परिचय
ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ज्याग्दी खोलाको तरङ्ग शीर्षकमा प्रकाशन गरेको वर्ष १ अङ्क १ बैशाख–असौज २०७२, साहित्यिक पत्रिका साहित्यकार एव म पूर्व उपसचिव चिरञ्जीवी सिग्देलबाट समीक्षार्थ प्राप्त हुन आयो । प्रधान सम्पादक देवेन्द्र लम्साल, कार्यकारी सम्पादक परशुराम कोइराला र सम्पादक शालिकराम लम्सालद्वारा सम्पिादित र ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले प्रकाशन गरेको यो पत्रिकालाई अध्ययन गर्दा, ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाको विधान हेर्दा हालसालै स्थापन भएको यो प्रतिष्ठानको प्रथम प्रकाशन ज्याग्दी खोलाको तरङ्ग एउटा आकर्षक र स्तरीय पत्रिकाको रूपमा अध्ययन गर्न पाएँ र लाग्यो मोफसलबाट प्रकाशित यो पत्रिकाले नेपाली साहित्य जगतमा एउटा कोशे ढुङ्गा थप्न सफल हुनेछ भन्ने आशा जागेर आयो । ज्याग्दी खोला साहित्य प्रतिष्ठानको यो प्रयास प्रशंसनीय एव म अनुकरणीय छ जस्तो लाग्यो । यस पत्रिकामा कथा / लघुकथा, कविता / गजल निबन्ध, धर्म दर्शन, स्मरण, समीक्षा, नयाँ विद्या, विचार/विविध, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको विधान –२०७२,आदि समावेश गरिएका छन् र पत्रिका आवरण पृष्ठ लगायत १५२ पृष्ठमा सजिएको छ । मूल्य सहयोग रु १२० । –राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा
सम्पादकीयलाई अध्ययन गर्दा ज्याग्दीखोला साहित्य प्रतिष्ठानको स्थापना ‘यही ज्याग्दीखोले पारा वा पहिचान अर्थात भाषाशैली संस्कार संस्कृति र ज्याग्दीखोला क्षेत्रमा प्रचलित लोकसाहित्य, लोक भाषा, लोकगीत, लोककथा, लोकसंस्कृतिको संरक्षणगर्नु, लुकीछिपिरहेका नवप्रतिभाहरू, कोपिलाहरूलाई फुलाउने फलाउने र समाजलाई गतिदिने, उदेश्यका साथ भएको’ देखिन्छ । उदेश्य अनुरूपनै यस पत्रिकाले अग्रज र नवप्रतिभा साथै आजका विद्यार्थी र भोलिका देशका कर्णधारहरूका लेखरचनाहरू समेट्न सकेको देखिन्छ ।
अब म यस अङ्कमा प्रस्तुत गरिएका विद्यागत विषय बस्तुमा केही दृष्टि राख्ने आज्ञा चाहन्छु, –
कथा तथा लघुकथाहरू–
यस अङ्कमा आठ ओटा कथाहरू समावेश गरिएका छन् । गङ्गा कर्माचार्य पौडेलको ‘बाँचेको सार’ कथामा नारीहिंसाबाट कसरी मुक्ति पाउने र आत्मनिर्भर भएर बाँच्न सकिन्छ भन्ने यर्थापरक आजका जल्दा बल्दा नारी समस्यालाई कानूनी सहायताबाट कसरी हलगर्न सकिन्छ भनी प्रष्ट्याउने प्रयास गरिएको छ । वनमाली निराकारको ‘अन्तर’ कथमा आज देशका युवायुवती विदेश पलायन भएर गाउँ बृद्धआश्रममा परिणत भएको र धनीका जान्ने बुझ्नेका छोरा डि.भी. परेर अमेरिका गएको र गरिबका छोरा जग्गाजमिन बेचेर खाडीमुलुकमा गएको बारेमा धनी र गरिब बीचको विदेश जानेक्रममा पनि विभेद दर्शाइएको छ । डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’को ‘कुलायन’ कथामा एउटा मानिस घाँस काटन वनमा जान्छ, त्यहाँ उसले अग्लो र होचो किसिमको मानिस भेट्छ ती मानिसले सानो मानिसको भारी बोकाउने काम गराउँछ एउटा ओडारमा लगेर खाना खाएर सुतेपछि उठेर आफ्नो गाउँमा जाँदा सबै परिवर्तन भएको र उसलाई चिन्ने मानिस पनि नभएको गाउँको एक ८६ वर्षे बृद्ध जो गाउँको जानकारको भनाइ अनुसार १५० वर्ष पहिलाका मानिसको बारेमा कुरा गरेको जानकारी दिन्छ । उसलाई गाउँमै राखिन्छ । गाउँमा आएको ११ वर्ष पछि उनी काल गतिले बित्छन् र उन्लाई गाउँलेले अन्त्मि संस्कार गरी उनको नाममा मन्दिर बनाई कुलदेवताको रूपमा मानेको र त्यो मन्दिलाई दुई वर्ष पहिला मुगुको बोरिया गाउँमा देखेको धारणा आएको छ कथामा ।
त्रिलोचन ढकालले ‘आमा विरामी हुनुहुन्छ’ शीर्षका कथामा आजको देशले व्यहोर्न परेको कठिनाइलाई आमामा गोमन सर्पले डसेको र यो डसाईको कारक पनि बाबु नै भएको भन्दै अक्सिजन लिन पाउने अधिकार सबैमा भएकोर यसलाई रोक्न नपाउने भएता पनि दाहिने कानको प्वाल बन्दगरिएकोले अब देब्रेकानका प्वालहरू खोलेर आमालाई स्वास्थ बनाएर राख्नुपर्ने साथै आमाका सन्तानलाई पनि स्वास्थ पार्ने धारणा राख्दै आज नेपाली आमा र उनका सन्तानले भोग्न परेको यथार्थलाई प्रस्तुत गरिएको छ । सुन्दर मानन्धरले ‘म खेदिइरहेछु’ शीर्षकमा लेखिएको एक अति मार्मिक कथा हो यो जस्लाई पढ्दा आँखा रसाउँछन् र मन भक्कानिन्छ । नेपालको गरिबीले आसामतिर खेदिएका पुर्खाका सन्तान जुन देशमा जन्मे त्यही देशको नागरिक हुनुपर्नेमा सो नभएर नेपाली भनी नेपालमै खेदिएको नेपालमा आएर पनि गासबास कपास केही नभै गरिबीबाटै खेदिएका, अरबतिरको घामले शिर पोल्छ तर नेपालको गरिबीले मन भतभती उम्लिरहने, दशवर्षे जनयुद्धले पनि जनतालाई नै खेद्यो, आमाबाबुलाई औषधी दिएर बचाउन नसकेर आमाबाबाको मनबाट खेदिएको, पत्नीलाई सुत्केरी गराउन अस्पताल लान नसकी मृत्युवरण हुनुपरेको र जन्मेको सन्तान अर्कैको घरमा हुर्केको आदि गरिबीले हरेक क्षेत्रबाट गरिबलाई खेदेको धारणा आएको छ । यस कथामा राष्ट्र, राष्ट्रियता श्रम र पसिनाको खोजी, प्रेमको सीमा हीनता, युद्धले निम्त्याएको सामजिक असर र युद्धसञ्चालकहरू महलमा पसेर भोगेका ऐसआरमहरू प्रस्तुत गरिएको छ । यस कथामा उठाइएका धेरै प्रश्नहरू मध्यमा केही प्रश्नलाई यहाँ प्रस्तुत गर्न मन लाग्यो – ‘यति विकराल गरिबीलाई पनि नदेख्ने यो के देश ? हाम्रो पसिनाहरूको मूल्य नबुझ्ने के शासक ? हामीलाई सधैं आँसु पसिना र वेदनाहरू उपहार दिने यो के राष्ट्रियता ? हाम्रा भोकहरूको साथी बन्न नसक्ने के नागरिक ? यी प्रश्नहरूको जवाफ सत्तासिनाले दिनुपर्ने देखिन्छ । कथाले नेपाली जनताले भोगेका यथार्थ परक घटनाक्रमलाई समायोजन गरेको छ ।
