परदेशी भूमि नौलो थियो मेरो लागि, पहिलो पटक परदेश गएको भएता पनि पनि २ वर्षभन्दा बढी समय बितिसकेको थियो । स्वदेशमा हुँदा कहिले परदेशमा पुगेर कमाउला भन्ने रहर अनि परदेशी भूमिमा टेकेपछि घरपरिवार साथीभाइ अँझै बढी देशको माया, राष्ट्रियता पनि कहाँबाट पलाउँदो रहेछ कुन्नि । फेरि पनिरहरभन्दा करले नै परदेशिएको भन्न कर लाग्दो रहेछ परदेशमा पुगेपछि । नेपालका युवा प्रायजसो परदेशलाई नै आफ्नो कर्मभूमि बनाइरहेका छन् रहरले होस् वा बाध्यताले होस् जे जसो भएपनि कमाइको गतिलो माध्यम चाहि पक्कै बनेको छ । कसैलाई सरल होला त कसैलाई कठिन बाटो बनेको छ यो ।
यसैबीचमा जब–जब चाडपर्वको चटारो आउछ अथवा छोरो विदेशमा छ अनि विवाह भएको छैन भने, लगनका महिना शुरु हुनासाथ घर परिवारलाई बुहारी भित्र्याउने सपना पनि नौलो हुदैन । परदेशी जीवन कहिले दिउसोंको काम त कहिले रातको काम । मेरो दिनचर्या पनि यस्तै थियो २४ घण्टामा आधा काम आधा समयमा आराम भेटघाट, घरमा फोन अँझै धेरै समय त सामाजिक संजालमा नै बित्ने बिताउने गर्दथें । घरमा प्रायः मैले आफै फोन गर्ने गर्दथे तर एक दिन अचानक घरबाट फोन आएको रहेछ आमाको नम्बरबाट ३ मिसकल पुगिसकेको, अलिबढी थकान भएकाले शुरुमै थाहा पाएनछु ।
मेरो कामपछिको पहिलो नजर प्रायः मोबाइलमा नै जान्थ्यो त्यो दिन थाहा पाइन अन्जानमै । मिसकल देख्दा कता कता मन आत्तिएर आयो घरबाट किन एक्कासि फोन आएछ कुन्नि । तत्कालै फोन फर्काए तर फोन उठेन, फेरि फर्काए उठेन मनमा नानाभाँती कुराहरू खेल्न थाले आमालाई मेरो नम्वरमा कल गर्न त आउँदैन कहाँबाट आयो फोन मलाई ? तेस्रो पटकमा फोन उठ्यो पहिलो घण्टीमै आमाको आवाजसँगै । मैले हतारिदैं भने किन फोन नउठाउनु भाको फेरि सोधे किन यति धेरै फोन गर्नुभएको ।
मेरो कुरा सकिन नपाउँदै आमाको प्रश्न ‘घरमा कहिलेसम्म आइपुग्छस् ?’
मैले सोचें भर्खरै दशैं त सकिएको थियो अनि फेरि यस्तो हतार किन घरमा । मैले कुरा घुमाउन खोजे मैले सोधे मलाई कसले फोन लगाइदियो ।
आमाको जवाफ थियो ‘तेरो नम्बरमा हिरोको फोटो छ यही फोटो खोजेर हरियो बटन दबाएपछि तलाई फोन जान्छ’ ।
अलिकति ठट्यौलो पारामा मैले सोधे कुन हिरोको फोटो राख्नुभाछ त नि ? एकाएक आमाको सुक्क सुक्क आवाज सुनिन थाल्यो । मनमा नाना थरी कुराहरू खेल्न लागे कसैलाई केही भएछ कि क्या हो ? हतारमा सोधिहाले ‘घरमा सबै सन्चै हुनुहुन्छ ?’
अरु चिनेजानेकालाई पनि सोधे जवाफ सबैलाई सन्चै छ भन्ने मात्र पाए ।
त्यै पनि मेरो मन शान्त भएको थिएन । फोन बाबालाई दिन भने बाबाको कानमा पर्नासाथ सधैं पैसाको कुरा गरिहाल्ने यसपाली भने पैसा भन्दा पनि आमाले नै सोधेको कुरा दोहोरिन लाग्यो । पैसाको कुरालेभन्दा अब बुढालाई पनि छोराको यादले सताउन थालेछ, मन भने मुसुमुसु हाँसिरहेको थियो । अँझै पनि मनको खुल्दुली मेटिएको थिएन मेरो । अलिकति जिस्किदो पारामा बुबालाई सोधें गाउँतिर कत्तिको रमाइलो छ ? लाहुरेहरू को–को आछन् त नि भनेर ।
मैले कुरा बङ्ग्याउने पारामा सोधेको बुबाले ‘यहाँ मलामी जाने मान्छेसम्म हुन छोडे सबै विदेश सबै कमाउनतिर छन्’ सुन्दा वित्तिकै मुटु नै चसक्क भयो ।
के कुरा गर्ने कहाँबाट शुरु गर्ने सकिराखेको थिइन मैले । फेरि पनि फोन राख्न मन लागिरहेको थिएन केही गम्भिर कुरो त पक्कै छ जस्तो लगिरहेको थियो । अँझै पनि मनको खुल्दुली मेटिएको थिएन मेरो । अलिकति गम्भिर मुद्रामा सोधें आज अचानक किन फोन गर्नु भाको ?
फेरि गम्भिर मुद्रामा उत्तर आयो ‘मंसिर लाग्यो बाबु आमालाई बुहारी, नाति नातिनाको रहर लाग्न थाल्यो रे !’
बुबा भन्दै हुनुहुन्थ्यो मिलेसम्म आइज यही मंसिरमा । बल्ल अलिकति ढुक्क भए कुरा त्यसो पो रहेछ । तर म बुवाको कुरालाई न शब्दले नै समर्थन गर्न सक्थे न त व्यवहारमा नै उतार्न सक्ने अवस्था नै थियो । हुन दसैंमा घर आउने कोसिस गरेको थिए तर सम्भव भएन । अनि म धेरै बोलिन या भनुँ मेरो वाक्य नै रोकियो, हुन्छ मैले खबर गर्छु नि भन्दै कुरा टुङ्ग्याए । फोन राखेपछि मनमा नाना भाँति कुराहरू खेल्न थाले, सँगैका साथीहरू सम्झन थालें । कसैको घरजम भइसक्यो कोही नेपाल मै जागिरे, कोही पढाईमै । यादहरू मनमा नै सुनामी उर्लेझैँ भएर आउन थाल्यो आँखाहरू पिल पिल गर्न लागिसकेका थिए । शायद म परदेशी भएको धेरै पो भएछ क्यारे । घर जाने भाका तेश्रो पटक सर्दै थियो तर मनमा भने याद र सम्झना टुंगिने छाँटकाँट नै देखिएको थिएन । फेरि मोबाइलमा पुराना फोटाहरू हेर्न थाले । खाना खाने समय हुदैं थियो, कामले शरीर थाकिसकेको थियो, खाना पकाउने जाँगर चलेन ।
यतिकैमासँगै परदेशिएको साथीको फोन आयो सोध्दै थियो “के छ खबर ? घर जाने होइन ?”
मैले फ्याट्ट उत्तर दिए “जाने त हो तर कैले थाहा छैन ।”
उसलाई नि घरबाट फोन आएको रहेछ । घर कैले आउछस् भनेर मैले यस्तै हो सबैको भन्दै कुरा टुङ्ग्याँए । हुनपनि यो नौलो घटना थिएन मेरो लागि कहिले घरबाट, कहिले साथी, दिदी, मावली जताततैबाट फोन आइरहेको नै हुन्थ्यो, तर आजजस्तो अनुभव भएको थिएन पहिला कहिल्यै । त्यसपछि कानमा गीत बजाउँदै बिस्तारामा पल्टिए, फेरि पनि घरबाट आएको फोनलाई नै सोंच्दै थिए । घरतिरको कुरापनि ठिकै नै थियो मंसिर लाइसकेको छोराको बिहे गरीदिने रहर घरकालाई त पक्कै पनि छ होला नि । तरपनि आफ्नो बाध्यता आफैसँग नै थियो । अँझै बढी त बाल्यकालका सम्झनाले सताउँदो रहेछ । ती समयहरू कति शक्तिशाली थिए कति रमाइला पनि यस्तो लाग्थो समय मेरै वशमा थियो । मैले जस्तो चाह्यो त्यसै गरी चलाऊन सक्छु जस्तो लाग्दथ्यो । ती बाल्यकालमा सोंचेको परदेश र अहिलेको परदेशमा धेरै फरक थियो, त्यो समयमा आकाशमा उडेको हवाईजहाज देख्दा कहिले चढुँला, कहिले उडौंला जस्तो लाग्दथो तर अहिले आएर तिनै बाँसका सुप्लाका हवाईजहाजमा जस्तो रमाइलो अरुमा रहेनछ जस्तो लागिरहेछ, जस्तो प्रकारको सोचेंपनी जस्तो प्रकारले देखेपनि सपनाको संसार र विपनाको संसारमा धेरै अन्तर हुँदो रहेछ । जे होस् जीवनका प्रत्येक कदमले पाठ सिकाइरहेको थियो । सोचेरै भए पनी बाल्यकालमैं रमाउन मन लागिरहेको थियो । तर छटपटी बढ्दै थियो, एकातिर घरपरिवारको जिम्मेबारी त अर्कातिर आफ्नो भविष्यले पनि बाटो खोजिरहेको थियो सोध्यै थियो ‘मेरो कुनै टुङ्गो लगाउनु पर्यो ।’
आफ्नै भविष्यको यस्तो प्रश्नले पनि पटक–पटक झस्काइरहेको थियो । यो सबै सोचाइमा मात्र हो भन्ने थाहा हुँदाहुँदै पनि बारम्बार सोचिरहन मन लागिरहन्थ्यो किन किन ? उत्तर म आफैलाई पनि थाहा थिएन । रात सकिने वित्तिकै फेरि परदेशी मेलो शुरु गर्नु पर्ने नै थियो । तरपनी किन–किन एकपटक शुरु देखी अन्तिमसम्म सोचिरहन मन लागिरहेको थियो ।
यतिकैमा नजिकैको घडीमा आलारामको घण्टी बज्यो बिहानको आलाराम बजेको रहेछ । आँखा मिच्दै उठे कानमा इयरफोन टाँसिएको रहेछ, मोवाइलको ब्याट्री सकिएछ, तर कतिबेला थाहा पाएनछु मैले । उठेर नित्यकर्मतिर लागे कताकता भोक लाग्दै थियो, सम्झिए अघिल्लो रात भोकै सुतेको रहेछु । हतार हतारमा खाना पकाएर खाएर हतार हतार कामतिर लागे । फेरि शुरु भयो बितेका दुई वर्षदेखि चलिरहेको मेरो दिनचर्या शुरु भयो । दिनभरि काम गर्दा पनि घर परिवारलाई सम्झदैं फेरि हाँस्दै पनि थिएँ । हिजोको फोन सम्झेर मनमनै मेरो पनि बिहे गर्ने बेला भएछ भनेर । सोच्दै थिएँ अब आफ्नो देश फर्किएपछि त विदेश आउदिनँ स्वदेशमै केही गरेर बस्छु, फेरि सोंच्दै थिएँ पढाई बीचमै छोडेर हिंडे कस्ले देला र मलाई जागिर ।
त्यस दिनको मजदुरी पनि सकियो । हतार हतारमा बासस्थान पुगे, मोबाइल हेर्दा आजपनि ३ मिसकल । मैले कस्को फोन हेर्नुभन्दा सोचेँ – आजपनि घरबाट नै त होइन ?
