Skip to content

कस्तो लेख्नु भनि सोधेर को लेख्दछ


किन्दैथ्यो जसले त नागरिकता पैसा खन्याई हिजो ।
थाल्यो बाल्न मशाल उसले सत्ता ममा चाहियो ।।
कैल्ये बाल्दछ जीर्ण टायर हरू इट्टा उ वर्साउँछ ।
नेपाली म हुँ भन्छ मूर्ख तर यै नेपाल तर्साउँछ ।१।।

आमाकै खुन खान पल्कि सुतले चोक्टा जसै चुस्दछ ।
छाती प्वाल गरी धसेर मुखले फोक्सो मुटू लुछ्दछ ।।
जस्ले स्वागत गर्छ दुष्ट उसमै सुम्पन्छ आमाकन ।
त्यस्ता देशमहाँ कपूत हरू भो के हुन्छ माटो भन ।।२।।

जन्मे दुष्टहरू भने मुलुकमा हो राष्ट्र ध्वस्तै हुने ।
खेदौ दुष्ट यहाँ सबै तरहका यो राष्ट्र जोगाउने ।।
मान्छे भारतका छिरी जुलुशमा नेपालमा खेल्दछ ।
सीमा पिल्लर सार्छ उत्तरमा मान्छे अझै ठेल्दछ ।।३।।

भन्छन् राष्ट्र सपूतले पनि सदा विस्तारवादी छ यो
गर्दै दाउ मिलाउनै सिकिम झैं ऐले उचाल्दै गयो ।।
खोज्दै मानिस को दलाल छ भनी नारा तयारी दियो ।
कालो पोति मुहारमा गजवले नाँगै नचाई लियो ।।४।।

उर्लेका अहिले मधेश भरमा देखिन्छ कच्चा युवा ।
ढीलो हुन्छ मधेश वुझ्छ जहिले त्यो दुष्टको मन्सुवा ।।
खायो उत्तरतर्फ सिक्किम पहिले खैल्दैछ भूटानमा ।
आँखा गाडिरहेछ हेर अहिले यी सम्म भूभागमा ।।५।।

पाकिस्तानमहाँ प्रहार अति भो राखेर दुष्टैपना ।
वंग्लादेश खुशी रहन्न नजिकै भोग्दैछ रे वेदना ।।
श्रीलङ्का तरफै त तामिलहरू झारेर क्रोधै लियो ।
सारै रीस बढेर तामिल उठी राजीव मारी दियो ।।६।।

काँडाझैं किन यहाँ विझाउँछ खै सारा छिमेकी विच ।
लोकैतन्त्र विधान मान्छ तर खै देखिन्छ सारै निच ।।
हाम्रा नीव विधान लेख्न उसले खोसेर काँ छेक्दछ ।
कस्तोलेख्नु विधानमा भनि यहाँ सोधेर को लेख्दछ ।।७।।

चूडा निर्भीक

(शार्दुलविक्रीडित छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *