भमरा बनी आइरहन्छु म, फूल बनी बोलाऊ
जुनजस्तै मुहार छ नि भो भो जुनटिकी नलाऊ ।
परै बसी हेर मलाई, ए दाजै वरवर नआऊ
पाउने छैनौ तिमीले मलाई लेक बेसी नधाऊ ।
रुप हुन्छ माघको घामझैँ झुल्की हराई जान्छ
मेरो माया सांचो भए तिमीलाई तानी ल्याउँछ ।
बाटो हिंड्दा बटुवाहरू कति आउँछन् जान्छन्
सबले सबलाई सन्सारमा माया कहां लाउँछन् ।
छैन भर जिन्दगीको बरु हुन्छ साथीको नै भर
समयमै समाउ हात सोद्धिन म तिम्रो नाउँ थर ।
नाई नाईभन्दा पनि कति आउँछौ तिमी वरवर
जीवनभरको साथ भए राजै परे म त तिमै भर ।
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
