Skip to content


यहाँ मान्छेहरू
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।

हिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागि आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरू
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भीडहरू
कसाईले पालेका
विकासे खसीको बथान लाग्छछन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नि !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।

पानी र हावाले खिइदा खिईंदै
एउटा विवश पत्थर आज
भगवान बनेको छ
र पुजीन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।

परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागि
हेर्नुस् न कस्तो अचम्म !
दुवैले दुवैलाई ढाँटेका छन्
तर दुवैले दुवैलाई बुझेका छन्
त्यही भएर दुवै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरीभन्दा कमजोर छ
मान्छे मान्छेसँगै असुरक्षित छन्
किनकि बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मूल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *