Skip to content

रोगाएका युवा पुस्ता : गति, दिशा र गन्तव्य


साहित्यमा लेखन र पठन अमूल्य कर्म हो । लेखकको नाम र शीर्षक पढ्दै थन्क्याउँदै जानु पाठकीय रोग हो । असल पाठक बन्न नसक्ने मान्छेलाई असल लेखक बन्न सहज हुँदैन । जसले पनि काम लाग्ने कुरा त पढ्नै पर्छ । नलाग्ने कुरा पत्ता लगाउन समेत पढ्नै पर्छ । पाठकीय भूमिका निर्वाह गर्न पनि पढ्नै पर्छ । नपढी नयाँ दिशा देखिँदै देखिन्न । वर्तमानलाई बुझ्न र दृष्टि तिखार्न पनि पढ्नै पर्छ । लेखन र पठन संस्कृतिले मलजल भेटेमा मात्र बुद्धिजीवी जन्मने र फैलने अवस्था आउँछ । अनि मात्र बौद्धिक क्रान्ति सम्भव हुन्छ । विनाबौद्धिक क्रान्ति समाजको अग्रगामी परिवर्तन सम्भव छैन । यत्तिखेर हामीकहाँ बौद्धिक क्रान्तिको अभाव खट्केको छ । राजनीतिको पिछलग्गु भएर बौद्धिक क्षेत्र धरापमा नराम्ररी फँसेको छ । संसार परिवर्तनको अचुक अस्त्र बौद्धिक वर्गमा छ । त्यस अस्त्रको उपयोग नगर्नाले नै मुलुक युगौंयुगदेखि पछि परेको छ । अँझसम्म हामी त्यही पछ्यौटे वर्गमा छौँ । जमानादेखि हातमा सारसौंदो टर्च बोकेर प्रकाशको खोजीमा अन्धकारतिर लम्किरहेका छौँ ।

अतृप्त इच्छाले नैतिकहिनताको घर बनाउँछ । लागू हुनेबेला त्यस्तो इच्छाले मानिसको होस हराइदिन्छ । सोचसमझ गुमाइदिन्छ । पहिले एक थोक गर्छु भने पनि त्यत्तिखेर अर्को थोक गर्न अग्रसर गराइदिन्छ । अँझ आँखा लोभको सारथि हुन्छ । यसको जे राम्रो देख्छ, त्यो आफ्नै होस् भन्ठान्छ । वास्तविक जीवनमा सबै कुरा प्राप्ति हुँदैन भन्ने भुलिदिन्छ । र, प्राप्त हुनैपर्छ भन्दछ । समाजमा मुखले एकातिर सङ्केत गर्ने र व्यवहार भने अर्कैतिर गर्ने प्रवृति नौलो होइन । धन सङ्ग्रहको होस् या सन्तानसुखको लालच होस् मान्छे आफूलाई बेच्न तयार हुन्छ तर लालच फेर्न राजी हुँदैन ।

असल मान्छेलाई मन पराउने पनि असल नै हुन्छ । कमसलले असललाई चिन्न सक्दैन । कमसलको जमातमा असलको काम हुन्न । यस युगमा एक्लो वृहस्पति भएर जिउन साह्रै गाह्रो छ । हर ठाउँमा भ्रष्टाचार व्याप्त छ । यसका विरुद्ध कर्मले उभिनेहरू औंलामा गन्न सकिने सङ्ख्यामा मात्र छन् । कुशासनमा आफ्नो भाग्योदय देख्नेहरूको सङ्ख्या गनी साध्य छैन । धर्ममा रहेर कार्यसम्पादन गर्नेहरू न सुखानुभूति पाउँछन्, न त इज्जत नै भेट्छन् । तिनीहरू त जहिले पनि परिस्थितिका बन्दी हुन्छन् र अर्कालाई अघि बढ्ने सिँढी भइदिन्छन् ।

मान्छे सानो ठाउँमा जन्मन्छ । पछि ठूलो मन बनाउँछ । आँखा पनि ठूल्ठूला पार्दछ । संसारमा भएका मान्छेको चेतनाको स्तर निम्न हुन्न । मानिससँग चेतनाको खानी नै हुन्छ । तर, त्यो काममा आएको हुन्न । जबसम्म चेतनालाई क्रियाशील पारिन्न, तबसम्म चेतनशील बन्ने कुरै आउँदैन । हामीमध्ये धेरैजसो चेतना लिएर श्वास फेरिरहेका छौँ । तर, लगभग दुईचार प्रतिशत चेतना उपयोगमा मरिरहेका छौँ । सूचनाको भारी बोकेर दैनन्दिनी चलाउँछौँ । त्यही सूचना लिन चारैतिर भौतारिन्छौँ । सूचनाको भारी सकी नसकी बोक्छौँ । र, केही उपयोगमा ल्याउँछौँ तर अधिकांश त्यत्तिकै खेर फालिरहेका हुन्छौँ ।

छेउमै सप्तकोशी मलिलो पानी लिएर गङ्गा भेट्न बुर्कुसी मारिरहेछ । किसान भाइ भने आकाशे पानीको आशमा आकाश हेरेर दिन बिताउन विवश छ । बाँझो खेत लमतन्न पसारिन्छ । अभिशप्त किसान दाइ पुर्पुरोमा हात राखी भाग्यलाई खोट दिन व्यस्त छ । यहाँ चेतनाको उपयोग भएको भए काँचुली फेरिने थियो । मान्छे अरूमा हैन आफूमा भर पर्ने थियो । वर्तमानको कर्मको लहरोले भविष्यलाई काबुमा पार्थ्यो । अरूको भरमा भविष्य खोज्दा सधैं विपत्ति आएको छ । मान्छेको मन अज्ञानतामा अलमलिएको छ ।

चिन्तनका लागि समय चाहिन्छ । एकान्तविना नवीन चिन्तन सम्भव छैन । सामाजिक प्राणीका हिसाबले मान्छे एक्लै रहँन मिल्दैन । संसारलाई साथमा लिएर बुर्कुसी मार्नेले मात्र विजयको स्वाद पाउन सक्छन् । उल्झन–बल्झनलाई स्वीकार्य भावमा ग्रहण गर्न सक्नेले मात्र नूतन अध्यायको सुरुआत गर्न सक्छन् ।

जन्मेका सबैले सार्थक काम गर्दैनन् । कोही कर्मद्वारा समाजका साहू बन्छन् त कोही ऋणी ठहरिन्छन् । समाजका भारहरू हटे र समाजलाई ऋणी तुल्याउनेहरू बढे मात्र समाजले ऊध्र्वगामी मार्ग पक्रन्छ । सामाजिक प्राणीका नाताले मान्छेले समाज हितमा आफ्नो कर्म समर्पित गर्न सक्नुपर्छ । समाजलाई हेर्ने व्यक्तिपिच्छे फरकफरक आँखा हुन्छन् । कोही पहिले अरूलाई हेरेर पछि आफूलाई हेर्छन् । कोही भने अरूलाई नहेरी आफूलाई मात्र हेर्छन् । त्यस्ता अरूलाई नहेर्ने मान्छे नै समाजका अभिशाप हुन् । तिनीहरूको जन्म नभइदिएको भए समाजको अग्रगामी मार्ग अवरुद्ध हुने थिएन ।

हिन्दू चलनमा वरपीपललाई ईश्वरीय रूपमा पूजाआजा गरिन्छ । तिनीहरूको विधिपूर्वक विवाह गर्दिने चलन पनि छ । विश्वास जे भए पनि दुराचारीहरूको लागि एकान्त स्थल पनि वरपीपल बन्न सक्छ । तिनैलाई साक्षी राखेर अनेकन् क्रीडा हुनसक्छन् । किनभने वरपीपल प्राय: एकान्त स्थलमा नै रोपिन्छ । चौबीसै घण्टा मानिसको आवाजजावत हुन्न ।

मान्छे विविध परिस्थिति पचाएर जीवनरथमा यात्रा गरिरहन्छ । त्यस्ता परिस्थिति कुनै अनुकूल हुन्छन् भने कुनै प्रतिकूल हुन्छन् । कतिपय परिस्थितिको उठान परिबन्दले गर्दछ । कतिपय मान्छेको भूलले जन्मिएको हुन्छ । मान्छे तीतो–सत्य पचाउन नसकेर भ्रममा बाँच्न पुगेको पनि हुन्छ । एक थरी मान्छे समय र परिस्थिति विचार्दै बखेडा झिकेर अहम्ता प्रदर्शन गर्न पनि खुट्टा कपाउँदैन । यात्रा स्वयम्मा सहज त हुन्न । चुनौतीरहित समेत हुन्न । पलपल जोखिम मोल्ने हिम्मत गर्दा मात्रै यात्रा सम्भव हुन्छ । अनि मात्र गन्तव्यविन्दुमा उभिन सकिन्छ । पाइलैपिच्छे त्रासमा अल्झन खोजेमा पलपल थला परिन्छ ।

सोझासीधा गाउँलेहरूको आँखामा छारो हालेर मनमौजी गर्न पल्केको सरकारको भण्डाफोर गर्ने काम प्राथमिक विद्यालयका प्रधानाध्यापक रूपमा रहेका ‘म’ पात्र र उनैको प्रेरणा र गाउँलेहरूको योगदानले बी.ए. उत्तीर्ण गरी गाउँकै माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेका ‘ऊ’ पात्र अर्थात् बिर्खबहादुर वि.क.ले गरेका छन् । सहकार्यमा दम हुन्छ । त्यसको फल समेत चखिलो र दीर्घकालसम्म लाभदायक हुन्छ । यही नैतिकताबोध गराउन कथा सफल छ ।

मान्छे स्वार्थी छ । आफ्नो सुख र चयनको ख्याल गर्छ । अरूको ख्याल गर्ने उसलाई फुर्सद हुँदैन । मान्छे ज्ञानी भएर पनि अज्ञानी व्यवहार गर्छ । आफ्नो संसार ठूलो होस् भन्छ । अरूको संसार सङ्कुचित हुनपर्छ भन्ने ठान्छ । मान्छे सौन्दर्यताको पुजारी हो । राम्रो लागेको जति सबै आफ्नै होस् भन्ठान्छ । सुन्दर फूल मान्छेको अगाडि धेरै समय टिक्दैन । कुनै न कुनै मान्छेले त्यसलाई टिपेर आफ्नो बनाई छाड्छ । यहाँ सुन्दरताको सम्मान नगरी ऊ फूलको हत्या गरिरहेको छ । यस कुराको वोध भएर पनि मान्छे डेढ अक्कल लगाइरहेछ । सुन्दरताले जीवनकै स्वतन्त्रता हनन भएका यस्ता धेरै घटना छन् ।
जनतालाई बलीको बोको बनाउने काममा नेपालका नेतानेतृहरू माहिर छन् । सपना देखाउँछन् । भोट तान्छन् । उच्च ठाउँमा पुग्छन् । अनि, मज्जाले आसन जमाएर आफैंलाई मात्र हेर्छन् । देश र जनतालाई भुसुक्कै भुल्छन् । दिएको आश्वान र जनताले राखेको भरोसाको खिल्ली उडाउँछन् ।

ग. उपसंहार–

हामी युवा समयले कोतरेकाजस्ता छौँ । सम्पूर्ण विकृति हाम्रै थाप्लामा खसेजस्तो छ । पुराना पुस्ताका उँघिहिँड्ने कुराका पछि लागेर हामी कहाँ पुग्छौ ? हामीले सोचेकै छैनौँ । एउटा विश्वासले वर्तमानलाई नपक्रिए त्यो पुत्कने वाला छ । फुत्केपछि पछुताउनु अघि बेलैमा होस्को ओखती खानु जरुरी छ । वर्तमान जेजस्तो भए पनि यसैलाई सर्वोत्तमतवरले उपयोग गर्नुको विकल्प हाम्रा सामु उपस्थित नभए पनि बूढापाकाका कुरा सुन्दै, बुझ्दै र गुन्दै विश्वगतिमा दौडन आवश्यक छ । नत्र हामी अँझै आधा शताव्दी कुँजिएर बस्नुपर्ने हुन्छ । यसर्थ वर्तमान समयलाई अत्यधिक मात्रामा सदुपयोग गर्नु नै आजको आवश्यकता हो ।

नन्दलाल आचार्य
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *