Skip to content

एउटा जिउँदो युग बोक्ने काजी दाइ

KumarKafle


युगको उर्दी जारी गर्ने काजी दाइ पाहुना झैं कहिलेकाहीँ जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर । जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं । त्यो सुगन्धित माटो निधारबाट नाक, गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ । बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग, कस्तुरी र तिनीहरूका शावकहरूसँग । दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी, सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको ।

त्यो सपना धेरै वजनदार र गह्रुंगो छ तर काजी दाइ त्यसलाई सिमलको भुवाझैं हलुका गरी उचाल्छन् र ढाडमा बोक्छन् । अलि पर पुगेर कुनै धर्मात्माले वरपीपल र समी रोपेर बनाएको चौतारीमा सुस्ताउँछन् यद्यपि त्यो युगको भारी बिसाउँदैनन् बरू कंगारूले आफ्नो बच्चालाई खोकिले थैलोमा हालेर जसरी माया र सुरक्षा गर्छ त्यसैगरी उनी पनि आफू बाँचेको युगलाई खोकिलामा हाल्छन् ।

युग पनि सारै सोझो र सजिलो थिएन, कहिलेकाहीँ फुत्कन खोज्थ्यो उनको खोकिलाबाट, खस्न खोज्थ्यो उनको ढाडबाट तर त्यसले सत्ययुगमै बाचा हारिसकेको थियो कि जसले आफू जन्मेको ठाउँ, टेकेको माटो र हिँडेको बाटो बिर्सदैंन त्यसबाट भाग्न, उम्कन र छुटकारा पाउन असंभव थियो ।

जब काजी दाइ काठमाडौं खाल्टोको असन, इन्द्रचोक र ओमबहालतिर साथीभाइहरूसँग लुकामारी खेल्थे तब गाउँमा वनजंगल र बुट्यानहरूमा मृग र कस्तूरीसँग खेलेको सम्झन्थे अनि त्यहाँको धुलामा औंला र छेस्काहरूले लेख्थे मेरो पियारो वखलढुंगा ।

सिद्धिचरणले आफ्नो जन्मथलो, माटो, खाली खुट्टाले नापेको बाटो, मोड र घुम्तीहरू, हातमा उठेका ठेला र नूनिला पसीनाका ढिका अनि वनजंगल, लतालहरा आदिको सम्झना मनमा अटेसमटेस भएर आएपछि कविताको रुपमा विस्फोट हुन्छ र लेख्छन् मेरो प्यारो ओखलढुंगा तर त्यसमा सुनकोशी, तामाकोशी र रोशीको कुरा पनि थियो । अर्को एउटा कवितामा त झन ‘डोको, खुकुरी, खर्पन र टोकरी, ज्यावलहरूको मुस्कान; कोशी, गण्डकी, कर्णालीका नित्य हे कलकल गान’ भनेर पो लेखे । काजीले यस्तो के लेखे हँ!ओखलढुंगाका मान्छे कता रोशीको, कोशी, गण्डकी र कर्णालीका कुरा लेखेका!म रनभूल्लमा परें ।

म र मेरा बालसखाहरूले लख काट्यौं, ‘बुढा काठमाडौं छिरेपछि दशतिरका कुरा लेख्न थाले, चाहिंदोनचाहिंदो लेख्न थाले । ‘किन त्यस्ता कुरा लेखे भन्ने गुदी कुरा हामीले उनी स्वर्गलोकमा उर्वशी र मेनुकासँग सफर गर्न थालेपछि बल्ल बुझ्न थाल्यौं । उनी त ओखलढुंगाको सानो चौघेरोमा मात्र रमाउने कवि होइन रहेछन्, मेची, काली, हिमाल, पहाड, तराई चारैतिर उत्तिकै छाइरहेका रहेछन् । धेरै पछि अँझ थाहा’भो उनी त देशको सीमारेखा पनि तोडेर विश्वभर पो रम्न, घुम्न र त्यसैलाई आफ्नो काव्यचेतनाले लिपिवद्ध गर्ने अनि रंग भर्ने गर्दारहेछन् । लाग्यो पहिलेको बुझाई आलाकाँचो र बोक्रा मात्र रहेछ ।

प्रकृतिप्रेमी सिद्धिचरण नेपाली स्वच्छन्दतावादी कविताको प्रवर्तकका रुपमा एक नम्बरका कवि भएपछि साहित्यका कतिपय समालोचकहरूले मुख खोल्न हिचकिचाए । नेपाल भाषाका साहित्यकार तथा समीक्षकहरूले उनलाई हाम्रा कवि भनेर निकट राखेर बोलेपनि उनीहरूले समेत कवि सिद्धिचरणको काव्य सामर्थ्यले कुनै भाषा र स्थान विशेषको सीमा तोडेर बाहिर जाने कुराको वकालत गरेनन् तर उनले ती सबै सीमानाहरू तोडेर अघि बढे । त्यसैले यो उनले बोकेको युग हो ।

काजी दाइले माटो सुँघेर समय र स्थानको मधुर नाटकीकरण गर्दै काव्यमा उतार्ने प्रयास गरे । पहिले काव्य अनि मात्र दर्शनतर्फ डोरिन रुचाउने काजी दाइका कवितामा स्पेनी कवि फ्रेदरिको गार्सिया लोर्काको सुक्ष्मताको आभास हुन्छ ।

क्रान्तिबिना शान्ति आउँदैन भन्ने प्रिय काजी दाइले अठार वर्ष लामो कारावासको सजाय पाँउदा पनि शासकहरूसामु घुँडा टेकेनन्, आफ्ना कविताको अपमान गर्न चाहेनन् र कलमको निब भाँचेनन् र त संवेदनशील मनमष्तिष्कलाई आत्मसमर्पण गरेनन् अनि ‘आत्मसमर्पण नगर्नु पनि विजय हो’भन्ने आफैले लेखेको कवितांशको भावलाई आत्मसात गरे ।

सम्झना गराइहालुँ जेल बसाईकै क्रममा स्वर्गवास हुनुभएका आफ्ना पिताजीको मृत देहमा दागबत्ती दिएर एउटा सन्तानको कर्तव्य निभाउन समेत पाएनन् काजी दाइले । यद्यपि त्यस कठिन, दुखदायी, पीडादायी समयमा पनि उनले काव्य साधनालाई जारी राखेर एउटा असाधारण मान्छेको परिचय दिए यो संसारलाई । ‘आवाज’ र ‘कविता’ नामक साहित्यिक पत्रिकाको संस्थापक सम्पादक भएर पनि साहित्य सेवा गरे ती असाधारण मान्छेले ।

लाग्छ अहिले पनि काजीदाइ एउटा जिउँदो युग बोकेर असाधारण मान्छेको परिचय दिइरहेका छन् ।

कुमार काफ्ले
ओखलढुंगा

4 thoughts on “एउटा जिउँदो युग बोक्ने काजी दाइ”

    1. रचनाको लागि यहाँलाई पनि
      रचनाको लागि यहाँलाई पनि धन्यवाद 🙂

  1. युगको उर्दी
    असाधारण मान्छे काजी दाइ
    युगकवि सम्बन्धी आलेख उत्कृष्ट लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *