पेन्सेल्भेनिया राज्यको सुन्दर सहर पिट्सवर्ग । अलि अलि उठेका क्षितिज जोड्ने खोज्ने डाँडाकाँडा । अनि बाइरोडको जस्तै घुमौरो बाटो । उकाली ओराली अनि भञ्ज्यांग चौतारी । लाग्थ्यो, हामी कतै नेपालकै कुनै भूभागमा टेकिरहेका छौं । तर, चिटिक्क परेको सफा सहर, चिल्ला सडक र सुकिला गाडीहरू । यिनीहरूले भने हामीलाई नेपाल बिर्साउने छुट दिदैनथे ।

भूगोलका धर्साहरूमा नेपाल बिर्साइदिने यही सहरमा गएको आइतबार हामी नेपाली मनभएका मानिसमाझ थियौं । संजोग जुराइ दिएको थियो, भुटान साहित्य परिषद्ले । कार्यक्रम थियो कवि तथा गीतकार नारद पोखरेलको कविता संग्रह विमोचन अनि उनकै गीतहरूको गायन प्रस्तुति ।कार्यक्रम भन्नु मात्र नेपाल या भुटानकै कुनै गाउँघरमा नेपाली पाराले आयोजना गरिने कुनै अनुष्ठानजस्तो प्रिय वातावरण थियो । कोही स्वागत गर्ने, कोही सभापति हुने, कोही उद्घोषण गर्ने, कोही स्वयंसेवक हुने । काम भने व्यावसायिकले गर्नेजस्तै तर सबै सघाउने संस्कारको ।
पुस्तकको घुम्टो खोलिदिन चाहिं नेपाली जस्तै मन भएका तर मस्तिष्कले चल्ने भनिएका पाका प्रोफेसर आएका थिए ओहायोबाट । उनी थिए, उमेरले ७० नाघेका केन्ट युनिभर्सिटी प्रोफेसर डा. टेरी लि कुह्न । उनी आफ्नै छिमलकी श्रीमतीसँग मुख्य अतिथि बनेर आएका थिए ।
यही नेपालीपन भएको नेपाली मनको कार्यक्रममा कवि नारद पोखरेलको पहिलो पुस्तकका रूपमा अंग्रेजी कविता संग्रह दी प्याथेटिक जर्नी लोकार्पण भयो । लोकार्पण गर्न प्रोफेसर टेरी लीसँगै कृतिकार पोखेलका मातापिता पनि मञ्चमा लहरै उभिए । आफ्नो छोराको पौरख अनावरण गर्दा गहभरी आँसु पारेका पाका पोखरेल दम्पतिले लीसँगै द प्याथेटिक जर्नीको घुम्टो खोली दिए । कार्यक्रममा सहभागीहरूले पनि आआफ्नो हातमा रहेको पुस्तक लोकार्पण गरे ।
पुस्तकको सफलताको शुभकामना दिदै टेरी लीले भने, मनले लेखिएका कविता हुन् । यी कविता पढ्न र बुझ्न पनि मन नै चाहिन्छ । छोटो तर सटिक समीक्षा थियो अमेरिकी समाजशास्त्री टेरी लीको । उनले कविलाई भने, राम्रा छन् कविता, अँझै राम्रा हुन सक्छन् । उनले त्यसको व्याख्या गरे, राम्रो हुने कुराको सीमा नै हुदैन, सम्भावना मात्र हुन्छ ।
पुस्तकमाथि खह्रो उत्रिए, समीक्षक शिवलाल दाहाल । उनले पुस्तकका अक्षर अक्षर केलाउँदै भने, यो अौसतभन्दा निकै माथिको पुस्तक हो । तर, कवितामा शव्द संयोजन, भाषिक संरचना, काव्यिक संचेतना र विम्बहरूको प्रयोगका लागि गर्न अँझ धेरै ठाउँ थियो ।
उनले संग्रहमा धेरै राम्रा कविता पनि भएको तर तिनीहरूलाई केही सामान्य कवितामा मिसाइदिदा तिनीहरूको परिणाम पनि सामान्यीकृत भएको समेत भन्न भ्याए । उनले संग्रहमा विस्थापन, प्रणय, शरणार्थी पीडा र अमेरिका पुनर्वासका कविता रहेको बताउँदै कृतिले प्रभाव छोड्ने बताए । तर, यो संग्रह नेपाली भाषिक मूलको कुनै बेला भुटानी भएको र अहिले अमेरिका प्रवासमा रहेको सर्जकले अंग्रेजीमा लेखेको यथार्थ हो । यस्तो बेला यसलाई कुन साहित्यमा राख्ने त्यो भने अन्योलमा रहेको उनले सम्झाए ।
कार्यक्रममा कविका गुरू पदम रिजालले नारदलाई गोलधापको शरणार्थी स्कुलमा कक्षा ७मा पढाएको संस्मरण गर्दै उनमा सानैदेखि सम्भावना रहेको विद्यार्थीका रूपमा सम्झे । उनले अरू धेरै गर्न आशीर्वाद दिदै भने, अथाह सम्भावना भएको यो मुलुकमा धेरै गर्न सकिन्छ र गर्न बाँकी पनि छ ।
भुटान साहित्य परिषद्का अध्यक्ष भक्त घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रम रूप पोखरेलले सञ्चालन गरेका थिए । पोखरेल पुस्तकका एक सम्पादक र भुटान न्युज सर्भिसका प्रवन्ध सम्पादक पनि हुन् । उनले पुस्तक सम्पादन गर्दाका क्षणहरूको सम्झना गर्न पनि भ्याएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा प्रभुशंकर र डी वी परियारले गीतकार नारद पोखरलले रचना गरेका केही गीत प्रस्तुत गरेका थिए । भुटानी अग्रज संगीतकर्मी मनोज राई र अहिलेका लोकिप्रय गायक मनोज ढकाल अतिथि गायकका रूपमा केही उम्दा सिर्जनाहरू पस्केका थिए ।
कृतिकार पोखरेलले रचनागर्भमाथि प्रकाश पार्दै कृतिमाथि विवेकसम्मत समीक्षाको अपेक्षा गरे । उनले सबैलाई धन्यवाद दिए । जब आफ्ना दुई छोरी नान्सी र नहिसाको नाम लिन थाले, त्यसपछि गहभरि आँसु पारेर केही बोल्नै नसकी उनी मञ्चबाट बाहिरिए ।
यसरी सकिएको कार्यक्रमको यो अन्तिम क्षण आफैंमा एउटा अमूर्त कविता बन्यो । कविका स्वर आँसुले रोके पनि उनका पाइला रोकिएनन् । यही नै गति हो र जीवन पनि । शायद दी प्याथेटिक जर्नी को अर्थ पनि यही नै हुनुपर्छ ।
