रोशनी, बल्दछन् ,चाड यो उत्तम ।
मान्दछन् ,हिन्दुले, यो सदा मंगल ।।
लक्ष्मि भो, दाहिना, के अरू चाहियो ।
मूर्खमा, मानिने , जो प्रथा थालियो ।।
फूलको, वासमा, रंगियो मानिस ।
लठ्ठ भै, तालमा, देखियो त्यो खुश ।।
तासको, खालमा, कोहिको चाहना ।
पीङमा, रम्दिने, प्रेमिका वाहना ।।
कागमा, भात दी, काग जो पुज्दछ ।
माथमा, श्वानको, स्वच्छ माला त छ ।।
गाइका, पाउ ती , हिन्दुमा पुज्य छ ।
गोरूका, लागिमा, दण्डता त्याज्य छ ।।
बैनिले, भाइमा, आशिषै भर्दछिन् ।
आयुको, कामना, ली पुजा गर्दछिन् ।।
दाइमा, ती दिदी, रंगले सज्दछिन् ।
मग्नले, शान्त भै, कालमा भज्दछिन् ।।
चाड हो, भव्यको, यो त सत्भावको
मान है, गाउँदै, देउसी भैलिको
त्याग है, गर्व त्यो, सादगी जिन्दगी
कामना, यो छ है, स्वस्थ होस् जीवनी ।।
चेहरा, उज्वलै, घामले मुस्काओस् ।
ज्योतिले, मैलको, ढाड नै खुस्काओस् ।।
देशको, शीरको, राहु त्यो फालियोस् ।
सम्झिदै, दीप यो, राज्यमा बालियोस् ।।
छन्द स्रग्विणी र र र र गण १२ अक्षर ३ र ६ अक्षरमा विश्राम
चूडा निर्भीक
(तिहार विशेष – शुभकामना )
