Skip to content

काजी रोशनको स्रष्टा भेटका स्वर्णाक्षर नियाल्दा


काजी रोशन नेपाली साहित्यमा एउटा परिचित नाम हो। त्यतिमात्र नभएर धौलागिरि अञ्चलकै एउटा साहित्यिक संस्थाको रूपमा परिचित नाम हो भन्न सकिन्छ। उनको जन्म बागलुङ नगर पालिका –३, बागलुङमा २००६ साल कार्तिक २ गते भएको हो। रोशनजी नेपाली साहित्यमा कविको रूपमा, निवन्धकारको रूपमा, सम्पादकको क्षेत्रमा रोशनी फैलाउनु भएको छ भने धवलागिरि साहित्य प्रतिष्ठानको संस्थापना( बि.सं.२०४१) गरी साहित्य क्षेत्रमा आफूलाई स्थापित भई आज नेपालभरि नै आफ्नो साहित्यिक यात्रालाई सुदृढ पार्न निरन्तर लागिरहनु भएको छ।

प्रकाशित कृतिहरू : –
मानसरोवरमा डुबुल्की मार्दा (संस्कृति, नियात्रा–२०३५), हिमशृंखलाबाट (कविता, २०३५) सम्झनाको गोरेटोमा मोहन वहादुर मल्ल (संस्मरण २०३६), पं जगन्नाथ स्मृति ग्रन्थ (सम्पा जीवनी २०३९), चारोटिप्न गएका बस्तीहरू ( नियात्रा, २०६०), एम्बुस देश र फूलदानीहरू( कवितासङ्ग्रह), कवि, रोगी र नर्स ( नियात्रा, २०६३), एक झुप्पा प्रकाश (भूमिका, २०६३) र स्रष्टा भेटका स्वर्णाक्षर, (२०६४) काजी रोशनका २०६४ सम्मका प्रकाशित कृतिहरू हुन्।

पुरस्कार/पदक /अभिनन्दन/सम्मान/ कदर पत्र/ आवद्धता–

युवा वर्ष मोती पुरस्कार, (२०४५), रत्न श्रेष्ठ पुरस्कार(२०३७), गोपाल पाण्डे असिम पुरस्कार ( ध.सा. प्र.का लागि, २०५२ ), दीर्घ सेवा पदक, जानपद सेवा पदक लगायत दुई दर्जनभन्दा बढी अभिनन्दन, सम्मान, कदर पत्र र ब्उउचभअष्बतष्यल ब्धबचम माष्टर भिमसेन साहित्य संगीत सभा भागसु धर्मशाला भारत, पदक समेतबाट आभूषित हुनुभएको छ। करिबएक दर्जन जति साहित्यिक, सामजिक र स्मृति सेवा कोषहरूमा अध्यक्षको पद ग्रहण गर्नु भएका काजी रोशनको प्रतिभा देशव्यापीरूपमा फैलिएको छ। काजी रोशन नेपालबाटमात्र नभै भारतबाट पनि सम्मानित हुनु भएको छ।

स्रष्टा भेटका स्वर्णाक्षरभित्र पस्दाः–
यो कृति १८७ पृष्ठको छ। यसमा १५०जना स्रष्टाका हस्ताक्षर र स्रष्टाले व्यक्त गर्न चाहेको अभिव्यक्ति पनि समावेश गरिएको छ। कृति प्रकाशन २०६४ फाल्गुणमा धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले गरेको छ। यस कृतिको भूमिका चुडामणि बन्धुले विवरणात्मकरूपमा लेख्नुभएको छ।

भूमिकामा चुडामणि बन्धु लेख्नुहुन्छ–’..नेपालमा हस्ताक्षरहरू पुरातात्विक बस्तु जस्तै बिक्दैनन्। यिनको मूल्य छैन त्यसैले त यी अमूल्य छन्।’

यसरी नै प्रतिष्ठानका तर्फबाट उप–प्रध्यापक, महेन्द्र बहुमुखी क्याम्पस तथा धवलागिरि साहित्य प्रतिष्ठानका सदस्य षडानन्द पौड्यालले लेख्नुहुन्छ- ‘कविता, यात्रा, निवन्ध, खोज अनु सन्धानका विषय क्षेत्रबाट परिचित बनेका काजी रोशन स्वयंमा संस्था भइसकेको अनुभव अनुसन्धानकर्ता एवं समीक्षकहरूले निष्कर्ष निकालेका छन्।’

स्रष्टाहरूलाई भेट्ने रहर शीर्षकमा स्वयं कृतिकार लेख्नुहुन्छ – ‘म बागलुङबाट काठमाण्डो पुगेका वेला पशुपतिनाथको दर्शनगर्नु अघि कवि लेखकहरूलाई भेट्न पुग्दथें ।’ यसै अभिव्यक्त्तिबाट प्रष्ट हुन्छ कि कृतिकारले साहित्य र साहित्यकारमा अगाध श्रद्धा र आदर भाव राख्दथे / राख्दछन्।

कृतिकारलाई भूपि शेरचनका रचना र उनको व्यवहारको साथै उनले दिएको रोयल स्काउलिसको फूलको जानकारीले निकै प्रभाव पारेको देखिन्छ। पारिजात बस्ने वास पत्तालगाउन ५ घण्टा लागेको थियो भने सिद्धिचरण श्रेष्ठलाई भेटन ४ घन्टाको प्रयासमा मात्र सफल हुनु भएको थियो। अर्को एउटा रोचक प्रसङ्ग गोपालप्रसाद रिमालसँगको भेटमा दुई घण्टासम्म बस्दा एकशब्द पनि सुन्न पाउनु भएन। यो स्रष्टा भेटका स्वर्णाक्षर सङ्कलनमा बगेको पसिनाले आज यो गहन कृति हामी बीच प्राप्त भएको छ। यसकृति भित्र धेरैजसो साहित्यकारले साहित्यको बारेमा, समाजको, देशविकासको, विकृति र विसङ्गतिको साथै आर्थिक राजनैतिक र काजी रोशनले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा प्रकाश पार्ने कोसिस गरेका छन्। यस स्वर्णाक्षरमा पोखिएका साहित्यकारका धारणा तथा भावनाका केही शब्द या बाक्य सहित उहाँहरूको नामलाई यहाँ प्रस्तुत गर्न चाहन्छु –

यस कृतिकी प्रथम हस्ताक्षरमा (२७ पुष २०२५) पारिजात पर्नुहुन्छ।उहाँको हस्ताक्षर गर्नुभन्दा पहिला लेख्नुहुन्छ– ‘बोल रुखमनि उभिएका छाप्राहरू, बोल शीतमनि मरेका बालखहरू म चियाको नाशामा क्रमशः लठि्ठदै जाँदै छु।’

यसरी नै सिद्धिचरण श्रेष्ठ लेख्नुहुन्छ –’संकट पर्छ मानिसलाई ढुङ्गालाई के पर्छ, असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ।’

माधव घिमिरेको धारणा –’ छ जिन्दगीमा हरियो पना क्यै छन् स्वप्न नीला, नव सिर्जनाक्यै, पला पला छन् यदि प्राण बन्त भने, यही जीवन हो अनन्त।

भूपि शेरचन– ‘नवयुवकहरूलाई ‘रायल स्काउलिस्’ को फूल भन्ठानेको छु’।

नरसिंहभक्त तुलाचन (नेपाली वाङमयमा …नवोदित साहित्यकार युवावर्गको ठूलो खाँचो छ )। ‘

बालकृष्ण सम– ‘मानिसको जात मानिस नै हो अर्को उसको जातै छैन।’

गोविन्द भट्ट–’तपाईंलाई मानवता वादी भएको देख्न चाहाने।’

आनन्द देव भट्ट–’शक्तिलाई बहुजनका निम्ति प्रयोग गराउने प्रयास एउटा जनताको साहित्यिक को हुन्छ। ‘

ज्योत्सना भट्ट – साहित्यलाई हामीले मनो रञ्जनको साधन मात्र नठानेर …..नयाँ जीवन दिन र सफा हावा ओहोर दोहोर गराउन सकोस्।’

टीका बहादुर मल्ल – म के बुझ्दछु त्यो म भन्दिन, म के चाहन्छु त्यो म भन्दछु।’

बैकुण्ठ प्रसाद विजुच्क्ष– ‘उत्साही कवि, आशा वादी कवि’।

मोहन बहादुर मल्ल – साहित्यकार योगी वा त्यागी बन्न लाज मान्न हुन्न।

धर्मराज थापा – ननासिने जिन्दगी यो फूल्दो रानीवन।’

कविन्द्रमान– ‘शुष्क धरामा जब बृष्टि हुन्छ तव सृष्टि हुन्छ।’

माधब प्रसाद देवकोटा– ‘अब आमा ढकमक्क भै फुलुँ।’

कुलमणि देवकोटा – के–के सुन्दर, सुन्दरन्तर पर सुन्दरतम सुन्दर’।

लसी दिवस – ‘एउटा पढाई मान्छेले मान्छेलाई पढेपछि सायद अरु पढिरहन बाँकी केहिरहने छैन।’

गोविन्दलाल श्रेष्ठ–’साहित्य देशको ऐना हो।’

बासु शशी –’मानिस र मानिसहरू बीचको परिचय सदैव शुभ भै रहनु सधैं सूर्य उदाइरहनुभन्दा उज्यालो हुन्छ।

भवानी भिक्षु– ‘साहित्य जीवन–कला हो, जीवनै होइन।’

हरिभक्त कटुवाल–’म त चैतको एउटा हुरी मात्र –त्यत्ति, बिजुलीको एउटा चम्काई मात्र –त्यत्ति। ‘

परसु प्रधान –’बाँच्नु कति गाहारो भइरहेछ।’

चितरञ्जन नेपाली –’साहित्यिकहरूको खुशी मात्र भेटमा छैन केही लेख्नु र गर्नुमा छ।

कालीभक्त– पुरना लिपिहीन इतिहासको खोज गर्ने सुझाऊ।

मुकुन्दशरण उपाध्याय–संसार केही हो’ तर त केही होइनस्।’

मदनदेव भट्टराई –’सदप्रयासहरू सफलताको कामना ।

तारानाथ शर्मा–’सुन्दर आकर्षक र स्तरीय मानवीय अभिव्यक्ति नै साहित्य हो।’

गोपाल प्रसाद रिमाल –’सफलताको कामना’।

महानन्द सापकोटा – ‘नेपालका गौरवका निमित्त लर्ने र मर्ने सबमा छ ढोग।’

भीमनिधि तिवारी–ं ‘सुखमय जीवनको कामना।’ कमल दीक्षित– ‘भाषा सम्बर्धनको सुझाऊ।’

सूर्यविक्रम ज्ञावली –’प्रेम नै सबभन्दा ठूलो गुण हो।’

योगी नरहरी नाथ–’फुटेका भाइ जुटेर सबै छुटेको मिलाऊँ।’

रत्नध्वज जोशी–’मानिसको स्वभाव र बानी या अन्तरलाई चिनेपछि मात्र मानिस चिनिन्छ।’

विजय मल्ल–’साहित्य भेलाको यो भेट अविस्मरणीय होस्।’

देवकुमारी थापा– हामीले अरुबाट दिएको दान हो प्रसिद्धि, हामीले अरुलाई दिएको दान हो चरित्र ।’

वनमाली निराकार– ‘साहित्य प्रतिको अनुराग सदाजीवित रहोस्।’

श्याम गोतामे –’कुनै काम गरिनु लायक छ भने त्यो राम्ररी गरिनु लायक पनि हुन्छ।’

महेश प्रसाई –’स्मृतिमा कैद गर्न खोज्नुभयो। लौ म आज देखि भएँछु, सायद यो आत्मिक अनुष्ठान पनि थियो। ‘

इन्दिरा प्रसाइँः–’हाम्रा स्मरणहरू जिउँदा–जाग्दा रहन सकुन्।’

जनकप्रसाद हुमागाइँ–’बहुसंख्यक जनताको हितमा सघाउ पुग्ने साहित्य, साँस्कृतिको निर्माण गर्न जति छिटो सक्छौं त्यति नै छिटो सामाजिक कुरीतिको अन्त्य हुन थाल्छ।’

कपिल लामिछाने –’साहित्यलाई जगै देखि उठाउन संगठनिक प्रयास भएका छैनन्।’

बूँदराना– ‘देशको माटो देशको निम्ति काम नै नलागि। बगेर गए त्योभन्दा ठूलो को होला अभागी?’

रत्नाकर देवकोटा–’घमण्डी होइन स्वाभिमान भई बाँचिरहुँ।’

रमेश खकुरेल –’तर हेर नियालेर को मात्रै पो सुखी छ र, एउटा न एउटा नदुखेको कहाँ छर।’

कृष्णप्रसाद पराजुली –..मेचीदेखि कालीसम्म हाम्रा प्रतिभाहंरू यसरी फिंजारिदै आइरहुन् आफ्ना पोल्टाभरि सिर्जनाको कोशेली ल्याइरहुन्।’

शरदचन्द्र शर्मा– ‘वीरशाली पन्तबारे केही जानकारी गर्ने काम काजी रोशनले गर्नुभएको छ।’

भिक्टर प्रधान –’धौलागिरि अञ्चलको नेपाली साहित्यिक गतिविधि भनेको काजी रोशन र काजी रोशन भनेको धौलागिरि अञ्चल भन्ने धारणा म र मेरा कतिपय मित्रहरूमा परेको छ।’

गोपी कृष्ण शर्मा– ‘मान्छे के हो? के हातमुख जोर्नु मात्र मान्छे हो र?’

मोहन दुवाल –’साहित्य सिर्जना र सेवामा लागिरहने धौलागिरि अञ्चलको सुन्दर नाम काजी रोशन हुन्।’

चुडामणि रेग्मी–’गोष्ठीहरूद्वारा साथी–भाइसित भेटघाट चिनाजानी र आपसि बिचार विनिमय जुन हुन्छ, त्यो महत्वपूर्ण हुन्छ, भन्ने लाग्दछ।’

रमेश विकल– ‘….प्रगतिशील दिशादृष्टि छैन भने त्यो साहित्य नै हुँदैन ..।’

भानुभक्त पोख्रेल –’क्रियाशीलता नै जीवन हो..।’

तेजप्रसाद श्रेष्ठ– मिलन पनि अविस्मरणीय सम्झना हुँदो रहेछ।

भवानी घिमिरे – ‘राम्रो काम ठम्याएर राम्रो उदेश्य र राम्रो लक्ष्य प्राप्तिका निम्ति निरन्तर निष्ठापूर्वक संलग्न हुनु जस्तो आनन्द दायक कुरा अरु केही हुँदैन।’

रमा शर्मा –’ स्वस्थ साहित्य विना देशको विकास सम्भव छैन।’

दधिराज सुवेदी– सबै क्षेत्रले भाषा, साहित्य, संस्कृति र कलाको विकासमा रचनात्मक दिशा दिन सकौं..।

वंशी श्रेष्ठ –साहित्यिक श्रष्ठा राजनीति र कुनै पनि वादबाट माथि उठेर जीवन र प्रकृति अनि दर्शकनको व्यापकता अंगाल्ने सुझाऊ।

डा. राष्ट्रबन्धु –यह मत सोचो तुम गरिब हो पढ न सकोगे बदनसिव हो और निरे बुद्धू मुरख हो।’

टेकविर मुखिया –’प्रगतिको लागि हार्दिक शुभ कामना।’

डिल्लीराम निर्भिक –’मानिस विद्वता र विवेकले नै चिनिन्छ भने नीति नैतिकता र व्यवहार पनि चाहिन्छ।

गोपाल पराजुली –’साहित्य सिर्जनात्मक कुरा भएकोले नयाँ हुनु पर्दछ भन्ने मेरो आफ्नो मान्यता हो।’

शंकर थपलीया – ‘साहित्यको शरीर समसाचमयिक भए पनि त्यसको आत्मा स्वास्वत हुन्छ र हुनु पर्दछ भन्ने मलाई लाग्छ।’

छत्रबहादुर कायस्थ –’भाषा जातीको अस्तित्व हो। साहित्य जीवनको शास्वत हो।’

अमृतलाल श्रेष्ठ– ‘तपाईंको लक्ष्यलाई जीवन्तता दिएर गन्तव्यमा पुग्न सक्नु होस्।

ललितजन रावल –राष्ट्रियरूपमै प्रसिद्धि पाइसक्नुभएको धारण व्यक्त।

नकुल सिलवाल – क्षेत्रलाई ज्योति प्रदान र राष्ट्रलाई रोशन प्रदानको धारण।

सूर्य बहादुर खड्का ‘विखर्ची’ – ‘काम गर्नेको नाम अवश्य पनि अमर रहन्छ।’

सरुभक्त– ‘आकाश आकाशमा छैन धर्ती धर्तीमा छैन आकाश धरतीको मिलन बिम्नु क्षितिज क्षितिजमा छैन।’

बद्री विनोद प्रतिक –अर्झै बढी सेवा गर्ने जागर चलिरहोस्।

भीष्म उप्रेति– ‘साहित्य संकुशित मनस्थिति र गुटबन्दीबाट माथि उठ्न पर्छ।

श्रवण मुकारुङ– साहित्यले मसँग सधैं जोरी खोज्छ म सधैं उसलाई दःुख दिने गर्दछु।’

रमेश क्षितिज –’हिड्दै जाने मान्छे टाढा पुग्छ….।’

हरि शर्मा –मान्छे देख्छ –मान्छे देख्दैन …’।

हिरण्य कुमारी पाठक– साहित्य समाजको दर्पण हो।

हेमन्त श्रेष्ठ –मानिसलाई जे आफूसँग हुन्न त्यसैको बढी चाहना हुन्छ।’

विजय बविमय–हामी जुन ढुङ्गामा टेक्छौं फर्केर त्यसैलाई ढोग्छौं।

मंजुल – बागलुङले मेरो हृदयलाई ठूलो हुने मौका दिएको छ, पृय बाग्लुङ।

ओम श्रेष्ठ रोदन – मानिस बाँचेर मर्न जो पनि सक्छ तर मरेर बाँच्न थोरै मात्र सक्दछन्।’

ज्ञानेन्द्र विवशः–’यात्रा पथमा भेट हुन्छ, तर त्यो प्रायः त्यत्तिकै पूर्ण बिराम हुन्छ।’

कृष्णराज कोइराला – ‘साहित्य भनेको मुटुको स्पन्दन हो।’

रहबान अली राकेश –’साहित्यद्वारा नेपाल भारतकी मैत्री्क के मार्गको प्रशस्त कर सके।’

नारायण तिवारी –’.सबैभन्दा ठूलो त मान्छे पो हुन्छ।’

नरेश शाक्य (निरज)– तपाईंका यी प्रयासहरू, पाइलाहरूले सदा अग्रदिशा अबलम्बन गरुन्।’

बद्री पालिखे– ‘एक खेपको हेराहेरमा जीवनभरको साथ बने छ। कोरेथें टेढारेखाहरू तर तिम्रो तस्विर पो बने छ।’

डा. गणेश भट्टराई –मध्ये नभमा चन्द्र रहन्छ तैपनि कुमुद तल फक्रन्छ। दुर( देशमा तिमिरहन्छौ तैपनि दृदय तिमी सङैँ छ। ‘

सुशीला कोइराला (भण्डारी) – ‘सम्बन्ध मनमा फुल्छ देखिदैन जहीं तहीं।’

दिनेश अधिकारी : –साहित्यिक सन्दर्भमा धौलागिरि या बागलुङको प्रशंग आउँछ–म सबभन्दा पहिले तपाईंलाई सम्झन्छु।

कृष्णप्रसाद दाहाल –’साहित्य सेवा भन्नु प्रकारान्तरले देश सेवा हो।’

नगेन्द्र राज शर्मा– नेपाली वाङ्मय सेवामा सक्रियताका साथ रहनको लागि शुभकामना।

केदारमान व्यथित–’चाहे ज्ञानीका आँखामा लुकोस् जगतको दिव्य महत्व तर कवि देख्छन् मिल्किरहेको रछानमा पनि मङ्गल तत्व।’

बालकृष्ण पोख्रेल–तपाईं त्यो रोशन राष्ट्रलाई दिनुहोस् जसले आफ्नो स्वाध्न्ताको साक्षात्कार शाश्वत अस्तित्वसित हुन जाओस्।

जयदेव भट्टराई –तपाईं र तपाईंका परिवारले समग्र साहित्य जगतलाई मुग्ध पारेको अनुभव आज म गर्दै छु।’

रविलाल अधिकारी –’साहित्यलाई नै पेटपालाको बाटो बनाएरु पाल्न नसकिने।’

किशोर पहाडी – हामी व्यक्तिगत रूपमा परिचित नभए तापनि नामले परिचित हुन्छौं।

डा. तुलसी भट्टराई–’ साहित्य हामीकहाँ समयसापेक्ष बन्न सकेको छैन।’

गोवर्द्धन पूजा–“यो झुल्किनु अस्ताउनको लागि हो।”

खुम नारायण पौडेल –’ समय हामीबाट नजानिदो पाराले फुस्किदै जान्छ।’ मल्लके सुन्दर –यो मसी नसुकेसम्म कलमलाई कोर्दै जाउँ।’

सत्य मोहन जोशी– ‘तपाईंद्वारा संस्थापित प्रतिष्ठानको सर्बाङ्गिण विकासको पुन आशा गर्दछु।’

प्रेम विनोद नन्दन –’साहित्यको एउटा कुना छुन पाए पुग्छ।’

बुद्ध सायामी – काजी रोशनको काम देखि प्रभावित भएको।

जीवेश्वर लाखे –साहित्य र समाज सेवा मार्ग कठिन मार्ग भए पनि त्यसको माध्यमले हामी समाजमा अन्यायको बिरुद्ध चेतना ल्याउन सके पनि देशको लागि सानो सेवा हुने छ।’

ध्रुब मधुकर्मी – साहित्यको माध्यमबाट भेटघाट भएको अभिव्यक्ति।

इन्द्र माली –’..नेपाली साहित्य क्षेत्रमा रोशन साँच्चिकै रोशन हुनेछ।’

पद्मरत्न तुलाधर– भाषा साहित्यको क्षेत्रमा लागेकोमा प्रभावित भएको।

डा. चुन्दा ब्रजाचार्य– ‘नेपाल भाषा साहित्यमा प्रवेश गर्नु हुने छ।’

सूर्य बहादुर पिया –नेवा संस्कृति, कलाको रक्षा गर्नु हाम्रो कर्तव्य हो।’

कृष्ण पहाडी –’ साहित्यकारहरू देशका अमूल्य निधि हुन्’।

डा. जगत छेत्री –तपाईं झै आशा लाग्दा प्रतिभा प्रति हार्दिक अभिनन्दन छ।

चन्द्रकला नेवार–’हुनत आजको यो जयन्ती एकातिर तरबारको धार छ भने अर्कातिर सुगन्धित फूलबारी पनि छ।’

हिरा आकाश–’मेरो बिचारमा कविता मुक्तिको एउटा इन्कलाब हो।’

विवश पोखरेल – ‘समय एउटा खोला हो।’

नरेन्द्र बहादुर श्रेष्ठ–साहित्यका माध्यमबाट तपाईंसँग भेट्ने सौभाग्य पाएँ।

घटराज भट्टराई– ‘सधैंसत्कार्यमा लाग्ने उत्थ्साह होस निरन्तर यमैटै उद्देश्यमा लाग्ने मिलोस साहसिलो भर।’

राममान तुषित –प्रगतिको कामना।

युवराज काफ्ले –इतिहासले मूल्याङ्कन गर्ने छ।

रामलाला अधिकारी –अनुकरणीय बनोस।

ज्ञानुवाकर पौडेल– सार्थक जीवन बाँच्ने ज्ञान साहित्यले दिने धारणा।

कृष्ण जोशी– ‘हाम्रो चिनजान निरन्तर रहोस।’।

एस.एल. शर्मा –’मान्छे भएर मान्छेसँगै मिल्नु पर्छ।’

तुलसीराम शर्मा ‘कश्यप’ –साहित्यमा अघिबढ्ने सुझाऊ।

पूर्ण प्रकाश नेपाल ‘यात्री’– ‘आत्माविश्वासमा बाँचौं उत्स जिन्दगीमा सधैं।’

दैवज्ञराज नेउपाने –’मरेपछि के हुन्छ खै, बाँच्नु नै छ खासा।’

फणीन्द्र नेपाल– असल मित्र पाएको अनुभूति।

ज्ञानेन्द्र खतिवडा– काटिएको भूभागमा परे पनि मुटुबाटै नकाटिऔं।

रुद्र पौड्याल – ‘जीवन्त फेरि पाइन्छ रे तर मित्र भने त्यस जीवनमा पाइन्छ पाइन्न।’

जीवन नामदुंग– ‘जिन्दगी को यो अन्तहीन समोरोहमा फेरि भेटौंला निश्चय।’

गीता केशरी – ‘हामी मानव मात्र हौं मानवभन्दा अर्को होइनौं।’

