Skip to content

खोजौं कहाँ ती दिन


खेल्थ्यौं साथ महाँ मिलेर वहुतै सर्वांग नांगो भई
खोलिन्थे जिउमा हुने ति कपडा खोला किनार्मा गई
हुन्थेनन् नि कुरा ति लाज घिनका सुर्ता थियो खेल्नकै
खोजौं आज कहाँ खुशी समय त्यो चिन्ता छ यो झेल्नकै ।।

मोजामा वटुली पुरानु कपडा बन्थ्यो उफार्ने बल
हुन्थ्यो धेर थकान त्यै चउरमा वस्थ्यौं छहारी तल
हुन्थे वात गरेछ विश्व रचना कस्ले भनी छल्फल
भन्थ्यौं खास नतिजा मिलेर सबले हो दैवको यो छल ।।

खान्थ्यौं भात मुछेर साग महिमा सव्जी थिए गुन्द्रुक
खाजा भन्नु मकै र भट्ट नुनमा चोवेर खान्थ्यौं चुक
गोडा पट्पट थ्यो फुटेर रगतै बग्थे ति धारा बनी
हाँस्थ्यौं खित्खित तैपनी जुनकुरा छुट्यो उही जीवनी ।।

पाल्थ्यौं गोठमहाँ वथान सरिका गाई र भैंसी थिए
गोठालो म थिएँ र साथ उनको पाएर मज्जा लिएँ
आयो वैंश उनी पराइ घरमा अन्मी गईन् साथ गो
तन्नेरी म भएँ र वालसखिको केवल् यहाँ याद भो ।।

हान्यौं डण्डिवियो उफारि कहिले चट्टी कपर्दी भयो
थन्किन्छौं घरमा कुरेर अवता ती दिन् विते गैगयो
पढ्ने साथ मिली थिए उ दमली साथी छुटे गैगए
मन्त्री भन्छ कुनै भयो सचिव त्यो नेता ठुला भैगए ।।

हेरेँ जीवन फर्किएर अहिले खोजौं कहाँ त्यो दिन
खोला वग्छ र फर्किदैन कहिले उल्टो यहाँ देख्दिन
भोग्ने गर्छु अभावमा दिनहरू कन्था सरी जिन्दगी
यस्तै भान हुने ति मानिस यहाँ खोजूँ म कोही छ कि ??

चट्टी = एक प्रकारको दौडिने र लाइनहरूमा वसी छेक्ने खेल
कन्था = झुत्रो वा थाँग्नो , महि = मोही दहीबाट मथेर घ्यू निकालेको झोल
छन्द शार्दुलविक्रीडित, १९ अक्षर, १२ अक्षरमा विश्राम

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *