“आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ” अर्थात् कथाकार गुरूप्रसाद मैनालीको यी सुन्दर अभिव्यक्तिहरू आजभन्दा बहत्तर वर्ष पहिले नासो कथाको माध्यमद्वारा नेपाली समाज र साहित्यका पाठकसामु सार्वजनिक भएका हुन् । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको हो । उनले जीवनमा थोरै मात्र कथाहरू लेखे तर ती सबैले उत्कृष्टताको मापदण्ड कायम गरेका छन् । उनका सबै कथा-सिर्जनाहरूले उच्चताको शिखर चुमेका छन् । कुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको कल्पना अनिवार्य शर्त हो भनेजस्तै कथानक घटना निर्माण गर्दा आदर्शवादलाई नाश हुन दिनुहुन्न भन्ने मान्यता उनका कथामा छ । त्यसैले साहित्यको मूल उद्देश्य सुधार हो र त्यसो हुनाले विकासशील वा प्रगतिशील युगमा कथामा आदर्शवाद हरायो भने त्यसलाई निरर्थक सम्झनु पर्दछ । रोचकहीन कोरा आदर्श पक्षलाई आजका बौद्धिक पाठक वर्गले सहजरूपमा मन पराउँदैनन् भन्ने तथ्यलाई पनि कथाकार मैनालीले राम्रैसँग बुझेका छन् । नेपाली ग्रामीण परिवेशका वेदनात्मक पक्षका चित्रणमा मैनालीका अधिकांश कथाहरू शोक, विरह, छट्पटी र पीडाका प्रतीकको रूपमा उभिएका छन् ।
मानवीय जीवनका यावत् पक्षका साथै कुनै एउटा नायक पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण तरिकाले लेख्नु यथार्थमा कथा सिर्जना हो भन्ने तìवबोधलाई औधि राम्रोसँग बुझेका कथाकार मैनालीको जन्म संवत् १९५७ साल भदौमा काभ्रे जिल्लाको कानपुर भन्ने गाउँमा भएको थियो तर मैनालीको जन्मथलोको बारेमा पनि विवाद रहेको छ । कतिले उनको जन्म धादिङ भनेका छन् भने केहीले धनकुटासम्म पुर्याएका भए पनि कानपुर नै आधिकारिक जन्मथलो हो । कानपुरबाट बसाइँ सर्ने क्रममा मैनालीले नुवाकोटको कविलास भन्ने गाउँमा पनि स्थायी बसोबास गरेका थिए । निजामती सेवाका क्रममा अनेकौँ अड्डाहरूमा बिताएका मैनालीले अवकाश प्राप्त पछिको बुढ्यौली जीवन भने चितवन जिल्लास्थित खैरहनीको मझुई गाउँमा बिताएका थिए । उनको निधन २०२८ साल जेठ ५ गते काठमाडौँमा भएको हो । पहिलोपटक शारदामा ‘नासो’ कथा प्रकाशित भएपछि १९९५ सम्म मैनालीका कथाहरू फाटफुटरूपमा शारदामै प्रकाशित भएका थिए । नेपाली साहित्यमा शारदाको प्रकाशन साहित्यिक भाषाको उन्नति र गद्यको विकासमा महìवपूर्ण उपलब्धि पनि हो ।
नेपाली साहित्यका कथाशिल्पी गुरूप्रसाद मैनाली आधुनिक कथा क्षेत्रका अगुवा र लोकपि्रय कथाकार हुन् । जुन समय आधुनिक कथालेखन कलाको अभावैको समस्या थियो त्यतिबेला जो जसले जहाँबाट कलम चलाए ती कलमका डोबहरू उत्कृष्ट नै रहे । आधुनिक नेपाली कथा साहित्यका अत्यन्तै लोकपि्रय र जनपि्रय अग्रणी कथाकार मैनालीका समकालीन कथाकारहरू क्रमशः पुष्करशमशेर जबरा, बालकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्षु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख नाउँ हुन् । यी कथाशिल्पीहरूका अतिरिक्त नेपाली साहित्यमा असङ्ख्य कथाकारहरूको उदय भइसकेको भए पनि सबैभन्दा आधुनिक कथाशिरोमणि गुरुप्रसाद मैनाली नै हुन् । उनको एउटै मात्र पुस्तकाकार कृति एघारओटा कथाहरूको सङ्ग्रह ‘नासो’ २०२० सालमा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् । एघार कथाहरूको सङ्ग्रह नासोमा सामाजिक जनजीवनको प्रतिनिधित्व भएको छ । यो कथा २०५७ सम्म आइपुग्दा मैनालीका सन्ततिहरूले सोह्रौँ संस्करण प्रकाशित गरिसकेका
छन् । आधुनिक नेपाली कथा साहित्यका प्रारम्भकालीन चम्किला तारा मैनालीका यी कथाहरू २००७ साल पूर्व र पश्चात्को पेरीफेरीमा लेखिएका हुदा तत्कालीन समय र समाजको रीतिस्थितिबारे पनि कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ । एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको छ । नेपाली जनजीवनलाई औधि प्रभावित बनाएर कलात्मकसाथ कथाको चित्रण प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासो, परालको आगो, बिदा, सहिद र छिमेकी कथाहरू अत्यन्तै राम्रा कथा हुन् । नासोमा समावेश अन्य कथाहरू पनि क्रमशः प्रायश्चित् पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चित्ताको ज्वाला हुन् । महìव र रोचकताका दृष्टिले पनि उनका सबै कथाहरू समान स्थितिका छन् ।
७३ वर्षको आˆनो लामो जीवनकालमा मैनालीले एघारवटा मात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्षलाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको
छ । शैलीमा नेपालीपन, भावना, गाउँले सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषताहरू हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् । जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवाअन्तर्गत न्याय विभागमा न्यायाशीधसम्म भएर काम गर्दा आफूले देखे भोगेका घटनाहरूलाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्न सक्नु प्रतिभा क्षमताको द्योतक हो । समाज र साहित्य एक अर्काका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका
छन् । त्यसैले समाजविना साहित्य जीवन्त रहन सक्दैन भने साहित्यविनाको समाज अपाङ्ग रहन्छ । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैँझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदनाहरू नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु
हुन् । नासो कथासङ्ग्रहमा समाविष्ट एघार कथामध्ये नासो कथा अति उत्कृष्ट छ जहाँ जुन घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडा सुभद्राजस्ती गृहलक्ष्मीले आˆना पतिदेव देवीरमणलाई दोस्रो विवाह गरी सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैँझगडा खप्न नसकी आˆनो घरसमेत त्यागी त्यत्ति सम्पत्तिकी मालिकनी सुभद्राजस्ती एक आदर्श नारी मध्यरातमा एउटा सानो कपडाको पोको च्यापेर गौरीघाटमा शरण लिन पुग्छिन् । एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् भने परालको आगो कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई परालको आगोको संज्ञा दिएका छन् । त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छन् । कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो गुरूप्रसादको सर्वश्रेष्ठ कथा हो । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तìव लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ । घरायसीरूपमै साधारण शिक्षा आर्जन गरेका मैनालीले हिन्दी कथाहरूको गहन अध्ययनबाट प्रभावित भई उनले नेपाली कथाहरू लेखेका हुन् भने हिन्दी कथा साहित्य पनि पाश्चात्य साहित्यबाट प्रभावित
छ । त्यसैले नेपाली साहित्यमा देवकोटाको मुनामदन, घिमिरेको गौरी र लीलबहादुर क्षेत्रीको सामाजिक उपन्यास बसाइँको जुन स्थान छ गुरूप्रसाद मैनालीका कथाको पनि त्यही स्थान रहेको छ ।
तसर्थ नेपाली वाङ्मय क्षेत्रलगायत भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, साहित्यिक पत्रकारिता र इतिहासप्रति अभिरुचि बढाउने उद्देश्यले संवत् २०२९ सालमा साहित्यिक पत्रकार सङ्घको जन्म भएको हो । यही सङ्घले एक दशकपछि २०३८ सालमा आधुनिक नेपाली कथा साहित्यका अग्रज स्रष्टा गुरुप्रसाद मैनालीको पुण्यस्मृतिमा मैनाली कथा पुरस्कारको स्थापना गरेको हो । कथा जगत्का अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित २०३८ चैत १२ गतेदेखि १९ सम्म काठमाडौँमा सम्पन्न सप्ताहव्यापी कथादिवसका अवसरमा मैनाली कथा पुरस्कारको स्थापना भएको हो । यो पुरस्कार प्रतिवर्ष कथादिवसकै क्रममा कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट महìवपूर्ण योगदान गर्ने कथासर्जकहरूलाई प्रदान गरिन्छ । आˆना पिताको पुण्यस्मृतिमा गुरुप्रसादका छोराहरू क्रमशः डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा स्थापित मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथा साहित्यका नयाँ र पुराना पुस्ताका कथाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ । पहिलोपटक २०३८ सालदेखि नियमितरूपमा प्रतिवर्ष प्रदान गरिँदै आएको मैनाली कथा पुरस्कारबाट २०६३ सम्म २५ जना कथाकारहरू पुरस्कृत भइसकेका छन् । संवत् २०६३ सालदेखि मैनाली कथा पुरस्कारको राशि रु. एकतीस हजार पुगेको छ । यसका अतिरिक्त मैनाली कथा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको बारेमा कृति तयार गर्ने उद्देश्यले साहित्यिक पत्रकार सङ्घद्वारा २०६२ मा स्थापित विष्णुराम वाङ्मय विद्वतवृत्ति साहित्यकार डा. खगेन्द्र लुइँटेललाई प्रदान गरिएको छ ।