डिल्लीराम मिश्र– ‘दुःखको बेला हाँसो अभिनय, विछोडको बेला सम्झनाको परिचय।’

गोविन्द बहादुर कुँवर –’बाटोको माया भरियालाई बढी हुन्छ। देशको माया साहित्यकारलाई बढी हुन्छ।

गोविन्द वर्तमान–’बास्तविक सुन्दरताको प्राप्तिमा अग्रसर होऔं।’

लव गाउँले– ‘तिमीलाई चोटलागेमा त्यसको पीडा मलाई होस्।’ रमेशजङ्ग सिजापति –औपचारिक भेटमा हर्षीत।

बम बहादुर जिताली– ‘कति इमान्दारीता पालेर बसिरहनुहुन्छ जितालीजी।’

बासुदेव लुइँटेल–’मैले धेरैजसो कुरा लेखिसकेको छु ती पढिदिनु पर्‍यो।’

विमल निभा – परिचयमा खुसी व्यक्त।

सरुविन्द–’एउटा ज्यूँदो साहित्यिक।’

कुलप्रसाद खनाल– ‘मान्छेभित्रको संवेदना सुसुप्त छ।’

युवराज नयाँघरे –कुराभन्दा कामबढी, उपदेशभन्दा उचित सल्लाह दिने तपाईंको चिन्तना सदा अनुकरणीय रहनेछ।

विश्व शाक्य– भेट भएकोमा खुसीको धारणा।

विजय कुमार कसजू– ‘जीवन एउटा कथा हो।’

मनु ब्राजाकी –’बेच्नु पर्छ जिन्दगी यो सधैं सधैं केही कुरा आफ्नो लागि किन्न खोज्दा।’

प्रेम कैदी–यात्रा सफलताको कामना।

विष्णु घिमिरे गगन –आत्मीयता अँझै प्रगाढ बन्दै जाओस्।

प्रमोद स्नेही –शुन्यताबाट सुरु भएको जिन्दगी अनन्त शुन्यतामै विलाउँछ।

गोविन्दराज विनोदी– साहित्यिक यात्राको निरन्तरता र सफलताको कामना।

डा. रामविक्रम सिजापती– ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव भने झैं।’

लक्ष्मणप्रसाद गौतम –वाङमय सेवाको निरन्तरताको कामना।

श्याम प्रसाद– ‘कवि लेखकहरूकाो हस्ताक्षर र बिचारहरू बटुल्ने काम प्रशंसनीय हो।’

गेहेन्द्र भूषण पोखरेली –मित्रता निरन्तर सजीव रहिरहोस भन्ने भावना।

देवी प्रसाद वनबासी –अँझै पनि सिङ्गै धौलागिरि बोक्ने हिम्मत उहाँमा विद्यमान रहेको पाएँ।

जगत बहादुर जोशी-‘काजी रोशन बागलुङ साहित्य समाजको परिचायत्मक प्रतिनिधि हुनुहुन्छ।’

डा. केशवमान शाक्य –मानिसलाई कसरी मानिस बनाउने जिम्मेवारी कथाकारमा छ।

आर.पी. लामा –मेरो शुभ कामना छ।

हरिदेवी कोइराला– भेट गर्ने चाहना भएकोमा पुरा भएको धारणा।

कृष्णदेव शर्मा-साहित्यका वरदपुत्र “काजी ” समग्रमा तपाईंको कार्य मूल्याङ्कन गर्दा तपाईं “उत्सवमूर्ति”, हुनुहुन्छ ।

बास्तवमा काजी रोशनले यो हस्ताक्षर र साहित्यकारहरूको धारणा सङ्कलन २७ पुष २०२५बाट सुरु गरी ६ पुष २०५५सम्मका हस्ताक्षरहरू प्रकाशनमा आएका छन्। यस्तो महत्वपूर्ण कामको थालनी गरेर काजी रोशनले नेपाली साहित्यको इतिहासमा कोशे ढुङ्गा थप्न सफल हुनु भएको छ। यस्ता गहनकामको लागि, हामीले मुरीमुरी प्रसंशा र मुरी मुरी धन्यवाद दिनै पर्दछ। यस्ता स्तुत्यकर्म बढ्दै जाउन भन्दै बिदा चाहन्छु।

धन्यवाद
सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *