Skip to content

सम्झनामा गणतन्त्रका पिता रामराजा


इतिहासकै कुरा गर्ने हो भने शाहवंशीय राजा पृथ्वीनारायणलाई हराउन र मकवानपुरे मल्ल वंशीय राजालाई जिताउन रामराजाप्रसाद सिंहका पुर्खाहरू नेपाल भित्रिएका हुन् । त्यस युद्धमा सबै पुर्खाहरू गोर्खालीद्वारा मारिएका थिए । हारेकाहरूलाई समेत मानोवोचित व्यवहार गर्ने रणनीति अनुसार पछि ज्वाइँ खलकमा परेका गाजी सिंहलाई सप्तरीको कोइलाडीमा एक सय विघाको जागिर दिई राखियो । यसपछि मात्रै नेपालमा राजपुतहरूको वंश वृद्धि हुँदै गएको हो । वि.सं. १९९० ताका मालपोत नतिरे वापत र सभा गरेवापत उनका बाजे दर्पणनारायण सिंहलाई राणा सरकारले थुन्यो । उनका पिता जयमङ्गल सिंहले अचाक्ली दुःख बेहोर्नु पर्यो । ‘उसका पुर्खाहरूलाई हाम्रा पुर्खाले मारेकाले रामराजाप्रसाद सिंह शाह वंशसँग असन्तुष्ट भई गणतन्त्रको कुरा गरेको हो’ समेत राजा महेन्द्रले भने । उनले राजतन्त्रसँग खान्दानी शत्रुता भए पनि गणतन्त्रको आवाज उठाउनु र संघर्ष गर्नु चाहिँ वापवैरी साध्न नभई मुलुक र जनताका लागि थियो भनी स्पष्टीकरण दिएका छन् ।

निःसन्देह रामराजा प्रभावशाली छवी भएको व्यक्ति हुन् । तर, खासमा कतै पनि उल्लेखनीय सफलता पाउन भने सकेनन् । गणतन्त्र स्थापनार्थ जीवनभरि चिच्याए । त्यो पनि झण्डै असारका भ्यागुता कराए सरह भयो । आखिरमा २०५२ सालदेखि चलेको जनयुद्ध, २०६२/६३ को दोष्रो जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी, जनजाति र पिछडा वर्गका अन्य विविध आन्दोलनको बलले राजतन्त्रलाई पाखा लगायो र गणतन्त्र नेपालको जन्म गरायो । त्यसमा सुरुमा गणतन्त्रको जग बसाल्ने काम गरेको र पछि आएर पनि कुनै न कुनै रूपले परोक्ष भूमिका खेलेको कार्यलाई भने तिरस्कार गर्यो भने त्यो सरासर राजनैतिक वेइमानी हुन जान्छ । उनले नव जनवादी पार्टीमार्फत् संस्थागत हैसियतको भूमिका चाहिँ खेल्न सकेको देखिएन । तर, गणतन्त्रका लागि तन, मन र धन सबै सुम्पेर काम गरे जसले गर्दा इतिहासमा उनको नाम श्रद्धाले लेखिनेछ, गर्वले समेटिनेछ । क्रान्ति रक्तिम त्योहार हो, यसमा बगेको रक्त अमृतधारा हो, यसले मृत्यु होइन अमरत्व दिन्छ भन्ने कुरामा उनी विश्वस्त थिए । गणतन्त्र स्थापनार्थ राजा महेन्द्र माथि बम प्रहार गरेको आरोपमा दुर्गानन्दलाई फाँसी दिँदा भनेका थिए– ‘शहादतको बलिबेदीमा दुर्गानन्द झाले अमरत्व प्राप्त गर्नुभएको छ ।’ त्यस्तै महेन्द्रको राज्याभिषेकको बेलामा समेत लेखेका थिए– ‘नेपाली जनतालाई राजतन्त्रले गुलाम बनायो । गुलाम बनाउन फेरि नयाँ शक्ति आउन लागेका छन् । जनतालाई गुलाम बनाउन यतिबेला काठमाडौँलाई सजावट गर्ने काम भइरहेको होला । तर, के आफूलाई फेरि गुलाम बनाउनेको राज्याभिषेक उत्सव मनाउन नेपाली जनता तयार छन् ? हामीलाई गुलाम बनाउन आउने व्यक्तिको राज्याभिषेक उत्सवमा हामीले गीत गाउँदा, नाच्दा हाम्रो नैतिकता र स्वाभिमान रहला ? शाहवंश स्थापित हुन उसले जति नेपालीको खुन बगाएको थियो के त्यो नेपाली जनताले बिर्सिसके ?’

आफूले जिम्मेवारी लिएको २०४२ साल असार ६ गते बमविष्फोटको घटनामा परी लमजुङ्गका राष्ट्रिय पञ्चायत सदस्य डम्बरजंग गुरुङ लगायतका केही निर्दोष कर्मचारी/सर्वसाधरणहरूको निधनको जिम्मेवारी लिएर महानता देखाए ! लडाइँमा गएपछि नसोचेको कुरा हुँदो रहेछ भनेर दुःख त प्रकट गरे । अँझ, विष्फोटनमा जो मारिए ती सबै हाम्रा शहिद हुन् भन्दै त्यस रगतलाई गणतन्त्रका लागि अमृतधाराको उपमा पनि दिए । तर, उनीहरूका आफन्तले चित्त दुखाएका छन् । तिनीहरूलाई न राहत दिलाए न सम्मान नै दिलाए । त्यसले कतिपयले उनको नियतमाथि प्रश्न चिह्न खडा गर्ने ठाउँ पाएका छन् । क्रान्ति बाङ्गोटिङ्गो हुन्छ, विभिन्न कुइनेटाहरू काट्दै अघि बढ्नुपर्छ भन्ने त सबैलाई थाहा छ । आफन्त गुमाएकाहरूको आँसुको उपचारमा प्रयत्न हुनुपर्थ्यो, त्यो भने हुन सकेको देखिएन ।

त्यसो त उनले ‘गणतन्त्रका लागि संघर्ष’ नामक आफ्नो आत्मवृत्तान्तमा भने–…साथीहरूले राष्ट्रिय पञ्चायत भवनको गेटमा त्यस दिन बिहानै टाइम बम राख्नुभएको थियो । बम गमलामा राखिएको थियो । असारको महिना, पानी पर्न थालेछ । सिंहदरबार वरपर रहेका मानिस ओत लाग्न त्यस भवनतर्फ गए । त्यहाँ राखिएको ‘टाइम बम’ न थियो । ओत लागेका मानिस पानी परुञ्जेल त्यही बसिरहे । उनीहरू त्यहिरहेका बेला बम पड्क्यो र उनीहरूको मृत्यु भयो । अन्नपूर्ण होटलमा भएको घटनाका बारेमा भनिएको छ–…दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा विदेशी पर्यटक समेत आउने भएकाले बमको छर्रा समेत नलागोस् भनेर निक्कै सतर्कता अपनाइएको थियो । साथीहरूले विष्फोटनका लागि होटलको चौर रोजे । बम राखिएको सुटकेस चौरमा थियो । कसको सुटकेस हो भनेर होटलमा लगिएछ । मिलाइएको टाइमअनुसार ‘टाइम बम’ विष्फोट भयो र त्यहाँका कर्मचारीको मृत्यु भयो । यसरी उनी पहिलो विष्फोटनलाई साङ्केतिक मात्र बनाउन चाहन्थे । वास्तविकता यही र यस्तै थियो भन्ने आधारहरू भने मनग्यै छन् किनभने देशका विभिन्न सहरमा गरिएका अन्य विष्फोटनमा त्यस्तो मानवीय र भौतिक क्षति भने भएको छैन । तैपनि जसको बग्यो तिनीहरूको आँसु र बलिदानीको मान कसले राख्ने ! गम्भीर प्रश्न तेर्सिरहेको छ ।
जे भए पनि उनले जनतालाई दिलमा राख्न सक्नुपर्थ्यो अनि राजसंस्थालाई नजरमा राख्न राख्नुपर्थ्यो । उनी राजालाई नजरमा राख्नमा नै व्यस्त भए । जनताका लागि राजसंस्था अफाबसिद्ध भएको चर्चामा उनी एकोहोरिए । उनको विशाल हृदयले खाली राजसंस्था माथि मात्र बमवर्षा गरिरह्यो । सर्वसाधरण जनताको दिल जित्ने प्रत्यक्ष भूमिकामा कमिरह्यो । त्यसैले त २०५१ सालको मध्यावधी निर्वाचनमा उनको पार्टीले एक सिट पनि जित्न सकेन । ‘प्रत्येक क्रान्ति मौलिक रचना हो । कुनै पनि क्रान्तिकारीले अर्को क्रान्तिकारीको अनुसरण गरेर क्रान्ति गर्न सक्दैन । क्रान्ति गर्ने मान्छे मौलिक हुनुपर्छ ।’ भन्ने मननीय विचार त राखे तर व्यवहारमा मौलिकपन ल्याएर काम गर्न भने त्यति सफल भएनन् ।

स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरूलाई तिलाञ्जली दिँदै राजनैतिक मुखुण्डोभित्र रही ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी हुने र लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु छवी देखाउने राजनीतिक मित्रहरूको भर पर्नाले उनले राष्ट्रपति पदमा पराजय भोग्नु परेको वास्तविकता सबैकासामु छर्लङ्ग छ । गणतन्त्रको आवाज वुलन्द पार्न जीवनभर सक्रिय व्यक्तिले यस प्रकारको पराजय भोग्नु दुर्भाग्य हो । जीवनको पछिल्लो घडीमा मृगौला, हाड र नशा रोगबाट पीडित रहिरहँदा पनि गणतन्त्रको संस्थागत विकासमा ठोस कार्य हुन नसकेकोमा दुखेसो त पोखिरहे । नेपाल र नेपालीको समुन्नतिमा नै आफूलाई समर्पण गरेका व्यक्ति भएको महसुस गरी डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारले राष्ट्रिय गौरवको हकदार बनायो, तेह्र तोपको सलामी दिलायो । यसो गर्दा माओवादीको सशस्त्र संघर्षको सुरुदेखिकै समर्थक राजनीतिकर्मीलाई सम्मान गर्दा एक दशक लामो आफ्नो हिंसात्मक राजनीतिलाई राष्ट्रिय गौरवका रूपमा चरितार्थ गर्न खोजेको हो भन्ने बुझाइ नारायण वाग्लेको देखियो ।
अर्कातिर मदनमणि दीक्षितका अनुसार उनले भारतको गान्धी आश्रम जान्छु भनी शिर मुण्डन गरी, सादा खद्दरको धोती कुममा राखी, सेतो कपडाले सिएको गञ्जी र काठको खराऊ समेत लगाएका थिए । पछि २०४२ सालको सिलसिलेबर बम विष्फोटनको घटनाको जिम्मा लिएर सबैलाई स्तब्ध पारे रे । गान्धीवादी कृष्णप्रसाद भट्टराई नेतृत्वको सत्याग्रही आन्दोलन चलिरहेको बेला उक्त घटना घटाएर पञ्चायत विरोधी माथि नै गम्भीर चोट पुर्याएको निष्कर्ष दीक्षितले निकालेका छन् । राजनीतिमा हिंसाको प्रयोगका कारणले चर्चित भएका हुन् भन्ने निष्कर्ष निकाल्दै नारायण वाग्लेले समेत उनलाई कालान्तरमा हिंसावादी र माओवादीका हिमायतीमा दरिन पुगे भनेका छन् । रामशरण महतले नख्खु जेलमा रहँदा उनी अङ्ग्रेजी साहित्यको गहिरो जानिफकार रहेको सम्झना गर्दै त्यस पछि भने प्रतिपक्षी राजनीतिकर्मीसँग पत्यारिलो सम्बन्ध बनाउन नचाहेका व्यक्तिको रूपमा चित्रण गरेका छन् । त्यस्तै रामचन्द्र पौडेलले जेलमा छँदा मासु स्वादिलो बनाउने गरेको सम्झना गर्दै उनले नयाँ पार्टी खोलौँ भनेर प्रस्ताव राख्ने गरेको स्मरण गरेका छन् । उनले खोलेको पार्टी नाम मात्रको रहेकोले असफल संगठनकर्ता भएको कुरा सङ्केत गर्न पनि पौडेल पछि परेका छैनन् ।

गर्न त नेपालमा कसले पो के नै गर्यो र ! उनलाई राष्ट्रिय राजनीतिको नजिक रहेर पनि कुनै उल्लेखनीय काम सम्पादन गर्न नसकेको, माओवादीको नजिक रहेर पनि न गणतन्त्रलाई संस्थागत गर्न समर्थवान् नभएको जस्ता आरोप लागेका छन् । गणतन्त्रको नारा घन्काउने मान्छेको पार्टीले संविधान सभामा संस्थागत भूमिका खेल्न नसक्नु लाजमर्दो कुरा हुन गयो । व्यवहारिक रूपमा जे भए पनि सैद्धान्तिकरूपमा भने सफल राजनीतिज्ञका रूपमा देखिन पुगे ।

भारतमा भएको एउटा भेलामा स्वतन्त्र मधेश चाहने कतिपय भूमिगत र अन्य समूहहरू/पार्टीले मधेशलाई नेपालबाट टुक्र्याई स्वतन्त्र मधेश राष्ट्रको पहिलो राष्ट्रपति बन्न उनलाई आग्रह गरेका थिए । त्यस बखतको उनको राष्ट्रवादी अडानलाई कुन शब्दले सलाम गर्ने म शब्द हराएको अवस्थामा छु । यदि उनी गद्दार देखिएका भए पो नेपाल र नेपालीको लागि रामराजाले लोप्पा खुवायो, कलङ्कित काम गर्यो भन्न हुन्थ्यो । उनले त युगलाई जोड्ने, विचारलाई समेट्ने र पश्चगमनवादी किल्लालाई फोड्ने काम गरेर हामीलाई ऋण बोकाएका छन् । उनले लत्तो छाडेर मधेशी मात्र बन्ने र नेपाली हुन इन्कार गर्दिएको भए नेपालको इतिहासमा उनको नाम श्रापित व्यक्तिको रूपमा लिइन्थ्यो । उनको अखण्ड नेपालको सोच, सम्पूर्ण नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न, गणतन्त्र स्थापनार्थ र संस्थागत गर्न राखेको अडान/खेलेको भूमिकाको कदरस्वरूप नै सरकारले राष्ट्रिय गौरवको सम्मान दिएको हुनुपर्छ । यस कार्यबाट अरू शक्तिलाई समेत उनी बारे सोच्न वाध्य बनाएको जगजाहेर छ ।

‘क्रान्ति पहिले आफ्नै घरभित्रबाट सुरु गर, अनि देशमा क्रन्ति गर । क्रान्तिको ज्वाला लिएर अघि बढ, म सहयोग गर्छु ।’ भन्ने चे ग्वेभाराका कुरा सुनेर उनले ऊर्जा पाए । त्यसैले त क्रान्तिमा निष्ठावान् भई जुटे । अहिले पनि मानिसहरू भनिरहेछन्– रामराजाप्रसाद सिंहको क्रान्तिले मूलतः चार मुद्दालाई केन्द्रविन्दु बनाएका थिए– १. राजतन्त्रको उन्मूलन, २. प्रजातान्त्रिक जनवादी जनतन्त्रको स्थापना, ३. व्यक्तिगत सम्पत्तिको समाप्ति, ४. पूर्ण आर्थिक समानता, स्वतन्त्रता तथा सम्पत्तिमा नैसर्गिक, मौलिक, समान उपभोक्ता हकको प्राप्ति । निर्दलीय पञ्चायती शासनकालमा यस्ता विचारहरू सार्वजनिक गरी चुनावको स्नातक उम्मेद्वार हुनु भनेको जीवनलाई नै दाउमा राख्नु थियो । उनको गणतन्त्र प्राप्तिप्रतिको त्याग र समर्पणलाई नियाल्दा उनी दूरद्रष्टा, वीरबहादुर लाग्छन् । राजसंस्थालाई आर्यघाट पुर्याउन कटिबद्ध सत्य र न्यायका हिमशैल लाग्छन् ।

‘…म निर्वाचित भएको खण्डमा यो (पञ्चायती व्यवस्था) गतिहीन, प्रत्यक्ष निर्वाचनको अभावमा राष्ट्रिय चेतना मुखरित गर्नमा असक्षम र अराष्ट्रिय भएको हुँदा यस संविधानलाई खारेज गरी २०१७ पौष १ गते पूर्वको युगमा फर्की जाऊँ भन्ने राय श्री५मा चढाउनका लागि राष्ट्रिय पञ्चायतमा प्रस्ताव पेस गर्नेछु ।’ भन्ने मुद्दालाई आधार बनाउँदा जनसमुदायले उनलाई जिताए । २०२८ सालको निर्वाचनको स्नातक तर्फको विजयी उम्मेद्वार बने । बिडम्बना ! आफूले पहिल्यै सार्वजनिक गरेका विचारलाई राष्ट्रिय पञ्चायतमा सम्बोधन गर्ने अवसर चाहिँ भेटेनन् । बरू राजाकासामु भने प्रष्टसाथ राख्न पाए । उनको गणतन्त्रप्रतिको अडानबाट डराउँदै र उनमा भएको विद्वताप्रति नतमस्तक हुँदै राजा महेन्द्रले यो देश ठकुरी र राजपुतहरूको हो भनेर फकाउन खोजे । यी जातभातका कुरा गरेर बिरालोले मुसा खेलाएझैं खेलाउन खोज्ने महेन्द्रले मधेशीलाई सरकारको नेतृत्व गर्न दिने मेरा इच्छालाई कदर गर भनेर अर्को पासो फ्याके । उनी त्यस पासोमा पनि पर्न चाहेनन् । ‘यहाँ विशुद्धरूपले मानिसको किनबेच गर्न खोजिँदै छ तर म बिक्रीमा छैन ।’ भनेर राजा समझ प्रस्तुत हुने उनीको खुबी चानचुने छैन । माफी मागेर प्रधानमन्त्री बन्नुभन्दा राजा विरुद्ध घृणा र द्वेष फैलाएको आरोपमा दुई वर्ष कैद नै बेस ठानेर जेल जान तयार भए । राजाका अगाडि त नझुकेका मान्छे बहुदलीय प्रजातन्त्र प्राप्तिपश्चात् २०४७ सालमा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्राइसँग झन किन झुक्थे । २०४२ सालको बमकाण्ड पछि सर्वस्वहरणसहित फाँसीको सजाय दिइएको परिप्रेक्ष्यमा भट्टराई नेतृत्वको सरकारले माफी मागेमा मात्र उक्त सजाय फिर्ता लिने कुरा राख्दा उनी बन्दै झुकेनन् । गणतन्त्रका निम्ति गरिएको संघर्षमा झुक्नु छैन भन्ने उनको अडानलाई नतमस्तक भएर तत्कालीन सरकारले टुलुटुलु हेर्यो ।

उनी सधैँ विचार र व्यवहारको सम्यक मिलन खोज्दै नेपाल र नेपालीको सुन्दर भविष्यको परिकल्पनामा उद्दत भइरहे । उनमा व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा वस्तुनिष्ठताजस्ता अनुकरणीय गुण पाइन्छ । उनी निष्ठावान् राजनीतिज्ञ, निर्धनका छोराछोरीको शिक्षादीक्षामा आर्थिक सहयोग पुर्याउने निस्वार्थी अभिभावक, आजका शीर्षस्थ राजनीतिज्ञहरूका पनि राजनैतिक गुरु हुन् । कतिपयका लागि केही विवादित काम हुन गए पनि जीवनको उत्तराद्र्ध कालमा अखण्ड नेपालको जग बलियो भएको हेर्न चाहने र गणतन्त्रको संस्थागत विकास गरी समुन्नत नयाँ नेपालको निर्माण गर्न चाहने उनको स्तुत्य विचार र पहललाई सलाम योग्य छ । उनले लगाएका अग्रगमनमुखी बिरुवाको स्याहारसुसार गर्न सकेमा नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यस्ता महान् पुरुषप्रति हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!!

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *