Skip to content


परिचय
भवानी न्यौपाने ‘भावना’को यस कृतिलाई मैले पल्लप साहित्य प्रतिष्ठानको बार्षिकोत्सव कायक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ । पढ्दै गएँ, लाग्यो, नेपाली सहित्यको क्षेत्रमा उनी एक प्रतिभा सम्पन्न नारीहस्ताक्षर हुन् । उनको परिचयलाई केलाउँदा उनी ह्विल्चा सल्यानमा पिता पवित्रराज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्म लिइन् र दाङ तुलसीपुर–५ ‘ग’ लाइनमा स्थायी बसोबास गर्दै, शिक्षण पेसालाई अङ्गाल्दै आएकी छन् । साहित्यिक कार्यक्रममा सहभागी हुँदा रमाउने भवानीलाई दाङ साहित्यिक तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, चितवन, राप्ती साहित्य परिषद्, दाङ, लेखकसङ्घ, दाङ, देउखुरी साहित्य तथा सांस्कृति मञ्च, दाङ, ब्रह्मकुमारी राजयोग विश्वविद्यालय, दाङ आदि संस्थाहरूमा आजीवन सदस्यको रूपमा आबद्ध भएको पाउँछौ । भवानीले नारी दिवस–२०६९, वक्तृत्वकला जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर (द्वितीय), क्याम्पस स्तरीय कथा, प्रतियोगिता–२०६०मा (प्रथम) र दाङ साहित्यिक संस्कृति प्रतिष्ठान तुलसीपुरबाट छविलाल स्मृति पुरस्कार–२०७१ प्राप्त गरिसक्नुभएको छ । यो उनको प्रथम कृति हो र यसमा उनले स्वच्छन्द रूपमा यथार्थ परक कविताहरू पस्केको देखिन्छ ।

विभिन्न साहित्यकारको नजरमा भवानी–
प्रा.गदाधर पौडेलले भवानीका कवितालाई मूल्याङ्कन गर्दै लेख्नुहुन्छ– ‘विभिन्न शीर्षमा रचिएका कविताहरू केही सरल, केही बक्र, केही गम्भ।ीर ।यी तीनै विशेषताले युक्त भएको नदी–प्रवाहजस्तो लाग्यो’ (पृष्ठ त) । केशवराज आमोदीले उनका कवितालाई विश्लेषण गर्दै लेख्नुहुन्छ –‘कवयित्री भवानी समकालीन धाराकी स्वच्छन्दवादी यथार्थवादी, स्रष्टा हुन् । वर्तमानको कटुसत्यलाई जस्ताको तस्तै कवितामा उतार्नु उनीभित्रको सृजनशील सफलता हो’ (पृष्ठ व) । गोर्खे साइँलोले दाङका नारी हस्तीहरूको विवरण प्रस्तुत गर्दै भवानीका भावनामा प्रकाश छर्दै लेख्नुहुन्छ–‘समकालीन धार र वर्तमानको कटुसत्य दैवीप्रकोप परिवेश समेतलाई आफ्नो कवितामा उतार्नु उनीभित्रको नारी सृजनशील शक्ति र यिनको गहन लगनशीलताबाट प्राप्त हुने सफलता हो’ (पृष्ठ ड) । डा. प्रेम न्यौपानेले भावनाका कवितामा छोटो तर मीठो विवेचना गर्दै लेख्नुहुन्छ – प्रसिद्ध साहित्यकार एव म गीतकार रमेश क्षितिजकी बहिनी भवानी न्यौपाने (भावना)ले आफ्नो वंशपरम्पराको गरिमामय साहित्यिक इतिहासलाई जीवन्त बनाउन सफल हुनु भएको छ’ (पृष्ठ ष) । प्रकाशकीय शुभकामनामा दीपेन्द्रकुमार जोशी ‘निक’ले पल्लव साहित्य प्रतिष्ठानले गरेका गरिमामय साहित्यिक कार्यक्रममा प्रकाश छर्दै लेख्नुहुन्छ – तुलसीपुर –५, दाङ निवासी भवानी न्यौपाने, पेशाले शिक्षिका, समाजसेवी, राजयोगिनी, उपनाम भावना । निकै राम्रा कविता लेख्नुहुन्छ ’(पृष्ठ ङ) । भवानीले ‘मेरा केही बाक्यहरू’ शीर्षकमा साहित्य सिर्जनाका सम्बन्धमा यस्तो धारणा राख्नुभएको छ –‘आमाको गर्भदेखि नै साहित्यलाइसँगै लिएर जन्मन्छ बालक र त्यही परिवेशमा रहेर हुर्कन्छन् उसका हरेक साहित्यिक विम्बहरू’ (पृष्ठ स) । भवानीजीले यस विषयलाई पुष्टि गर्दै आफ्नो साहित्यिक यात्रा पनि आफ्नै घरको साहित्यिक परिवारमा जन्म भएकोले साहित्य मन परेको हुनसक्ने धारणा राख्नुभएको छ ।

कृतिको संरचना – यस कृतिको आकार १४४ पृष्ठको छ । यस कृतिलाई पल्लव साहित्य प्रतिष्ठानले प्रकाशन गरेको र मूल्य रु. २५१/– राखिएको छ । अग्र आवरण पृष्ठमा आकर्षक चित्र छ भने आवरणको पछिल्लो पृष्ठमा साहित्यकारहरूका अभिव्यक्तिको साथै भवानीको छोटो परिचय पनि दिइएको छ । यस कृतिलाई भवानीले आफ्ना माता– पितामा समर्पित गर्नुभएको छ । यसकृतिमा ‘अर्चना’ कविता शार्दूलबिक्रीडित छन्दमा र ‘दुखेसो’ भुजङ्गप्रयातमा लेखिएका र अरु सबै कविता गद्यकविताको रूपमा प्रस्तुत गरिएका छन् । यस कृतिमा जम्मा ५५ वटा कविताहरू समावेश भएकाछन् ।

विषय प्रवेश
नेपालमा गद्य कविता लेखनले गोपालप्रसाद रिमालबाट थालनी गरेर आज भवानी न्यौपानेसम्म आइपुग्दा धेरै मोडहरू पार गरिसकेको छ । छन्दमा हात चलाउने कविभन्दा गद्यकवितामा हात चलाउनेको संख्या बढ्दो क्रममा देखिन्छ । कविता लेखन गद्यमा होस या पद्यमा होस् त्यति सहज देखिदैन तापनि कविहरू साहित्यिक सागरमा हामफालिरहेका छन् । यहाँ भवानीजी पनि हाम्रो अघि भवनाका विम्बहरू लिएर आउनु भएको छ । घर बलियो हुनका लागि जग बलियो चाहिन्छ भने जस्तै भवानी पनि साहित्यिक परिवारमा जन्म लिइन् र बढिन् पढिन् अनि शब्दलाई केलाउन चलाउन र शब्द संयोजनमा कसी लगाउन थालिन् । साहित्यिक यात्रामा अगाडि बढ््दा सफलताका फलहरू हात लाग्न थाले र ‘भावनाका बिमबहरू’ले आकार लिएर हामीले अध्ययन गर्न पायौं । भावनाका विम्बहरूमा भाषिक शक्ति छ, कुशल शब्द संयोजन सहितको सिर्जनात्मक अभिव्यक्ति दर्विलो छ र उनका कविताले सफलताको मार्ग अवलम्बन गरेका छन् । उनका कविताको अध्ययन हामीले विविधरूपमा गर्न सकिन्छ ।