परशुराम कोइरालाको डायरीका पाना कथामा ज्याग्दीखोलाको प्राकृतिक सौन्दर्यता, ज्याग्दीघाटको धार्मिक महत्त्व, भाषा, कला, साहित्यको रहरलाग्दो र उर्वरक गाउँ, दशवर्षे द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबाट जनताले पाएको कष्टकर जीवन, गाउँमा पाहुनालाई गरिने अतिथिसत्कार, श्रीमान श्रीमती बीचको झगडा, अंशविवादमा बाबुआमा छोराबुहारी बीचको घम्साघम्सी, आफैले लाठे बनाएकाले (छोराले) आमाबाबुलाई कुट्ने गरेका घटना, महिलामाथिको दुव्र्यवहार, नालापानीका र कालापानीका कुरा गर्नेहरू समातिएका कुरा, गाउँमा सानो उपचार पनि हुन नस्ने कुरा, छोइछिटोको झगडा, साम्रा्रज्यवाद र पूँजीवादको मरणासन अवस्था, बस्तीहरूले न्याय समृद्धि र शान्ति खोज्दै तड्पिरहेका धारणा, राजनीति परिवर्तन भइसके पनि जनवादी क्रान्तिले चाहेको न्यूनतम चाहना बाह्यहस्तक्षेपको कारणले पुरा हुन नसकेको, फरक वर्ग बीच, आम सहमतिका कुरा धेरैलाई अर्थहीन लागेका कुरा, राष्ट्रवादी र राष्ट्रघाती बीचको ध्रुबको छुट्टयाइ,समाज पीडित, सिर्जनशील हुनुपर्ने पुस्ताका मनोविज्ञान विदेशमुखी आदि समाजमा घट्ने र घटिरहेका यथार्थ परक र द्वन्द्वकालका घटेका घटनालाई प्रष्ट्याउने प्रयास गरेको छ कथाले ।
मेदिनीकुमार केवलको ‘घरबहाल’ लघुकथामा आमाप्रति गरिनु पर्ने सेवाको दायित्वलाई छोराहरूले छोडेर अंशबण्डामा आमाप्रतिको जीवनको खर्चको हिसाव किताव गरेको र बसेका घरको बहालको कुरा छोराले उठाएको जस्तो आमाले महसुस गरेको र आश्चर्य परेको धारणा आएको छ ।
नारायण मरासिनीको ‘अनिदो रात’ कथामा ऊ पात्रलाई घरका बुढाबाको खोकी, गाउँको बसाइँ सराइ, विदेशिएका युवाहरू, बाँझिएका खेतबारीहरू, चितुवाले खोरबाट मारेको बाख्रााको दृश्य, गाउँमा अशक्त बृद्धा र केकटाकेटीमात्र, मानिस मरेमा मलामी जानेको अभाव, नाकाबन्दीले पैदल हिडनु पर्ने बाध्यता, सहरको सानो नोकरी बहिनीहरूको सोचाइ, बुढा बाबुलाई बृद्धाआश्रममा राखिने कुरा आदि सोचाइ मनमा उब्जेर ऊ रातभर निदाउन सकेन । आमाले लिपपोत गरेको आफ्नो घरलाई हेरर उसलाई आफ्नो घरलाई सुन्दर ठानी सहरको नोकरी छाडेर आफ्नै घरमा बसी भैंसी किन्ने विचार पलाएको धारणा आएका छ कथामा ।
यसमा समावेश गरिएका कथाहरूले समसामयिक यथार्थता, सामजिक, आर्थिक, राजनीतिक घटनाक्रमलाई समाइ समाजमा ल्याइनपर्ने परिवर्तनको आवश्यक्तालाई मार्गदर्शनको रूपमा प्रस्तुत गरेको देखिन्छ ।
