अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु, मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु, कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोसिस गरिसकेँ, पहिला त उसको मोबाइलमा कल नै लाग्दैन, लागेको कल ऊ उठाउँदैन, कदाचित उठाइ हाले पनि “सरी बिनु, अहिले म एकदम बिजी छु” भनी फोन राखिहाल्छ। उसको यो व्यस्तता भनौँ या उपेक्षा, मलाई पचाउन गाह्रो परिरहेको छ।
ऊ त्यही प्रमोद थियो जो मसँगसँगै बाँच्ने र मर्ने वाचा गर्थ्यो। मेरो व्यस्ततामा पनि झिँझो नमानी मेरो निम्ति घण्टौ पर्खन सक्थ्यो अनि मसँग भेट्न कस्तै बाधा अड्चनहरूको पनि परवाह गर्दैनथ्यो। अहिले परिस्थिति उल्टिएको छ। म उसलाई भेट्न र आइ परेको समस्या अवगत गराउन आतुर छु। ऊ भने मेरो कुनै वास्ता गरिरहेकै छैन। ऊ मसँग कुन बेलाको साटो फेर्न खोजिरहेछ, उही जानोस्, मैले त मात्र केही मिनेट भेटेर ऊसँग कुरा गर्न चाहेकी हुँ।
प्रमोदको यो उपेक्षामा आहत, म सिधै उसको अफिस गएर झगडा पनि गर्न सक्छु तर आफूलाई त्यति तलसम्म गिराउन चाहन्न। उसलाई फोन गर्ने अन्तिम प्रयास गर्छु, संयोगवश फोन लागिहाल्छ। “प्रमोद प्लीज, एकै छिनको समय देऊ मलाई। तिमीसँग जरुरी कुरा गर्नु छ।” उसले नाइँनास्ती गर्नु वा कुनै बहाना बनाउनु अघि म आफ्नो भन्न सकाउँछु। ऊ एकछिन बोल्दैन। केहीबेरको मौनतापछि उसले अफिसपछि घर आउन सकार्छ। पाँच बज्न अँझै दुई घण्टा बाँकी छ। प्रतिक्षाको यो अवधि दुई घण्टा हैन, दुई दशक जत्तिको लागिरहेछ। झ्याल खोल्छु, बारीमा सयपत्रीका बोटहरू ओइलिएका छन्। बढ्दो गर्मी, कोठामा यताउता गर्छु, बस्छु, उभिन्छु, मनभित्रको छटपटी कम हुँदैन। अगाडिको भित्ते घडीका सुइराहरू अलिकति पनि अघि बढे झैँ लाग्दैन। मोबाइल निकाल्छु, चार्ज पनि सकिन लागेको ख्यालै भएन। कतै मोबाइलमा चार्ज सकेर प्रमोदले कल गरेको थाहा नपाउँला भनी घरिघरि ल्याण्ड फोन सेट चेक गर्छु।
कोठाको ड्रेसिङ्ग टेबुलमा भएको लामो ऐनाअघि उभिन्छु। तलदेखि माथिसम्म हेर्छु आफैलाई। कति छिटो ओइलाए सरी देखिएछु, कस्तो कस्तो, अप्ठयारो अनुभूति। प्रमोद आयो भने, के भन्ने, कसरी भन्ने, कसरी मनाउने उसलाई! विरक्तिएर फर्केर, फेरि सोफामै बस्छु।
पर्खनु जत्तिको गाह्रो र पीडादायी के हुन्थ्यो र? फेरि फोन गर्न लाग्दा, सवा पाँचतिर ढोका अगाडि मोटरसाइकलको आवाज सुन्छु, प्रमोद आए जस्तो छ। ऊ सिधै मेरो कोठामा आउँछ, “के भो, किन आत्तेकी?” आउने बित्तिकै ऊ प्रश्न गर्छ।
“कस्तो हतार? बस न, तिमी त ढोकैबाट बाहिरिने मूडमा आएका जस्ता छौ।” म उसलाई कुरा कहाँबाट थाल्ने विचार गर्दै हुन्छु। ऊ भित्र आएर सोफामा बस्छ र कुरा सुन्नको लागि मेरो मुख हेर्न थाल्छ। म उसको सामुन्ने सोफामा बस्छु। एक अर्कालाई हेरिरहेका छौँ, बोल्नको लागि शब्द दुवैबाट निस्किरहेका छैनन्।
“के पर्यो बिनु?” उसको आवाजमा आएको कोमलता महशुश गरेर ममा केही साहस पलाउँछ।
“प्रमोद अब हामीले बिहे गर्नुपर्छ। उमेर भैसकेको छ भनेर घरमा निकै कर गर्न थालिसकियो। अहिले बिहे गर्न तिमीलाई के आपत्ति छ, भन त?”
“बिहे गरौँला, अहिले नै के हतार छ र? दुइचार वर्ष घुमौँला, एकअर्कालाई राम्रोसँग बुझौँला अनि पो नयाँ जीवन शुरु गर्नु पर्छ।” उसको सहज तर लापरवाहपूर्ण जवाफले स्तब्ध हुन्छु।
“अब योभन्दा बढी हामीले एकअर्कालाई के बुझनु पर्यो प्रमोद, यो सीमासम्म नै बुझिसकेपछि? के तिमीले अँझै बुझ्न बाँकी छ र मलाई?” उसले कुरा नबुझेर हो वा बुझ पचाएर मतिर हेर्छ।
“वर्षदिनभन्दा बढी भैसक्यो हाम्रो सम्बन्ध। झन अस्तिको भ्यालेन्टाइन डेपछि त….।” मेरा शब्दहरू घाँटीमै अड्किन्छन्।
“बिनु, यस्तो सानो सानो कुरामा पनि टेन्शन लिई बस्ने हो? हामीले यसरी नै एक अर्कालाई बुझ्ने त हो। बिहेपछि पछुताउनुभन्दा अगाडि नै, हरेक कोणबाट साथीलाई आँक्नुु बुध्दिमानी हुन्छ। यदि पछि कुनै कुरामा तिमीलाई पनि म चित्त बुझिँन भने, मलाई बताएर सम्बन्ध तोड््न सक्छौ, बिर्सन सक्छौ मलाई। शुरुमा अलि गाह्रो होला तर जिन्दगीभरी पछुताउनुभन्दा राम्रो हैन र? केही हुँदैन, चिन्ता नगर। चियर अप। इट्स आवर लाइफ बेबी।” ऊ कति बेला कोठाबाट बाहिरियो, थाहै भएन।
“दिदी, किन अँध्यारोमा बस्नुभाको?” बहिनी कोठामा बत्ती बाल्दै सोध्छे, “चिया खानुहुन्छ?”
“तिमी खाऊ। मेरो सानो काम छ।” बहिनी ढोका ढप्काएर बाहिर निस्कन्छे। कसैलाई सम्पूर्ण रुपमा विश्वास गरेर, पूर्णतया खाली भएकी छु, म आफूभित्र। आफूलाई फेरि ऐना अगाडि उभ्याउँछु र नियाल्छु। भर्खर छब्बिस लागेँ, त्यति उमेर गैसकेको पनि हैन। देख्नमा नराम्री पनि छैन, जिउडाल मिलेकै छ तर प्रमोदले उपेक्षा गरे झैँ किन महशुश भैरहेछ मलाई!
सिरानी मुनिबाट कार्ड निकाल्छु, प्रमोदले भ्यालेन्टाइन डे को दिन दिएको हलमार्कको कार्ड हो यो। उसले हातले लेखेको छ, ‘मेरी भ्यालेन्टाइन बिनुलाई, वीथ लभ’। उसको नाम मुन्तिर मेरो लिपस्टिकको छाप छ। कार्ड पाउने बित्तिकै मैले उसको नाम चुमेकी थिएँ, आखिर पागल जो छु। आँखा रसाउँछ। उसैको नाममाथि एक थोपा आँसु, रोक्दारोक्दै झरिहाल्छ।
***************************
भ्यालेन्टाइन डे, बिहानैदेखि मन खुशीले तरँगित थियो। त्यो दिन शशीले बोलाएकी थिई, दुइचार जना साथीहरू मिलेर गेटटुगेदर गर्नुपर्छ भन्थी। तर मेरो आफ्नै प्रोग्राम थियो, उसकोमा जाने कुरै भएन। प्रमोदले बिहानै मेसेज गरेको थियो, त्यो दिनलाई अविस्मरणीय बनाउने, घुम्ने, बाहिर डिनर गर्ने भनेर। हाम्रो प्रोग्राममा अरु पनि साथीहरू सामेल छन् भनी घरमा ढाँटेँ र बिहानै निस्केकी थिएँ ऊसँग। हामी दुइचार मन्दिरहरू गएर, घुमेका र बसेका थियौँ। त्यहाँ अरु पनि थुप्रै आएका थिए, डेटिङमा। “यस्तो भीडभाडमा यिनीहरूसँग मिसिएर के बस्नु, जाउँ कतै, जहाँ सिर्फ तिमी र म मात्र रहुँ।” प्रमोदले मेरो आँखामा डुबेर भनेको थियो।
विशेष दिनमा विशेष व्यक्तिको विशेष अनुरोध, म टार्न कहाँ सक्थेँ? लङ्ग ड्राइभमा निस्कने कुरा हुनेे बित्तिकै, तत्कालै मोटरसाइकलबाट धुलिखेल जाने प्रोग्राम बनेको थियो। काठमाण्डौको प्रदुषणदेखि टाढा, हरियाली र स्वतन्त्रतावीच प्रमोदसँगको सामिप्यतामा मैले आफूलाई निकै भाग्यशाली ठानेकी थिएँ। माया र निकै केयर गर्ने प्रमोद देखेर केही साथीहरू जल्थे पनि, उसलाई त्यो कुरा सुनाएर हामी निकै हाँसेका थियौँ। रेष्टुँरामा लन्चपछि एउटा रुखमा दुवैको नाम खोपेर त्यहाँको हरियालीलाई हामीले आफ्नो मायाको साक्षी बनायौँ। दिन यत्ति रमाइलोसँग बित्यो समय गुज्रिएको मैले चालै पाएकी थिइँन। कमलो घाम, जँगली फूलका लहरामा छेलिएर, फर्कन लाग्दा प्रमोदले पहिलोपल्ट मेरो ओठको चुम्बन लिएको थियो। लज्जावती झार झैँ लाजले र उसको स्पर्शको नशाले मदहोश, मैले आँखै उठाउन सकेकी थिइँन। त्यहाँबाट हामी कतिबेला होटल पुग्यौँ, कति बेला उसले मलाई माया गर्यो, मैले बिरोध गरीँ या गरिँन, केही होशै भएन। होश आउँदा साँझ पर्न थालिसकेको थियो। पर आकाशमा कतै रक्तिम बादलहरू एकै डल्ला बनेका थिए। भ्यालेन्टाइन डे को मीठो र पहिलो स्पर्शको सम्झना सँगालेर घर फर्कँदा रातै परिसकेको थियो। बाहिर खाएर आइसकेको बहानामा मैले राती घरमा खाना पनि खाइँन। जिउभरी प्रमोदको अँगालो र म्वाईका स्पर्शले आल्हादित न मलाई भोकै लाग्यो न म रातभरि सुत्न सकेकी थिएँ।
***************************
प्रमोदलाई म पहिला पनि धेरै माया गर्थेँ, अब झन बढी उसको यादले सताउन थाल्यो। दिनरात उसको सम्झनामा एकोहोरिएको देखेर बहिनी मलाई चिमोट्दै जिस्काउँथी। शायद यो अति मायाले प्रमोदप्रति म एकाधिकार खोज्न थालेँ। कुनै दिन उसको फोन नआउँदा वा भेटमा थोरै ढिलो भए पनि म ऊसँग औधि रिसाउँथेँ। उसलाई सधैंँभरी आफ्नो आँखा अगाडि देख्न चाहनु मेरो इच्छा, कुनै बेमानी पनि त थिएन। दिनपछि हप्ता र महिना, ममा थोरै आशँकाहरू जन्मिन थाले। प्रमोद अफिसबाट पाँच वर्षको लागि बाहिर जाँदै थियो। “बिनु, पाँच वर्ष अमेरीका … … त्यसपछि त प्रमोशन, सोलिड!” जुन दिन उसले मलाई यो खबर सुनायो, ऊ धेरै खुशी देखिन्थ्यो तर म खुशी हुन सकिँन, उसको त्यो खुशीमा पनि। मेरो बेखुशीको कारण उसलाई बताउन निकै चोटी प्रयास गरेँ, समय जुरेन। उसको मूड मिल्दैनथ्यो, सबैभन्दा ठूलो कुरा उसको खुशी बिटुल्याउने मैले साहस नै जुटाउन सकिँन। सधैंँ मेरो अघिपछि घुम्ने प्रमोद, अब ऊसँग मेरोलागि समय निकै कम उपलब्ध हुन थालेको थियो।
‘बिनु म बिजी छु, बिनु मेरो मिटिङ छ…सरी बिनु…’ यस्ता यति धेरै बाध्यता र ब्यस्ततावीच मेरो उपस्थितिलाई प्रमोदले कम महत्व दिन थालेको महशुश गर्न थालेकी छु अचेल। यही कुराले मलाई सबैभन्दा बढी आहत तुल्याउँछ। ऊ यसरी परिवर्तन हुन सक्दैन, परिवर्तन भएको हैन भनेर निकै सम्झाएकी छु, आफ्नो मनलाई। ऊ परिवर्तन भएको नहोला तर ऊसँग मेरो दिनहुँ भेट पनि हुँदैन। भेट हुँदा उसमा पहिलेको झैँ उमंग र खुशी पनि देख्दिन। जहाँ म उसलाई देखेर भाव विह्वल हुन्छु, प्रमोद आफूलाई एकदम स्वाभाविक र सामान्य देखाउँछ, मानौँ मेरा लागि उसमा थप अन्तरंगता पलाएकै छैन। अचेल मलाई कतै बाहिर जान मन लाग्दैन। घरपरिवारसँग नजिक बस्न अप्ठयारो लाग्छ। सबै साथीसँगीहरू मलाई नै क्वारक्वार्ती हेरेर कानेखुशी गर्छन् जस्तो महशुश गर्छु। पहिले म यस्ती थिइँन तर अचेल अन्तरमुखि बन्दै ओइलाउँदै गैरहेकी छु।
ऊ अमेरीका उड्ने एक हप्ता अगाडि म उसलाई कफि क्याफेमा बोलाउँछु, “प्रमोद हामी कोर्टम्यारिज गरौँ। धेरै ढिलो भैसक्यो।” ऊ जिल्ल पर्छ, “अहिले नै? मलाई अमेरीका गएर फर्कन त देऊ बिनु, त्यस्तो साह्रो के पर्यो? तिमी आखिर किन बताइरहेकी छैनौ?”
“दुई महिना भैसक्यो …. …. ….टेन्शन भैरहेछ। हाम्रो गल्तीको परिणाम सुधार्न अब केही गर्नै पर्छ प्रमोद, हाम्रो मायाको खातिर। म अब तिम्रो कुनै पनि कुरा सुन्दिन।” ऊ सिर्फ सुनिरहन्छ, केही भन्दैन मलाई, कुनै निर्णय दिँदैन। भोलिपल्ट साँझ ऊ घर आउँछ। रकमको बिटा अगाडि राखी यो समस्याबाट हल्का हुन अनुरोध गर्छ। ऊ अहिले नै बिहेको पक्षमा नभएको र आउँदो चार पाँच वर्ष क्यारिएरमा नै ध्यान दिन चाहेको आफ्नो निर्णय सुनाउँछ। यदि मलाई बिहेको हतारो भए अन्त कतै बिहे गर्न पनि ऊ सुझाव दिन्छ।
“आइ एम सरी बिनु, मलाई बिर्सिदिनु।” बिर्सनलाई कति सजिलै भन्न सकेको छ उसले। यदि कसैले भन्ने बित्तिकै यति सजिलै बिर्सिन सक्ने भए मान्छे दुःखि र पागल किन हुन्थे होलान्? अनेक तर्कनाहरू आइरहेछन्। ‘के प्रमोदले मलाई माया गरेको थिएन? के मात्र ऊ मेरो शरीरतिर आकर्षित थियो, हैन हैन, ऊ पनि मलाई त्यत्तिकै माया गर्छ, ’ म आफ्नो मनलाई जित्ने प्रयास गर्छु। अगाडि तेर्सिएको यो समस्या कसरी हल गरुँ, घरमा भन्न सक्दिन, प्रमोद अहिले बिहे गर्ने पक्षमा नभएको मात्र हैन, उसको बुवा अन्तरजातीय बिहेका कट्टर बिरोधी भन्ने पनि सुनेकी छु। मनमा चलिरहेको आँधीवीच बाहिर कसैको नवजात शिशु रोएको सुन्छु, मलाई झन डर लाग्छ। घरपरिवार, आफन्त र समाजले मेरो बढिरहेको शरीरलाई औँला ठड्याउन थाले झैँ लाग्छ, म सहाराको लागि प्रमोदलाई खोज्छु तर प्रमोद मेरो आसपास कतै हुँदैन। निरीह र भयभित, आत्मग्लानिमा सहारा विना म कति धेरै एक्ली भएकी छु।
**************************
“बिनु! ओइ, के भयो तिमीलाई? किन त्यसरी झुकेर बसेकी?” प्रमोद मेरो काँध समाउँदै झक्झक्याउँदै हुन्छ। म तन्द्राबाट झसङ्ग हुन्छु। वर्षौँ अघिको यात्राबाट फर्कँदा थाके झैँ मन गलेको छ। एकछिन अघिसम्मको घटना यथार्थ हो वा कल्पना, एकैछिन त छुट्याउनै गाह्रो पर्छ। मन, दिमाग कहाँ उडेको थियो खै कुन्नि, किन! आफूलाई नियाल्छु, कहीँ केही अस्वाभाविक छैन।
“सरी बिनु, मैले कान समातेँ, ट्राफिक जाम नभएको भए, आधा घण्टा अघि नै आइपुग्थेँ।” कानको लोती समाएर माफी मागिरहेको प्रमोद त्यही प्रमोद हो, जो मलाई अँझै पनि त्यत्तिकै माया गर्छ। उसका आँखाभरी उर्लिएका मायाका समुद्र र निश्छलपना म प्रष्ट देखिरहेकी छु।
“तिमीले आज मन्दिर पनि जाने भनेकी हैन? झन लङ्ग ड्राइभमा जानुपर्छ भनी अफिसमा छुट्टि समेत लिएको छु। भोलि चैँ मोमड्याडलाई भेट्नु पर्छ तिमीले। यो वर्ष लगन जुराउनु पर्छ, बुझ्यौ?” ऊ आफ्नो सूरमा भनिरहेको हुन्छ। हामी दुवै उही हौँ, पहिले सरी एक अर्कालाई औधि माया गर्ने तर एक घण्टा अगाडि र पछाडिमा म अँझ बढी पाको भएकी छु। मलाई महिनाको चार दिनमा पहिलो दिन औधि पेट दुख्छ। आज पनि हल्का पेट दुखिरहेको छ। त्यसैले हामी मन्दिर वा कतै लङ्ग ड्राइभमा गैरहेका छैनौँ। आज सिर्फ बुक एक्जीविशनमा जाने, कफि खाने र फर्कने कुरामा उसलाई राजी गराएर मात्र म उठ्छु। माया त भावना हो। भावनालाई पनि बग्न सही ठाउँ दिनुपर्ने रहेछ। बाहिर हेर्छु, एक टुक्रा घाम चउरमाथि पोखिएको छ। खुला आकाश, दिन घमाइलो छ। ताजा हावा र फक्रेका फूलहरू नयाँ बिहानीको कथा हालिरहेका छन् ।
-शुषमा मानन्धर, ललितपुर