गुरूप्रति कविको धारणा–
सत्गुरूको सही मार्गदर्शनबाटै मानवले जीवनमा सार्थक उपलब्धि हाँसिल गर्न सक्छ । यहाँ भवानीले ‘अर्चना’ र ‘मेरो सत्गुरूलाई नमन’ भनी गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै दुई कविता पस्कनु भएको छ । ‘अर्चना’ कवितालाई हामीले मङ्गलाचरणको रूपमा लिन सकिन्छ र यसमा कवयित्रीले, गुरूसँग ज्ञानको, कविता लेख्न सक्ने क्षमताको मार्ग सफा होस् सफल होस् भन्ने धारणा र कामना राख्दै ‘अर्चना’ गरेकी छन् । गुरूप्रतिको धारणा राखिएको ‘मेरो सत्गुरूलाई नमन्’ कवितामा पनि जीवनलाई उच्चाइमा पुर्याउने काम गरेको, वात्सल्य प्रेममा नवकृतिहरू हुर्काकाउने काम भएकोले साक्षात् भगवानको रूपमा लिंदै हार्दिकताको नमन गर्ने धारणा राखिएको छ । भवानीले गुरुप्रति उच्च श्रद्धाभाव दर्शाएकी छन् ।

समाजका विकृति र विसङ्गतिप्रति कवयित्रीको धारणा –
साहित्य समाजको दर्पण हो । समाजका यथार्थताको प्रस्तुतिको माध्यम हो साहित्य । त्यसोहुँदा साहित्यले समाजको गतिविधिलाई समायोजन गरेको हुन्छ । यी विकृति र विसङ्गतिबाट मुक्तिको मार्ग कसरी अवलम्बन गर्न सकिन्छ र सबल र सफल मार्गको यात्रा कसरी गर्न सकिन्छ भन्ने मार्गदर्शन हो साहित्य । मानिस मानिस हो चाहे त्यो गरिब होस् या धनी समान मानवीय मूल्य र मान्यता हुन्छन् तर समाजमा त्यो पाइँदैन यहाँ विभेद छ त्यसलाई कवयित्रीले यसरी प्रष्ट्याएकी छन् –

‘एक चम्चा छुट्याएर राख
भोकाहरूको निम्ति
कति आफ्नो मात्र पेट भर्छौ
(उपकार पृष्ठ७१)

‘धनीहरूको पो महत्व र चर्चा हुँदोरहेछ’ (गरिब पृष्ठ, ४९) । धनी र गरिबमा देखिने विभेदमा कवियित्रीको धारणा यसरी प्रष्टिएको छ –‘हरेकले हेर्ने दृष्टि फरक छ, गरिने व्यवहारिकता फरक छ (गरिब, पृष्ठ,४९) । गरिबीले गाँजेको मानिसले रोग लागे औषधी पाउँदैन, सुनौलो भविष्यको कल्पना पनि गर्न सक्दैन, चुल्होमा उमाल्ने एक मुठी अन्न पाउँदैनन्, कुल्ली बनी १०–१२ वर्षका अबोध बालकले दिन बिताएकोह र ती अबोध बालकहरूले शिक्षाबाट बञ्चित भएको धारणा ‘गरिबी र पीडा’ कविता(पृष्ठ ९७)मा समसामयिक यथार्थतालाई प्रष्ट्याउने प्रयास सफल देखिन्छ । कवयित्रीको चाहना विभेदको अन्त्य र समतामुलक समाज हो भन्ने तथ्यलाई ठोकुवाको साथ भन्न सकिन्छ ।

राष्ट्र, राष्ट्रियता, देश र आमाप्रतिको धारणा –
‘कर्तव्य’, ‘रुन्छ नेपाली आकाश’, ‘मातृभूमि’, ‘देश दुखेको पीडा’, ‘देशका लागि’, ‘शुभकामना र बिदाइ तिमीलाई’, ‘जन्मभूमिको माया’ ‘जन्मभूमिलाई वन्दना’, ‘अनुभूति’, ‘आमा’, ‘मातृभूमिको माया’, ‘रूँदैछ भूमि अचेल’ ‘आफ्नै देशको हिमाल ढोगेकी छु’, ‘देशप्रतिको कामना’, ‘आमाका सन्तानहरू’, र शीर्षकमा लेखिएका कविताहरूले राष्ट्र, राष्ट्रियता, देश र आमाप्रतिको धारणालाई प्रष्ट्याउने प्रयास गरेको देखिन्छ । मानव कर्तव्य राष्ट्रप्रति समर्पित हुनुपर्दछ, जन्मभूमिलाई योगदान पुर्याउनु पर्दछ, सबै नेपाली मिलेर मात्र सुन्दर नेपालको निर्माण हुन्छ,धर्ती बेच्ने कुतत्त्वलाई देख्न पनि जाती हुँदैन,आफ्ना सन्तति सत्मार्ग छोडेर कुमार्गमा लागेकोमा आमा रोएकीछन्, देश दुःखेको देख्दा कवयित्री भित्रभित्रै पीडाले जलेकी छन् र सगरमाथाको अस्तित्व बचाउन हर पल तल्लीन छन्, देशको नून खाएपछि देशका लागि केही गर्नुपर्छ, टुक्रिएका सीमाहरूमा बलिया खाँवा गाड्नुपर्छ, कुर्सी र स्वार्थका ज्वारभाटा उखेल्दै त्यागी राष्ट्रप्रेमी बन्नु पर्दछ, जन्मभूमिको मायामा नशानशामा सम्झनाको नदी बगाउनु पर्छ र जन्मभूमिलाई संरक्षण गर्नुपर्छ, मातृभूमिको सेवामा जीवन बलिदान दिनुपर्छ र जन्मभूमिप्रति बन्दना गर्नुपर्छ,, ऐश्वर्यले भरिएको यो पवित्र भूमिमा धेरै दैत्यहरू जन्मिएको अनुभूति भएकोले यस्ता दैत्यलाई नास्नु पर्छ र अन्यायकाजन्जिर तोड्नुपर्छ,, आमाले छोराछोरीलाई दिएको मायाममता त्याग र तपस्यारूपी ऋणलाई छोराछोरीले कहिल्यै तिर्न सकिदैन, आमा परमपूज्य देवी हुन् र छोराछोरीकी प्रधान अङ्ग हुन्, नेपालमा जन्मिनु सौभाग्य हो, मातृभूमिको माया मुटुभन्दा प्यारो हुन्छ, आज देशमा भएका र घटेका संवेदनहीन क्रिया कलाप, टोलाइरहेका हरेक बस्तीहरू, शोकग्रस्त जीवनहरू आदिले गर्दा अचेल भूमि रुँदैछ, यही देशमा जन्म भयो, यही देश नै प्राण हो, यही देशको सगरमाथाजस्तै हामी उभिन सक्नुपर्छ, हाम्रै हिमाललाई ढोग्नुपर्छ,हाम्रो देश सधैं हाँसिरहोस्, सधैं सधैं बाँचिरहोस् भन्ने देशप्रतिको कमना गर्दै कवयित्री भृकुटी र सीता भेटाउने आशामा मीठा गीत कोर्दै छन् र रमाउँदै छन्, आमाका सन्तानहरू थरी थरीका छन्, कोही देउरालीमा लुकामारी खेल्दैछन्, कोही ऐँसेलु टिप्दैछन्, कोही सहर पस्दैछन्, कोही कुर्सी बचाउनको लागि प्रतिस्पर्धा गर्दैछन्, कोही देश निर्माणको निहुमा बन्दुक पड्काउँदै छन् र शान्तिका परेवा उडाउँदै छन्, आदि भावनाले सजिएका यी कविताहरूमा जति टीकाटिप्पणी गरे पनि कमि नै हुन्छ । राष्ट्र, रष्ट्रियता, आमा र देशप्रति भवानीका भावनामा सागरै उर्लिएको छ । जो हरेक नेपालीमा आवश्यक छ ।

शिक्षकसेवाप्रतिको धारणा – मेरो बीचारमा शिक्षक पेसा भनौं या शिक्षक सेवा भनौ सेवा मध्येमा सर्बउच्च सेवा हो । यस सेवाले देशका भावी कर्णधारहरूको निर्माण गर्दछ । शिक्षक भनेका गुरु हुन् । यिनको नैतिकवान लगानीले देशका हरेक क्षेत्रलाई परिचालन गर्ने नैतिकवान, कर्मशील, लगनशील। राष्ट्र राष्ट्रियता र देशप्रेमले ओतप्रोत जनशक्तिको निर्माण हुन्छन् र देश र विश्व नै हाक्न सक्छन् । भवानीजीले प्रकट गरेका शिक्षकसेवाप्रतिको धारणामा केही मात्रामा असन्तुष्टि जनाए पनि, चक जस्तै लेख्दा लेख्दै टुक्रिएर जाने जिन्दगी भनी तुलना गरे पनि उनको धारणा आफै यसरी प्रकट गरेको पाइन्छ –