कविता र गजल
यस कृतिमा २३ वटा कविताहरू अग्रज कविहरूका, दुईवटा गजलहरू, फिङ्गल कविता १२ वटा, तीन हाइकु र गीत १ अग्रज स्रष्टाका साथै बाल सिर्जना भनेर २३ जना छात्र छात्राका कविताहरू पनि समावेश गरेको देखिन्छ । मगरीमा लेखिएको एक कवितालाई नेपालीमा रुपान्तर गरेर समावेश गरिएको छ । कविलाते राष्ट्र, राष्ट्रियता, प्राकृतिक सुन्दरता, सरकार ढाल्ने बनाउने खेल,नेपालीको स्वाभिमान, आज लगाइएको नाकाबन्दी, वैशाखमा आएको भूइाचालोले छापामार शैलीमा आक्रान्त पारेको, भारतलाई नेपालीले जति दिए पनि खुसी तुल्याउन नसकेको, आमाको काख बन्छ लाख, शुभकामना, हिराभन्दा पसिना महगो, सुनभन्दा नून तेल महगो, परनिर्भरता, गुरु सर्वेसर्वा, ज्याग्दिले बग्न, लड्न, संघर्ष गर्न र पिउन र जिउने ज्ञान सिकाएको, हामी दुई र हाम्रा दुई, सरकारको नपुंसक्ता, लासको नृत्यमा दासहरू दर्शक, भागबण्डाको राजनीति, नेताहरूको दिल्ली दौड, उनी (नेपाली आमा) आज बिमारी छन् र उनको उपचार गर्ने डाक्टर कहिल्यै जन्मेनन्, भूकम्प मानव र सिर्जना मार्न र नष्ट गर्न नभै असत्यलाई मार्न र सत्यलाई उमार्न आउनु पर्ने, आकर्षक आवरणभित्र कुटिलताले पुस्तौसम्म शासन चल्न सक्ने, छिमेकीले विविधखाले कामबाट घुँडा टेकाउन प्रयास गर्नु, उनी सदाको लागि जाँदा आँसु नसुक्ने गरी बग्नु, जीवनमा सामीप्यताको आवश्यक्ता, वेदना, मानव जीवन विवेकी चेतनशील, अविरल, सौम्य रूपमयी भएको, उज्यालोको आशा, सुकेको बोटबाट फूलको आशा गर्न नसकिने, विदेश नगई देशमै सुनका बाला झुलाउन सकिने धारणाहरू कविताले पस्केका छन् । फिङ्गल कवितामा पनि आमा सामुहिक भएको धारणा आएका छन् । हाइकुमा पनि नेता सत्तामा जनता पीडामा, नाकाबन्दी, कुर्सीको खेलको धारणा पस्किएको पाइन्छ । गजलमा देशका युवा परदेशमा पसिनाको मूल्य नभएको धारणा आएको छ ।
यस कृतिको दोस्रो आकर्षकता भनेको बाल सिर्जनालाई समावेश गराउनु हो । यी बालसिर्जनाका कविताहरूमा पनि पढेर देश सेवा गर्ने,बाल्यकालमा सबैले माया दिने, रमाउने खेल्ने, आफ्नै देश राम्रो लाग्ने, वेदनाका भावनाहरू, मातृभूमिका प्राकृतिक सुन्दरता, जन्म ठाउँ प्यारो लाग्ने, नाकाबन्दीले गर्दा महङ्गी निम्त्याएको, भूकम्पले प्राकृतिक विनास पार्नु र मानव जीवन तहस नहस पार्नु विद्या हाँसिल गरेर देशको सेवा गर्नु पर्ने, विद्याले मानव जीवनलाई शिखरमा पुर्याउने, शिक्षालाई ज्ञानको चिराक बालेर, दियो लिएर, मेचीमहाकालीसम्ममा समग्र चेतनामा विकासको आँधी भएर आउने आग्रह, मेहनत गरेर पढेर डाक्टर बन्ने धारणा, प्रेमले आँधी चलाई दिने र प्रेम