त्यो रात मेरो लागि कालो रात थियो ।
आकाशमा जून र तारा देखिन्थे । कसैको एक वाक्य सुनेर खुशी थिएँ म । त्यो सफा आकाश अनि उनको एक वाक्यले प्वाँख फैलाएर मयुरले नाचेजस्तो नचाउँदै थियो, त्यो आँगनमा मेरो मनलाई । कताबाट मडारिएर त्यो कालो बादल आयो– अचानक मेरो बुद्धिलाई ढाक्यो । त्यही मौकामा मनले स्वस्फुर्त रूपमा आफ्नो इच्छा पूरा गर्न सफल भयो । अनि, म झसङ्ग भएँ । मेरा आँखा खुले, कालो बादल पनि फाट्यो । र, आफूलाई एक निर्दोष आइमाई सुत्ने गुन्द्रीमा पाएँ ।
त्यही थियो मेरो वास्तविक दुनियाँ, जसमा मैले स्वतन्त्ररूपमा पौडी खेलेँ ।
रात सुनसान थियो । गर्मीको वातावरणले उकुसमुकुस पार्दै थियो । चारैतिर बत्ती निभेको थियो । सबै रातको उपयोग गर्न विश्रान्तीमा लागेका थिए । त्यस आँगनमा उनी नजिकै म पनि सुतेको थिएँ । मेरा आँखामा निद्रा थिएन । मैले चारैतिर नियालेँ । सबैतिर अन्धकार फैलिएको थियो । आकाशतिर नियाल्दानियाल्दै जागृत अवस्थामा नै सपना देख्न थालेँ, ती क्षणहरूको ।
त्यसैको परिणाम हो यो ।
त्यस बाटोमा मैले नहिँड्नुपर्ने तर वैरी मनले बुद्धिसँग झगडा गरेरै हिँडायो । त्यसैले त्यस बाटोमा मेरा पाइला सरासर अगाडि बढे । मानौँ, त्यो रात मेरो मन र बुद्धिको लागि त्यो आँगन पनि युद्धक्षेत्र भएको थियो । मनको जित भयो, बुद्धिको हार भयो । बुद्धि रुन लाग्यो । पछि गएर मनले पनि रोइ दियो ।
‘यो मान्छे कामुक छ, दुच्छर छ ।’ अब सारा दुनियाँले भन्लान् । हो, म विल्कुलै गलत मान्छे हुँ । दुनियाँले कामुक भन्नु कुनै अस्वभाविक हुँदैन ।
म दुच्छर मान्छे नै हुँ अनि न त्यो काम गरेँ । अहँ, म विल्कुल गलत मान्छे हुँ । आँगनमा आउन उसैले बोलाएको हैन ! विल्कुलै त्यहाँ जान मन थिएन भन्ने पनि होइन । तैपनि त्यहाँ जान मलाई गाह्रो महसुस भइरहेको थियो । पाइला अघि बढिरहेका थिएनन् ।
त्यो रात अनि त्यस वेला उनले एक्कासि जोडले कराएको आवाज सम्झिँदा आज पनि यो रात डरलाग्दो भएर आउँछ । तर, जिन्दगीको हरियो रङ्गमा आफूलाई रङ्गाउन खोज्दा डर मानेर कहाँ रङ्गाउन सकिन्छ र ! वास्तविक मनलाई बुझ्न खोज्ने हो भने यस समाजको नीति अङ्गाल्दा कहाँ बुझ्न सकिन्छ र ! यस्तै द्वन्द्वलाई जितेर मेरा पाइला अगाडि बढेका थिए ।
पछि गएर आफूलाई एक्लो महसुस हुन थाल्यो । साथीहरू पनि यस शहरलाई छाडेर अर्कै शहरतर्फ लागे ।
‘पढाउने वातावरण छैन, यहाँका क्याम्पशहरूमा,’ उनीहरूको बोली सम्झन्छु । ‘हामी त हिँड्यौँ, तँ पनि हिँड्छस् भने हिँड् ।’
मैले भनेको थिएँ–‘अहँ, म जान्न, यहीँ राम्रो लाग्छ, मलाई । म यहीँ बस्छु, यहीँ पढाउँछु ।’
पछि विद्यार्थीहरूको पढाइ पनि सकियो । र, त्यहाँबाट उनीहरू पनि गए ।
अब दिन बिताउन पनि गहारो हुन थाल्यो । कोठामा पनि साथी र स्कुले विद्यार्थी छँदा बस्न सहज हुन्थ्यो । हिँड्ने बेलामा साथीहरूले कामना गरेका थिए– ‘तिम्रो जिन्दगी उसैसँग वितोस् ।’ मेरो उत्तरोत्तर प्रगतिका शुभचिन्तक थिए, उनीहरू । विद्यार्थीहरूले समेत उनीहरूकै बोलीमा लोली मिलाएका थिए । तर, उनीहरूमा निर्धक्क भएर भन्न सक्ने आँट थिएन । यस्तै हाँस्दै–हँसाउँदै, खेल्दै–खेलाउँदै शुभकामना लिँदै–दिँदै गएका थिए, उनीहरू । मलाई लाग्थ्यो– जिन्दगीको वास्तविक रङ्ग यही हो । कहिले सबैको माझमा पाउनु त कहिले एक्लै हुनु जिन्दगीको वास्तविकता रहेछ । यसरी नै कसैको प्रतीक्षामा जिन्दगी बिताउँदा–विताउँदै अचानक निराश हुनु पर्दा त्यसको जीवनले कस्तो मोड लेला ! यस्तै विचारमा रन्थनिन्थेँ म ।
(१)
एक्लै यसो विचार गर्थेँ– किन आजकल उसमाथि यत्ति निगरानी ! उनी मसँग कहिल्यै सङ्कोच नमानीकन कुरा गर्थिन् । तर, आजकल सङ्कोच मान्छिन्, किन ? पहिले म नै सङ्कोच मान्थेँ, उनी निर्धक्क भएरै कुरा गर्थिन् । उनको त्यो निर्धक्कतापन किन बिलाएर गएको छ, आजकल ! सायद उनको मनमा मैले सोचेजस्तो विचार नभएर होला ।
कतैबाट त्यस आँगनमा आउने वित्तिक्कै ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ भन्दै उनका छोराछोरीहरू मेरा नजिक आइपुग्थे । जतिसुकै टेन्सन लिएर आए पनि त्यस आँगनमा ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ शब्द सुन्दा टेन्सन समाप्त भएजस्तो महसुस हुन्थ्यो । पूरै आँगनभरि नै केटाकेटीहरू कोलाहल मच्चाउँथे । उनीहरूकै कारण खुशी नाच्थ्यो, आँगनमा । आजकल किन ती निर्दोष केटाकेटी स्कुलबाट आउँछन् र चुपचाप आफ्नो कोठामा जान्छन् । मलाई देखे पनि कुनै वास्ता गर्दैनन् । आँगनमा गुडिया खेलिरहन्छन् । घरि पुतली समात्छन्, घरि दौडन्छन्, घरि आफूआफैँमा झैँझगडा गर्न तम्सन्छन् । म त्यहीँ भए पनि मलाई केही भन्दैनन् । पहिले आपसमा झैँझगडा हुँदा मलाई गुहार्थे । मसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ कि कुन्नि के हो ! ती निर्दोष केटाकेटी कुराकानी गर्न त परै जाओस्, नजिक पनि पर्दैनन् आजकल । ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ जुन निस्वार्थ स्वर सुनिन्थ्यो । सायद मेरै स्वार्थको कारणले विलाएर गएको छ । म स्वार्थी थिएँ कि निस्वार्थी थिएँ, छुट्याउन गाह्रो परेको छ ।
‘हिजोआज तपाईं कसैसँग कुरा गर्न औधि रुचाउनुहन्छ किन ? ठीकै छ, गर्नुहुन्छ भने गर्नुस् तर यस समाजलाई पनि बुझ्ने प्रयास गर्नुस् । मैले यस समाजमा रहनुछ, मैले बाँच्नु छ । तपाईं पनि यही समाजको मान्छे ! यहाँका हरेक कुरा थाहै छ तपाईंलाई । अर्कातिर, तपाईं भाडेदार मान्छे, भाडामा बस्नुहुन्छ । यहाँबाट जुनसुकै बेला जानसक्नुहुन्छ । तर, म कहाँ सरेर जान सक्छु र ? यो समाज कहाँ सरेर जान्छ र ? हाम्रा यी बुजु्रक्क छिमेकीहरू कहीँ सरेर जाँदैनन् । अनि, जिन्दगीभरि यही कुरालाई लिएर वात बनाइरहन्छन् । मलाई तल पारिरहन्छन् ।’ केटाकेटीको बुवाले एकै श्वासमा गुनासो पोखेको थियो ।
त्यत्तिखेर मैले भनेको थिएँ– के भो ? प्रष्ट भन्नुस् न अनि…..।
‘तपाईंका बारेमा कसैकसैले प्रश्न चिन्ह खडा गरिसके । कतिपयले भन्दिए मलाई– किन तिमी भन्दैनौ आफ्नो दाजुलाई, त्यस मान्छेलाई डेरा सर्न लगाऊ छिटो । तर, आजसम्म मैले दाजुलाई भनेकै छैन । तपाईंको मेलमिलापी भावनाले गर्दा मैले भन्न सकिरहेको छैन । मेरा सन्तानप्रति तपाईंको धेरै सहानुभूति छ । मेरी श्रीमतीलाई समेत हाटबजारको काममा सहयोग पुर्याउनुभएको छ ।’ मैले जवाफ सुनेको थिएँ ।
‘के भो, किन यस्तो बोलिरहनुभएको छ ?’ मैले प्रश्न गरेको थिएँ ।
‘पिलिज, मलाई यस समाजमा टाउको उठाएर बाँच्न दिनुस् । तपाईं पनि जबसम्म रहनुहुन्छ, शिर ठाडो पारेर बाँच्नुस्, बच्नुस् ।’ उसले जवाफमा भनेको थियो । अन्त्यमा आफूले गरेको अपराध बारे जान्न चाहेँ । उसले एक वाक्यमा जवाफ दियो– ‘सबै जान्दछु, तर पिलिज तपार्इँ……….।’
त्यसैले आफू बँच्न र उसलाई पनि बाँच्न दिनका लागि मेरा पाइला उतातिर अगाडि बढिरहेका थिएनन्– त्यो रात ।
त्यत्तिकैमा उनले भनेकी थिइन्– ‘कस्तो मान्छे हँ ! यत्ति गर्मीमा कोठामा छ । बाहिर आएर हावा खाँदा भइहाल्छ नि ! किन एक्लै कोठामा गुम्सेर बस्नुपर्यो ।’ उनले मलाई भन्न त सकिनन् । तर, मलाई नै सङ्केत गरेर बरबराएकी थिइन्, त्यसै गुन्द्रीबाट ।
(२)
केही दिन यता एउटा कुरालाई लिएर म र उनीबीच बोलचाल बन्द भएको थियो । कुनै कुरा चाहेर पनि भन्न सकिरहेकी थिइनन् ।
मलाई रामुको गालामा म्वाइ खान धेरै राम्रो लाग्थ्यो । उनकै अघि म सधैँ रामुको गालामा म्वाइ खान्थेँ । ‘बेस्सरी गालामा म्वाइ खायो’ रामु कराउँदा उनी झस्कन्थिन् ।
‘कस्तो लाग्छ, गालामा म्वाइ खान हँ ? खालि केटाकेटीलाई रुवाउने, चिच्याउन वाध्य पार्ने, गालामा वेस्सरी म्वाइ खाने ! यस खाले प्रवृत्ति कहिले हट्छ, तपाईंबाट ?’ मेरा सामु उनी प्रश्न ठड्याउँथिन् ।
‘ठिक छ, तपाईं रामुलाई धेरै माया गर्नुहुन्छ । के गालामा म्वाइ खाएर मात्र माया हुन्छ ! तपाईं त म्वाइ खान बहादुर हुनुहुन्छ ।’–उनले अगाडि भनेकी थिइन् ।
‘तपाईंलाई के हुन्छ ? रामु मेरो भतिजो हो, प्रिय मान्छे हो । रामुको गालामा खान्छु नै । उसको गालामा खान्छु, अरूकोमा हैन । म्वाइ मात्र न खाइन्छ, गाला त खाइन्न नि ।’ प्रत्युत्तरमा म बोलेको थिएँ ।
‘अँ गाला खाइँदैन त के खाइन्छ !’
‘रामुको गालामा म्वाइ खान सक्दिनँ म ? उसको गालामा पनि म्वाइ खान मनाही छ मलाई ?’ मैले पनि केही कडा स्वरमा सोधेको थिएँ ।
‘हो, हो रामुको गाला आफ्नै लागि हो भन्दै हर्दम रुवाइरहनू न !’ उनले व्यङ्ग्य गरेकी थिइन् ।
त्यही दिन दिउँसो म टेन्सनमा थिएँ । त्यत्ति बेला नै आएर उनले भनिन्– ‘आज तपाईं बजार जानुहुन्न ? घरमा तरकारी सकिएको छ ।’
‘तरकारी सकिएको छ भने मैले के गर्नू !’
‘बजार जानुहुन्छ भने मेरा लागि पनि तरकारी ल्याइदिनू है !’ उनले आग्रह गरेकी थिइन् ।
‘छोराछोरी घुमाउने जागिरै पाएँछु । तरकारी ल्याइदिने ठेक्का नै भेट्टाएँछु । सिर्फ उपलब्धीविहीन जोताउनु र जोतिनुको पनि एउटा सीमा हुन्छ । सीमा….त्यस्तो सीमा जसले त्यसैभित्र रहेर उपलब्धीको अपेक्षा राख्दछ । आजसम्म तिमीले के चाहिँ दियौ र ! तिम्रो छोराको गालामा त अधिकार राख्न नपाउने भएँ । अँझ, तिम्रामा त के पाउनु ?…अब कत्ति दिन पर्खने ? एकपल्ट म्वाइसम्म दिएको छैन त अरू के……..?’
उनले भनिन्–‘के भन्नु भो ? कुरा बुझ्न सकिनँ ।’
म झस्केँ । मैले के बोलेँछु ! क्षणभर अलमलमा परेँ र हडबडाउँदै भनेँ– ‘हैन, हैन केही होइन ।’
‘तपाईं आफ्नो धरातलभन्दा माथिको कुरा पटक्कै नगर्नुस् । अनावश्यक बोल्दै नबोल्नुस् । किन यस्तो कुरा गर्नुभो ? म तपाईंलाई कुन रूपमा हेर्थें तर तपाईंले कसरी हेर्नुभो ? यस्तो कसरी सोच्नु भो ? तपाईंले सोचेको भ्रम मात्र हो । त्यस्तो भ्रममा नपर्नुस् । अबदेखि मैले तपाईंसँग कुरा गर्न मिलेन । तपाईं न परिवारको सदस्य हुनुहुन्छ न मेरो कुनै आफन्त नै । त्यत्ति आवश्यकता पनि छैन तपाईंसँग बोली राख्न ।’ त्यसै दिनदेखि म र उनीबीच बोलचाल बन्द भयो ।
(३)
उहिले कति राम्रो थियो, उनीसँग । जहाँ जान्थिन् मलाई लिएर जान्थिन् । एक्लै छोड्दैनथिन् त्यस डेरामा । आफ्नो कामकाज छोडेरै भए पनि म उनैसँग जान्थेँ । कहिले भन्थिन्– भोलि हामी सखडा जाँदैछौँ । तपाईं पनि हिँड्नुस् न ।
कहिले आफ्नो माइत लग्थिन् । राजविराज सदरमुकामदेखि १०/१५ कि.मि. टाढा थियो उनको माइतीघर । उनको माइत जानका लागि बलान नदीको तिरैतिरै हिँड्नुपर्थ्यो । नदीका छेउछाउमा रूखहरू देखिन्थे । एक किसिमले उनको माइत जाने बेलामा मलाई अपूर्व आनन्द महसुस हुन्थ्यो । यस्तै नै कतै जान लाग्दा उनी सोध्थिन्– तपाईं पनि जानुहुन्छ कि ? मैले अँ जान्छु भनेपछि मलाई पनि लग्थिन् उनी ।
थाहा नपाइकनै म नजिकिँदै गएँ उनीसँग । समयलाईं भुलेँ । कुनै मतलव रहेन अब मलाई समयसँग । पाँच–पाँच दिनसम्म कतै नगई कोठामै दिन बिताउन थालेँ । कोठामा वाक्कदिक्क लागेपछि कुरा गर्न त्यही गुन्द्रीमा जान्थेँ । त्यस गुन्द्रीमा बस्नासाथ मलाई आनन्दको आभास हुन्थ्यो ।
धेरै भएको थिएन त्यहाँ आएको मलाई । १०/१२ महिना मात्र भएको थियो । कति खुशीसाथ उनको जिन्दगी एउटा छोरो र एउटी छोरी अनि पतिसँग बित्दै थियो । चारैतिरबाट खुशी नै देखिएकी थिइन् उनी । त्यो मान्छे प्राइभेट अफिसमा काम गर्थ्यो । विहानै उठेर आफ्नो काममा जान्थ्यो अनि आठ बजे राति आउँथ्यो । यस्तै थियो उसको दिनचर्या । कहिलेकाहीं सुन्थेँ म, उनी भन्थिन्– खालि तपाईं काममै व्यस्त रहनुहुन्छ । कहिले तपाईं बस्नुहुन्न फुर्सदमा मसँग । कहिले तपाईंले मलाई लानुभएको छ घुमफिर गर्न बाहिर । अफिस जानु र आउनु मात्र काम हो तपाईंको ? मलाई हेर्ने दायित्व छैन ? त्यो मान्छे हाँसेर जवाफ दिन्थ्यो– अँ यत्ति गर्छु कसको लागि ? सब तेरै लागि नै हो । कहाँ घुम्न जान्छेस् घुमाउन लान्छु तँलाई । तर, के गर्नु प्रिय ! मानवको जिन्दगी यस्तै रहेछ । तँसँग बस्ने इच्छा नभएको होइन । तर, पैसाको लागि……..।
यस्तै थियो श्रीमान् र श्रीमतीबीचको प्रेम ।
मैले पनि विहानै उठेर अफिस जानुपर्थ्यो । उनको पति मभन्दा दुई घण्टा अगाडि नै हिँडिसकेको हुन्थ्यो । मेरो ढोका अगाडि कल थियो जहाँ उनी विहान सबेरै भाँडा मस्काउँथिन् । त्यही समयमा हामी कुरा गर्थ्यौं । उनको पतिको अनुपस्थितिमा कुरा गर्न अफ्ठ्यारो हुँदैनथ्यो ।
एकदिन भाँडा मस्काउँदै उनले भनेकी थिइन्– तपाईं किन यत्ति ढिलो गरेर उठ्नुहुन्छ ? अहिले तपाईंको त्यो पनि छैन त्यही पनि…….। मैले उनको कुरो बुझेँ । एकल जीवन महसुस गरेर मलाई हाँसो उठ्यो । म मज्जाले हाँसेँ । दुवै जनाका आँखा जुधे । त्यस बेलामा मैले उनको आँखामा प्रेमको संसार देखेँ । अनि, उनी पनि लजाइन् ।
एक रात हामीसँगै बसेर टीभि हरिरहेका थियौँ । त्यहाँ कोही थिएन । उनका छोराछोरी निदाएका थिए । उनको नजिक म बसेको थिएँ । उनी एकाग्र भएर टीभिमा कार्यक्रम हरिरहेकी थिइन् । कार्यक्रम मलाई राम्रो लाग्दैन्थ्यो, म उनैलाई हेर्थें । मेरा भावना बुझेर होला त्यस बेला उनले भनेकी थिइन्– के कार्यक्रम राम्रो लाग्दैन ? मैले लजाएर जवाफ फर्काएको थिएँ– अँ, राम्रै लाग्छ । लामखुट्टेले टोकेको निउँ बनाएर म घरि उनको हात पक्रन्थेँ । घरि उनको गाला छुन पुग्थेँ । मैले देखाएको क्रियाकलाप नियालेर होला अब टीभि नहेरौँ, धेरै रात भयो । उनले भनेकी थिइन् । पुरुष उन्मादको लक्षण देखेर हो कि उनी त्यहाँबाट सरासर अर्को कोठामा पसिन् । मलाई असजिलो महसुस भयो । म नियाउरो मुख लगाएर आफ्नो कोठामा आएँ । लामो स्वास तानेँ । एक गिलास पानी पिएँ । निद्राले छोप्यो । म रातको विश्रान्तीमा लागेँ । यसरी नै बितेको थियो त्यो रात ।
त्यत्तिबेला किन चिच्याइनन् उनी ! त्यो रात किन कराइनन् उनी ! मलाई छुट्याउन गाह्रो भइरहेछ आज ।
त्यो रात मेरो लागि साधरण रात थिएन । उनको पति पनि थिएन त्यो रात । आकाशमा तारा देखिन्थे । धर्ती गर्मीले खाएको थियो । केही क्षण त्यही गुन्द्रीमा खैलाबैला मच्चाएर बच्चाहरू रातको बिश्रान्तीमा लागेका थिए । त्यस आँगनमा कोही थिएन । भाडेदारहरू पनि आ–आफ्नै कोठा बन्द गरेर गहिरो निद्रामा थिए । छिमेकीहरूको कोठाहरू पनि बन्द थिए । कोठाबाट स्वाँस्वाँ र फ्याँफ्याँ गरेको आवाज मात्र आउँथ्यो । मलाई थाहा थियो उनको पति आज आउँदैन । यस कुराले पनि मेरो मन हतासिँदै थियो ।
एक पटक मेरा पाइला सरासर गए त्यस गुन्द्रीमा र फर्केर आए आफ्नो कोठामा । अर्को पटक फेरि जाँदै थिए मेरा पाइला त्यस गुन्द्रीमा । त्यस बेला उनी कोल्टो फेर्न लागेकी थिइन् । अनि, मेरा पाइला मोडिएर कलमा गए । फेरि म कोठाभित्र पसेँ । फेरि आँगनमा पुगेँ । एक क्षण सबै भाडेदारहरूको ढोका नियालेँ । चारैतिर यताउती हेरेँ, कसैलाई भेटिनँ । बत्ती बालेँ । आँगनमा बत्ती बल्यो । आँगनमा कोही देखिएन । मेरा पाइला सरासर अगाडि बढे र त्यस गुन्द्रीमा पुगे । उनी जोडले चिच्याइन् । सबै जना निद्राबाट ब्यूँझे अनि सबैको ढोका खुल्योजस्तो लाग्यो मलाई । अब के गर्ने ? यताउती हेरेँ । झटपट त्यही ओछ्याएको गुन्द्रीले अनुहार ढाक्दै आफ्नो कोठातिर दौडिएँ । तुरुन्तै मान्छेले आँगन भरियो ।
आँगनमा उनी फलाक्दै थिइन्– यो मान्छे, त्यस कोठाको मान्छे ! म सुतेकी थिएँ । मलाई थाहा भएन । ऊ आएर मलाई स्पर्श गर्दै……..। मैले त रामुको पापा नै ठानेकी थिएँ । कदापि छाड्दिन् आज म उसलाई ।
म समस्यामा परेँ । कोठाबाट भाग्ने अर्को बाटो पनि थिएन । आँगनमा मान्छेहरू कोलाहल मच्चाइरहेका छन् । अब म के गर्ने !!!
अरविन्दकुमार यादव
–कविलासा–७, सप्तरी
मेरो परिचय
नाम : अरविन्दकुमार यादव
शैक्षिक योग्यता : बी. एड.
स्थायी ठेगाना : कविलासा–७, सप्तरी
पेशा : शिक्षण, अध्ययन
उपलब्धी : २०६० सालदेखि निरन्तररूपमा स्थानीय पत्रपत्रिकामा साहित्यिक रचनाहरू प्रकाशित
विधा : कविता, गीत, गजल, कथा, निबन्ध
रुचि : साहित्यिक पुस्तक, पत्रपत्रिका अध्ययन, लेखन
सम्पर्क मो. नं. : ९८१५७८०७००
पत्राचार/हाल : नेपाली शिक्षक, लिटिल फ्लावर मा.वि., राजविराज–९, सप्तरी ।
