सहिद रामनाथ क्याम्पस बनस्थलीको बैठक कक्षबाट हुत्तिएका मेरा आँखाहरू एक्कासि सामुन्नेको नागार्जुन डाँडामा ठोक्किन पुगेका छन् । खै, थाहा छैन आज किन अकस्मात् यो डाँडा यति सजीव भएर मलाई नै एकोहोरो हेरिरहेजस्तो लागिरहेछ । यस्तो लाग्दैछ मलाई, यो डाँडाले आफूभित्रका अनगिन्ती भावनाहरू साट्न खोज्दैछ मसँग । बैठक विभिन्न महìवपूर्ण विषयहरूको छलफलसँगै अगाडि बढिरहेको बेलामा म भने एकतमासले हराएको छु नाजार्गुनसँगै । मेरो एकोहोरिएको मनले अलिकति राहत पाएको महसुस गर्छ जब निकैबेरको हेराइपछि म नागार्जुन डाँडालाई स्नेही र सहनशील आमाजस्तै पाउँछु । हो मेरो हेराइ र मनमा पुरुष नाम धारण गरे पनि यो डाँडा एउटी धैर्य, सहनशील र कोमल हृदय भएकी आमाजस्तै छिन् ।
एकाएक मनमा एउटा प्रश्न जन्मेको छ । यो शान्त र दृढ देखिने डाँडाभित्र खुसीका लहरहरू होलान् कि विस्मात्का तरङ्गहरू ? म सोच्न बाध्य छु आज । सम्पूर्ण नेपाली जनताले क्रूर, निरङ्कुश र अलोकपि्रय ठहराएका भूतपूर्व राजा ज्ञानेन्द्रलाई आˆनो छातीमा ठाउँ दिनु परेको छ उनले । यहाँ उनलाई एउटा मात्तिएको साँढेलाई आˆनो बसमा राख्न सकेँ भन्ने गर्व होला कि एउटा क्रूर शासकले आˆनो छातीमा रजाई गर्यो भन्ने पीडा ? त्यस्तै केही वर्ष अगाडि नेपाल घुम्न आएकी एउटी जर्मन युवतीको अस्थिरपञ्जर उनकै गर्भबाट निकालियो । त्यस युवतीलाई कुनै पाशविक गुण बोकेको भलाद्मीले बलात्कार गरेर मारेको हुनसक्छ तर अपराधीहरूले यही मौन डाँडामाथि नै त्यो बोझ थुपारेर गए । यस्तो अनेकन अपि्रय घटनाले उनको मनमा कस्तो हलचल मचाउँदो हो ? अनि निकै समयसम्मको सङ्घर्ष र धेरै नेपालीहरूको रगतको बदलामा देशमा फहराइरहेको गणतन्त्रको झण्डा देख्दा उनको मन कति पुलकित हुँदो हो ? हरेक राम्रो नराम्रो घटना उनकै आँखा अगाडि घटिदिन्छ । न ऊ बोल्छ, न बिघ्न बाधा पुर्याउँछ । सिर्फ डाँडा हुनुको धर्म निभाउँछ, टुलुटुलु हेरेर ।
मेरोसामु मौन उभिएको यो डाँडाले मलाई लैनसिं बाङ्गदेलको उपन्यास ‘लङ्गडाको साथी’ को प्रमुख पात्र लङ्गडाको सम्झनालाई ताजा बनाइदिन्छ । एकैछिन मन अमिलो पनि हुन्छ त्यस लङ्गडाको नियति सम्झिएर । सबैको हेला र गिज्याइको शिकार हुँदा पनि ऊ लाचारीका साथ घसि्ररहन्छ त्यही एक मुठी सासलाई धान्दै । सहनु र सभ्य भनौँदा मानिसहरूको वास्तविक पाशविक रूपलाई नियाल्नुको विकल्प छैन लङ्गडाको । त्यसैगरी यो डाँडा हेर्नुको विकल्प नभएकाले सिर्फ नियाल्छ प्रत्येक घटनालाई मुकदर्शक भएर । हो ऊ चुप छ तर यो मौनताभित्र एउटी आमाको विशाल हृदयको न्यानोपनको महसुस भएको छ मलाई । नत्र उनीभित्र यो विशाल प्रकृति कसरी मुस्कुराउन सक्थिन् र घरि हराभरा वृक्षहरूको छहारी भएर अनि घरि चराहरूको निश्छल गीत भएर । उनको शिरमा रहेको गुम्बा ताजझैँ शोभायमान छ । त्यहाँ टाङ्गिएका लुङ्दरहरू प्रत्येक क्षण शान्तिको सन्देश बोकेर फरफराइरहेका छन् । नागार्जुनको मौनताभित्रबाट निस्किएको शान्तिको सन्देश मेरा कानहरूमा एकतमासले गुञ्जिरहेको आभास हुन्छ मलाई । हिन्दू धार्मिक ग्रन्थका पात्रहरूको नामले सबैतिर परिचित यो डाँडाले आˆनो शिरमा बुद्धको गुम्बालाई श्रद्धाका साथ समेट्न सक्नु आजको विश्वमा अनावश्यकरूपमा भइरहेको धार्मिक युद्ध र त्यसका अगुवाहरूलाई ठाडो चुनौती हो ।
मलाई यो डाँडा विश्व प्रसिद्ध लेखक पर्ल एस बकको उपन्यास ‘कल्याणी धर्ती’ को प्रमुख नारी पात्र ओल्यानजस्तै लाग्छ । ओल्यानभित्रको पत्नी हृदयलाई, मातृ हृदयलाई, अनि एउटी नारीको हृदयलाई कयौँपटक किचिमिचि पारिन्छ, दुखाइन्छ, घोचिन्छ अनि रगताम्मे पारिन्छ । दुःखमा जिन्दगीभरि साथ दिएर अब अलिकति सुख हुने बेलामा पति वाङ्गलुङ्गले सौता भित्र्याउँदाको अवस्थामा पनि उनी चुप छिन् । कल्याणी धर्ती नै हुन् उनी, अन्तिम सास हुञ्जेलसम्म पनि हराभरा नै पारिरहन्छिन्. आˆनो घर र परिवारलाई आफू सधैँ सन्तानमा जलेरै पनि । मेरो आँखा अगाडि सजीव उभिएको डाँडा र ओल्यान उस्तैउस्तै । दुवै मौन । दुवै चुपचाप । उनी चुपचापै साक्षी भइरहन्छिन् बसपार्क र वरपर हुने प्रत्येक अनैतिक क्रियाकलापहरूको । चोर, फटाहा, तस्कर र गुण्डाहरूको राम्रै अड्डा बसपार्क र यहाँका गेस्ट हाउसहरूमा घट्ने क्रियाकलापहरूले उनको छाती कति चिरिँदो हो ?
बैठकमा एकतमासले चलिरहेका बहसहरूलाई बेवास्ता गर्दै जब म अझ घोरिएर उनलाई हेर्ने र बुभ\mने कोसिस गर्छु, मलाई यो डाँडा फेरि विश्वप्रसिद्ध प|mान्सेली कवि शार्ल बोद्यलेर जस्तो पनि लाग्छ । बोद्यलेरले ज्यादै पीडादायक जिन्दगी बिताएका थिए विनाकुनै गुनासो । उनले जवानीका अघिल्ला समयका दिनहरू ज्यादै विलासिताका साथ बिताए पनि उनलाई समयले सधैँ साथ नदिँदा पछिल्ला दिनहरू ज्यादै कष्टकर रहृयो । जेनी डुबलजस्ती अव्यावहारिक र खर्चालु आइमाईको फन्दामा पर्नु नै उनको दुर्भाग्य थियो । जीवनमा जति नै दुःख पीडा परे पनि कहिल्यै कसैसँग शिकायत गरेनन् उनले । सायद विकल्प पनि थिएन । केवल केही पत्रहरूमा उनले आफूलाई पोखे आˆनी स्नेही आमाको सामु । त्यसबाहेक उनले कहिल्यै कसैलाई केही भनेनन् । चुपचाप आˆनै धुनमा लागिरहे । उनको गहकिलो कविताहरूको सङ्ग्रह ीभक ँभिगचक मग ःब लिाई सरकारले प्रतिबन्धित गर्दा पनि उनी चुप रहे । छापाखानाहरूले साथ नदिँदा, पत्रपत्रिकाहरूले नपत्याउँदा पनि आफन्त र साथीसङ्गीले हेला गर्दा पनि उनी चुपचाप नै रहे । सबैभन्दा ठूलो हृदयविदारक क्षण त त्यो थियो जब उनी पक्षघातले च्यापेर दुई दिनसम्म बेल्जियमको कुनै होटलमा लडिरहे, उनका फोटोग्राफर मित्र आएर उनलाई नउठाएसम्म । त्यो अघिल्लो रातदेखि बालेको बत्ती बलेको बल्यै थियो । मात्र अलिकति मधुरो भएको थियो तेल सकिन लागेकाले । यो अवस्थामा पनि उनीभित्र प्रचूर मात्रामा धैर्य थियो ती सब सहनलाई । कहिल्यै न भाग्यसँग शिकायत गरे, न अरू कसैसँग नै । कतिसम्म सहनशील Û मेरोसामुको डाँडा अनि बोद्यलेर । दुवैभित्र पीडाका अनगिन्ती छालहरू उर्लिरहँदा पनि दुवै शान्त Û
म, यो बैठकमा छलफल भइरहेका विषयभन्दा टाढा पुगेको निकैबेर भइसकेको छ तर आज यो बैठकका कुराहरूभन्दा मेरो मनभित्र सल्बलाइरहेका कुराहरू महìवपूर्ण छन् मेरालागि । म नतमस्तक हुन्छु यो बोद्यलेर, यो सहनशील र दृढ डाँडाको सामु । मलाई सानै कुराले पनि छोइदिन्छ । रुनु र हाँस्नुको बीचमा साह्रै पातलो, देख्दै नदेखिने डोरो छ मेरालागि तर जबजब म नागार्जुनलाई हेर्छु मलाई लज्जाबोध हुन्छ । आफूलाई प्रश्नै प्रश्नभित्र जेलिएको पाउँछु । किन म यति दृढ
छैन ? किन म यस्तो कमजोर ? किन म बोद्यलेर र ओल्यान जत्ति नै सहनशील हुन सक्दिन ? आदि आदि । यी सम्पूर्ण प्र्रश्नहरूले मलाई एकैचोटि गाँज्छन् । म उत्तर पाउँदिन तर यो सत्य हो, नागार्जुन आज मेरोलागि प्रेरणाको स्रोत भएर मेरै अगाडि हात हल्लाइरहेकी छिन् । कृष्ण धरावासीको उपन्यास ‘राधा’ को प्रमुख पात्र राधा सहेर नै ज्ञानी, गुणी र लोकले मान्ने भइन् । कृष्णको धोकालाई उनले सहजै मनभित्र दबाई एउटा यात्रामा निस्किइन् जसले उनलाई ज्ञानको मार्गमा डोर्यायो तर कृष्ण सबै सांसारिक सुख र सबैतिर जितैजित हात पारे पनि राधाको सामु सधैँ हारी नै रहे । त्यसैले मौन रहनु अथवा सहनु भनेको पराजयको स्वीकारोक्ति हुँदै होइन रहेछ । सहनु र चुप लाग्नु त एउटा नवीन कार्यको सुरुवातको बाटो पहिल्याउनु हो राधाले झैँ । नयाँ सोच र दृष्टिकोणको सिर्जना गर्नु हो ।
मेरोसामुको नागार्जुन जसको बारेमा म यति धेरै सोच्न बाध्य भएको छु, आज उनले पनि आˆनो छातीमा नयाँ बाटाहरू, नयाँ सम्भावनाहरू र नयाँ सन्देशहरू निर्माण गर्दै होलिन् । जुन निश्चित समयको अन्तरालपछि सही समयमा हामीसमक्ष आउने नै छ । राजा ज्ञानेन्द्रले उनकै छातीमा लोप हुनुपरेजस्तै अरू कयौँ निरङ्कुश, मानवताविरोधी, असभ्य नाम र पदवीको मुखुण्डो पहिरिएकाहरूलाई उनले आˆनो पैतालामा दबाउने छिन् । हो त्यसैले नागार्जुन आफ्ना अदृश्य आँखाहरूले नियालिरहेकी छिन् सम्पूर्ण क्रियाकलाप र घटनाहरूलाई भविष्यको सुनुवाईका लागि । यो उनको मौनताभित्रको भाषा नबुझ्नु सायद हाम्रो कमजोरी हो ।
