Skip to content

प्रकृतिमा विलिन विज्ञान–गुरुको सम्झनामा

20151213_NandaLalAcharya-ArticleOnPurushottamYadav


एक साँझ फेसबुकमा शिक्षक मित्र प्रकाशचन्द्र यादवले मुटु मिचेर लेखे– ‘लामो समयदेखि नोबेल अस्पतालमा उपचारार्थ रहनुभएका हाम्रा अभिन्न मित्र पुरुषोत्तम यादवको स्वाथ्यलाभको कामना गर्दछु । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको खबरले मर्माहत तुल्याएको छ । उहाँसँग सहकार्य गरिरहने सौभाग्य प्राप्त भइरहोस् भनी परमात्मासमक्ष प्रार्थना गर्दछु ।’ फेसबुक खोलेर पढ्नुपर्ने कुरा पढे पनि र सेयर गर्न मन भएका कुरा सेयर गरे पनि प्रकाशचन्द्र सर कहिल्यै कसैका लागि केही लेख्नुहुन्नथ्यो । भनौँ उहाँको लेख्ने बानी थिएन । उहाँले लेखेका ती सन्त्रस्त शब्दहरूले अनिष्टको सङ्केत गरिसकेका रहेछन् । साथै, अन्य थुप्रै शुभेच्छुक फेसबुके साथीहरूले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनामा आफ्ना शब्दहरू खर्चेका थिए । दुर्भाग्य ! ती सबैका शुभेच्छालाई तिरस्कार गर्दै प्रकृतिको अदालतले उहाँलाई आफूमै समाहित गर्ने निर्णय गर्यो । त्यो दुष्ट दिन थियो– २०७२ साल श्रावण ७ गते बिहीबार साँझ ६:४० ।

पुरुषोत्तम यादवमा त्यस्ता के गुण थिए जसले समकालीन पुस्ता उहाँलाई विस्मरण गर्न सक्दैन । यस आलेखको आशय यसमै केन्द्रित रहने छ । म श्रीलिटिल फ्लावर उच्च माध्यमिक विद्यालय, राजविराजको प्रशासनिक जिम्मेवारीमा छँदा उहाँ विज्ञान विषय शिक्षणका निम्ति नियुक्त हुनुभएको थियो । उहाँको सानो कदको छरितो शरीर, नरम बोली बोल्न बानीे, सधैं सुकिलोमुकिलो हुन रुचाउने र धैर्यशाली व्यक्तित्व थियो । रिस कुन जन्तुको नाम हो उहाँको कोशमा थिएन भन्ने कुरा उहाँको व्यवहारबाट नै प्रष्ट हुन्थ्यो । उहाँले कसैसँग बाझाबाझ गरेको या नराम्रा कुरा गरेको मैले कहिल्यै सुनिनँ । उहाँमा के कमजोरी छन् भन्ने ठम्याउन मेरो बर्गतले भ्याएन । उहाँ जीवन छउँञ्जेल सबैका आँखाका नानी हुनुभयो ।

मेरो २५ वर्षे शिक्षणकालमा दर्जनौं शिक्षक मित्रसँग भेट भएको छ । सहकार्य गर्नुपरेको छ । तर, आजसम्म मैले भेटेका दुई जना शिक्षक जसलाई म चाहेर पनि भुल्न सक्दिनँ । उहाँहरूमा एक जना हुनुहुन्थ्यो आयुषी झा । मेरी पूर्व छात्रा समेत रहेकी आयुषी निमावि स्तरमा विज्ञान विषयकै शिक्षक हुनुहुन्थ्यो । अर्का भने मावि तहमा विज्ञान पढाउने पुरुषोत्तम यादव नै हुनुहुन्थ्यो । उहाँहरूमा विद्यार्थीलाई रत्याउने र विज्ञानका विषयवस्तुले मनमस्तिष्क भरिदिने जादु थियो । उहाँहरूको कक्षामा समेत विद्यार्थीहरू मैन पग्लेझैं पग्लन्थे । मलाई प्रशासनिक कार्य गर्दा थेग्न धौधौ परेका विद्यार्थीहरू उहाँहरूसँग नतमस्तक भएर लल्याकलुलुक भएको देख्दा म भित्रभित्र जल्थेँ । त्यो कला र प्रतिभा मसँग भइदिए कस्तो हुन्थ्यो ! भनी मनमनै कल्पिन्थेँ । त्यस बेला अर्काको राम्रो गुणबाट शिक्षा लिनुको सट्टा ईर्ष्या गर्न पनि पछि नपर्ने औसत मान्छेको स्वभाव मभित्र पनि जिउँदै रहेछ भनेर म लाजले भुतुक्क हुन्थेँ ।

कतिपय अभिभावकहरू स्थानीय शिक्षकमा प्रतिभा र कला नभएको गुनासो राख्दै भन्थे– ‘यी स्थानीय सप्तरीया शिक्षकसभमे पढवैक क्षमता, सीप आओर प्रतिभा नही होइछै । हमरा बच्चासभक जिनगी गोलखाडीमे जारहल छै । हमरा लगानी पानीमे जारहल छै ।’ यस खाले गुनासाहरूको मुखमा बुझो लगाउने तर्क मलाई पुरुषोत्तम र आयुषीबाट नै प्राप्त भएको थियो । विद्यार्थीको आन्तरिक र वाह्य क्षमताको पहिचान गर्न स्थानीय शिक्षकलाई सहज हुने तर्क अगि सार्दै म जवाफ फर्काउँथेँ– ‘आफूले भोगेको कालखण्डबाट नै उनीहरूले त्यस खाले टेक्निक सिकिसकेका हुन्छन् । बिनाअनुसन्धान विद्यार्थीको कमजोरी पहिचान गरिसकेका हुन्छन् । सामाजिक पृष्ठभूमिको समेत जानकार भएकाले स्थानीय शिक्षकजस्तो सक्षम शिक्षक अरू कोही हुँदैन । सिर्फ उनीहरूलाई सही तवरले सञ्चालन गर्नुपर्छ । अर्कातिर स्थानीयमा बढी जवाफदेहिता हुन्छ । आफ्नो कमजोरीले आफ्नै समाज घाटामा पर्ने र आफन्तहरूको गुनासो बहन गर्नुपर्ने खतराबाट बच्न पनि उनीहरू इमान्दारपूर्वक आफ्नो कर्तव्य पूरा गर्दछन् ।’

मेरा कुरामा ध्यान दिइरहेका अभिभावकलाई अँझ आश्वस्त पार्न म भन्थेँ– ‘हामीकहाँ भएका पुरुषोत्तम यादव, आयुषी झा, प्रकाशचन्द्र यादव, अभितकुमार चौधरी, दिलिपकुमार झा, देवचरण चौधरी, सुनिलकुमार चौधरी, अरबिन्द यादवहरूमा तपाईंहरू ककस्तो कमजोरी देख्नुहुन्छ ? बाहिरका प्रकाण्ड शिक्षकवृन्दसँग दाँज्दा उहाँहरू कहाँ कमजोर सिद्ध हुनुहुन्छ ? उहाँहरूलाई यही माटोले जन्मायो, हुर्कायो, बढायो र सक्षम तुल्यायो । उहाँहरूलाई यस माटाको गन्ध थाहा छ । दुर्गन्ध र सुवास छुट्याउने सामर्थ्य छ । त्यसैले त यस संस्थाले पूर्वधार तयार पारेका विद्यार्थीहरू राष्ट्रका उच्च तहसम्म पुग्न सकेका छन् ।’ अभिभावकहरू पनि मेरा तर्कहरूबाट सन्तुष्ट हुन्थे । खण्डन गर्न आवश्यक नठानी चित्त बुझाएर फर्कन्थे । मेरा तिनै आदर्श पुरुष पुरुषोत्तम यादवलाई अल्पायुमै हामीले गुमाउनु परेको यस कालखण्डमा लेखिएको यस लेखमा म विशेषत: उहाँमै केन्द्रित रहन खोज्दै छु ।

वास्तवमा म उत्तरी उकालीओरालीतिरको मान्छे उहाँ मधेसको समथर बलान नदी किनारामा हुर्की बढेको उमेरले पनि छोरो भन्न सुहाउने मान्छे हुनुहुन्थ्यो । उहाँसँग मेरो कुनै आग्रह वा पूर्वाग्रह छँदै छैन । उहाँमा भएको विलक्षण प्रतिभा र उहाँबाट पाएको सहयोगले उहाँ मेरो मनमस्तिष्कमा स्मरणीय हुनुहुन्छ । उहाँसँगका अनेकन स्मरणीय क्षणमध्ये एकाध मात्र यहाँ उल्लेख गर्ने जमर्को गर्दै छु–

एक पटक उहाँ विद्यालयको वार्षिक परीक्षाको निरीक्षकको रूपमा डियुटी गरिहनुभएको थियो । अरू कोठामा गाइँगुइँ आवाज आउने तर उहाँको कोठामा सियो खसे पनि थाहा पाइने शान्ति थियो । म केन्द्राध्यक्षको रूपमा उहाँको कक्षामा यदाकदा मात्र पस्थेँ । उहाँको मर्यादित कार्यशैलीमा कुनै शङ्का नभएकाले त्यहाँ गइराख्नु जरुरी थिएन । म आफ्नो ड्युटीमा जुटिरहेकै बखत कक्षा–१० कि एक छात्रा रुँदै फिल्डतिर गइन् । परीक्षा सञ्चालन भएको एक घण्टा पनि नबितिकन बाहिरिने छात्रा कुन कोठाकी हुन् भनेर सोधपुछ गर्दा उहाँको नाम आयो ।

परीक्षाको मर्यादा कहिल्यै उलङ्घन नगर्ने पुरुषोत्तम सरले आज किन उलङ्घन गर्दै छात्रालाई बाहिरिने अवसर दिनुभयो ? म सोचमा परेँ । पक्कै पनि कुनै गम्भीर कारण होला भनेर उहाँलाई सोधपुछ गर्ने आँट आएन । छात्रालाई नै सोधेँ । उनले मुख खोल्दै खोलिनन् । अँझ आँसु बर्साएर मेरो सहानुभूति बटुल्ने काम गरिन् । अन्तमा मैले वाध्य भएर भन्नुपर्यो– ‘भन सरिता ! पुरुषोत्तम सरले के अन्याय गर्नुभयो ? म उहाँलाई सोधपुछ गरूँला । तिम्रै गल्ती भए पनि म केही भन्दिनँ । सरलाई नै सम्झाउँछु । तर, परीक्षा नछाड । हामीले तिम्रा अभिभावकलाई जवाफ दिने ठाउँ समेत राख ।’ मेरो सहानुभूति पाएपछि उनले सुरुमा बाङ्गोटिङ्गो कुरा सुनाइन् । मैले पत्याउन सकिनँ । यद्यपि परिस्थिति काबुमा राख्न ‘ठीकै छ पछि फैसला गर्ने छु, अहिले परीक्षा देऊ’ भनेर बसाएँ ।

पछि कुरा बुझ्दा ती छात्रा चिट चोर्दाचोर्दै रङ्गेहात पक्राउ परिछिन् । बेइज्जती महसुस भए पछि रिसको उत्कर्षमा पुगी शिक्षकतिरै आफ्ना कागजपत्र मिल्काएर भुतभुताउँदै बाहिरिएकिरहिछन् । सरले सबै सामग्री बटुलेर उनको सिटमा राखिदिँदै बाँकी प्रश्नको उत्तर लेख्न भनेका रहेछन् । उनी पनि ‘आफैँ लेख्नुस्’ भन्दै र झर्कोफर्को गर्दै बिनाअनुमति बाहिरिएकिरहिछन् । जाँदाजाँदा केन्द्राध्यक्षसँग भेट गर्न भन्नुभएको रहेछ । त्यसबेला छात्राले आफ्नो अपमान गर्दा पनि शान्त मुद्रामा उनीप्रति स्नेह दर्शाउने सरको मनोभावलाई मैले गौतम बुद्धको अर्को रूप ठहर्याएँ ।

यथार्थ बोध पछि ती छात्राले भनिन्– ‘हो सर ! मैले ठूलै भूल गरेँ । त्यस भूललाई सच्याउन अर्को भूल पनि गरेँ । मैले गल्ती काम गरेमा मलाई सजाय दिनुको साटो उहाँले चिट मात्र लिनुभयो । यस्तो गलत कार्यले कसैको भलो हुँदैन मात्र भन्नुभयो । अब यो मुद्दा अभिभावककहाँ पुग्ने नै भयो भनेर म अत्तालिएँ र बेशुद्धिमा अर्को गलत कर्म दोहोर्याएँ ।’ म सरी भन्नेवाला थिएँ । ‘जाने जति बाँकी कुरा लेख’ भनेर कापी–कलम दिँदा मैले अर्को अपमान सम्झिएँ । म भ्रममा रहेँछु । उहाँलाई त मैले कहिल्यै बुझेकिरहिनछु ।’

पुरुषोत्तम सरले जवाफ फर्काउनुभयो– ‘तिमीले मलाई ताकेर फ्याकेका वस्तु मैले समेटेर राखिदिएको हो । झटारो हानिएका ती वस्तु मैले अस्वीकार गरेकाले तिमीलाई नै दिन खोजेको हो । स्वीकार गरेको भए त तिमीलाई सजायको कठघरामा उभ्याउने थिएँ । तथानाम गर्ने थिएँ । यही मुद्दामा तिम्रा अभिभावकलाई तिरिखिरी पार्ने थिएँ ।’ जवाफ सुन्ना साथ छात्रा फेरि रुन थालिन् । ‘अब चाहिँ रुनुको कारण के हो ?’ भन्ने प्रश्नमा उनले सिर्फ यत्ति भन्न सकिन्– ‘पुरुषोत्तम सर ! मलाई माफ गरिदिनुस् । तपाईंको उदार भावनाले मेरो दुष्ट मति खरानी भयो । म जीवनभर यस क्षणलाई भुल्दिनँ र कहिल्यै गल्ती गर्दिनँ ।’

वास्तवमा उहाँ कसैलाई नमीठो नभनेरै र नगरेरै सबैलाई तह लगाउनुहुन्थ्यो । शिक्षक कक्षामा पसेपछि विद्यार्थीले लाभ आर्जन गर्नैपर्छ भन्नुहुन्थ्यो । विद्यार्थी कसरी बुझ्छन्, त्यो उहाँलाई प्रष्ट थाहा थियो । विज्ञानजस्तो गहन र जटिल विषयलाई व्यवहारिक ढङ्गले सिकाउनुहुन्थ्यो । उहाँको कथन थियो– ‘विज्ञान पढेरभन्दा गरेर सिक्ने विषय भएकाले सिद्धान्त बुझेपछि आफ्नो बलबुताले भ्याएसम्म प्रयोग गर्नुपर्छ । चिन्तनमनन गर्नुपर्छ तर साहित्यजस्तो भावनामा बग्नु हुँदैन । कुनै पनि सिद्धान्त व्यवहारमा पचेपछि मात्र त्यो विज्ञान हुने हुँदा विज्ञानका हरेक सिद्धान्त हाम्रै व्यवहार हुन् । हाम्रै वरपरका विषयवस्तु त विज्ञानका अङ्ग हुन् । सजिलो त्यत्तिखेर हुन्छ जब हामी यसलाई व्यवहारिक तराजुमा नापजोख गर्छौँ । हामी प्रत्येकमा महान् वैज्ञानिक बन्ने गुण छ । निरास मनले त्यसमा पर्दा लगाइदिन्छ । उत्साहित मन बनाउँदा त्यो कालो पर्दा हट्दै जान्छ र विज्ञान सजिलो विषय बन्छ ।’ यस्ता कुराले विद्यार्थी उत्साहित हुन्थे । फलस्वरूप एसएलसी परीक्षामा केही विद्यार्थीहरूले विज्ञान विषयमा ९० अङ्कभन्दा बढी ल्याउन पनि सफल भएका थिए । त्यो सबै शिक्षककै जस नभए पनि शिक्षक माध्यम भने अवश्य भएको मान्नुपर्छ ।

हामीलाई विज्ञानको समुद्रमा हेलिन लगाउने र सफलताको उचाइ चुम्न सहयोग पुर्याउने पुरुषोत्तम सरका बारेमा लेख लेख्नुस् न सर भनेर मलाई रोशनकुमार यादव, विद्यानन्द वेदर्दी, शितल पटेल, सुमित शर्माजस्ता प्रतिभाशाली विद्यार्थीहरूले भनिरहँदा लेख यस्तै बन्यो ।

अँझ रोशनकुमार यादवले त ‘सायद स्वर्गमा राम्रो मानिसको खाँचो छ’ भन्दै आफ्नो लेखमा पुरुषोत्तम सरका बारेमा लेखेका छन्– मैले उहाँलाई चिनेदेखि नै उहाँ धेरथोर बिरामी भइरहनुहुन्थ्यो । एकपटक धेरै दिनसम्म अस्पतालको सिरानीलाई आमाको काख बनाएर बस्नुभएको थियो । संयोग नै मान्नुपर्छ, एकपटक भने ट्युशन पढ्ने क्रममा उहाँको डाक्टरी रिपोर्ट हेर्न पाएको थिएँ । पाचन प्रणालीको खराबीका कारण उहाँ बिरामी भइरहनु हुँदोरहेछ ।

सरको निधनको खबरले विक्षिप्त भएर उनले अगाडि भनेका छन्– मिरमिरे उज्यालोमा पनि मलाई औँशीको अनुभूति हुन थाल्यो, आँखा रसाउन थाले । विद्यार्थी जीवनमा हामीले धेरै शिक्षकलाई भेट्छौँ, घुममिल गर्छौं र सामिप्यता बढाउँछौँ । जससँग हाम्रो सामिप्यता र घनिष्टता बढ्छ त्यसैलाई प्रेरक गुरुका रूपमा स्वीकार गर्छौं । यो विद्यार्थीको स्वभावजन्य मनोविज्ञान हो । गुरु पुरुषोत्तम यादवप्रति मेरो यस्तै मोह र आकर्षण थियो । शिक्षा क्षेत्रमा समर्पित हुने र शिक्षासेवी भनेर चिनिन चाहने व्यक्ति समाजमा धेरै होलान् तर निष्ठा र इमान्दारिता पूर्वक विद्यार्थीको मनोविज्ञानभित्र पसेर कठिनलाई सरल बनाई सिकाउने गुरुहरू यथार्थमा कमै हुन्छन् । वास्तवमा त्यो महान् गुरु हो जसले विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षा प्रदान गर्छ । विद्यार्थीका प्रगति र समृद्ध जीवनप्रति गर्व गर्छ । मैले आदरणीय गुरुलाई यही रूपमा पाएको थिएँ । सबैले स्वीकार गर्न सक्ने निष्ठावान् गुरुको खाँचो परिरहेको समयमा जब पुरुषोत्तम गुरुको आगमन भएको थियो तब हामी सबैले एक किसिमको आनन्दको श्वास लिएका थियौँ ।

हाल एस.ओ.एस. इर्मन माइनर उ.मा.वि., सानोठिमी, भक्तपुरमा उच्च शिक्षा हासिल गरिरहेका छात्रा रोशनकुार यादवले शब्द खर्चदै अगाडि भनेका छन्– ‘मेरो विद्यार्थी जीवनयात्राका क्रममा अहिलेसम्म धेरै गुरुहरू आउनुभयो, पढाउनुभयो, सिकाउनुभयो तर पुरुषोत्तम गुरुको शैक्षिक व्यक्तित्व, सिकाउने शैली र क्रियाकलापले बढी नै आकर्षित गर्यो । उहाँकै कारण विद्यार्थीहरूमा सिकाइमुखी प्रवृत्तिको विकास हुन थाल्यो । सकारात्मक सोच विकसित हुन थाल्यो । भिन्न पढाउने शैलीका कारण उहाँमा कलिलो उमेरमा नै परिपक्वता आइसकेको थियो । एउटा मानसपटलबाट हजारौँ विद्यार्थीको मानसपटलमा सिकाइ खन्याउनु धेरै कठिन हुन्छ । बालुवामा पानी पोखेसरि खेर गइरहेको शैक्षिक लगानीका बीचमा पुरुषोत्तम यादव एउटा यस्ता उदाहरण हुनुहुन्थ्यो जसले आफ्नो जागिरलाई धर्म र सेवाका रूपमा रुपान्तरित गर्नुभयो । विद्यार्थीलाई जहिले पनि परीक्षामा राम्रो अङ्क ल्याउनुभन्दा असल, कर्तव्यशील, लगनशील र विवेकी मानिस बन्न प्रेरित गर्नुभयो । उहाँ हरेक शीर्षकलाई हाम्रो दैनिकीसँग जोडेर दीर्घकालीन समयसम्म याद होस् भनी पढाउनुहुन्थ्यो ।’

उहाँले आफ्नो फेसबुकमा अक्टुबर, १०, २०१४मा लेख्नुभएको छ– हि हु ह्याज हेल्थ, ह्याज होप, एण्ड हि हु ह्याज होप, ह्याज एर्भिथिङ्ग । सायद यही उहाँको अन्तिम लेखन होला । उहाँको मनोविज्ञानले धर्तीको बाँकी समय आफ्नो साथमा नरहेको आभास दिइसकेको हुनुपर्छ । विज्ञानका विद्यार्थी भए पनि उहाँमा नेपाली, हिन्दी र अङ्ग्रेजी साहित्यको राम्रो ज्ञान थियो । साहित्य सिर्जना नगरे पनि साहित्य पढ्न रुचाउनुहुन्थ्यो । म नेपाली विषयको विद्यार्थीलाई अङ्ग्रेजी स्कुलमा प्रशासनिक काम गर्न अङ्ग्रेजी भाषाले तर्साउँथ्यो । त्यसबाट उहाँले मलाई कैयौं पटक मुक्त पार्नुभएको छ । जतिबेला सहयोग मागे पनि उहाँ निर्धक्क सहयोग गर्नुहुन्थ्यो । उहाँले कतिपय आर्थिक विपन्न विद्यार्थीलाई नि:शुल्क ट्युशन पढाउनुभएको थियो । पढ्न प्रेरित गर्नुभएको थियो । धनलाईभन्दा मनलाई कदर गर्ने उहाँको सोचसमझ ऊध्र्वगामी थियो । यस्ता राम्रा मान्छेलाई असमयमै दैवले चुडेर लगेको पीडाले रन्थनिएर मैले ‘विज्ञानका नक्षत्र अस्ताए’ शीर्षकमा लेख लेखेर शब्दाञ्जली दिन भ्याएको थिएँ ।

उहाँका विद्यार्थीहरूले नै उहाँको स्वर्गारोहण सामान्य मानिसको जस्तो सरल नभएको र यसको पीडा केवल घरपरिवारमा मात्रै सीमित नरहेको वताएका छन् । आस्था र श्रद्धाका कारण फेसबुक चलाउने एक दर्जनभन्दा बढी विद्यार्थीहरूले उहाँको तस्विरलाई आफ्नो एकाउण्टको प्रोफाएल पिक्चर बनाएका थिए । साँच्चै उहाँको वियोगमा मौवा बेल्ही–२, सप्तरीका प्रत्येक गाउँलेहरूका आँखा रसाए । गाउँदेखि सहरसम्मका उहाँका शिष्यहरूले अश्रुधारा बगाए । मामा जीवछ यादव आफ्नो प्रिय भान्जालाई अन्तिम बिदाइ गर्न नसकेर अर्धचेत अवस्थामा भए । आफ्नो बुढेसकालको सहारा बन्न लागेको छोराको परमधाम यात्राले वृद्ध पिता आँसुमै डुब्न पुगे । पीडा पचाउन नसकेर आमा बेहोस हालतमा पुगिन् । उहाँको प्रिय भाइ हरिबोल यादव विरहमा लल्याकलुलुक भए । अन्तिम बिदाइ स्थल बलान नदी किनाराका पुगेका हामी प्रकाशचन्द्र यादव, नन्दलाल आचार्य, जयप्रकाश चौधरी, अमरकिशोर मुखिया, सुनिलकुमार चौधरी, प्रमोद इशर, श्यामप्रीत मण्डललगायत एक दर्जन शिक्षकहरू मित्र बिदाइको हात हल्लाउनुको सट्टा शिर झुकाएर अश्रुधारा पुछ्न वाध्य भयौँ । नियतिलाई स्वीकार्न वाध्य हुँदै अन्ततोगत्वा उहाँको भौतिक सम्पूर्ण अवशेष बलान नदीलाई सुम्पेर राजविराज फर्कियौँ ।

–नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *