जन्मदिनको क्षण देश दुखिरहँदा उठेको यो सत्संकल्प
साँच्चै देश दुखिरहेछ
३७ शिशिर पार गरेर ३८ औंको प्रतीक्षा गरिरहँदा किन किन मन अमिंलिंदै गएको भान भैरहेछ ? झण्डै ३ दशक अघि ‘ईतिहास’, ‘भूगोल’, अनि ‘सामाजिक शिक्षा’का पाठहरूमा जानी नजानी ‘शहीदहरूको गाथा’ गाउँदा अनि ‘सगरमाथा, बुद्ध, अरनिको, सीता’ आदिका किस्साहरू कोर्दाभन्दा बेग्लै किसिमले ‘देशको माटो अनि आफ्नो मुटु’को एकात्म्यता कायम भैरहेझैं अचेल किन दु:खी भैरहेछु म आफूभित्रै …. किन सन्तोष लिएर बस्न सकिरहेको छैन म ?
आफ्नो शैशवकालीन संस्कारले भनौं या स्कुले जीवनमा उम्रेको आस्थाको कारणले हो, हिन्दूत्वमा विश्वास गर्दछु म । तर आफूलाई धुरन्धर हिन्दूवादी भनी गर्व गर्ने छिमेकी शासकको छद्मभेषी चालचलन, अनि ‘ बसुधैव कुटुम्बक म ‘ को मूलमन्त्र चटक्क त्यागेर ‘मत्स्यन्याय’लाई अवलम्बन गरेको देख्दा,अनि जानीजानी आफ्नो स्वाभिमानमाथि धावा बोल्न खोजेको थाहा पाउँदा म भित्रभित्रै निस्सासिरहेछु, साँच्चै नै क्रोधको दावानलले भित्रभित्रै खाइरहेछ मलाई …
हो, सम्विधानले मैले चाहेझैं धर्मसापेक्षता कायम राख्न सकेन । मैले पनि ठानेको थिएँ, संघीयता सबैलाई जोड्ने कडी बन्नेछ । खोक्रिइसकेको संसदीय व्यवस्थालेभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारीणिले मुलुकलाई राम्रो गर्ला …. तर त्यसो भएन भन्दैमा ४०० धाराको सम्विधान बनाउन ४०० वर्ष लगाउनु पनि त भएन …
हामी बस्ने मुलुकको कानून हामी आफैले बनाउन खोज्दा छिमेकीको कपाल किन यत्तिविधि दुखिरहेको हो ? अनि त्यही निहुँमा हामीले घरझगडा किन मिलाउन नसकेको हो ?
हो, छिमेकी मुलुकमा नै मैले उच्च शिक्षा पाएको हुँ । त्यहाँको संस्कृति – धर्म – ज्ञान – अनि अध्यात्म मलाई प्यारो लाग्छ, न्यानो लाग्छ, आफ्नो लाग्छ… त्यहाँका साथीसंगी, गुरुवर्ग सबैप्रति प्रेम र आदर गर्दछु । तर त्यसो भयो भन्दैमा त्यहाँका सबै हेपाहा शैली, थिचोमिचो अनि शासकवर्गको हुकुमप्रमांगी, चेतावनी या नाकाबन्दी कदापि सह्य हुँदैन । स्कुलमा गुरुहरूले सुनाउने गरेको एउटा कथा अँझै सम्झन्छु,” एउटा जापानी ठीटोलाई सोधिएछ, ‘तिमीलाई कुन भगवान् मन पर्छ?’ … ‘ बुद्ध’ उसको जवाफ । पुन: प्रश्न, ‘ यदि बुद्धले सेना लिएर तिम्रो देशमा आक्रमण गरेमा तिमी के गर्छौ?’ उसको उत्तर, ‘ म त्यो बुद्धलाई गोलीले उडाइदिन्छु ‘…..”
वास्तवमा छिमेकी देशको आततायी व्यवहार देख्दा यस्तै आक्रोश जागेको छ ।
तर पनि, मसँगैका सहपाठी साथी भन्नुहुन्छ, ‘ यसलाई अवसरका रुपमा लिनुपर्छ … ‘
हो, यसलाई अवसर बनाउन सकिन्छ । मैले अठोट गारिसकेको छु, अब म घरमा अँझै ठूलो solar panel राख्छु, खाना बिजुली मै पकाउँछु । ‘मकै, भटमास, गुन्द्रुक-ढीँडो’ मै रमाउँछु । सकभर ‘बारीकै साग’, नभए ‘भक्तपुरको काउली,पनौतीको आलु’ नै खान्छु । प्रयास आफूबाटै थाल्छु, घरैबाट गर्छु …Think globally, act locally भनेझैं Start from home, extend to country … यही नै यसपालिको जन्मदिनको मेरो संकल्प ….
