परिचय
बिर्खे अञ्जान साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो.। निबन्ध, गजल, कविता, मुक्तक, समालोचना, आदि क्षेत्रमा उनको कलम सशक्तरूपमा चलेको पाइन्छ तापनि उहाँ एक यथार्थवादी समालोचकको रूपमा बढी चर्चित हुनुहुन्छ भन्ने जानकारी मलाई प्राप्त भएको थियो । आज उहाँका ‘अवसान सपना’ कवितासङ्ग्रह र ‘शल्यक्रिया’ समालोचनासङ्ग्रह मलाई प्राप्त हुन आएका छन् । यी दुई कृतिमा आज म ‘अवसान सपना’ कवितासङ्ग्रहमा घोत्लिन पुगेको छु । उहाँको व्याक्तिगत बिबरण अनुसार उहाँको वास्तविक नाम लक्ष्मण बर्तौला र उहाँकी माताको नाम शान्ता बर्तौला हो । उहाँको जन्म खैरहनी, चितवनमा भए पनि हाल उहाँ रचनाकुञ्ज थाहा न.पा.–६ मकवानपुरमा स्थाइ बसोबास गर्दै साहित्यमा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।
सम्लग्नता
उहाँको साहित्यिक तथा सामाजिक सम्लग्नतालाई केलाउँदा पालुङ साहित्य परिषद, दोभान पुस्तकालय, बचत पीडित संघर्ष समितिको अध्यक्ष, बागेश्वरी कृषि सहकारी संस्था लि. मकवानपुरको सचिव र पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य हुनुहुन्छ ।
कृति प्रकाशन
गजलविम्ब ( संयुक्त लेखन, २०६२), ई प्रतिनिधि नेपाली गजल ( संयुक्त लेखन, २०७०), समयका स्वरहरू ( कवितासङ्ग्रह संयुक्त लेखन, २०६५), समकालीन नेपाली गजल ( संयुक्त लेखन, २०६८), अवसान सपना (कवितासङ्ग्रह, २०७२) र ‘शल्यक्रिया’ समालोचनासङ्ग्रह, (२०७२) प्रकाशनमा आएका छन् ।
पुरस्कार/सम्मान
जिल्लास्तरीय निबन्ध प्रतियोगिता– द्वितीय (२०५४), बृहत गद्य लेखन प्रतियोगिता– तृतीय (२०५५), राष्ट्रिय निबन्ध प्रतियोगिता– प्रथम (२०५६), अन्तर क्याम्पस तथा उच्च मा.वि. राष्ट्रिय निबन्ध प्रतियोगिता सर्बोत्कृष्ठ (२०५९), बृहत प्रतियोगितात्मक कवि सम्मेलन –द्वितीय(२०५९), राष्ट्रिय मुक्तक प्रतियोगिता प्रथम (२०५९), सुदूर कथा पुरस्कार अस्वीकार (२०६०), सौगात सम्मान २०६० मकवानपुर, अन्तरङ्ग गजल सम्मान –२०६० लमजुङ, मातृभूमि युवा सम्मान–२०६९ मकवानपुर, सामाजिक सेवा सम्मान–२०६९, पालुङ् बहुमुखी क्याम्पसद्वारा सम्मान २०६८) मकवानपुर, चतुर्मासा महापूराण आयोजक समितिद्वारा सम्मान २०६७, अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनद्वारा स्व. आनन्द प्रकाश रस्तोगी स्मृति सम्मान–२०१४, खटिमा, भारत, आदि सम्मान तथा पुरस्कारबाट बिर्खे अञ्जान सम्मानित भै सक्नुभएको छ ।
कृतिको संरचना
आवरण पृष्ठ सहित १६० पृष्ठमा संरचित यो कवितासङ्ग्रहमा ४७ ओटा कविताहरू समावेश गरिएका छन् । पल्लव साहित्य प्रतिष्ठानबाट प्रकाशित यस कृतिको मूल्य २५१/– रुपियाँ राखिएको छ । आमालाई भगवानको स्थान दिँदै उनै आमा शान्ता बर्तौलामा समर्पण गरिएको छ । प्रकाशकीय, भूमिका र शुभकामना दिने साहित्यकारहरूको धारणालाई पनि कृतिले समेटेको देखिन्छ ।
कृति र कृतिकारमा साहित्यकारहरूले पस्केका धारणाहरू
यस कृतिको प्रकाशकीयमा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिक्षने)ले कवि बिर्खे अञ्जानलाई समालोचनाका क्षेत्रमा ‘ धेरै साहित्यप्रेमीहरूका माझ चिरपरिचित नाम हो’ भन्दै ‘उनी मुक्त छन्द भनौ वा चलनचल्तीका भाषामा गद्यशैलीमा कविता लेख्न पनि उत्तिकै पोख्त कवि हुन्’(पृष्ठ ङ) भनेका छन् । यस कविताको भूमिका विवश पोखरेलले ‘अवसान सपना’ भित्र कवि अञ्जान’ शीर्षकमा लेख्छन् –‘ कवि बिर्खे अञ्जान सिर्जनाको बाटोबाट पश्चिम मनदेखि पूर्वीय मनसम्म आइपुगेका छन् र भोलि पुग्ने छन् उनी अँझ योभन्दा टाढा असङ्ख्य मनसम्म, असङ्ख्यदूरीसम्म’ (पृष्ठ ज) । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे लेख्नुहुन्छ –‘सन्तुलित विम्ब एव म प्रतीकहरूको प्रयोगबाट उनका कविताहरूको प्रस्तुति र कथ्य, विषयभाव र बान्की पक्षमा कविको आफ्नै मौलिक पहिचान र विशेषता छ ’(पृष्ठ ब) । नेपाल प्रज्ञाप्रतिष्ठानका प्रा.डा. ज्ञानु पाण्डे लेख्नुहुन्छ –‘अनगिन्ती असङ्गति–विसङ्गतिका साथसाथै अथाह सम्भावना पनि बोकेको यो हाम्रो, समाज अनि हामी मान्छेहरूको अस्तित्वको गाथा अञ्जानका कवितामा जुन कलाका साथ उधिनिएको पाइन्छ’त्यसप्रति सम्मोहित नहुने पाठक को होला र’ (पृष्ठ भ)? डा. घनश्याम परिश्रमीले लेख्नुहुन्छ– ‘ कवि बिर्खे अञ्जानको कवित्व शक्ति बलशाली छ, आकर्षक छ । त्यसैले श्लाध्य पनि छ’ (पृष्ठ म) । नवीन दाहालले अञ्जानको कवित्व शक्ति तथा सारतत्वलाई यसरी पस्केका छन् –‘आफूले देखेका भोगेका सत्यतालाई सरल भाषामा सरल किसिमले, भावनाका उच्छबास पोख्न सफल देखिने अञ्जानका रचनामा परिवर्तन, समानताका आह्वान र देश प्रति माया धेरै पाइन्छ (पृष्ठ २५) । मदनमणिले बिर्खे अञ्जान र उनका कविताप्रतिको धारणा यसरी पस्केका छन् –‘छोटो र सानै दूरीमै आफ्नो बौद्धिक संवेदनाको परिचय दिन सफल अञ्जानका कवितामा दयनीय देशको परिस्थिति, प्रेम प्रलाप लगायत मानवीय क्रियाकलापको सटिक व्यङ्गात्मक अनुभूति पाइन्छ ’ (पृष्ठ ४३) । मिलन समीरले कविताजस्तै कविताहरू भएको ‘अवसान सपना’ शीर्षकमा लेख्नुहुन्छ–‘जीवन, जगत र समयका विभिन्न आयमहरूलाई फरक दृष्टिकोणसँगै पृथक् शैलीको माध्यमबाट अभिव्यक्त गिएको एक विशिष्ट लेखनको रूपमा उनका कविताहरूलाई लिन सकिन्छ’ (पृष्ठ ६४) । रामचन्द्र आचार्य फूर्सतीले अञ्जानका कवितामा यसरी विश्लेषण गर्नुहुन्छ –‘आत्मिक कुण्ठा, विसङ्गति र विकृतिबाट मुक्तिको चाहना अभिव्यञ्जित अञ्जानका कविता परिवर्तन र प्रगतिशील चिन्तन बीचारधाराद्वारा प्रवाहित भएको देखिन्छ ’ (पृष्ठ ८३) । राजकुमार केसीको धारणा यसप्रकार आएको छ –‘मानवीयको समर्थनमा अन्धविश्वासको विरोध गर्दै मान्छेको आवाजको वकालत गर्ने व्यञ्जनको कलमले समकालीन चरित्र र दुर्नियतिका घाउचस्कालाई व्यङ्ग्य प्रहार गरेको छ (पृष्ठ१०३) । जीवनसागर भण्डारीले ‘गीत, गजल, कविता र समालोचनाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आउनुभएका बिर्खे अञ्जानप्रति प्रभावित भएको छु ’(पृष्ठ १२०) भन्ने धारणा राख्नुभएको छ । आफ्नै कुरालाई पनि बिर्खे अञ्जानले समालोचनात्मकरूपमा राख्नुभएको छ – ‘कविता बैचारिक रूपमा प्रष्ट हुनैपर्छ र त्यसभित्र कला थपियो भने सुनमा सुगन्ध थपिएकै हुन्छ’ यो बिर्खेको कथन हो । उनलाई न त पेरित कर्ता थाहा छ, न त यस विधामा प्रवेश गर्दा आनन्द आउने यथार्थता नै थाहा छ तर उनलाई साहित्य सिर्जनामा भने अतिनै मन लाग्छ । कविताको परिभाषा, कविता कस्तो हुनुपर्छ भन्ने धारणा, राम्रो कविता कस्ले लेख्न सक्छ, कविताको मर्म, उनको कविताको हैसियत, नेपाली कवितामा बिस्तारै आएको व्यवहारिकता, कविताको परिवेश, पुरातनवादी, सोचका कुरा, आम मानिसको परिवर्तनको धारणलाई केलाउँदै, राष्ट्रियतालाई समाउँदै, कविभन्दा कविको अभिव्यक्ति शक्तिलाई केलाउँदै कविताको सिर्जना गर्नुपर्छ भन्ने धारणा आदि सत्यकथ्य बिर्खेले आफ्नै कुरामा प्रस्तुत गर्नुभएको छ । यो एउटा साहित्य लेखनको मार्गदर्शन पनि हो ।
माथि उल्लेखित साहित्यकारहरूले राखेका अभिव्यक्तिलाई केलाउँदा र कवितासङ्ग्रहलाई विश्लेषण गर्दा अञ्जानका कविताले समसामयिक घटनाक्रमलाई केलाउने, समाजका विकृति र विसङ्गतिलाई प्रष्ट्याउने, व्यङ्गशैलीमा कविता पस्कने, परिवर्तनको मार्गलाई अवलम्वन गर्नेजस्ता सफल प्रयासलाई लेखनमा अवलम्बन गरेको देखिन्छ ।
कृतिभित्र प्रवेश गर्दा
यसकृतिमा समावेश गरिएका कविताहरूको मैले बुझेको सार यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु–
समय कविको पहिलो कविता हो । यसमा समय गतिशील छ, इतिहास बाकेको हुन्छ, समनताको खोजी, ‘सपना पालेका आँखाहरूमा जीवनको रङ्ग पोत्नु पर्छ र, विश्वासको भर्याङ चढेर गन्तव्यको नवीन मार्ग खोज्नु पर्छ’ भन्ने जस्ता गहन धारणा पस्किएको छ ।
प्रश्न कवितामा नारी स्वतन्त्रताको खोजी गर्दै प्रश्न राखिएको छ– ‘सोध्नु छ एक पटक पुरुष सत्ताको कठपुतली सारकारसँग श्वासत प्रेमको मन्दिरमा कहिलेसम्म नारी सर्कसको बाँदरजस्तो नाचिरहनु पर्ने हो ? पराधिन जिन्दगी बोकेर कहिलेसम्म हाँसिरहनु पर्ने हो’? नारीले भोग्नपरेका भोगाइलाई महत्वका साथ प्रस्तुत गरिएको छ कवितामा पर्खनु कवितामा डोल्मालाई, मुग्लानमा भासिएको र ऋणको पसिना बगाइरहेको प्रेमी/पतिलाई उसैको नाममा देउरालीमा फूलपाती चढाएर, विश्वासलाई नभत्काइकन, शङ्काको बीउ नउमारीकन, मायाले लेखेको प्रेमको इतिहास पढेर, पर्खेर बस्ने धारणा राखिएको छ ।
अनुहार कवितामा कविले थरिथरिका अनुहारहरूको बर्णमाला पढिरहेको, सिर्जनाकर्ता को हो ? अन्तिम गन्तव्य कहाँ हो, के प्राप्त गर्न सक्छ उसले, सबै अनुत्तरित छ, तापनि पूजा गर्ने, ढोँग बाँच्ने, आदर्शका भाषण गर्ने, प्राय सुत्केरी आमाको बलत्कार गर्ने आदि विविध कर्ममा लिप्त मानवमा नियति नबद्लिएको, आस्थाको निर्मल बाटो नहिडेको, अबान्छित गतिविधि गर्ने गरेको, आदि मानव कर्म र त्यसबाट सिर्जना हुने दुष्परिणामलाई प्रष्ट्याउने प्रयास गरिएको छ ।
दाइ काठमाण्डौँ जानु भा’छ कवितामा कविले काठमाण्डौँमा गरिने विविध नकरात्मक कामको लेखाजोखा गर्दै भन्नुहुन्छ – ‘ हो काठमाण्डौँ दुर्योधनको नेतृत्वमा पाण्डव हत्याके योजना बनाइरहन्छ र अन्तिम महाभारतको कल्पनामा शकुनी पद प्रदर्शन गर्दछ’ भन्ने धारणा पस्किएको छ ।
कफ्र्यू – यस कवितामा कविले देशमा लगाइने कफ्र्यूमा अर्धमार्गमानै सबैलाई पार्दै, समयलाई नै भयभित बनाउँदै, आतङ्कित भएर परिवेश परिवेशसँगै नतमस्तक बनाउँदो रहेछ यस समयमा मानिस शालिकजस्तो भएर ‘एउटा जडता बोकेर मान्छे मान्छे होइन कफ्र्यू नै बन्नुपर्दो रहेछ–कफ्र्यू लागेको समय’, भन्ने धारणा आएको छ ।
नयाँ वर्ष– नयाँ वर्ष एउटा लगातारको प्रकृया हो यो ‘टुप्लुक्क आउँछ र थाहा नपाइ टुप्लुक्क भाग्छ’। नयाँवर्षमा चल्दै आएका हुरी बतास, बाडी, गरिबी, चेलीबेटी बेच बिखन, अनिकाल, शान्ति सद्भाव ल्याउनेकाम, युवाको विदेश पलायन, समयको बढ्दोक्रम, बैमानी बैमनश्यता, आतङ्क, आदिमा कमी आएको छैन र यस्तो अवस्थामा नयाँ वर्षको उल्लास मनाएर के हुन्छ ? ‘साँच्चै नयाँ वर्ष मनाउने नै हो भने सायद त्याग्नुपर्छ अलिकति मोह फाल्नुपर्र्छ क्रोध र, हटाउनै पर्छ लोभ ’ भन्ने धारणा आएको छ ।
उर्दीका मान्छे–यस कवितामा कविले हिजोको इतिहास, सहिदको त्याग केलाउँदा मानिसको रगत पिएर, सन्तान टुहुरो पारेर, अवलाको सिन्दूर पुछेर भ्रमका पर्चा छरेर, गुमराहमा राखेर सत्ताम पुगेको, निरङ्कुश र क्रुर शासन तथा नयाँ व्यवस्था आएको देखिन्छ तर गरिबका आँसु पुछेको अभाव हटेको, अस्थिरता र अराजकता हटेको पीडाको अन्त्य, सत्यको खोजी, गरेको देखिदैन भन्दै सडक भरीका हूललाई कस्ले उर्दी लगाएर उफ्रेका हुन् भन्ने प्रश्न राखिएको छ ।
इतिहाँस–इतिहासमा पीडाको कहानी, अभाव, रोग, भोग शोकका कुरा लेखिनु पर्नेमा नलेखिएको प्रति आक्रोश पोख्दै ‘कुन उल्लुले लेख्यो, हाम्रो इतिहास र, मेटाइदियो आम नेपालीको कहानी’ प्रश्न राखेका छन् कविले ।
पहाड–आज देशमा देखिएको राजनीति, कुर्सीको हानथाप, देशमा देखिएको गाईजात्रा, अशान्त, भए, त्रास, सहमति सहकार्य आदि विभिध कार्य र पहाडको उन्माद विहीनको अस्मिता, सपना रहितको वैभवता, शिष्टता, सभ्यता शालीनता, षडयन्त्र रहित, कमिसन रहित, स्वाभिमान, निर्भिकता, निष्ठता आदिमा तुलनात्मक धारणा राख्दै, ‘हिजोजस्तै पहाड पहाडै भएर बाँचोस्, ननिहुरियोस्, नझुकोस्, बाँचेर इमान, उभियोस् हिमालझैं’ भन्ने कामना गरिएको छ ।
राजनीति–कविले राजनीतिले सफल र सवलबाटो अबलम्ब गर्नु पर्नेमा सो नभएको र जनतालाई बलिको बोको बनाएर भोट लिएर बालुवाटारमा पुगेर चिल्लोकारमा चढेर आफ्नो स्वार्थपूर्ति गर्ने र देशमा अशान्ति निम्त्याएर कुरुक्षेत्र बनाउने काम कहिलेसम्म रहिरहन्छ भन्ने धारणा आएको छ कवितामा ।
सहर पसेपछि– यस कवितामा कविले सहर पसेपछि मान्छे संवेदना, चेतना, विवेक सबै शून्य हुने र उसमा अलिकति आडम्बर, ढोंग, निरीहता, धेरै अहङ्कार बाँच्ने तर स्वय म नाङ्गिएको थाहै नपाउने, सहरमा मान्छेबाटै मान्छको सिकार खेल्ने, हत्केलामा कोमलता हराइ धारिला नङ्ग्राहरू पलाउने, दाग लागेको घिनलाग्दो अस्मिता बोकेको, हिंस्रक बनेको थाहै नपाई बेमतलबी बन्छ सहर भन्ने धारणा आएको छ ।
दशैंँ कवितामा खसीबोका काटिन,े वियरको बोत्तल रित्तिने, कार्डपत्ति खेलिने, गिंजा सुनिने गरी मासुका चौटा लुछिने, सहरमा भीड हुने, सहरले ढुङ्गाको देवतालाई नढोगिने, आस्थाको शिर ननिहुरिने श्रद्धाको फूलपाती नचढाउने, आध्यात्मिक जडताको पराकाष्ठ सिवाय अरु नसोच्ने तर गिजोलेर इतिहासको जङ्गे पिलर भत्काउन खोज्दै, नग्नताको विज्ञापन गर्दै सहरले दशै. मनाउँछ । सपनाको हाटबजारमा गाउँलेले दुःख/वेदना, यातना सहेर पनि अलिकति स्वाभीमान, नैतिकता, हार्दिकता, इतिहास/परम्परा कौमार्यता बचाएर राख्छ । त्यसो हुँदा दशैमा हाँसो, खुसी, ‘एक धरो राम्रो नाना र केही छाक मीठो खाना गाउँले खान पाउनै पर्छ’ भन्ने धारणा छ कवितामा ।
र, अर्को पीडा– यस कवितामा कविले सात सालदेखिका राजनीतिक परिवर्तनमा हामी सफलतातिर नलागि पीडा भोगिरहेका छौं र समयले हामीलाई नै डामिरहेको छ । प्राप्त गरिएको लोकतन्त्रमा पनि गरिबी छ, अभाव छ समानतामा भोकको भकारी चुलिएको छ र नेपालीका छोराहरूले ‘शरणार्थी जीवन भोगेर रेगिस्थानमा आफ्नो भविष्य खोजिरहेछ’ भन्ने धारणा पस्किएको छ ।
साला बिर्खे अञ्जान –यस कवितामा कविले साला बिर्खे अञ्जानलाई चुरोटको धूवाँको मुस्लोसँग त्रासादि छ, ऊ मान्छेभन्दा पनि मानिसको महत्वाकान्छासँग, बास्तविकताभन्दा बढी कृत्रिम बाँचिरहेकासँग स्वाभिमान जोगाउने नाममा घमण्ड पालेकासँग, आडम्बर ओकल्नेसँग डराउँछ । उससँग भविष्य अन्धकार भएको टाटो जो वर्तमानजस्तै अन्योल छ, उसले सुनामी बोकेर रेगिस्तानमा बाँच्छ, ‘र सधैं–सधैं ओठबाट खसेको मुस्कान बोकेर अवसान सपनाको मलामी गैरहन्छ ’ भन्ने धारणा पोखिएको छ ।
मुक्तिको खोजीमा – नारीवादी चिन्तन बोकेको यस कवितामा पुरुषसत्ताबाट नारीको स्वतन्त्रता, परम्पराको हतकडीबाट गरिएको कैद र दैनिक अत्याचारको शृङ्खलाबाट मुक्तिको खोजी गरिएको छ र कुनै प्रकारको आत्मसमर्पण गर्न नसकिने, पुरुषसत्ताको मनोमानी समयसँगै बदलिनु पर्ने धारणा राख्दै कवि लेख्छन्–‘बिस्फोटित समयको संघारबाट एकपटक फेरि जुरुक्क उठेर घोषणा गर्नु छ एउटा चकित अभिव्यक्ति र, तय गर्नु छ –विश्वासको यात्रा ’ ।
माने भञ्ज्याङ्ग– यस कवितामा कविले समयको पर्खाइमा ध्यान मग्न भएर उदासिनताको नीलोफूल फुलाएर समयको सुकमोल मुस्कान पर्खेर, लासकुरे सरह, छातीमा सल्लाका रूख उमारेर एकजोडी ढुकुर, मृग, कालिजका बथान बसाएर उभिएको छ माने भञ्ज्याङ्ग भन्दै कविले प्राकृतिक सौन्दर्यता र चल्दै आएको परम्परामा आएको परिवर्तनले गर्दा माने भञ्ज्याङ्गले पनि मानिसझै अवसरको खोजीमा उदास–उदास इतिहासको बिस्कुनहालेर बसेको धारणा पोखिएको छ कवितामा ।
इमानीहरू–इमानीहरूले पैसाको प्रलोभनमा स्वाभिमान बेच्दैनन्, नैतिकता लिलाम गर्दैनन्, जति कष्ट भोग गर्न परे पनि सौहार्द बाँड्दै हिडछन् र हार्दिकता फुलाउँछन्, आफूलाई बलिदान दिन परे पनि सहनशीलताको बाँध भत्काउँदैनन््, जेजस्तो परिस्थितिको सामना गर्नु परे पनि सूर्य/चन्द्र जस्तै नडग्मगाई निर्भर अटल रहन्छन् भन्ने धारणा आएको छ कवितामा ।
सहिद–१ यस कवितामा कविले हामी र सहिदमा आकाश र धर्तीको जस्तो फरक छ,त्यस्तै फरक हुन्छ । हिजाको समय असजिलो अधिकार विहीन थियो तर सहिदको बलिंदानको कारणा आज यो देशमा अप्राप्य र अदेय केही छैन । तर हिजो र आजमा फरक यत्ति छ कि ‘पहिले हामी रित्तो थियौं’ तर ‘अहिले भरिएर पनि पोखिएका छौं’ भन्ने धारणा पोखिएको छ ।
सहिद –२ – यस कवितामा कविले सहिदले सारा यातनालाई भोगेर देश र जनताको लागि निर्दिष्ट रेखा कोरेर छाडेकाले ‘हामी बाँचेर पनि मरेकाजस्ता तिमी मरेर पनि बाँचेका सहिद !तिम्रो चिहानमा मेरो जीवनको सार्थकता नियालिरहेछु’ भन्ने धारणा आएका छन् ।
सपनाको सपना – यस कवितामा कविले दिनभन्दा रातलाई महत्व दिएका छन् किनकि बगेको आँसुको झर्ना र अग्लिएको पीडाको सगरमाथा रातभरि बिर्सने र देखिने रङ्गिन सपना, सपना आँखाहरूमा नाच्ने, अभाव रहित, आकाश,धर्ती, उकाली ओराली, समाज, सभ्यता सबै सबै सुन्दर लाग्ने भएकोले तर आजकाल मनको संघारमा सपना सालिक भएर उभिएको छ र सपनाको पनि सपना छ र सपना बिपना होस् भन्ने धारणा आएको छ कवितामा ।
नियति–जीवन र जगतसँग सम्बकन्धित यस कवितामा कविले जीवन र भाग्यको बाटो उस्तै भए पनि फरक भएको कर्मरेखाहरू फुटेकोले जीवन दुख्ने गरेको र जगत दुख्न छाडेको, आस्थाको प्रदेशमा तुषाराको वसन्त आए पछि, स्वाभिमानको गीत गाउँदिन भन्छ हत्केलाहरू, एक टुकी उज्यालो मनले नखोज्ने, अभावको संविधानमा नैतिकताको कानून लाग्ने, आश्वासन रित्तो र खोक्रो लाग्ने, आदि विविधताले गर्दा जीवन किन खोक्रो लाग्छ भन्ने प्रश्न राखेका छन् कविले ।
मृत्यु बाँचेका आजका मान्छेहरू–‘मर्न जति सजिलो छ बाँच्न त्यति सजिलो छैन’ तर मान्छे मृत्युवाट जोगिएर बाँच्न किन खोज्छ भन्ने प्रश्न राख्दछन् कविले आजको मानिसमा खुसी रित्तिएको, उन्मुक्ति सिद्धिएको, र सबै रित्तिए पछि मृत्यु बाहेक केही छैन भन्दै लेख्छन् –‘ यष्हाँ जीवन छैन चाहेको जस्तो, मैले खोजेको जीवन, प्राप्तिको पूर्णता र सृष्टिको सम्पूर्णता हो ’ । वास्तवमा सार्थकता विहीनको जीवन के जीवन ? यो जीवन त मृत्युतुल्य नै हो ।
क्रान्ति योजना – मानिस उन्मुख हाँसो हाँस्न पर्नेमा हाँस्न नसक्नु, शून्यतामा आँसु पिउँदै बाँच्नु यस्को कारण फूल रोपेको भ्रममा काँडाहरू फुलाइरहनु हुनत यहाँ जेगरिन्छ मानिसले मानिसको लागि नै गर्दछन्, तर पनि आस्थाका बोट लानेहरूले विश्वास नभएर आश्वासन बाँड्ने काम गर्दछन् छेपाराका झै रङ बदल्छन् र मानिसलाई झुक्क्याउँदै जङ्घार तर्छन्् । यस्ता षडयन्त्रकारीको प्रतिक्रियामा कान्त्रि रोजेर उमोध अस्त्रहरू तेर्साउने छौं भन्ने धारणा आएको छ कवितामा ।
प्रियजन– आजको समाजमा आफ्ना भन्नेहरूबाटै सुभलो चिताइँदैन, खुट्टा तान्ने प्रबृत्ति छ, आफन्तको उन्नतीमा तानाबाना बुन्ने सकस र सङ्कटको महसुस गर्ने, सत्यलाई सत्य र झुटलाई झुटभन्दा गल्ती ठान्ने, उनीहरूको दासत्व स्वीकार्न पर्ने र मौका मिले सदाकालागि बिदा गर्ने चाहना राख्ने आफन्तहरूलाई कवि भन्छन्– ‘धन्य छन् मेरा आपन्तहरू जो मेरो दीर्घायुको कामना हैन हरेक दिन भाकल गर्छन् –मृत्युवरणको’ ।
आमा–यस कवितामा कविले आमा र पुरुषबर्गको बीचमा देखिने बहुआयमिक विविधतालाई विश्लेषण गर्दै आमामा, सिङ्गो जिन्दगीको रहरलाग्दो त्याग बलिदान र कर्तव्यको दस्तावेज, सिक्नै पर्ने नयाँ पाठको अनुवाद, आदर्शको सिङ्गो किताव, संस्कार–संस्कृतिको दस्तावेज, अथाह उत्सर्गमा निर्लिप्तता, अनुभवको विद्यालय, सुन्दर सृष्टिको निर्माण कर्ता आदि अद्वितीय गुणहरू प्राप्त गर्न सकिन्छ जो पुरुषबर्गमा पाइँदैन भन्दै कविले भन्छन् – ‘सत्कारको नाममा/समर्पणको नाममा यो संसारमा कुनै ठूलो चिज छ त त्यो आमा नै हो आमा केवल आमा आमाभन्दा ठूलो चिज अरू के हुन सक्छ ?’
गाउँ –१ – आजको समयमा गाउँले भोगेका यथार्थ कष्टकर भोगाइलाई कविले प्रष्ट पार्दै भनेका छन्् –
तथाकथित
सन्तुष्टिको सास फेरेर
दङ्गाग्रस्त चेतनाको शिविरबाट
दुर्घटित जेब्राक्रसमा स्वाद वेस्वादको
एउटा पट्यारलाग्दो जिन्दगी बाँचिरहन्छ–
ठिहीमा उभिएर विचरो ! गाउँ ’ ।
गाउँ–२– यस कवितामा पनि कविले गाउँको अभावग्रस्त जीवनको साकार चित्र उतार्ने प्रयास गरेका छन् । गाउँलेले हिजो आज र भोलि पनि रोयर बिताउन पर्ने धारणा राख्दछन् ।
धूर्त मान्छे र खण्डहर सपना– यस कवितामा कविले मानव र पशु बीचको प्रबृतिलाई विश्लेषणात्मक तुलना गर्ने प्रयास गरेका छन् । भेडाको बथानमा एकता छ,काग चाराको खोजीमा एकता बद्ध छन्,बकुल्लाहरूमा पनि एकता छ, र जनावर शान्त र हार्दिकतामा बाँचेका छन् । भोक लाग्यो भन्दैमा बाघले बाघको हत्या गर्दैन, सिंहले सिंहको हत्या गर्दैन तर मानिसको जिन्दगी व्यार्थ छ, लाछी छ, लाचार छ, मानिस मानिसकै त्रासमा बाँचिरहेछ, मान्छेले मान्छेलाई नै दबाउँछ, मानिसमा ममता बलिदानी र कुर्वानी छैन, भ्रमको प्रपञ्च रच्छ, मान्छेले मान्छेकै सपना बेच्छ, मान्छेकै सिकार गर्छ, भन्दै कविले एउटा प्रश्न तेस्र्याएका छन्– ‘ …र कि ऊ स्यालभन्दा तुच्छ ब्वाँसोझै वेमानी र धूर्त छ’ ?
रूपचन्द्र – यसकवितामा रूपचन्द्रका सालिकलाई लक्षित गर्दै, उनले गरेको योगदानको स्मरण गर्दै, तिम्रो सालिक त खडा गरियो तर ‘तिमीले भोगेको/महसुस गरेको र, तिमीले नै प्रतिपादन गरेको युगले पढ्नुपर्ने एउटा स्थूल कथा लेखिएको छैन’ भन्दै नयाँ नेपालको गणतन्त्र चाख्नको लागि व्यङ्गशैलीमा आउनुको लागि आह्वान गरिएको छ ।
जीवन सङ्घर्ष र चिन्तन– कविले जीवन बाँच्नलाई ‘सङ्घर्षको आकाङ्क्षा र,उत्साहको सगरमाथा चाहिन्छ’ भन्दै जीवन सरल छैन, अलिकति जीवनको रङ्ग बदलिएको छ, समाज पनि बदलिएको छ, जीवनमा तपस्या र बलिदान पनि गर्नु पर्छ ‘जीवन पीडामै सिंगारिन्छ, वेदनामै हुर्किन्छ र सपनामै सुगन्धित हुन्छ’ । ‘जीवनको अन्तिम, सत्य–सङ्घर्ष हो /व्यग्रता हो क्रुरताको यथार्थता पनि हो, आशा आकाङ्क्षा नै जीवन हो/जगत हो’, भन्ने धारणा पस्केका छन् कवितामा ।
गोर्खे साइँलो–१, यस कवितामा गोर्खे साइँलाले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको बर्णन गरिएको छ । साथै उनको साहित्यतिरको अग्रसरताको कामनाको साथै लगनशीलता, उनको साहित्यतिरको निरन्तरताको प्रसंशा गरिएको छ । ‘रक्तमुच्छेल इतिहासको अर्को पानामा सुन्दर साहित्यको अमिट एउटा नाम लेखौं’ भन्ने आग्रह गरिएको छ । वास्तवमा गोर्खेको साहित्यमा गरेको योगदानको प्रसंशा जति गरे पनि कमै हुन्छ ।
जन्मदिनको अवसरमा –यस कवितामा पनि कविले आमाका ती बलिदान, त्याग र ममताले भरिएका दुःखका कहानीलाई स्मरण गर्दै छोरा गोर्खेले आज आफ्नो जन्मदिनको खुसीयाली मनाइरहेको धारणा पस्किएको छ । राजकुमार– कविले राजकुमार(एउटा साधारण व्यक्ति)लाई एउटा साथीको रूपमा लिंदै केही नहुँदा नहुँदै पनि, नैतिकता, स्वाभिमान, कर्मठ हात, पाखुरी आदि सबै सबैमा पूर्ण भएको र विश्वास, इमान, नैतिकतालाई जोगाउन पर्ने सुझाव दिने, कविको आँखा, मुटु, हात, जीवन, जगतको रूपमा रहेको र ‘ऊ हिमालझै कञ्चन छ र अरूलाई पनि पानी जस्तै सँग्लो बनाउन चाहन्छ ’ भन्ने धारणा आएको छ कवितामा ।
कान्छि – यस कवितामा कविले कान्छी शीर्षकमा अभावमा बाँच्न बाध्य भएका, पीडामा डुवेका, शरणार्थी मन बोकेका भए पनि खुसी बाड्ने, दह्रो मुटु भएका, मस्तिक कोमल, पग्लन सक्ने, दैविक शक्ति, हार्दिकताको न्यानो छर्ने, स्नेहको सगर उभ्याउने, कपट–छलछाम रहित, समनताका धारणा र विश्वासका बोट सहित रहेका कान्छीहरू जीवनका वर्तमान, इतिहासको भूत र ‘सुनौलो, प्रभातको स्वर्णिम भविष्य पनि’ हुन् भन्ने धारणा पोखेका छन् । मौन उपस्थिति –समय सापेक्ष यस कवितामा कसैको छाती टेकेर, कसैको गर्धन निमोठेर, इज्जत लुटेर, बोकासा र हिटलर बनेर, रगतको होली खेलेर, आफ्नै भूमिमा रगतको खोलो बगाएर, आफ्नै माटोमा चित्कारको आवाज सुनाएर अघि बढ्नुभन्दा यथा स्थानमा रहनु राम्रो भन्ने धारणा पोखेका छन् कविले ।
टक्क उभिएको बाटोमा–प्रेममा प्रभावित यस कवितामा एउटाचौतारीमा हेराहेर भएको, मौनताका कुरा भएको, उनको हेराइमै वेहोस भएको र विउझदा मनभित्र मस्तिष्क भित्र हलचल मच्चिएको थाहै नपाई उनी आँखाबाट सुटुक्क मनभित्र प्रवेश गरीे मनको ढोका ढकढकाउन थाले तर उनलाई थाहा छ या छैन कवि भने उनकै प्रतिक्षामा बाटोमा टक्क उभिएको धारणा पस्किएको छ कवितामा । एकतर्फि प्रेमको नतिजाले सजिएको कविता हो यो ।
सहर छोड्नु पूर्व– सहरको सम्पन्नतालाई छाडेर विपन्नता, गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार सबै सबै भएको गाउँ जाँदैछु । सहरमा छलछाम, जालझेल, कपटलाई समातेर माथि चढ्ने मानिस देख्दा सुन्दा र बुझ्दा कठोर कुरूप, सफा राख्न खोज्ने सहर तर हुने दुर्गन्घितजस्ता वातावरणलाई छाड्दै यस्ता क्रियाकलाप रहित गाउँ जानको लागि कविले भन्छन् – ‘ टक्क उभिएर म पर्खिरहेछु –गाउँ जाने बस’ ।
ऐंँठन– राष्ट्रियताले भरेको यस कवितामा कसैले सपनामा देश मुर्दा भएको धारणा कविसँग राख्छ । कविले यस कवितामा देश भनेको माटो, भूगोल, सीमानाको जङ्गे पिल्लरमात्र नभएको र देशको माटोमा आस्थाको फूल फुल्न छाडेको, देश दिन दिनै लिलीपुट हुन थालेको छ, भन्दछन् ।कविको धारणा छ देश देश हुनको लागि एकता, सहयोग, समर्पण, सद्भाव, त्याग बलिदान चाहिन्छ तर आज यी चीज भेटिदैनन् बरु देश चुस्दै स्यालहरू सिंह बन्न लागेका छन् । कालापानी बेच्दै छन्, सुस्ता बेच्दैछन् । देशको भाषा, संस्कृति र स्वाभीमान बेच्ने विज्ञापन छापेर देशको उच्च पदमा आसिन छन् । एकहूल राष्ट्र भक्त हु म भन्नेहरू देशलाई बधशालामा टुक्रा टुक्रा पार्दै छन् जस्ता आजका जल्दाबल्दा घटनालाई कविले प्रष्ट पारेका छन् ।
ठटारो जिन्दगी– जीवन जगतका अयार्थतालाई कविले प्रष्ट्याउने प्रयास गरेको देखिन्छ । कवि चाहन्छन् जिन्दगीको बोटमा खुसी/हाँसो/उमङ्ग र उद्वेग फुलेको, खुसीको फूलबारी देख्न, /उत्प्रेणाको देउराली भेट्न, उत्साहको सगरमाथा टेक्न, आकाङ्क्षाको सिरक ओढेर मस्त निदाउन तर पाउँदैनन् बरु पाउँछन् आँसु/पीडा/मर्म र अपघात, कतै ऐठन, कतै अवसाद, कतै उत्तेजना, खिन्नता/हतारोपन /इर्षा र खेद । मानिस ‘किंकर्तव्यविमुढ जिन्दगी नामको एउटा थोत्रो ठटारो घिसारिरहन्छ पुग्नकै लागि नपुगिने /नभेटिने यात्रा निरन्तर निरन्तर फेरि निरन्तर’ भन्ने कविको धारणा छ । वास्तवमा जिन्दगीको यात्रा अनिश्चित छ र, तापनि मानिस निरन्तरतामा लागिरहन्छ ।
विपरित अनुभूति– आजको यथार्थ भोगाइको मार्ग समातेको यस कवितामा प्रकृतिको निरन्तरता उही थियो, छ र रहनेछ तर तिम्रो र मेरो बीचको अनुभूति भने हिजो र आजमा बिपरित हुन पुगेको छ भन्ने धारणा देखिन्छ कवितामा ।
आजको मान्छे – यस कवितामा कविले मानव जीवनका आधारभूत तत्त्वलाई केलाउने प्रयास गरेका छन् । कवि चाहन्छन् –मानिस मुसुक्क हाँसोस्, धित खोलेर बोलोस् अपनत्व टुसाएको होस्, ममता/स्नेह पक्रेको सौहार्द्रता/सहयोग फैलिएको होस्, संवेदनशील होस् तर आजका मानिसमा संवेदना हराएको छ र मानिस जड/निर्जीव मतलवी भएर अघि बढेको छ भन्ने धारणा आएको छ ।
गोर्खे साँइलो–२–यस कवितामा कविले गोर्खे साइँलोलाई सम्बोधन गदैर्, देशले भोग्न परेका यथार्थतालाई पस्कँदै, मानिसले उज्यालाको खोजी गरेका, सडक बालकले भोग्न परेका पीडा, पाउन नसक्ने नागरिकता, षडयन्त्रकारी नेता आफ्नो नागरिक नचिन्ने सरकार, अविश्वास, अराजकता, युवाहरू रोजगारीको लागि बेचिएका, अस्मिता बेचिएका कान्छीहरू, देशमा देखिएको हानथाप, विध्वंस, भद्रगोल, आदि आदि कुरीति कुसंस्कारको अन्त्य गर्दै देशलाई स्वच्छ र निर्मल गराउने धारणा राखेका छन् ।
समय र सम्झना–यस कवितामा आमालाई सम्बोधन गर्दै कविले अर्गानिक (सजीव) सम्बन्धको सिरानी माथि बा को चित्र झुण्डिएको छ भन्दै –‘अचेल म ममताका लागि आमा हो यो परिवेशमा बा को सहारा खोजिरहेछु’ भन्ने धारणा पस्किएका छन् ।
सद्भावना–यो कवितामा कविले मानिसको प्रबृत्तिलाई केलाउने प्रयास गरेका छन् । उनले मान्छेमा समनताको टुसा कहिले पलाउला, नसा नसामा कहिले संवेदनाको रगत बग्ला, आँखाले सबैतिर कहिले देख्छ ममता भन्ने प्रश्न राख्दै ‘सद्भावना नफुलेसम्म बस्ती–बस्तीमा मान्छे कहिल्यै हुन सक्दैन मान्छेजस्तो’ धारणालाई ठोकुवा गरेर लेखेका छन् ।
अवसान सपना– यसै कविताबाट कविले आफ्नो कृतिको नामाकरण गरेका छन् । यस कवितामा कविले सीमारेखा तोडेर प्रेमको राजधानी प्रवेश गरेका छन् । अनगिन्ती विभ्रम बोकेका आँखाहरूमा गुँरास फूल्ने नफुल्ने भगवानलाई साँक्षी बोकाइ गरिएका रङ्गिन कसमहरू, आदर्शका तोडाईहरू, सम्बन्ध ब्रेकको औंठा छाप लगाएर गएका कुराहरू, वर्षौं लेखेका प्रेमको इतिहासलाई आफ्नै पैतालाले सपना बोकेका प्रेमका चित्रहरू मेटेका कुराहरू विविध खाले बाधा अडचनहरूलाई नियाल्दै कविले भन्छन् –‘ हो तिम्रो सहरमा अवसान सपनाको मलामी बनेर बैमनस्यता कसरी बाँच्छ हेर्नकै लागि, तिमीले लगाएको सीमा रेखा तोडेर भर्खर आएको छु –प्रेमको राजधानी ’ । यस कवितालाई विस्तृतरूपमा विश्लेषण गर्दा यो कृतिको ‘अवसान सपना’ शीर्षक रखाई सार्थक छ भन्न सकिन्छ ।
लाचार देश– यो यस कृतिको अन्तिम कविता हो । यस कवितामा कविले गत हामीले भोगेको भूकम्पको पीडालाई समेटेका छन् । भूकम्प सुटुक्क आएको, भुसुक्क्ै पारेर मुटुमा पीडाको किला ठोकेर गएको, पीडादाइ भोगाइ सबैले व्यहोर्न परेको र यस समयमा देशले लासको व्यपार गरेको, यातनाको भीख थापेको, राहतको नाममा आशङ्काको त्रिपाल बाँडेको, छिमेकीहरूसँग झुकेको, स्वाभिमान तिलाञ्जली दिएको एक आङ कपडा दिन नसक्नेहरू नै देशको कुर्सीमा बसेका ‘र, लाचारी भाषण ठोकेर आफ्नै नागरिकको रगत चुसिरहन्छन्’ भन्ने धारणा आएका छन् कवितामा ।
कृतिले अङ्गालेका विविध पक्षहरू
यस कृतिले प्रस्तुत गर्न खोजेको विषय बस्तु त मैले कृतिका भावसारमा माथि नै प्रसतुत गरेको छु । माथिका हरेक कविताले बोकेका धारणाहरू सरल, सहज र सबैले बुझ्न सक्ने खालका छन् । वास्तवमा साहित्य समाजको दर्पण हो । समाजमा चल्दै आएको घटनाक्रमलाई समय सापेक्ष अङ्गाल्दै कल्पनालाई समाल्दै कलात्मकरूपमा यथार्थपरक प्रस्तुति गर्न सक्नूनै साहित्यकारको खुबी हो । यो खुबी बिर्खेमा मौजुदा रहेको मलाई अनुभूति भयो । भूमिकाकार विवश पोखरेल लेख्नुहुन्छ –विशेष गरेर तीन ‘स’बाट प्रभावित छन् उनका कविता । समय, सहर र सपना जुन उनका अधिकांस कवितामा पाइन्छन् (पृष्ठ फ) । मेरो अध्ययनले पनि यस कुरालाई मनन गरेको छ । प्रायः कवितामा समसामयिकतालाई कविले समाउने प्रयास गरेका छन् । यसरी नै सपना शब्दको प्रयोग पनि अभिकांस कवितामा पाइन्छ । कविले सपना देखेको दिवा सपना नभएर अग्रगमनकारी, उज्ज्वल भविष्य निर्माणको लागि देखेका सपना छन् जुन समाजका हरेक व्यक्तिले देख्ने गर्छ र देखिएका भविष्य निर्माणका सपनालाई साकाररूप दिन चाहन्छन् कवि तर कविले ती सपना अवसान भएको पाउँछन् । उनका कवितामा सहर र गाउँको आर्थिक सामाजिक, प्राकृतिक, नैतिक, शैक्षिक आदि विविध पक्षमा तुलनात्मक तथा विश्लेषणत्मक प्रस्तुति पाइन्छ । सहरमा बसोबास गर्ने चलन बढ्दो छ किनकि सहर सुविधायुक्त ठानिन्छ र सम्पन्नतायुक्त मानिन्छ तर कवि यो सम्पन्नताभन्दा अर्गानिक( जैविक) गाउँ नै मन पराउँछन् र सहरबाट गाउँ जान बस कुरेर बस्दछन् । सहरमा कृतिमता र आडम्बर बढी हुने तर र्नैतिकता स्वाभिमान आदि सत्यतामा आधारित चीज गाउँमा मौजात छन् र जीवित छन् भन्ने ठान्छन् । कवि प्रष्ट छन् आफ्ना धारणा राख्न, सबैका मनका भावना समेट्न, विचारको आदान प्रदान गर्न, सबैलाई अनुभूति दिलाउन । उनले समाजमा व्यवहारमा नै समानता चाहन्छन् । मानिसले मानिसमै गर्ने गरेको शोषण दमन र मानव कुप्रबृतिमा सहमत छैनन् कवि । यिनका कवितामा नारीवादी चिन्तन, नारीमा अस्त्त्विको खोजीका कुराहरू पनि धन्किएका छन् तर नारीका पीडा आदिमा यिनले परिवर्तन पाउन सकेका छैनन् । प्रेमप्रणयका कुरामा कविले प्रेमलाई जीवन्त र दरवीलो राख्न चाहन्छन् । आज देशका युवाहरू विदेशिएका छन् । स्वरोजगारको धारणा पनि कवितामा कविले समेटेका छन् । काठमाण्डौको वेथिति, अराजकता, संवेदनाहीनतामा कविले राम्रै व्यङ्ग कसेका छन् । कवितामा भौगोलिक पीडा, राजनीतिक वितृष्णा, स्रष्टा सम्मान, स्थान विशेषको प्रस्तुति, क्रान्ति, मानव जीवन र जगतका कुरा, इतिहासका कुरा, मानवले भोग्न परेका यथार्थताहरू कविले बिबरणात्मक रूपमा प्रस्तुत गरेका छन् । कविले प्रस्तुत गरेका आमाप्रतिको अगाध श्रद्धा र माया अतुलनीय देखिन्छन् । सहिदका सपनालाई पुरागर्ने दायित्वलाई पनि प्रस्तुत गर्न भूलेका छैनन् कविले । कवितामा प्रयोग भाष सुन्दर सरल र मिठो छ, विम्बको प्रयोग भएको पनि पाइन्छ ।
अतः कवि अञ्जानका कवितामा समसामयिकतालाई समेट्ने प्रयास भएको छ । प्रथम कृति भए पनि कविको प्रस्तुति सघन छ र सफल छ । कुनै पनि बस्तु/चीज पूर्ण हुँदैन तापनि कवि पूर्णता प्रदान गर्न प्रयासरत देखिन्छन् । निरन्तरताले परिमार्जनको मार्ग पहिल्याउँछ । कवि अञ्जानमा पनि निरन्तरताको खाँचो देखिन्छ । सफल कृतिको प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै नयाँ कृतिक चाँडै पढ्न पाइवस भन्ने कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
कावासोती न.पा. बडा नं ७ शान्तिचोक नवलपरासी ।
मिति २०७२ साल मुगसिर महिना १६ गते
