दिन मैले ठट्टा गरेँ, ‘मलाई तिमी र तिम्रो व्यवहार मनपर्यो।’

‘मलाई पनि तपाईंको भद्रता र दयालुपन मनपर्योर।’ उसले अँझ थपी, ‘पूर्वजन्ममा सायद हामी बूढाबूढी थियौं होला। यसैले यस जन्ममा यसरी भगवान्को पवित्र र दिव्य मन्दिरमा हाम्रो भेट भयो।’

यसरी हामी निकट हुन लाग्यौं। मलाई थाहा भएन– मेरो जीवनमा भयंकर पहिरो र बाढी आउँदै छ।

‘तीज आयो। हामी महिलाहरूको ठूलो चाड। मेरो त घर–माइती केही छैन। कहाँ जाने हो? मसँग फेरि रकम–कलम पनि छैन,’ उसले एक बिहान लामो सुस्केरा हाली।

म झस्किएँ, ‘यो उमेरसम्म तिमी अविवाहिता। श्रीमान्, छोराछोरी, घरबारे मलाई केही भनिनौ,’ अब मेरो तपार्इंबाट तिमीमा सम्बोधन ओर्लिसकेको थियो।

‘मेरा सबै कहानी तपाईंलाई सुनाएर के फाइदा। सम्झनोस्, म कुमारी होइन। सम्झनोस्, मेरो श्रीमान् छैन। सम्झनोस्, मेरा लालाबाला छैनन्। अँझ सम्झनोस्, म घरवारविहीन छु,’ राधाले यसरी भनी, मानौं आजभोलिका नेतृहरू बोल्दछन्। अँझ मैले हेरेँ– उसका आँखा केही टिलपिल गरिरहेका।

‘मलाई तिम्रो इतिहास थाहा पाउने कुनै रहर छैन राधा। त्यस इतिहासलाई कोट्याएर म तिमीलाई दु:खी बनाउन पनि चाहान्न। हामी मित्र हौं, यसरी नै मित्रता रहोस्, भगवान्को मन्दिरमा आएर,’ म भावुक भएँ। उसको रहस्यपूर्ण र गम्भीर शब्दहरूको सिलसिलाबद्ध संयोजनले मैले थाहा पाएँ, राधाको जीवन–इतिहास रहस्यमय सिनेमाजस्तो छ।

अनि हे भगवान् ! त्यही बिहान उसले मेरो खुट्टा छोई र भनी, ‘पाउलागि होस्, मेरो कृष्ण।’

यसरी राधासँगको सामान्य सम्बन्धको रूख क्रमश: झाँगिँदै, फैलँदै गएछ। मेरो मानसमा कहीँ कतै पनि कुनै आभास भएन। केहीपछि उसको माग बढ्न लाग्यो– जाडो आयो, यौटा राम्रो स्वेटर छैन!

‘दसैं आयो– माछामासु खाने अलिकति सापटी पाऊँ।’

‘फागुपूर्णेमा यसपालि हामी होली खेलौं। यो राधाकृष्णकै लीलाको दिन हो।’

‘यसपालिको समेत तीन महिनाको भाडा तिरेको छैन। घरपट्टिले बरु भाडा नतिर, कोठा खाली गरिदेऊ भनेर मार्न लाग्यो। म के गरूँ! कसलाई गुहार्न जाऊँ– मेरो कृष्ण!’

मैले घरमा ढाँटीढाँटी आफ्नो पेन्सनको रकमबाट कहिले दसैंखर्च जुटाइदिएँ, कहिले फागुखर्च र कहिले भाडा भुक्तानी। कुनै ठूलो माछा राधाले भेट्टाएकिरहिछे, म आज–भोलि भन्दै उसको जालमा परिसकेको रहेछु।

क्रमश: उसले आफ्नो कोठामा खाजा खान बोलाउन लागि। कहिले बिहानको खाना पनि। म वेवारिसे बच्चामा रूपान्तरण भइसकेको रहेछु– कत्ति बेवकुफ। कहिले दक्षिणकाली, कहिले पशुपतिनाथ, कहिले स्वयम्भूजस्ता मन्दिरको पूजापाठ र दर्शनमात्र हाम्रा मर्निङवाकका कार्यक्रम बनेनन्। अब पर्यटकीय स्थलहरू नगरकोट, नागार्जुन पनि हाम्रा गन्तव्यस्थल बने। मानौं हामी कुनै नाटक वा सिनेमाका पात्र–पात्रा हौं। अभिनय गरिरहेछौं।

सम्बन्धको यस क्रमबद्ध सिलसिलामा एक दिन राधाले आफ्नो प्रसंग सुनाई।

‘मेरो माइती र घर दुवै वीरगन्ज हो। म किसान परिवारकी छोरी। मेरो बिहे पनि सानैमा कुनै गरिब किसानको छोरासँग भयो। तीन वर्षमा एक छोरा र छोरी भए।’

अहिले कस्टडीमा बसेर आफ्नो विगतको सम्बन्धहीन सम्बन्धका पाना पल्टाइरहेछु। सायद म ठूलै अपराधीरहेछु। कसैलाई दया, माया र स्नेह देखाउनु नै मेरो ठूलो कमजोरिरहेछ।

त्यस सम्बन्धको फ्ल्यासब्याकले कत्ति दिन भयो– म निदाउन सकेको छैन, खान सकेको छैन। यस दुर्घटनाले मलाई कहाँ पुर्‍याउने हो थाहा छैन।

‘बूढालाई रोगले सतायो, अर्थात् दुवै किड्नी एकैपटक फेल भएछन्, कसरी यो रोग लाग्यो थाहा छैन। हामीसँग दबाईमूलो गर्ने पैसा थिएन। उहाँले अनाथ छोराछोरी र मलाई छाडी स्वर्गे हुनुभयो। मैले उहाँमा प्राण हाल्न सकिन,’ राधा रोई। म आँसु पुछिदिन बाध्य भएँ।

‘अनि छोराछोरी कहाँ, के गर्दै छन्?’ मैले सोधेँ।

‘पटनाको कुनै इन्डियनले बालगृहमा राखेर लेखपढ गराउँछु, ठूलो मान्छे बनाएर ल्याउँछु भनेर लगेको थियो। अहिले २०/२५ वर्ष भइसक्यो, केही अत्तोपत्तो छैन। म अभागी! म अनाथ!’ राधा फेरि रुन लागि। मैले पनि कष्टदायी पीडाको अनुभव गरेँ।

राधाको जीवनका यस्ता दुर्घटना–घटना, पीडापूर्ण कथा सुनेर ममा ऊप्रति एक किसिमको श्रद्धा, प्रेम वा स्नेह घटेन, बढी नै रह्यो। त्यसपछि विशाल सहर काठमाडौंमा आएर भोगेका पीडा र व्यथाहरूको लामो शृंंखला उसले सुनाई– ती सबलाई सम्झन सक्तिन। म स्वीकार्छु, बिहानको मर्निङवाक एक्लै जानु मेरो भुल थियो। त्यसमा पनि एउटै मन्दिरमा एउटै समयमा जानु महाभुल! अनि कुनै महिलासँग अवैध भनूँ कि वैध– त्यस्तो प्रसंग र अर्थहीन सम्बन्ध बढाउनु मेरो भुल थियो। अहिले विभिन्न व्यक्तिसँग लगभग अवैध सम्बन्धहरू राखेर जीवन निर्वाह गर्ने महिलासँग घनिष्टता बढाउनु मेरो अपराध थियो।

राधाको कथाको अन्तिम अध्याय उसले सुनाएकी थिई, ‘यौटा अधबैंसे जागिरे मकहाँ सधैँ साँझ आउँछ, रक्सीले टन्न भएर। ऊ के हो, कहाँको हो, मलाई केही थाहा छैन। मसँग यौन सम्बन्ध राखेपछि ऊ बाहिर निस्कँदा ढोकामा नै दिसाको रास हुन्थ्यो। म त्यसलाई सफा गर्न बाध्य हुन्थेँ। अनि कहिलेकाहीँ बेल्टले मलाई साफसँग चुटेर जान्थ्यो।’

उसका शरीरभरिका खतहरू हेरेर म सोच्तथेँ– यस सहरमा राधाजस्ता महिलाहरू पनि धेरै छन्। अनि जँड्यहा पुरुषहरू पनि अनगिन्ती छन्। मभित्र विद्रोह जाग्थ्यो– यी सबलाई हटाउन पाए हुन्थ्यो। तर त्यो विस्फोट वा विद्रोह पानीको फोकाजस्तो बिलाउँथ्यो। के गर्न सक्थेँ र म! यौटा रिटायर्ड बूढो।

अनि सपना हो कि विपना! उसले यौनकर्ममा मलाई फसाएजस्तो लाग्छ। लोग्नेमान्छे र स्वास्नीमान्छेको सम्बन्ध अन्त्यमा सेक्समा गएर नै टुंगिन्छ। चाहे त्यो जुनसुकै धर्म, जात, जाति वा वर्णको होस्, यस्तै कतै पढेको थिएँ। यस्तै मेरो जीवनमा पनि ज्ञात, अज्ञात रूपमा घट्यो वा घटाइयो वा भगवान्को यही कृपा भयो।

राधाले यौटा एपार्टमेन्ट किनेर राखिदिन पनि प्रस्ताव गरेकी थिई। कहिलेकाहीँ मेरो पेन्सनको आधा रकम हरेक महिना पाउन पनि दबाब दिएकी थिई। यस्ता थुप्रै माग र चाहना पूरा गर्न मैले नसकेपछि, मेरो सामर्थ्यले नभ्याएपछि उसले चिनेको कुनै हवल्दारको सल्लाहमा मलाई अवैध यौन सम्बन्धको आरोपमा यहाँ ल्याई। कृष्ण! तपाईं भगवान् भएर मलाई आफूमा समाहित गरिदिनोस् पनि भन्थी। किनभने ऊ अब वीरगन्जको थिइन, काठमाडौं महानगरकी अधबैंसे सुन्दरी थिई।
मेरो भने यौटै अन्तिम बाटो थियो– यहाँबाट निस्केर आत्महत्या गरी यो प्राणको विसर्जन गर्ने। अहिले रातको १२ बजेको अन्धकारभित्र मेरा आँखामा भने सल्बलाइरहेका छन्– मेरा श्रीमती, छोराछोरी र नाति–नातिनीका विविध रङ र सपनाले भरिएका अनुहारहरू!

हे भगवान्! म के गरूँ! मलाई बाटो देखाइदिनोस्। मेरा परमप्रिय, शक्तिप्रवर्द्धक, विश्वपालक, परमपूज्य श्रीकृष्ण भगवान्!

http://www.nagariknews.com/nagarik-sanibar/story/25472.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *