बोल्नेलाई त के नबोल्नेलाई बोलाउँदा पो
उसको नजरअन्दाजमा आफैंमा टोलाउँदा पो
जे सुकै होस् उनको भाव, सबै अब स्वीकार छन्
उनका ती भावहरू यी मनमा घोलाउँदा पो
कति खुल्छिन, कि खुल्दिनन, मैले उन्मै छाडी दिएँ
दुवै मनका भावनालाई सँगसँगै चलाउँदा पो
रहरैले नभएनि क्रोधले त पक्कै बोल्छिन
क्रोध हटी मप्रति मिठो मुस्कान पलाउँदा पो
मनलाई नै खिन्न पार्ने अरे उनका शब्दहरू
पत्थर झैं कठोर त्यो मनलाई गलाउँदा पो
अहिले उनी बुझ्दिनन यी मनका कथाहरू
मेरै निम्ति त्यो मनलाई भित्र भित्रै जलाउँदा पो
एक झलक पाउन पनि प्रतिक्षाको घडी कति
त्यो मन अनि मुटुमा मेरै तस्वीर धुलाउँदा पो
मेरो बोली अनि शब्द, उनका लागि हलुका छन्
यी शब्दले मुटु छोई मनमा माया पलाउँदा पो
जुनी जुनी ननिभ्ने प्रेमको आगो बलाउँदा पो
मिलनबिन्दु खोजेर मायाको फल फलाउँदा पो
बोल्नेलाई त के नबोल्नेलाई बोलाउँदा पो
उसको नजरअन्दाजमा आफैंमा टोलाउँदा पो