गर्न पाप होइन, देश बनाउनलाई काम गर्नु पर्ने, बुद्धको देश हाम्रो, विखण्डन, देशद्रोह, जनतालाई भोकै मार्नेलाई, हिंसा मच्चाउने र गरिबमारालाई देख्न नचाहाने, हिरा अनि मोती नेपालमै फलाउनु पर्ने,बहु भाषा,बहुधर्म, संस्कृतिको फूलबारी हो नेपाल, हिमाल पहाड तराई बीच फाटो आउन नहुने, संविधान आएर लगाइएको नाका बन्दीमा हामी झुक्न नहुने, देशको सुन्दरताको बर्णनादि गरिएका धारणले भरिएका छन् बाल सिर्जनाहरू ।
निबन्ध
यम बहादुर रानाको जीम्मेबार को ? शीर्षकमा लेखिएको निबन्धमा जुद्धशमशेरको शासनकाल १९९० सामल माघ २गते गएको आठ रेक्टरको भूइाचालो र २०९२ साल वैशाख १२ गते गएको ७.६ र २९ गते गएको ६.७ रेक्टरको भूइँचालोको समयमा भएको धनजनको क्षतिको तुलना गर्दै लेखिएको यो निबन्धमा २०७२मा जस्तै त्यसवेला पनि मानिस पुरिएका, मालताल झिक्न मानिस उद्दारकाममा लागेका, दैनिकी जीवन लथालिङ्ग भएको, लुटपाट चोरी चकारी बढेको भए पनि व्यवस्थापनले समयमै व्यवस्थित गर्न सकेको तर आज भने राहत राम्रोसँग वितरण नभएको पीडित जनताले दु:ख पाएको राहतको नाममा भ्रष्टचार मौलाएका जस्ता यथार्थपरक भूकम्प पीडितले भोगेका सबै खाले पीडालाई प्रष्ट्याउन प्रयास गरिएको छ ।
धर्म दर्शन
डा. नारायणप्रसाद अधिकारीले ‘सनातन हिन्दूत्वको क्षयीकरण’ शीर्षकमा लेखिएको यो धर्मदर्शनमा दुईवटा घटेका मार्मिक घटनालाई उदाहरणमा प्रस्तुत गर्दै, ‘ ….. विशाल भूखण्डलाई एउटै धर्मसंस्कृतिले ढाकेको सनातन धर्मसंस्कृतिलाई पछि आएर वैदिक धर्म, हिन्दूधर्म आदि नाम दिइएको, मानव सभ्यताकै प्राचिनतम दस्तावेज ऋगवेददेखि उपनिषदको उच्चतम र उदारतम दार्शनिक मान्यता वोकेको यस धर्मसंस्कृतिमा पछि पछि अनेक सुकृतिहरू पनि थपिए र विकृति पनि पलाए । सुकृतिले यसलाई विश्वबन्धु पनि बनायो र विकृतिले यसलाई अत्यान्त संकीर्ण संकुचित र आलोच्य पनि बनायो’ भन्दै ‘यसको नेतृत्व जब उदारमना ऋषि मुनि र तत्ववेत्ता ज्ञानीका हातबाट हीनमना स्वार्थी पाखण्डीका हातमा गयो यसको वैश्विक आयतन घटेर क्षत्रीयतातिर साँघुरिदै गयो’ भन्ने धारणा आएकको छ दर्शनमा । करिब १४ सये वर्ष अघि उदाएको इस्लाम धर्मले ठूलो भाग निलिसकेको र दुई हजार वर्ष पहिला जन्मिएको इसाई धर्मसंस्कृतिले विस्तार गर्न कस्सिएर लागेका र यसको सहयोगी एजेन्ट भूमिका खेलिरहेका यस क्षेत्रका राजनेता र धर्मनेताको कारणले गर्दा पृथ्वीनारायण शाहले ‘‘असली हिन्दूस्तान’’ भनेको सानो देश नेपाल पनि सिकार भएको धारणा राखिएको छ । इस्लाम धर्मको विस्तार हुनुको कारणा हिन्दूधर्मले स्वीकार गर्न नसक्नु नै हो भन्ने तर्क लेखले सप्रमाण प्रस्तुत गरेका छन् ।
संस्मरण
पाँचवटा लेखहरू स्मरणमा समावेश गरिएका छन् । ज्याग्दी यात्राका सम्झनाहरू शीर्षकमा विश्वप्रेम अधिकारीले ज्याग्दी खोलाको संरचना,भूगोल, कलास्ंस्कृति, त्यहाँको प्राकृति सुन्दरता, ज्याग्दीघाटको धर्मिक महत्व, कालीगण्डकी मानव सभ्यताको ठूलो स्रोत, त्यहाँका स्रष्टा साहित्यिक कार्यक्रम र साहित्यिक अभिनन्दन, शैक्षिकस्तर एव म बौद्धिकस्तरमा उच्च समाज आदिको बारेमा प्रकाश पार्नुभएको छ ।
दोस्रो लेख ‘ज्याग्दीका अमिट आकृतिहरू’ शीर्षकमा गायत्री लम्सालको छ । गायत्रीजीले पनि ज्याग्दीबाटै धेरै चिजहरू प्राप्त गरेको, सिकेको ज्याग्दीमै बगेको र बाँचेको, टाढा भए पनि ज्याग्दीकै याद आएको भन्दै ज्याग्दीकै सामाजिक प्राकृतिक, सांसकृतिक विविधता बारेमा प्रकाश पारिएको छ ।
‘कवि बासुशशी र मैले पाएको बासुशशी स्मृति पुरस्कार’ शीर्षकमा काजीरोशनले लेखेको स्मरणा लेखमा काजी रोशनलाई प्रदान गरिएको २०६६को बासुशशी स्मृति पुरस्कारको साथै बासुशशीको जीवनी, प्रकाशित कृतिहरू, सम्पादन कार्य,आदिको बारेमा प्रकाश पारिएको छ ।
बन्दीपुरमा भानुगोष्ठी शीर्षकमा देवीप्रसाद वनबासीको स्मरण लेखमा २०७० सालमा भानुभक्त आचार्यको द्विशतवार्षिकीका सन्दर्भमा तनहूँको बन्दीपुरमा असार २१/२२ गते आदिकवि भानुभक्त आचार्यको सचित्र जीवनी सम्बन्धी कार्यशाला गोष्ठिमा सहभागी साहित्यकारको विवरण, त्यहाँ प्रस्तुत गरिएका तीनवटा कार्यपत्रको बारे सहित कार्यक्रम सञ्चालन बन्दीपुरको विवरण आदिमा प्रकाश पारिएको छ ।
मेरा विगत शीर्षकमा ऋतुराज उपाध्यायले आफ्नो जीवन कहानीलाई प्रस्तुत गरिएको स्मरण लेखमा ऋतुराजको ८वर्षको उमेरमा बुबा मुक्तिनाथ जाँदा २००७ सालमा कार्तिकमा वेपत्ता भएको, त्यही साल फाल्गुन ७ गते आमाको हैजाबाट मृत्युभएको आदि विवरण सहित बरु मर्ने तर घर नफर्कने अठोटका साथ भैरहवा गएर सडक बनाउने विभागको अर्दलीपदमा २०१९/१२/२५मा भर्ना भै अध्ययनरत नै रही नायवसुब्बा पदसम्म हाँसिल गर्दै २०४१ सालमा स्वेच्छिक अवकास लिएको एक सन्घर्षमय जीवनी प्रस्तुत गरिएको छ र धैर्यताको साथमा अघि बढ्दा सफलता मिल्ने शिक्षा पनि दिइएको छ ।
समीक्षा
जीवनवृत्तमा : घनश्याम ढकाल शीर्षकमा सुकुम शर्माले लेखेको समीक्षामा घनश्याम ढकाल (२०१०–२०६९)को जीवनी, व्यक्तित्व,कृतित्वको बारेमा समीक्षाको थालनी गिएको छ । वाँकी लेख अर्को अङ्कमा प्रकाशन होला ।
नयाँ विधा
साहित्यकार मिलन समीरले नयाँ विधा ‘फिङ्गलको संरचनात्मक स्वरूप’ लेखमा अमेरिकाको हावर्ड युनिभर्सिटीमा प्राध्यापन गर्दै आएका प्रयोगधर्मी कवि शिव गौतमले ‘…. नेपाली भाषा साहित्यको क्षेत्रमा एउटा विशुद्ध नयाँ एव म नौलो कविता लेखन कार्यको श्रीगणेश गरेका छन्’ भन्दै यो नेपालमा भित्रिएको छ । प्रथम फिङ्गल कविको रूपमा शम्भु अर्यालले विशिष्ट स्थान ओगटेको र ‘फिङ्गल लेखनको संरचनात्मक स्वरूपसँगै यसको सैद्धान्तिक पक्षमाथि केन्द्रित रहेर आफ्नो कलम चलाउने प्रथम व्यक्तिको रूपमा मिलन समीरले सुरक्षित गरेको छ ’ भन्ने धारणा सहित फिङ्गल लेखनको पृष्ठभूमि फिङ्गल लेखन कसरी गर्ने, अक्षरमा आधारित फिङ्गलको उदाहरण र हाल फिङ्गल अभियानलाई अभियानको रूपमा अगाडि बढाउने प्रतिभाहरूको जानकारी समेत दिने प्रयास भएको छ यस लेखमा ।
विचार /विविध
यस पत्रिकामा विनोद के.सी.ले ‘विकासको पर्खाइमा ज्याग्दी’ शीर्षकमा ‘विविध, भौगोलिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक विविधता मूल विषेषता भएको ज्याग्दीमा कछुवा गतिको विकासले भने ज्याग्दीबासी पक्कै संतुष्ट छैनन्’ भन्ने धारणा राख्नुभएको छ । रमेश पोख्रेलले ‘सफलताका सूत्रहरू राख्नुभएको छ– आत्म विश्वास, योग्यता र रुचि अनुसारको लक्ष निर्धारण र आफ्नो दृष्टि त्यसमा केन्द्रित गर्नुपर्ने, समयको महत्व बुझ्ने, व्यवस्थापन र सदुपयोग गर्ने, विचारमा सरलता स्पष्टता प्रभाव कारिता र नम्रताको आवश्यक्ता पाँचौ सूत्रको रूपमा स्वास्थ्य खानपान र उचित ध्यान दिनुपर्ने धारणा पस्केका छन् । रोशनीले टेलिभिजनको बारेमा सानो लेख प्रस्तुत गर्नुभएको छ भने प्रदीप वि.क.ले ‘पर्यटन व्यवसाय’बाट देशविकासको लागि आवश्यक पर्ने धारणा राख्नुभएको छ । यस पत्रिकको अन्तिममा ज्याग्दीखोलाको साहित्य प्रतिष्ठानको विधान समावेश गरिएको छ ।
अन्त्यमा
ज्याग्दी खोलाको तरङ्ग पहिलो प्रयास हो तापनि आकर्षक र स्तरीयरूपमा प्रस्तुत गर्ने प्रयास भएको देखिन्छ । यस अङ्कमा नाटकलाई समावेश गरिएको छैन । भाषागतरूपमा हेर्दा पनि भाषा सरल र सहज छ भन्न सकिन्छ । यस पत्रिकामा बालसर्जकका सिर्जनालाई समावेश गरेर बाल बालिकालाई भोलिका साहित्यकार सिर्जना गर्ने जुन प्रयास भएको छ प्रशंसनीय र अनुकरणीय छ भन्ने मेरो धारणा छ । साहित्यिक संस्थाको स्थापना गर्न र पत्रिका प्रकाशन गर्न जति सजिलो छ त्यसलाई निरन्तरता दिन र व्यवस्थापन गर्न त्यत्तिकै चुनौतीपूर्ण पनि छ । आशा छ ज्याग्दीखोला साहित्य प्रतिष्ठानले जुनरूपमा अग्रसरता देखाएको छ, र यसमा सम्लग्न भएका व्यक्तित्वहरूको सहभागिताले सफलताको मार्ग पहिल्याएको छ निश्चय नै यसले निरन्तरता पाउनेछ भन्दै यसमा सम्लग्न सबै पदाधिकारीलाई धन्यवाद दिंदै पूर्ण सफलताको कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
२०७२ साल माघ २५ गते,
नवलपरासी, कावासोती–७ शान्तिचोक
