Skip to content


बा ! बा ! खोला बाढी आउन लाग्यो हो बा ?’
पानी पर्न थालेपछि
कृष्णे दगुरेर आयो ।

‘पोहर जस्तै यसपालि पनि
चाउचाउ,बिस्कुट बाँड्न ल्याउँछ हो बा ?’

कृष्णे खुसी हुँदै बाढी पर्खेर बस्यो ।

पानी दर्केपछि बाढी आयो
किन हो कुन्नि सीमापारीको बाँधको ढोका खुलेन
बाढी सन्तेको घरै छोपिने गरी गाउँमा पस्यो ।

गाई बगाएर लग्यो
भैंसी बगाएर लग्यो, बाख्रा पनि बगाएर लग्यो
सन्तेको घरै पनि गम्रंगै ढाल्यो ।

साँच्चै भोलि पल्ट
चाउचाउ, बिस्कुट बोकेर हेलिकप्टर आयो
कृष्णेको नजिकै पनि एक पोका खसाल्यो ।

कृष्णे भने
‘बा ! बा !!’ भन्दै
सन्तेको लासमा घोप्टो परेर रोइरह्यो रोइरह्यो ।

हेलिकप्टरबाट खसालेको चाउचाउ, बिस्कुट
पानीमा उब्रिन्दै उब्रिन्दै
कृष्णेको उज्यालो भबिष्यलाई समेत साथैमा लिएर
कृष्णेबाट टाढिँदै गयो, टाढिँदै गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *