परिचय
खण्डकाव्यकार राजेश्वरी काफ्लेको सिन्धुली जिल्लाको टाँडी गुराले गा.वि.स. –२मा २०१३ साल कार्तिक २१ गते पिता स्व. बोधराज दाहाल र माता स्व. पद्माकुमारी दाहालकी सुपुत्रीको रूपमा भएको थियो तापनि हाल उहाँ बस्तीपुर लालबन्दी–७मा स्थायी रूपमा बसोबास गर्दै आउनु भएको छ । राजेश्वरीजीको साहित्यिक, सामाजिक र राजनैतिक आबद्धता पनि धेरै संस्थाहरूमा भएको पाइन्छ जस्तै उहाँ सर्लाही साहित्य समाजको संस्थापक उपाध्यक्ष, बालसंरक्षण संस्था लालाबन्दीको संस्थापक उपाध्यक्ष, अखिल नेपाल महिला संघ सर्लाहीको् क्षेत्रीय अध्यक्ष, जनज्योति सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष, जनज्योति बहुमुखी क्याम्पसको सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, लालबन्दी आमा समूहको सल्लाहकार आदि ।
पद्म भूवनेश्वरी बृद्ध सेवाग्राम जुटपानी सर्लाहीबाट २०६२मा नवदुर्गा अभिनन्दन २०६२ र २०७२मा अवसर साप्ताहिक लालाबन्दी सप्ताहिकबाट पनि सम्मान प्राप्त गरिसक्नु भएकी राजेश्वरीको मार्मिक ‘पद्मा –बोध’ स्मृति खण्डकाव्य २०७२, सर्लाही, साहित्य समाज लालबन्दीद्वारा प्रकाशनमा आएको छ ।
कविता तथा लेखनमा भावनाका लहरहरू विभिन्न घटनाक्रमबाट जन्म लिने गरेको पाइन्छ । राजेश्वरी काफ्ले पनि स्वय म कलिलो बालक(दुई वर्षको) अवस्थामा मातृ वियोगको घातले छटपटी चलेको र आमाको स्मृतिले छटपटाइरहेको कलिलो दिलमा, पत्नी वियोगमा छटपटाइरहेका काका रोहिणीले वियोगान्त कविता रचना गर्दै सबैलाई सुनाउँदा राजेश्वरीले पनि श्रवण गर्दै, प्रभावित हुँदै, काका स्मृति काव्यका प्रेरणाका स्रोत बन्दै जानाले, भावनाका लहरहरू बग्दै जाँदा यो स्मृति काव्यले जन्म लिएको हामीले उहाँका आफ्नै धारणा(मेरा कुरा)बाट जानकारी लिन सकिन्छ । समाजको चक्रबाट कोही पनि अलगिन सक्दैन, त्यस्मा पनि आधाआकश ओगटेका नारीहरूको दैनिकीको पीडा दायी जीवनबाट, घरको सबै कामहरूलाई छिमल्दै, आदरणीय सासू–ससुरालाई सेवा गदै, आफ्ना सन्ततिलाई हुर्काउँदै गाउँघरमा सञ्चालन गरिने साहित्यिक कार्यक्रममा, समय निकालेर आफ्ना मनमा उर्लेका भावनालाई कागजमा सजाउँदै कविता पाठको लागि सहभागी भएको धारणा पनि हामीले उनको जीवन कथा(मेरा कुरा)बाट पढ्न पाउँछौं । सन्घर्षमय जीवनका उतार चढावलाई आत्मसात गर्दै साहित्यमा सहभागी साथीहरू मिलेर सर्लाही साहित्य समाजको स्थापना गरेर, साहित्यमा अग्रसरता दर्शाएको कुराहरू पनि हामीले उहाँबाटै जानकारी पाउँछौ । धेरै लामो कसरत पछि यो ‘पदमा–बोध’ स्मृतिखण्डकाव्य हाम्रो हातमा आएको छ । यो नै उहाँको साहित्य सिर्जनाको लगनशीलता हो भन्न सकिन्छ ।
कृतिकार र कृतिप्रति विभिन्न साहित्यकारको धारणा–
पद्मा–बोध स्मृति खण्डकाव्यप्रति धेरै साहित्यकारहरूले शुभ कामना प्रदान गरेका छन् । हेरौ यी धारणाहरूले कृतिकार र कृतिप्रति कस्तो किसिमको धारणा पोखेका छन् –
राजर्षि वाङमय प्रतिष्ठान, नेपाल जनकपुरका उपाध्यक्ष निलकण्ठ भट्टराईले शुभकामना दिंदै यस कृतिमा माता वियोगका र बाबाको अनुगत हुँदामा भावनाको प्रयोग, बालिकाका बिहाल, शब्द साझा टिपेका, ‘स्रष्टाको यो परिश्रम बडो भावनाको उच्चाइ’ ल्याएका धारणा पस्कनु भएको छ ।
बरिष्ठ नेता, नेकपा एमाले तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई शब्द शीर्षक दिँदै लेख्नुहुन्छ– ‘विश्वका अनेकौं नेताहरूका निम्ति, लेखकहरूका निम्ति साहित्यकारहरूका निम्ति र स्मृतिकारहरूका निम्ति आमा एउटा अत्यान्त प्राथमिकतापूर्ण विषय बन्दै आएको छ ’ भन्दै आमाप्रतिको पीडा, माया, सम्झना, आदिको स्मरण र बाबुले निभाएको भूमिकालाई खण्डकाव्यले प्रष्ट्याएको धारणा राख्नुभएको छ ।
श्यामकुमार बानियाले यस कृतिलाई मातापिताजीप्रतिको श्राद्धै हो भन्ने धारणा राख्नुभएको छ । दामोदर पुडासैनी ‘किशोर’ले ‘राजेश्वरीले आफ्नो आमालाई सबैकी आमा बनाउने राजेश्वरी’ शीर्षकमा लेख्छन्–‘ आमा जीवन दायिनी हुन् । आमा खुशीको दियालो हुन् । आमा आनन्दकी मुहान हुन् । आमाको तुलना अरु कसैसँग हुन सक्दैन’ ।
तोयाराज घिमिरेले शुभकामना दिने क्रममा लेख्नुहुन्छ– ‘उहाँका कविताका विषय श्नेह, ममता, मातृत्वको खोज हो’ । मनोज ढुङ्गानाले शुभकामना दिंदै लेख्नुहुन्छ–‘आफ्ना सुख दुःुख समेटेर लेखिएका ती कविताका भावहरूमा डुब्दा जो कोहीको पनि आँखा रसाउँथे, म पनि अछुतो रहिन ’ ।
निमेष निखिलले पद्मा–बोध भित्रको मानवीय संवेदना शीर्षक दिएर लेख्नुहुन्छ– ‘प्रस्तुत शोककाव्य मातृशोक तथा पृतिशोकद्वारा अनुप्राणित भई रचना गरिएको देखिन्छ’ ।
बीणा ढकालले पनि शुभकामना दिदै भन्नुहुन्छ आमा वियोग हुँदा तिमी सानी थियौ, तिमीले कसरी वियोगका शब्द चयन गरेऊ, सरल भावमा लेखहरू लेख्दै जाऊ भन्ने धारणा राखिएको छ ।
दीपकप्रसाद बराल ममताकी खानी आमा शीर्षक दिएर लेख्नुहुन्छ –‘‘माता–पिता’’ भन्ने शब्द नै यति पवित्र र हृदयस्पर्शी छ कि जति बयान गरे पनि अपुरो नै हुन जान्छ तर पनि सन्तानले राजेश्वरीज्यूले जस्तै कुनै न कुनै तरिकाले उहाँहरूको स्मरण गर्नु कर्तव्य ठान्छु म पनि’ ।
यस कृतिप्रति राजेश्वरी काफ्लेले लेख्नुहुन्छ– ‘स्वर्गीय माता पद्माकुमारी दाहाल र स्वर्गीय पिता बोधराज दाहालको आशीर्वाद एव म श्रीमानको सहयोमा कविता पुरागर्न सफल भएँ ।’
कृतिको संरचना–
पद्मा–बोध स्मृति खण्डकाव्यको संरचना नियाल्दा अग्र आवरण पृष्ठमा कमलको फूलमा बिराजमान हुनहुन्छ सायद राजेश्वरीकी आमा (पद्मा) र पछिल्लो आवरण पृष्ठमा लेखक परिचय प्रस्तुत गरिएको छ । यो कृति आवरणदेखि काव्य समेतलाई गणना गर्दा ५७ पृष्ठको छ । यसलाई सर्लाही साहित्य समाज लालबन्दीले प्रकाशन गरेको छ । यसको व्यक्तिगत मूल्य रु १३०/– संस्थागत मूल्य रु २५० /– राखिएको छ । स्व.पिता बोधराज दाहालमा ४ पंक्तिको कविता सहित समर्पण गरिएको यो कृति शार्दलबिक्रीडित छन्दमा पस्किएको छ । यो खण्डकाव्य मार्मिक छ र पढ्दा सबैका आँखा रसाउँछन् ।
समर्पण श्लोक–
मेरा सारा नयन भरिका आँसु थोपा सँगाली
पोखीदिएँ सकल जनमा पाउ दुई पखाली
मेरा अश्रूमरुतलविषे सागरै बन्नजाउन््
मातापिताजीकोहर दुखहरू दूर गर्न म पाऊँ
कृतिको कथासार
राजेश्वरी दुई वर्षकी हुँदा र उन्की दिदी बीणा पाँच वर्षकी हुँदा ‘वि.सं. सयाब्ध साल षेढसै मैन्हा थियो फाल्गुणी’ सप्तमी तिथिमा राजेश्वरीकी ममतामयी आमको निधन भएको थिया । घटना विहानमा भएको । दुई बहिनीलाई बाबाले स्यहार सुसार गर्ने काम भयो । छोरी दुवैलाई कुनै किसिमको कमीहुन नदिए पनि ममतामयी आमाको प्यारो काखको यादले भने सताइरहेको हुँदाहुदै बाबाको पनि निधन भएको काव्यकारले बाबाले दिएको माया ममता समेतलाई सम्झना गर्दै पद्मा बोध मिलेर अमृत वर्षउन् र नाम द्यौता समान रहोस् भन्ने कामना गर्दै काव्य समाप्त भएको छ ।
खण्ड काव्यमा प्रस्तुत गरिएका स्मृतिका पानाहरू –
पद्मा–बोध स्मृति काव्यले माता र पिताको वियोगमा छोरा छोरीमा पर्ने मानसिक तनाव, माताविनाको छोरीका जीवन, माताको खोजी र आत्मालापको साथै मार्मिक वेदनालाई समायोजन गरेको छ । बास्तवमा माता र पिता दुवै ईश्वर हुन् । यिनको सेवाले मात्र मानव जीवन सार्थक हुन्छ । माता पिताको अमरत्वले नै सन्तनीको भविष्य सुनिश्चित र उज्ज्वल हुन्छ । आमाको स्वर्यारोहणमा राजेश्वरी केवल तीन वर्षको मात्र हुनु हुन्थ्यो उहाँले आमाले स्तनपान गराएको मात्र उहाँलाई स्मरण हुन्छ र उहाँले यी मार्मिक श्लोकहरूले स्मरण गर्नुहुन्छ–
आफ्ना सन्ततिका निमित्त घरमा आधार खम्बा बनी
बोल्थिन् प्यार गरी म दिन्छु बुबु लौ खाएर जाऊ भनी
जम्मै जो जति छन् जहान घरमा सम्मुखमै देख्तछु
छैनन् ती ममतामयी हृदयकी आमा भनी लेख्तछु
श्लोक १२, पृष्ठ ४
यो काव्य वेदनाको सम्झनाको अनुभूतिको एउटा सङ्गालो हो जस्तो लाग्छ मलाई किनकि राजेश्वरीले यी सबै लेखनका आधारहरू आफ्ना इष्टमित्र तथा बन्धुबान्धव, आमाका सहेलीबाट सङ्कलन गरेर काव्यमा पस्कनु भएको छ जो यथार्थपरक छ र मार्मिक पनि छ । यो भने सानै भए पनि उहाँमा स्मरण छ र आमामा प्रश्न राख्नुहुन्छ –
एक्कासि तुलसी चपाउन गइन् उस्कै गरी आसन
छाया छत्र समान फेद उसको वेदी उठाईकन
गाढा नीद लिइन् समग्र घरका सन्तानकै सामुमा
त्यत्रो प्यार भुलेर नीद गहिरो रोज्यौ कसोरी मुमा
श्लोक १३, पृष्ठ ५
हाम्रो धार्मिक परम्परामा जीवनको अन्तिम क्षणमा तुलसीको मोठमा लगेर सुताउने तुलसी जल खु,वाउने, लासलाई जलाउँदा तुलसीकै दाउरा प्रयोग गर्ने चलन छ जो काव्यकारले यहाँ प्रस्तुत गर्नुभएको छ । काव्यमा भावपूर्ण बिलौनाहरू पस्किएका छन् । आमालाई आउनको लागि आह्वान गरिएको छ, । आमाले दिने माया ममता र छोराछोरीको लागि आमाको आवश्यक्तालाई संसारको कुनै शक्तिले पनि परिपूर्ति गर्न सक्दैन भन्ने धारणालाई काव्यले प्रष्ट्याउन खोजेको छ ।
सामाजिक अपगाल र काव्य
मृत्यु सत्य हो तर कुनदिन मृत्यु हुन्छ त्यो भने कसैले भन्न सक्दैन । मृत्युसँग सामाजिक अपगालहरू जोडिएका छन् । ती अपगालमा काव्यकार पनि अछुतो रहन सक्नुभएन –
क्वै भन्थे अपशब्दले जनहरू आमा पिराही भनी
क्वै भन्थे विधिले लगेछ टुहुरा पारेर आँखा छली
क्वै भन्थे विधि निष्ठुरी किन भयो ? पाषाणभन्दा कडा
द्यौता नै सब छन् सबै प्रकृतिका निर्माण गर्ने बडा
श्लोक २०, पृष्ठ ७
विचारको अमरत्व र काव्य
गीताले पनि भन्छ –आत्मा अजर अमर छ तर काव्यकारले आत्मा अजर अमर भएको स्वीकारे पनि दर्शन कतै गर्न नसकेको धारणा राख्नुहुन्छ –
नाता मानवको बिचार मनको मर्दैन कैल्यै पनि
यौटा मर्दछ देह यो धरणीमा मर्दैन आत्मा पनि
आत्मा नित्य छ भन्त्छन् तर कतै मिल्दैन यो दर्शन
मर्नेले सब लुप्त भै पवनमा गर्छन् त ! सङ्घर्षण
श्लोक २५ पृष्ठ १२
पिताको निधन र काव्य–
माताको निधन भए पछि दुवै छोरीलाई पिता बोधराज दाहालले राम्रोसँग देखभाल गरेको, आमाको स्मरण गरी रुन पर्ने अवस्थाको सिर्जना कहिल्यै नपारेको, सारा वेदनालाई भुलाउने प्रयत्नरत पिताको स्वर्गारोहण भएको खबर राजेश्वरीलाई उनका जुबाई मार्फत प्राप्त भएको थियो । बुबा निधनको खबर प्राप्त भए पछि पुष्पाञ्जली अर्पण गर्न काव्यकार पुगेर बाबाले दिएका मायाको सम्झनालाई स्मरण गर्दै रोएको कुरालाई काव्यले समेटेको छ । यस समयमा पोखिएका वेदनाका भावनालाई अध्ययन गर्दा सबैको मन रुन्छ । एउटा छोरीप्रति समर्पित भएर एउटा बाबुले प्रदान गरेको पृतित्वको दायित्वलाई पुरागर्ने बोधराज दाहाल बाहेक सायद हाम्रो समाजमा विरलै बाबुहरू पाइन्छन् । बोधराजले छोरीहरूको लालनपालन, विवाह आदि सम्पूर्ण काम पुरा गरेको काव्यले प्रष्ट पारेको छ । ममतामयी माताको जुन स्मृति यस खण्डकाव्यले गरेको छ, त्योभन्दा कम महत्व पितालाई दिएको छैन । राजेश्वरीजीले वेदनाका आँसु झार्दै, माता पिताका जीवन्त यादगारलाई सबै सामु पस्कनु भएको छ । जो अनुकरणीय छ र अविस्मरणीय पनि । पिताको दाहसंस्कारमा तिलाञ्जली दिन जाँदाको सामाजिक परम्परामा छोरा हकदार हुने धारणालाई पनि काव्यकारले पस्कनु भएको छ –
बाबाको शव घाटमा जनसँगै बोकेर हामी पनि
लाग्यौं दुर्दिन सम्झिएर घरका छोरा र छोरी पनि
छोरा नै हकदार बन्छ शवको संस्कारका खातिर
उस्कै तोय तिलाञ्जली सुमनले चढ्छन् सबै मास्तिर
श्लोक ६१पृष्ठ २१
जेठीआमा र काव्य
‘मेरा कुरामा’ राजेश्वरीले आफ्नी जेठी आमा(ठूली आमा) चित्रादेवीको सानो परिचय दिने प्रयास गनुभएको छ । चित्रादेवी बाल बिधवा भएकी र राजेश्वरी र बिणालाई पद्माले तपाईंको जिम्मा भनेर चिरनिद्रामा परेकोले उनको माया–ममता दुवैले जेजति प्राप्त गरे सोको वर्णन भने कमै आएको छ काव्यमा तर पनि नब्बेको दशकमा उनको गल्दो शरीर वेशाहारा अवस्थामा न टेक्ने ठाउँ र न समाउने हाँगो भएको कारुणिक अवस्थाको बर्णन पनि काव्यले समेट्न भ्याएको छ ।
यो काव्यले दाजुको बारेमा पनि त्यति विस्तृत बर्णन गर्न सकेको छैन । पद्माको मृत्युमा आमा भेट्न दादा आएको र बाबुको मृत्युमा छोराछोरी भएर गएको बर्णन काव्यले दर्शाउँछ ।
पात्रचयन र खण्डकाव्य – यो पद्ममा – बोध स्मृतिकाव्य भएकोले यस्मा हामीले पद्ममा र बोधराज दाहाल नै मुख्य र सत्यपात्रको रुपमा पाउँछौ । जेठी आमा र दादा पनि पात्रको रूपमा देखा परेका छन् । चित्रादेवीले पालनपोषणको जिम्मा पाएकी र छोरो शवको संस्कारको हकदार भएको बर्णन काव्यले दर्शाएको छ । पद्मा र बोधराज दुवै नै कर्तव्य परायण र असल गुणले भरिएका –माता र पिता पात्र)को रूपमा चित्रण गरेको पाइन्छ काव्यमा । बोधराज दाहाल एउटा आमाविहीन छोरीप्रति दायित्व बुझेका अनुकरणीय पात्र हुन् ।
भाषा शैली –भाषा सरल, कोमल, सहज छ । करुण रसले भरिएको यो कृतिको शब्द शब्दले पाठकको मन मस्तिष्कमा छुन्छ र बाबुआमाप्रति छोरा छोरीको दायित्व के हो सो को बोध गराउँछ । काव्यमा जोड दिन कतै कतै उखानलाई पनि समावेश गरिएको पाइन्छ ।
अन्त्यमा यस काव्यमा माथि सबै शुभेच्छुकबाट पोखेका उद्गारबाट पद्मा र बोधराजको सजीव चित्रण हामी सबैले मनन् गर्न सकिन्छ । स्मृति काव्यले दिन खोजेको सन्देश छोटो मीठो र कारुणिक छ । काव्य सानो छ तर भावपूर्णतामा उत्रन खोजेको छ । काव्यकारले आफ्ना माता पितालाई अमरत्व प्रदान गरेकी छन् । काव्यमा देखिने कमी कमजोडी यहाँ पनि नपाइने होइनन्, पूर्णता कहीं कतै भएको पाइँदैन । प्रयास नै आविस्कारकी जननी हुन् । राजेश्वरीको प्रयास नै प्रशंसनीय छ । यो प्रयास जारिरहोस् र नयाँ काव्यहरूको सिर्जना हुँदै जाओस्, यही नै मेरो सुभकामना छ ।
धन्यवाद,
सदानन्द अभागी
मिति २०७२ साल आसौज महिना २९ गते
कावासोती नगर पालिका वडा नं ७, शान्ति चोक नवलपरासी