‘ सैयौं पवित्र फूलहरूको स्याहार गर्ने माली मेरो जिन्दगी
हो माली मेरो जिन्दगी
हो त्यसैले त म शिक्षक’
(पृष्ठ, ७)

जीवनजगतप्रतिको धारणा–
दुःखेसो, जिन्दगी, सहर, आकाशका सौन्दर्य आकृतिहरू, उदासी जीवन, मभित्रको जिन्दगी, उहाँको सन्देश, आदि कवितामा कवयित्रीले जीवन के हो ? यसमा कस्ता कस्ता घटना घट्छन् आदिलाई प्रष्टयाउने प्रयास गरिएको देखिन्छ । जीवनलाई मैले संघर्षको रूपमा लिने गरेको हुन्छु, । यहाँ सुख दुख, आशा निराशा, सफलता असफलता, हर्ष विस्मात आदिमा मानिसले सङ्घर्ष अवश्य गर्नुृ पर्दछ । जीवनचक्र चलिरहन्छ । जीवनमा भोग्न परेको दुखेसो पोख्दै, ‘बुझ्नै पनि असहज जिन्दगीको, आरोह –अवरोहरूपी चक्र कहिले आँधीबेहेरी भई पछारिन्छ कहिले फूलमाला र अविरले सम्मानित भई सजिन्छ कस्तो अनौठो यो जिन्दगी’ भन्दै, ‘मुटुभरि माया बोक्दै असङ्ख्य जीवनलाई खुसी भर्ने दानी यो सहर’ कि बटुवा कवयित्री आकाशका सौन्दर्य आकृर्तिहरूमा ‘ सृष्टिको परिवर्तनशील चक्र’मा ‘ठूलाले सानालाई दवाएको लीला’ देख्न पुग्दछिन् । मानिसले खुसी र उल्ला्सको जीवनमात्र बिताउँदैन, उसले ‘उदासी जीवन’ बिताउनु पर्दछ । त्यहाँ पीरै पीरको भारी बोक्नुपर्छ, बलिया प्रहारका बीजहरू धेरै रोप्नु पर्छ । मानिस भित्रको जिन्दगीमा कवयित्रीले ‘मानवीय आदर्श जीवनदर्शन, धर्म र नैतिकता, देवत्व प्रेम, ईश्वरसँग आत्मिक मिलन आदि जीवन दर्शनका धारण र भावना पस्केको पाइन्छ । ‘उहाँको सन्देश’ कवितामा ‘चोट त जीवनको उपहार हो’ भन्ने सन्देश‘ठूलो शत्रु पीडासँग विचलित हुनुहुन्न’ जस्ता अभिव्यक्ति दिंदै जीवनप्रतिका गहन धारणाहरूलाई कवयित्रीले प्रष्ट्याउने प्रयास गरेको देखिन्छ ।

नारीवादी धारणा –
कवयित्री स्वय म नारी भएकोले नारीहरूले भोग्न परेका यथार्थतालाई यहाँ पस्केको पाइन्छ । आधा आकाश ओगटेका नारीहरूप्रति कवयित्रीले ‘मानव जीवनको प्रधान अङ्ग’, परमपूज्य जननी, स्नेहमयी दिदी बहिनी, देवी भवानी जगदम्वा, महात्यागी, दानी,आफू पीडा खेपेर अरुलाई खुसी दिने,आफू रोएर अरुलाई हँसाउने, सती, तपस्वी, युग युगको सुख दुःखको साथीको रूप हुन् भन्ने धारणा राखेकी छन् । नारीका यस्ता अमूल्य कर्मको कारणले गर्दा आफू नारी भएकोमा गर्व र स्वाभिमान भएको भावना पस्कदै, नारीले आदर सत्कार सम्मान पाउनको सट्टा आज भोग्न परेका रोदन, लान्छना, दारुणा, यातना, र तिरस्कार भोग्न परेकोले नारीनारीबीच ईष्र्या कलह त्यागेर सक्रियताको ध्वनि जगाउँदै नारी जुट्नु, उठ्नु, परेको धारणा राख्नुभएको छ । आज नारीले गरेका अमूल्य कामको सही मूल्याङ्कन हुन सकेको छैन ।

संस्कृतिप्रतिको धारणा–
हाम्रो मौलिक संस्कृति खिइदै गएकोमा भवानीको मन कुडिएर गएको छ । सामाजिक मान्यता, प्राचिन संस्कृति, नैतिकतामा आज आएर पश्चिमेली संस्कृतिले जरा गाड्दै गएको छ । नेपाली समाजमा पहिचान बोकेका हाम्रा बाजाको सट्टा ढ्याङ्ग्रा पिटिदै छन्,नेपाली भेषभूषा दौरासुरुवाल चोबन्दी, देउसी/ भैलोको प्रकृति फेरिदै गएको, हरिया सालका पात गाँसेर टपरी सजाउने काम, हरियो दुबो मखमलीका माला गासिने भाइटिकमा आदि पुर्खाको सम्पत्ति सुन्दर सभ्यता र संस्कृतिमा आँच आउन थालेको र दुर्लभ बन्दै गएकोले हामी सबै मिलेर बचाउनु पर्छ भन्ने आग्रह गरिएको छ ।

ईश्वरीय दर्शन र कवितासङ्ग्रह
भवानीले ईश्वरीयदर्शनमा पनि आफ्नो धारणालाई प्रष्ट्याएकी छन् । ईश्वरको दर्शन प्राप्त गर्न मन्दिर धाइराख्न पर्दैन । ईश्वरको दर्शन त यत्रतत्र सर्बत्र गर्न सकिन्छ तर चिन्तनमा लिन हुनुपर्दछ । ‘ईश्वरको दर्शन सबभन्दा बढी गरिबको झोपडीमा पाइँदो रहेछ’ भन्ने भवानीको कथन छ ।

शान्तिवादी चिन्तन– शान्ति आऊ तिमी छिटै आऊ र शान्तिको फूल फुलाउँ, यी दुई कवितमा शान्तिको कामना गरिएको छ । शान्तिलाई सबैले चाहन्छन् । आजको समयमा अशान्तिका कारणले गर्दा मानिसलाई जिउन पनि गाह्रो भयो । यसरी नै शान्तिको फूल फुलाऔंका केही पंक्तीलाई हेर्यौ–

बुद्धका देशका सन्तति हामी
शान्तिको फूल फुलाउँदै जाऔँ
रोइरहिछन् मातृभूमि
उनको आँसु पुछ्दै जाऔँ

भवानीले शान्तिबाटै मातृभूमि र मानव जीवनको कल्याण हुने धारणा राखेको देखिन्छ ।

कवितामा प्रेमका भावना–
प्रेमले यत्रतत्र सर्बत्र स्थान ओगटेको हुन्छ । भनिन्छ यो संसार प्रेममा नै अडिएको छ । भवानीजीका कवितामा पनि प्रेमप्रणयको सुगन्ध कतै कतै पाइन्छ –

जिउनको नियति पनि कस्तो
बेकामिरहेछ विचरीको प्रणयसूत्र
कस्तो अधुरो सौभाग्य
(पृष्ठ १००, एक साधुका आत्मबोधे)

प्राकृतिक चित्रण –
कवितामा प्राकृतिक चित्रणले पनि ठूलै स्थान ओगटेको देखिन्छ । प्राकृतिकसँग जोडिएर लेखिएका कविताले मनै छुनै र आफै प्राकृतिक सौन्दर्यमा रमाएजस्तो लाग्ने –

आहा कति स्वर्णीम छ कति सुन्दर छ
विराट छवि बोकेको देश मेरो
फुलेका छन् पाखाभरि रातै लालीगुराँस
कति ओइरिन्छन् झरनाहरू यहाँ
छैन कतै उदास

समसामयिकता र कवितासङ्ग्रह –
लोकतन्त्र, वैशाख १२ गते, कस्तो पुस्ताको मानिस म । समय र म आदि कवितामा हामीले समसामयिकताको रूपमा अध्ययन गर्न सकिन्छ । देशमा लोकतन्त्र त आयो तर जनताले लोकतन्त्रको अनुभूतिगर्न पाएनन् । बैशाख १२गतेको भू–कम्पनले ठूलै नोक्सान पुर्यायोको मार्मिक बर्णन हामीले पाउन सक्छौं । आजको जमाना मानवीय मूल्य र मान्यताको जुन कदर हुनु पर्ने थियो त्यो सहज छैन । कवयित्रीले यस सम्बन्धमा लेख्छिन्–

पृथ्वीमा धेरै दैत्यहरूको उदय हुँदै छ
मानिसले मानिसको रगत पिइरहेछन्
अहो कस्तो पुस्ताको म मानिस
(पृष्ठ १० अहो कस्तो पुस्ताको म मानिस)

बास्तवमा भवानी समकालीन धाराकी स्वच्छन्दवादी एव म यथार्थवादी कवयित्री हुन् । उनको कविता स्वतन्त्ररूपमा भावना बगेको पाइन्छ र आजको युगले भोगेका यथार्थतालाई उनका कविताले प्रदर्शन गरेको हुन्छ । कवयित्रीको धारणा प्रष्ट, समसामयिक, देशदुःखेको पीडा, नेतृत्ववर्गमा स्वार्थलोलुपता र भ्रष्टिकरण, देशमा विकाशको चाहना, शान्तिको कामना, नारीवादी चिन्तन्, लोकसंस्कृतिप्रतिको संरक्षणको चाहना, भूकम्पले ल्याएको विनाश, जीवनजगतका कुरा आदिमा उनका कविताले स्थान ओगटेका छन् ।

भाषशैली–
भवानी न्यौपाने ‘भावना’ लेखनमा सरल, सुबोध सुललित र मनोहर शब्दशैलीकि धनी देखिनुहुन्छ । भाषामा जो मिठास पाइन्छ, त्यस्तै प्रतिकको प्रयोग पनि भएको देखिन्छ । उनका कवितामा अलङ्कारले सजिएका भाव र कलाले परिपूर्ण भएको सौन्दर्य पक्ष छन् भन्न सकिन्छ । शृङ्गार, रौद्र, वीर आदि रसले पनि स्थान लिएका छन् ।

अतः माथि लेखिएका यथार्थतामा मैले धेरै भावहरूको प्रस्तुति गरिसकेको छु जस्तो लाग्दछ । सङ्क्षेपमा भन्नुपर्दा उनका कविता राष्ट्र, राष्ट्रियता देशभक्तिले भरिएका देखिन्छ छन् । कवयित्रीको धारणा प्रष्ट, समसामयिक, देशदुःखेको पीडा, नेतृत्ववर्गमा स्वार्थलोलुपता र भ्रष्टिकरण, देशमा विकाशको चाहना, शान्तिको कामना, नारीवादी चिन्तन्, लोकसंस्कृतिप्रतिको संरक्षण, भूकम्पले ल्याएको विनाश, जीवनजगतका कुराहरूलाई समेट्दै आफ्नो् साहित्यिक यात्रालाई अगाडि बढाएको देखिन्छ । साहित्यिक यात्रामा निरन्तरताको आवश्यक्ता पर्दछ, निश्चय पनि भवानीजीले त्यो आवश्यक्तालाई निरन्तरता दिंदै भावप्रवाहलाई बगाउँदै नेपाली साहित्यआकाशमा तारासरि चम्कदै जानुहुनेछ भन्ने धारणा राख्दै उज्ज्वल भविष्यको कामना साथ बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७२ साल पुष ८ गते,
कावासोती नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *