Skip to content


जिन्दगीले मलाई दुखी हुने
हजारौं कारण बतायो
मैले जिन्दगीलाई खुशी हुन
एउटा कारण बताउनु छ
बालक जस्तै पिर रहित
केवल एकदिन
मलाई बाँचेर देखाउनु छ।

महकिला पैयुँका सेता फुल
बोकेर हत्केलामा गुँरास
ओढेर रविको न्यानोपन
हिँडेर धुपी र सल्लाको वन
कलकल मनोरम झरनासँग
जोडि ढुकुर र हलेसीसँग
एक अदभुत सपना देख्नु छ

म तिम्री हैन भनेर
दूर गएकी ऊ
लत्याएर हातको रक्तिम गुलाफ
छोडेर एक्लै मध्ये निशामा
भन्थि तिमीलाई आउँदैन बाँच्न
उसको माया अब उसैलाई
फिर्ता गरेर देखाउनु छ

उडेर निदाउछुँ नीर सगरमा
पंख फैलाउँदै कावा खाँदै
पिरहरू जलाउछुँ बगरमा
बिरामी पर्वतलाई ओखती खोज्न
नदिसँगै बगेर पुग्छुँ सहरमा
हेरेर सिउँडिको कोपिला
छोएर सुनाखरी सुनगाभा

किन कोही जन्मिदा रोइरहन्छ
अरु मुस्कुराइरहन्छन
र मर्दा ऊ मुस्कुराएको हुन्छ
अरु रोइरहन्छन
त्यो पवनसँग उत्तर माग्नु छ
बूढो हुनुभन्दा पहिले एकदिन
मलाई बाँचेर देखाउनु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *