Skip to content

बिर्सेको माटो


जुग-जुगपछि आज अजबसँग
मैले धेरै पहिले बिर्सेको माटो देखेँ
मैले उहिले उहिले बिर्सेको बाटो भेटेँ ।

ए मैले बिर्सेको हिले रातो माटो !
के, तँ उस्तै चिप्लो र दलदले छस् ?
र अँझै ढोडेकिरा र मलसाप्रो पालिराखेको छस् ?

कलिलो छँदा कति लडियो, कति गडियो
त्यो दर्द कहाँ बिर्सन्छु र ?
म त भागेर कहाँ पुगेँ,
तर आज सपनीसम्म मलाई पछ्याइछस्
र मलाई झस्क्याइस्,
तेरो मलिन अनुहारले सोधे झैँ लाग्यो –
“परदेशी, मलाई बिर्सेको ?”

नढाँटी भन्दा,
बिर्सन सकेको हैन, बिर्सन खोजेको अवश्य हुँ
माया मार्न सकेको हैन, माया मार्न खोजेको मात्र हुँ,
र आज तेरो रुन्चे अनुहार देख्ता आफैँलाई प्रतिप्रश्न गर्दैछु –
“म कोसँग भागेँ ?
त्यो माटोसँग ? या मलसाप्रोसँग ?”

भागेर पनि छोड्न सकिन्न अतित,
लुकेर लुकाउन सकिन्न परिचय;
र, ए मैले बिर्सन खोजेको माटो !
तँ त मेरो अतित र परिचय,
जसको संचयले म बने,
म कसरी बिर्सन सकुँ ?

ए मैले भुलेको साँघुरो बाटो
के, अँझै उस्तै चिप्लो र अन्धकार छस् ?
र मानव-विष्टाले अँझै दुर्गन्धित छस् ?
के तँलाई अँझै पनि सिस्नोघारीले घेरेको छ ?

उबेलामा कति हिँडियो, कति चिप्लियो
त्यो सिस्नोको झापड अँझै रन्किरहेको छ
त्यो दूर्गन्ध नाकभरि फैलिरहेको छ,
तेरो सिस्नो र दूर्गन्धदेखि म भागेर कहाँ पुगिसकेँ
तर आज सपनीसम्म मलाई पछ्याइछस्
र मलाई झस्क्याइस्,
तेरो मलिन अनुहारले सोधे झैँ लाग्यो –
“परदेशी, मलाई बिर्सेको ?”

नढाँटी भन्दा,
बिर्सन सकेको हैन, बिर्सन खोजेको अवश्य हुँ
माया मार्न सकेको हैन, माया मार्न खोजेको मात्र हुँ,
र आज तेरो रुन्चे अनुहार देख्ता आफैँलाई प्रतिप्रश्न गर्दैछु –
“म कोसँग भागेँ ?
त्यो बाटोसँग ? या सिस्नोसँग ? या दुर्गन्धसँग?”

जब मेरो यात्राको पहिलो पाइला तैँमाथि चालेँ
म तँदेखि भागेर कहाँ पुगुँला?
जहाँ गए पनि तैँ पछ्याइरहेछस्;
मेरो अतित, मेरो जीवनको सुरुवात
म भाग्न खोजेर पनि भाग्न सक्तिन।

ए मैले बिर्सेको माटो !
ए मैले बिर्सेको बाटो !
म त कलिलो बहर,
भागिहालेँ
हिलो माटोमा जोतीन नसकी
गन्हाउने बाटोमा रोकिन नसकी;
यदि अरू झैँ साँढे हुँदो हुँ त कुरा अर्कै हुँदो होला
जीवन आफ्नै हातमा हुँदो होला ।

गुनासो छैन,
कुनै दिन खुट्टा त्यता सोझिएछ भने
फेरि तिमीहरू माथि कुदौँला,
उबेलाको भलाकुसारी फेरि सम्झौँला,
त्यतिन्जेल गुनासो नगरेस् है
मैले बिर्सेको माटो,
मैले बिर्सेको बाटो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *