देशै काँपेको बेला
आपनै घर नै ‘एम्बुस’ बन्दो रहेछ ।
माटो नै चिरिएको बेला
मुटु झन् कमजोर हुने रहेछ ।
हजूरआमाले सुनाएको ‘एकादेशको कथा’
नातिको पालामा साक्षात् भइहेछ ।
नब्बे सालको ‘भूत’ अहिले आएर
बहत्तर सालमा ‘वर्तमान’ बनिरहेछ ।
बहत्तर–नववर्षसँगै ‘तीन’ लागेकी छोरी
निद्रामै ब्यूँझेर भन्छे, ‘फेरि आयो…’
पहिले पहिले गइहाल्ने अतिथि
बारम्बार किन आइरहेछ ?
आफैसँग डराई, आपनासँगै हराई
जानू कहाँ ? पुग्नू कहाँ ?
काँपिरहेको मुटु, तर्सिरहेको मन,
जे कुरा पनि पत्याइहाल्ने
आज्ञाकारी बालक झै बनिसकेछ ।
आपनै घरलाई टुलुटुलु हेर्दै
खुल्ला आकाशमूनि
मातृभूमिको काखमा
निद्राको पर्खाइमा
तर,
‘निदाइहालिन्छ कि ?’ भन्ने
नमीठो भयसँगसँगै
एक एक सेकेण्डको ढुकढुकीको चालमा
बगिरहेछु, बढिरहेछु ।
हिजोअस्ति नचिनिएझै गर्नेहरू पनि
आजभोलि एउटै ओछ्यानमा छन्
हिजोअस्ति चिनिनुपर्ला भन्दै तर्कने मन
आजभोलि नचिनिइएला भन्दै
काँपिरहेछ, डराइरहेछ ।
जमीनको कम्पन
मुटुको धड्कन
आफन्तको तड्पन
छिमेकीको हलचल
विदेशीको तनमन
सबै एकै साथ
सबै साथ साथ
भोग्नुपर्ने, भोगाउनुपर्ने,
कस्तो कस्तो ?
साँच्चै नै नपत्याइँदो
यो बहत्तर साल !!
यो बहत्तर साल!!
डा. अजय रिसाल
धोबीघाट, ललितपुर
२०७२ जेठ ६ बुधवार
