भत्केको घरको भित्ता टाल्न नपाउँदै
गुमाएका आफन्त को पीडा भुल्न नपाउँदै
म कसरी शिर ठाडो पारि हिड्न सक्छु र
अनि तिमीलाई खुशी बनाउन दशै र तिहारको नाउमा
म कसरी शुभकामना दिऊँ ?
हो तिम्ले भनौली अहिले देशमा संविधान आएको छ
जनताका चाहना पुराहुदै छ,मुलुक गणतन्त्रमा गएको छ
यस्तो बेला पनि शुभकामना दिन कन्जुसाई गर्ने तिमी निस्ठुरी हौ
तर मेरो कथा अर्कै छ,
च्यतिएको आमाको सारी फेर्दिन सकिएको छैन
भत्किएर घरले आकाश हेरेको छ
चुल्हो नबलेको कत्ति भयो
भरे घर जादा बुढी आमाले फिस्स हाँस्दै “बाबु”भन्दा
एक थान संविधान हातमा लिएर तिम्लाई
म कसरी शुभकामना दिऊँ ?
सरकार फेरियो,मान्छे फेरिए सस्कार फेरिएन
संविधान आएकै निहुमा छिमेकीले नाकाबन्द गरिदिएको छ
मुलुकमा अत्याबस्यक बस्तुको हाहाकार भएको छ,
सडकमा हेर्यो मान्छे उदासिन छन्
कसैको चेहेरामा दिपावली भेट्दिन
यस्तो बेला भन त
म कसरी शुभकामना दिऊँ ?
कोही संविधान आएकोमा दिपावली गर्दैछन
कोही संविधान को बिरोधमा सडकमा छन्
तिमी पुजिपतिकी बर्गकी, समस्या नहोला
तर
मलाई असर गरेको छ मेरो आँखामा रोहिरहेको सिंगो तराई आइरहेछ
हिमाली भेगमा सिटामोल नपाएर मृत्युसँग पौठाजोरी खेलेका अभागी आँशुहरू
एकैदेशका नागरिक आपसमा जुधेको कसरी रमिते बनु अनि रुन्चे हाँसो हाँस्दै
म कसरी शुभकामना दिऊँ ?
जब देशमा नाकाबन्द खुल्ने छ,सबै नेपाली हर्षित हुनेछन संविधान प्रयोगमा आउनेछ
सबैको चुल्होमा आगो बाल्ने छ देश शान्त हुनेछ,बुद्ध फेरि मुस्कुराउने छन अनि अभावमै भएपनि
तिमीलाई शुभकामना दिने छु अर्को साल अहिले त म मर्माहित छु दुखको बेला
म कसरी शुभकामना दिऊँ ?
सूर्यप्रकाश भुसाल
गैडाकोट नगरपालिका -६,नवलपरासी
